जिल्लास्थित नेपालगञ्ज उप–महानगरपालिकाको फुल्टेक्रामा रहेको मदरसामा रहेका १० जना भारतीय नागरिकको कोरोना परीक्षण गरिएको छ ।
फैजाने मदिना मस्जिद मदरसा स्कुलका शिक्षक, धर्मगुरु र विद्यार्थीको कोरोना जाँचका स्वाब संकलन गरिएको हो ।
मुस्लिम आयोग अनुगमन समितिको नेतृत्वमा कोरोना परीक्षण गरिएका सबै भारतीय हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार पीसीआर प्रविधिबाट नै कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।
उनीहरुको कोरोना जाँचका लागि स्वाबको नमूना भेरी अस्पतालको कोरोना प्रयोगशालामा पठाइएको उनले जानकारी दिए ।
स्वाब संकलन कार्यक्रममा सहभागि बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, नेपालगञ्ज उप–महानगरपालिका प्रमुख डा.धवल शम्शेर राणा, बाँके प्रहरी प्रमुख वीरबहादुर ओलीलगायत सुरक्षा निकाय प्रमुखको सहभागिता रहेको थियो ।