नेपाली कनेक्सन

‘राजा’को शहरमा बरालिएकाे ‘ताताे हावा’

जीवन डाँगी

हुआहिन, थाइल्यान्ड

वैशाख–२२ शनिबार। दिउँसोको समय उराठलाग्दाे थियाे। शहरमा पूरै सन्नाटा। बाहिर असाध्यै गर्मी। धूपले पग्लिनमात्रै बाँकी। पक्की सडकहरू ऐनासरी टल्किरहेका थिए। शहरमा गाडीकाे निरन्तर कुदाइ। छेउतिर लहरै थरिथरि रंगका ‘समुद्री घोडा’को हिँडाइ।

त्यतिबेला शान्त थियो समुद्री शहर ‘हुआहिन’

राजमार्गको कुनापट्टि ओर्लिएका मानिसहरू फुटपाथमा भेटिदैनथे। उनीहरू होटल, रिसोर्ट, रेस्टुरेन्ट वा समुद्रको तटतिरै हानिन्थे। योबेला थाइल्यान्ड निकै तातिएको छ। राजधानी ‘बैंककदेखि हुआहिनसम्म’ फैलिएको ‘तातो हावा’बाट जोगिन आतुर देखिन्छन् विदेशी पर्यटक।

‘तातो हावाले शरीर जलाउँछ। यो एकदमै हानिकारक छ। धूप चर्केको बेला बाहिर नजानू,’ सिजन प्यालेस रिसोर्टकी म्यानेजरले आफ्ना पाहुनाहरूलाई सम्झाइरहेकी हुन्थिन्।

शहरभित्र हराइरहेका मानिसहरू आफ्नै औतार र हतारमा छन्। उनीहरू ‘मन भुलाउन, मजा लिन, गर्मी छल्न’ भिन्नभिन्नै शैली अपनाउँछन्। कति किनमेल र खानपिनमा मस्त छन्। कति ‘थाई सुन्दरी’ पट्याउने प्रयासमा छन्। काम गर्नेहरूले धन्दा छोडेका छैनन्। यो शहरको यस्तै–यस्तै आफ्नै मेलो छ।

एउटा हातमा चिसो बियर, अर्कोमा ‘थाई प्रेमिकाको हात’। एउटा हातमा नरिवलको पानी वा खानेकुरा, अर्को हातले ‘प्रेमी वा श्रीमानको हात’। विदेशी हुन् या स्वदेशी हुआहिनमा घुमफिरेहरूले यसरी नै छल्दैछन् थाइल्यान्डको ‘उखरमाउलो’ गर्मी।

घामले रनक्कै रन्किरहेको यो शहर आफैंमा मस्त छ। यहाँका मान्छे मस्तै छन्। घुम्न आएका पाहुनाहरू पनि मस्त छन्। लाग्छ यो ‘तातो हावा’ले पनि शहरको ‘वसन्ती रंग’ उडाउन सकेको छैन।

०००

थाई खानाको स्वाद चाखेर निस्किनै लाग्दा रेस्टुरेन्टको ढोकानिरै भेटिए उदय राई। ‘हुआहिन’मा गफिएका उनी पहिलो नेपालीभाषी थाई व्यापारी थिए। थाइल्यान्डको नेपाली समाजमा परिचित ‘समाजसेवी व्यापारी’ उदयले अमेरिका र युरोपसम्म आफ्नो व्यापार फिँजाएका रहेछन्।

भारतको दार्जिलिङमा जन्मिएका उनी थाई नेपाली संघकी पूर्वअध्यक्ष वाड्सना राईका श्रीमान हुन्। वाड्सनाको परिवार र उदयको ससुराली त्यहीँ हो, जसलाई थाइल्यान्डमा ‘पिलोके नेपाली’ भनेर चिन्छन्। थाई भूमिमा पहिलो पाइला उनका पिता–पूर्खाले टेकेको इतिहास पछिल्लाे पुस्तालाई नयाँ किताबजस्तै लाग्छ।

‘थाइल्यान्डमा सारो गरम छ, जाेगिनुपर्छ है! तर हुआहिन धेरै रमाइलो छ। तपाईं चाहिँ पातलो कपडा र छाताजस्तै टाउको र मुख छोप्ने टोपी लिनोस्,’ उदयले छोटो कुराकानीलगत्तै भने, ‘शरीर धूपले जले पनि अनुहारचाहिँ जोगाउनुपर्छ ल...!’

थाइल्यान्डमा घट्दो व्यापार, समुद्रको तटनेर राजाले बनाएको दरबार र हुआहिनको चर्चित नाइट मार्केटको रोचक किस्सा सुनाउँदै उनले भने, ‘गीत–संगीत, थाई भोजन, किनमेल र बियर बजारको रमझम चाहिँ हेर्न नभुल्नु नि!’

०००

समुद्र पुग्नुअघि लहरै स–साना चम्किला छाप्राहरू छन्। सेतो पर्खालभित्र सजिएका रिसोर्टहरू खासै महंगा छैनन्। हिजोआज शहर र समुद्र ‘गोरा’ मान्छेहरूले भरिएको छ। पर्यटकहरू बैंकक वा फुकेट हुँदै रेल्वे र गाडीबाट हुआहिन आउने गरेको दीपा कार्की सुनाउँछिन्।

‘हुआहिनमा एयरपोर्ट छ तर फ्लाइट हुँदैन। टुरिस्टहरू मिनी–बस, बस र ट्रेनको माध्यमबाट आइहन्छन्,’ उनले भनिन्, ‘पिच्छे बैंकक फर्किन्छन्।’

म्यान्मारकी नेपालीभाषी दीपा राजमार्गछेउको ‘सिजन प्यालेस रिसोर्ट’मा वेटरको काम गर्छिन्। उनी हुआहिन आएको सात महिना भयो। यसअघि उनी फुकेटमै थिइन्। त्यहाँ पनि रिसोर्टमै काम गर्थिन्।

बैंकक, फुकेट वा पटायाका चोक–गल्ली छिचोल्दा नेपाली नै नेपाली ठोकिन्छन्। तर, हुआहिनमा भने नेपाली देख्नै मुस्किल। थाइल्यान्डमा भेटिने सबैजसो नेपालीहरू म्यान्माली नै हुन्।

कोठाभित्रै पल्टिएका घुमकक्डहरू दिउँसो तीन बज्नै लाग्दा एकाएक सडकतिर निस्किन्छन्। साँझपख समुद्रको छालसित रमाइरहेका हुन्छन् पर्यटक। बालुवासित हराइरहेका हुन्छन्। त्यसपछि उनीहरू ‘द नाइट मार्केट’तिर डुलि–हिँड्छन्।

बाटो–बाटोमा पाहुनालाई पर्खिरहेका थिए– टुकटुक, बाइक राइडर र ट्याक्सी ड्राइभर।

नरिवलको बोटमुनि सुतिरहेका थिए उनीहरू। कतिपय ‘शीलत छाया’को ओतमा थिए। विदेशीलाई देखेपछि जर्‍याकजुरुक्क उठ्छन् र आफ्नो साधनमा बसाउन मरिहत्ते गर्छन्।

उनीहरूले मुस्कुराउँदै भन्छन्, ‘सवाडी खाप्’। (नमस्कार हजुर।) ‘पाइ ठिनाई खाप्’? (कहाँ जानुहुन्छ?)

खैरेहरू ‘लट् डाइमाई खाप्’ भन्दै स्थानीय भाषामा टुकटुकलाई जिस्काउँछन्। अनि, ‘ह्याभ् अ डिस्काउन्ट्’ भन्दै खित्का छाड्छन्। र, टुकटुकमा बस्छन्।

थाईहरू नम्र स्वभावका हुन्छन्। सित्तिमित्ति रिसाउँदैनन्। कुन देशबाट आएका मान्छे हुन् भनेर उनीहरूले चिनिहाल्छन्। नचिने भलाकुसारी गर्दै सोध्छन्। चिनेपछि उनीहरूकै संस्कार पनि देखाउन खोज्छन्।

हाँसो लुकाउँदैनन् उनीहरू। पर्यटकसँग चर्को स्वरमा, झर्को लाग्नेगरी बोल्दैनन्। घुमन्तेहरूलाई सम्मान नै गर्छन्।

हाँस्दै–रमाउँदै हुलका हुल बाँधेका पर्यटकहरू टुकटुक, बाइक र ट्याक्सीमा समुद्रीतिर लागे।

०००

साह्रै गर्मी। समुद्रमा उर्लिरहेका छाल। नीलो पानीमाथि तैरिरहेका मोटर बोटहरू। तटमा रमाइरहेका पर्यटक। बालुवामाथि बालुवाको घर। बालुवामा कुलो खनिरहेका बालबालिका।

समुद्रअघि ठडिएको अग्लो पहाड, बुद्धको मूर्ति र मङ्की हिल। छेउतिरको घाँसे मैदान। समुद्रको छाल लुक्दा देखिने चट्टान र बालुवाले ढाँकेका धारे पत्थर।

पटायाभन्दा भिन्नै लाग्यो ‘हुआहिन’। अलग्लै थियो समुद्र, गगन र पृथ्वीको क्षितिज। सेतो, कालो र रातो रंगका घोडाहरू छालसँगै दौडिरहेका थिए। पर्यटकहरू घोडामाथि चढेर घुमिरहेका थिए।

‘आउ माइ खा’? (केही लिनुहुन्छ?) भन्दै स्थानीय महिलाहरू पाहुनतिरै झुमिए। पर्यटकहरू आ–आफ्नै धुनमा थिए। कतिले ती महिलाका सरसामान किने त, कतिले किनेनन्। तर पनि तिनीहरू नयाँ–नयाँ मानिस देख्यो कि कुँदिहाल्थे।

ठिटाठिटी, केटाकेटी र बुढाबुढीहरू छालमा डुबुल्की मारिरहेका थिए। कतिचाहिँ समुद्री खानाको स्वादमा रमिरहेका थिए। नानीबाबुहरू कुकुर डोर्‍याउँदै स–परिवार तिरैतिर हिँडिरहेका थिए।

समुद्रको नुनिलो पानीले मुखै बिगार्छ। शरीरका घाउ–चोटहरू चर्काउँछ। कपाल फुस्रो बनाउँछ। टाउकोबाट कत्ला निस्किन्छन्। समुद्री हावाको आनन्द लिइरहेका मानिसहरू धेरैजसो विदेशी नै थिए। रसियन, युरोपेली, भारतीय र चाइनिज पर्यटकहरू तट वरपर धेरै नै भेटिन्छन्।

उर्लिंदो छाल नियाल्दै खुट्टा र टाउकोको मसाज गर्नेहरू विदेशी नै थिए। थाई महिलाहरू २ सय ५० भाटमा शरीर मिचेर थकान मेटाइदिन्छन्। दर्जनौँ मानिसहरू ‘फुट र हेड मसाज’को मजा लिइरहन्छन्। थाई मसाज सबैलाई मनपर्छ।

‘मैले हुआहिन पारिवारिक तट देखेँ,’ भारतीय नागरिक महेशकुमार भने, ‘मलाई कसैको डर छैन। म एक्लै घुम्न सक्छु। यहाँ कुनै युवतीको चकचक पनि देखिनँ। कसैले पनि मेरो हात समातेनन्। किनकि म पटायामा होइन, हुआहिनामा छु।’

तर, बैंकक, पटाया र फुकेटमा ‘ट्यापे, मगन्ते र यौनकर्मी’को आतंक छ।

महेशकुमार तीन वर्षदेखि थाइल्यान्डको हुआहिनमै छन्। उनी अरबी र थाई नागरिकले चलाउँदैआएको एक समुद्री रिसोर्टमा कुकको काम गर्छन्। शनिबार वा आइतबार सार्वजनिक बिदाको दिन तट र पार्कतिरै भेटिन्छन् उनी।

कहिलेकाहीँ एक्लो यात्रीले सोच्छ, ‘समुद्रको छालपट्टी उभिएर प्रेमिकासँग टिकटक बनाउनेहरूको पो जिन्दगी! मजस्तो एक्लै–एक्लै पानी खेल्दै हिँड्नेको पनि के जिन्दगी।’

०००

दिन ढल्किँदैजाँदा समुद्रको छाल बालुवातिर उक्लिन्छ। घोडाहरू तबेलातिर लाग्छन्। सडक–व्यापारीहरू बालुवामा गाँडेका छाताहरू निकाल्न थाल्छन्। एकैछिनमा तटको चहलपहल कम हुँदै जान्छ। सूर्य डुब्नै लाग्दा विदेशीहरू ‘द नाइट मार्केट’तिर दौडिन्छन्।

हुआहिन जति सौम्य छ, उत्तिकै शान्त छ यहाँको समुद्र पनि। छालसँग छिल्लिनेहरूको कमी त छैन तर पनि आफ्नै चरित्रमा एकनास रहन्छ यो समुद्र।

त्यसै पनि यो थाइल्यान्डको ‘शाही परिवार’ले रुचाएको ‘समुद्री–शहर’ हो। एकताका राजा–महाराजाले बैंककको गर्मी छल्ने शहर रहेछ ‘हुआहिन’।

प्रकृतिले दिएको विशाल समुद्र र मानवनिर्मित विकासले ‘राजाको देश’लाई रंग्याएको छ। ‘हुआहिन’ बैंकक वा अन्य शहरभन्दा बेग्लै छ। पर्यटकीय नगरीको इतिहास थाइल्यान्डको राजदरबारसित जोडिएको बताउँछन् थाई नेपाली संघका संरक्षक कुमार कार्की।

‘हुआहिन ऐतिहासिक शहर हो नि। विचको छेउमा राजाको भव्य दरबार पनि छ। पहिलेपहिले राजा–रानी र शाही परिवारका सदस्यहरू तातो छल्न त्यहाँ जान्थे रे! त्यसैले त्यो शहरको एकदमै महत्व छ,’ उनले भने।

हुआहिनलाई अनेकौँ नाम दिइँदोरहेछ– समुद्रछेउको पहिलो शहर। माछा मार्नेहरूको शहर। प्रेमिकाको शहर। बाँदरहरूको शहर। शाही परिवारको शहर। अर्थात्, थाइल्यान्डको एउटा सग्लो इतिहास भएको ‘थाई शहर’।

प्रकाशित मिति: : 2024-05-12 07:50:00

प्रतिकृया दिनुहोस्

    गजप्पकाे रिर्पाेटिगं ।। अरु पनि पढ्न पाउ ।।

    • 6 महिना अगाडि
    • khum Paudel

    When I can go my dreams place 🥺❤️😚

    • 6 महिना अगाडि
    • Nuna Nuna

    अाहा! मनै शान्त बनाउने समुन्द्रकाे कथा । सललल बगेको कथा । मलाई पनि जानू मन छ । थाइका धेरै जग्गा डुल्दा पनि hua hin जाने मेसाे कहिलै जुरेन । अरकाे पटक चाहिँ जानेछु ।

    • 6 महिना अगाडि
    • नीर्मल तिवारी

    sarai ramro article . yo ekdam ramailo ra ramro ra sundar 6. dami lagyo paddda.

    • 6 महिना अगाडि
    • Raj Kamal pdl

    राम्रो लाग्यो। स्वयं भ्रमण गरेको अनुभूति भये।

    • 6 महिना अगाडि
    • Take Narayan Rimal