(अ)प्रिय गणतन्त्र!
हेर्दाहेर्दै जवान भइसके छौँ!!
आजभन्दा १४ वर्ष अघि, आजकै दिन, तिनै सामान्ती राजाले निर्माण गरेकाे बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कोलाहल कक्षमा तिम्रो जन्म भएको थियो।
आजकै दिन अष्ट सोडेनीले तिमीलाई १२ बुदे कागजको फेरोमा बेरेर कुमारीको भोटो देखाए झैँ हामीलाई टाढैबाट देखाएका थिए।
बंशाणु त तिमी भित्र कस्को छ ठ्याक्कै भन्न सक्ने अवस्था छैन। किनकि तिम्रो कृत्रिम गर्भाधान त्यो पनि बिदेशी भुमिमा, बिदेशी डाक्टरले अप्राकृतिक बिधिबाट गराएका थिए।
तर, जे भएपनि तिम्रो न्वारान पण्डितहरुद्वारा नेपालमा गराइयो। त्यसैको आधारमा हामीले तिम्रो डिएनए परिक्षण समेत नगरी तिमीलाई अपनायाैँ, स्विकार्याैँ।
तिमीलाई बिना प्रश्न स्विकार्दै गर्दा हामीलाई लागेको थियो। तिम्रो आगमनले मुलुकको रोग–भोक लगायत तनाम समस्याहरुको समाधान मिल्नेछ। तिमीले हामीलाई मजदुरबाट मालिक बनाउने छौँ। मुलुकलाई समृद्ध बनाउने छौँ।
तर, दुर्भाग्य तिमीलाई अन्माएको दिनदेखि मुलुकमा झनै संकटहरु निम्तिन थाले। मुलुकको अस्तित्वमाथि नै निरंतर प्रहार हुन थाल्यो।
मुलुकमा अन्याय, अत्याचार, भ्रष्टाचार र बेरोजगारी बढी नै रह्याे। देशमा सदाचार, भाइचारा र एकता हराउन थाल्यो।
तिमी गर्भमा हुँदै खेरी मुलुकमा जातीय, क्षेत्रीय संकिणता र अन्धरुडतावाद झाङ्गिन थाल्यो।
मुलुक निर्माताका सालिकहरु ढालिन थाले। मुलुकको मौलिकता, संस्कृति र नैतिक मुल्य मान्यता माथी संगठित र योजनाबद्ध ढंगले प्रहार हुन थाल्यो।
समयक्रम सँगै तिमी आफै विकृत मात्रै बनेनौँ। तिम्रा नाउँमा तिम्रा सुसारेहरुले मुलुकमाथि चरम अत्याचार र व्यभिचार मच्चाए। तर, तिमी किर्तिम मुस्कुराहट देखाइ नै रह्यौ।
कृत्रिम गर्भाधानबाट जन्मेको भएर होला सायद आज तिमीभित्रै सबथोक कृत्रिम छ।
तिमी कृत्रिम रुपमै खुशी रहेको अभिनय मात्रै गर्दैनौ, कृत्रिम हासो मात्रै हास्दैनौ। सबैलाई कृत्रिम जीवन जिउन उत्प्रेरित गरिरहेका छौँ।
तिम्रो न्वारान तिनै राजाले बनाएको महलमा भएको भएर होला सायद तिमीमा आफू महाराज नै हुँ भन्ने भान एवं भ्रम रहेको छ।
तिम्रो जन्म महलको कोलाहल र कचिंगलबीच भएको भएर, तिम्रो जन्म सँगै सुरु भएको कोलाहल र कचिंगल आज जन्मेको डेढ दसकसम्म हराएको छैन मुलुकबाट।
हिजो तिम्रो न्वारानमा खुशी मनाउने हामी लाखौं दाजुभाइहरु आज अरबको खाडी र मलेसियाको जङ्गलमा उटको गोठालो लागेर बिदेशी भूमिमा आफ्नो खुन पसिना बगाउँदै गर्दा तिमी भने कतै करोडौंको कार्पेटमा कुल्चिदै छौँ। कतै अरवौको हेलिकप्टरमा उक्लिदै छौँ।
आज कतै शाैचालय उद्घाटनमा हुत्तिदै छौँ। कतै पिर्के सलामीमा उक्लिदै छौँ।
आज तिम्रो राजर्सि ठाँट, अहंकार, घमण्ड र सौखिनता हेर्दा लाग्छ तिमी ग्रिक मिथलोजिमा "राजा मारेर राजा हुने" थेवेसको "अडिपस" भन्दा कम छैनौँ।
नरभक्षी जनावर "स्फिनिक्स"बाट जोगिन थेवेनियनले अडिपसको इतिहास र पृष्ठभुमि नखोतली उसको शासन स्विकारे झैँ जनयुद्धको नाउँमा हजारौं नेपाली दाजुभाइ मरि र मारिइ रहेको तत्कालीन पृष्ठभुमिमा बाध्य भएर हामीले स्विकारेको यथार्थता बिर्स्यौ सायदै।
आज थेवेसको अडिपस झैँ शक्ति र सत्ताको मातमा यसरी लठ्ठीएका छौ कि– तिम्रो बुझाइमा तिमी बाहेक अरु सबै गलत छन्। तिम्रो बिरोध गर्नेहरु सबै षड्यन्त्रकारी छन्। तिम्रो गल्ती देख्नेहरु सबै दृष्टिविहीन छ्न्।
जुनदिन पहिचान र पृष्ठभुमि खोतल्दै जाने छौँ। त्योदिन थाहा हुनेछ थेवेसको प्लेगको कारक स्वयं अडिपस भए झैँ मुलुकको सम्पुर्ण समस्याको कारक स्वयं तिमी नै रहेछौ भन्ने।
आज घरमा दिपावली गरि तिम्रो जन्मदिन भब्यताका साथ मनाउन गरिएका सरकारी उर्दीका समाचारहरु सामाजिक सञ्जालका भित्ताहरुमा देख्दै गर्दा, हिजो तिम्रो नाउँमा बाडिएका झुठा आश्वासनहरु झलझल्ती सम्झिदै छु।
तिम्रो न्वारानमा सहभागी हुँदै गर्दा मैले देखेका र मलाई देखाइएका मेरा र मुलुकका समृद्धिका सपनाहरु आज सपनामै सिमित रहेको यथार्थ आज अरबको मरुभूमिमा मेरो शरीर बाट तप तपि चुहिरहेका पसिनाका थोपा हरुले सम्झाइरहेका छन मलाई।
अन्त्यमा माफ गर्नु गणतन्त्र हामी खाडीका युवा, असनका भरिया र तिनाउ तटमा गिटि कुट्ने गरिबहरुका छाप्राहरुमा तिम्रो जन्मदिनमा दिपावलि हुन सकेन्।
तिम्रो नाउँमा महल ठड्याउने र आफ्नो व्यक्तिगत दुनु सोझ्याउनेहरुका आगनमा दिपावली गरिएका तस्बिरहरु अरबको मरुभूमि बाटै भएपनि सामाजिक संजालका भित्ताहरुमा देख्न पाऊँने आशाका साथ यो छोटो पत्र यहीँ अन्त्य गर्दछु।
– उहीँ तिम्रो गणतान्त्रिक नागरिक
Ati Ramro Lekh Chha