गन्धर्व श्रृखला-४
कर्णाली, सुदूरपश्चिम र पाँच नम्बर प्रदेशको प्रवेशद्वार कोहलपुर पश्चिम क्षेत्रको उदाउँदो सहर हो। तीन प्रदेशको ट्रान्जिट प्वाइन्टका रुपमा रहेको कोहहलपुर तीव्र विकास, सहरीकरण, औद्योगिकरण र आर्थिक विकासको गोरेटोमा लम्किरहेको छ। तारे होटल, ठूला सरकारी संरचना, राष्ट्रिय गौरवका आयोजनामा लगानी पनि बढिरहेको छ।
जातीय, धार्मिक, भाषिक, सांस्कृतिक, सामाजिक तथा राजनैतिक महत्त्व बोकेको नयाँ विशेषतायुक्त सहर हो, कोहलपुर। यहाँ हिन्दु, बौद्ध, मुस्लिम र क्रिश्चियन धर्मावलम्बी बसोबास गर्छन् भने हिन्दी, गुरूङ, मैथिली, भोटे लामा, डोटली, अवधि र थारु भाषा बोलिने भए पनि नेपाली भाषा बोल्नेको बाहुल्यता छ। यस नगरमा सबै प्रकारका जात जातिको बसोबास छ। विभिन्न जातजातिहरू जस्तै, पहाडी दलित, पहाडी जनजाति तथा आदिबासी, पहाडी ब्राह्मण, क्षेत्री, ठकुरीको बसोबास रहेकोमा सबैभन्दा बढी पहाडी बाह्मण क्षेत्री, ठकुरी, सन्यासी जातिको बाहुल्यता रहेको पाइन्छ।
२०६८ को जनगणना अनुसार कुल घरपरिवार १५ हजार ४ सय ८३ र जनसंख्या ७० हजार ६ सय ४७ थियो। २०७३ मा गरिएको घरधुरी सर्वेक्षणमा बढेर घरपरिवार १७ हजार ६ सय ८९ पुगेको छ भने जनसंख्या ८७ हजार ३ सय छ। त्यस्तै। जनसंख्या वृद्धिदर ३.५३ प्रतिशत छ।
कोहलपुरमा बसाइँसराइ गरी आउने क्रम तीव्र छ। पछिल्लो एक वर्षमा १ हजार ९ सय ७२ जना बसाइँसराइ गरी आएका छन्। यसरी बसाइँसराइ गरि आउनेहरू मुख्य त सम्भावना र सुविधा भोगको लागि आइरहेको छन्। व्यापार, व्यवसाय, स्वास्थ्य उपचारमा सहज पहुँच, गुणस्तरीय शिक्षा आदि कारण पनि मुख्य हुन। त्यस्तै प्राकृतिक विपत्तिले घरवारविहीनहरु जीविकोपार्जन, पुर्नस्थापनाको लागि आउँछन् भने द्वन्द्व पीडितहरुको आश्रयस्थल पनि सहर नै हो। यस हिसाबले सबै वर्ग र समुदायको बासस्थान हो कोहलपुर।
त्यसरी नै यस क्षेत्रमा बसोबास गर्न आएका पहाडी दलित समुदाय अन्तर्गतको प्रमुख जाति, गन्धर्व‐गाइने पनि हो। गन्धर्वहरु नेपाली भाषा बोल्ने भए पनि उनीहरुको आफ्नै मातृ भाषा र लिपि छ। जुन आजसम्म अस्तित्वमा छ। यद्यपि त्यो लोपोन्मुख अवस्थामा छ। अगुवा दल बहादुर गन्धर्वका अनुसार गन्धर्वहरुको लिपि पिङगुल हो। उनीहरुका बोल्ने केही मौलिक नमूना शब्दहरु छन्।
जाँड -शर्नो
रक्सी -सँङ्लो
रुपैयाँ, पैसा -फुर्चो
भात -जाउलो, आदि
उनीहरूले मान्ने धर्म हिन्दू हो। अहिले क्रिश्चियन धर्म मान्नेको संख्या पनि बढिरहेको छ। धर्म परिवर्तनको प्रमुख निशानामा निम्न चेतना भएका, आर्थिक रूपमा विपन्न गन्धर्वसमेत पर्दै आएका छन्। आर्थिक रूपमा सम्पन्न हुने लोपलालचमा गन्धर्व समूदायमा धर्म परिवर्तन समस्याका रूपमा देखा परेको छ। यसरी प्रभाव र आर्थिक प्रलोभनमा धर्म परिवर्तन गर्न समस्या यहाँको मात्रै होइन, देशभरीकै हो। आफूले चाहेको धर्म मान्न पाउने संवैधानिक अधिकार हो। तर नेपालका ग्रामिण क्षेत्रमा गैरकानुनी रूपमा यस्ता कार्य हुने गरेका छन्। धर्मप्रति आकर्षित गर्न पर्चा, मेमोरी कार्ड बाड्ने गरेको जताततै देखिन्छ। गरिबीलाई हतियार बनाएर धार्मिक मनोविज्ञानमा हमला गर्ने इसाईहरूको मुख्य काम नै हो भन्दा फरक पर्दैन।
यद्यपि गन्धर्व हिन्दु धर्मावलम्बी पनि होइनन्। अहिले हिन्दु धर्म माने पनि उनीहरुले मान्ने पर्व र चाल चलन फरक छन्। गन्धर्व अगुवा वीरबहादुर गन्धर्व भन्छन्, ‘गन्धर्वले मान्ने मुख्य पर्व चैते दशै हो। नागपञ्चमी र सरस्वती पूजाको दिन बाजागाजासहित मनाउँछौं।’ यद्यपि गन्धर्व समुदायले, दशैतिहारसहित चण्डी, पार्वती र सरस्वतीको समेत पूजा गर्दछन्। कालमा मृत्यु भएकाको मुक्तिको लागि खोलाको तीरमा गएर वायूको पूजा पनि पर्छन्। यस हिसाब उनीहरु प्रकृति पूजक पनि हुन्। हामीले कुराकानी सुरू गर्नुभन्दा अघि उनीहरू स्थानीय डुडुवा नालामा पूजा गरेर फर्किएका थिए।
गन्धर्व विवाह पनि रोचक रूपमा मनाइँदो रहेछ। ‘मण्डप र मन्दिरमा विवाह गरिन्छ नि, त्यो गन्धर्व विवाह हो। पहिलेदेखि हाम्रो जाति एकै ठाउँमा बस्दैन,’ वीर बहादुरले भने।
पहिला परिवार लिएर सधै हिँड्ने चलन थियो गन्धर्वको। जुन अहिले पनि छ। एक जना पूर्वबाट आयो, एक जना पहाड‐जाजरकोटमा आयो। तराईमा (बाँकेमै बस्ने भनम्) एकपटक भेट भएछ। सँगै बसे, खानपिन गरे, भलाकुसारी भयो। कुराकानीको क्रममा विवाहको प्रसंग आएछ। एक जनाले भनेछ, ‘मेरो छिम्को (छोरा) तपाईको छिम्की (छोरी) को विवाह गरिदिन पाए।’ अर्कोले फ्याट्टै, ‘तपार्इंको छिम्कोलाई सारंगी बजाउन आउँछ ? सारंगी नै बजाउन नजान्ने भए मेरी छिम्कीले दुःख पाउली फेरि,’ भनेछ। ‘मेरो छिम्को असाध्यै सिपालु छ,’ भनेपछि उसलाई गीत गाउन र सारंगी बजाउन लगाएछन्। छिम्कोले गीत गाएछ, पडाडबाट आएकालाई मन परेछ। बिहे गरिदिने निर्णय भएछ। पछि तुरुन्तै खिबाउ (श्रीमान) र ख्याउली (श्रीमती) ले छिम्कीको कन्यादान गरिदिएछन्। त्यो पनि केराको पातमा गोडा (खुट्टा) धोएर। यही हो, गन्धर्वको विवाहको फरकपना।
प्रमुख पेशा, गाउने, र ज्याला मजदुरी हो। तर सहरी क्षेत्रमा उनीहरूलाई साह्रै गाह्रो छ। सहजै कोठा भाडामा समेत नपाउने अवस्थाको मारमा छन्, उनीहरू। कथित जातीय विभेद्ले उनीहरुलाई पनि नराम्ररी चेपेको छ।
यहाँको अर्को समस्या श्रमको उचित ज्याला नपाउनु हो। अहिले पहिलेको जस्तो सारंगीको माग छैन। दैनिक जिविकोपार्जन गर्ने माध्यमको रूपमा रहेको क्षेत्रमा पनि विभेद छ। शेर बहादुर गन्धर्व भन्छन्, ‘सारंगी बोकेर गयो, गाइने आयो, दलित आयो भन्छन्। काम गरौं राम्रो ज्याला पाइँदैन। हामी त अहिले पनि समाजको दोस्रो नागरिकको रुपमा जीवन जिउन बाध्य छौं। जातीय उत्पीडन, विभेद कायमै छ।’
गन्धर्वहरू बाँकेका चिसापानी, नौवस्ता, सी गाउँ लगायतका स्थानमा बस्छन्। त्यस्तै कोहलपुर नगरपालिकाका २, ३, ५, ६ ११, १२ र १३ नम्बर वडामा मुख्य बसोबास क्षेत्रमा छ। बाँकेमा अनुमानित ७ सय जना बसोबास गर्दै आएका छन्। (एकिन सरकारी तथ्यांक छैन) उनीहरूका अगुवाका अनुसार कोहलपुर नगरपालिकामा करीब १ सय ५० जति घरधुरीमा ३ सय ५० जना बढी सदस्य छन्। उनीहरुको प्रमुख बस्ती क्षेत्र कोहलपुर नगरपालिका हो। यद्यपि अन्त पनि छन्। नेपालको कुल जनसंख्याको ०.२१ प्रतिशत गन्धर्व छन्। तर देशको राजनीतिमा उनीहरुको उपस्थिति शुन्य छ।
शैक्षिक अवस्था पनि नगन्य अवस्थामा छ। शैक्षिक जागरण कुन चराको नाम जस्तै छ। एक त भूमिहिन, अर्कातिर सुकुम्बासीको परिचय। बस्ने ठेगान छैन। भएको ठेगान कानुनी रुपमा बेठेगान छ। यस्तो अवस्थामा बालबच्चा पढाउनु कसरी ? यो सिंगो बस्तीको प्रश्न हो। तर हाम्रो प्रश्न देशको संविधानमा रहेको मौलिक हकलाई हो। कागजको खोष्टो संविधानमा जेसुकै लेखे पनि कार्यान्वयन नभएपछि हुने केही रहेनछ। यो सिंगो बस्तीको आक्रोस हो।
जसरी राउटेहरु काठका भाँडा बोकेर घुमिरहे, त्यसरी नै गन्धर्वहरु सारंगी बोकेर हिँडिरहे। लामो समय एकै ठाउँमा बस्ने बस नभएपछि जागरण आउनु पनि कसरी? यस्तो अवस्थामा राज्य निम्छरो हुँदो रहेछ। अनि फेरि पोखिन्छ गन्धर्व आक्रोश पोखिन्छ, ‘देश कुनै छैन प्रसाद नामको हराम खोरले चलाइरहेको छ।’
यस्तो अवस्थामा गन्धर्व युवाहरुलाई बेरोजगारीको भेलले बगाएर विदेश बगाएर पुगाउने नै भयो। विदेश के भन्नू भारतका गल्ती, गल्छेडा चहार्न गइरहेका छन्।
घर कुरुवाहरु विभिन्न सार्वजनिकस्थल, नदी किनारा, जंगल क्षेत्रमा अस्थायी रुपमा टहारा बनाएर बस्छन्। नगरपालिकाले गरेको छाना अनुसार घरको वर्गिकरणमा गन्धर्व बसोबास गर्ने वडाहरुमा रहेका घरको संख्या ८७ मात्रै छ।
गन्धर्वको जीवन कथा सांरगी नै रून्छ।
नांगो छाति भोको पेट कहिले पुरा हुन्छ।