१६औँ मानवबेचविखन विरुद्धको राष्ट्रिय दिवस

आफन्तबाटै बेचिन्छन् चेली 

BreaknLinks
BreaknLinks

दाङमा एक १७ वर्षीया किशोरीको आमाबुवा थिएनन्। आमाबुवा नभएपछि बेसाहारा बनेकी ती किशोरीलाई काम गर्नुपर्ने अवस्था थियो। उनी कामको खोजिमा थिइन्। 

एक दिन आफ्नै काकाको नजिकको चिनेको साथीले उनलाई काम खोजिदिने आश्वसन दिए। ती व्यक्तिले होटलमा काम लगाइदिने भन्दै घोराही लगे। घोराही लगेर किशोरीलाई  होटलमा काम नलगाई यौन व्यवसायमा लगाए। 

पछि उक्त युवती यौन शोषनमा परेको मानव अधिकार संस्थाले थाहा पाएपछि उनको उद्धार गर्‍यो। आफन्त नेपाल संस्थाले घटनाका बारेमा जानकारी बताएपछि जिल्ला प्रहरी कार्यालय दाङले ती पुरुषसहित ३ जनालाई पक्राउ गर्‍यो। 

पक्राउ परेका तीन जनालाई जिल्ला अदालत दाङले यहि साउन ३१ गते फैसला गर्दै मानव बेचविखन तथा तथा जबरजस्ती करणी मुद्धामा पुर्पक्षका लागि कारागार पठाएको छ। 

यो त एउटा उदाहरण मात्र हो। दाङमा यस्ता मानव बेचविखनको घटना बढ्दो क्रममा रहेको प्रहरी तथ्यांकले देखाउँछ। प्रहरीको तथ्यांकअनुसार जिल्लामा वितेको ४ वर्षमा १५ जना मानव बेचविखनमा परेका छन्। 

आर्थिक वर्ष ०७५/०७६ मा ३ जना, ०७६/७७ मा १ जना र आर्थिक वर्ष २०७७/७८ र ०७८/७९ मा ५/५ जना बेचविखनको शिकार भएका छन्। चालु आर्थिक वर्षमा एक जना बेचविखनमा परिसकेको प्रहरी तथ्यांक छ। 

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर वलीले आफन्तबाटै छोरी–चेलीहरु मानव बेचविखनमा पर्ने गरेको बताए। यौन शोषण, श्रम शोषण तथा मानव अंग तस्करका लागिसमेत मानिसहरु बेचविखनमा पर्ने गरेको उनको भनाई छ। 

शिक्षित व्यक्तिहरु नै मानव बेचविखनमा पर्दै

मानव बेचविखनमा विशेष गरी महिला, बालबालिका तथा अशिक्षित, पिछडिएका व्यक्ति, आर्थिक अवस्था कमजोर भएकाहरु पर्ने गरेको छन्। तर पछिल्लो समय शिक्षित व्यक्तिहरु नै बेचविखनमा पर्ने गरेको प्रहरी प्रमुख वली बताउँछन्। 

‘प्रविधिको दुरुपयोग सँगै अहिले पहिलेको जस्तो बेचविखनको अवस्था छैन। समयक्रमसँगै फेरिएको छ,’ उनले भने, शिक्षित, ‘पैसा हुने व्यक्तिहरु पनि मानव बेचविखनमा पर्ने गरेका छन्।’ धेरै पैसा कमाउने लोभमा हाल शिक्षित व्यक्तिहरु बेचविखनको शिकार हुने गरेको उनले बताए। 

मानव बेचविखनको जालोमा जोकोहि पनि पर्ने गरेको प्रहरी प्रमुख वलीको भनाई छ। विवाहको बाहाना समेत बनाएर मानव बेचविखन हुनेको गरेको घटना थुप्रै रहेको उनले बताए। 

यस्तै सिसा नेपालकी अध्यक्ष साजिदा सिद्धिकीले नेपाल भारतको खुल्ला सीमानको फाइदा उठाउँदै तस्करहरुले खुलमखुल्ला तस्करी गर्ने गरेको बताइन्। ‘खुल्ला सीमाना छ। जहाँबाट पनि भारतमा बेचविखन गर्नसक्छन्,’ उनले भनिन्, ‘आफन्तको नाममा तस्करले जुन समयमा पनि भारत छिराउन सक्छन्।’

विद्यालयबाटै शिक्षा दिनमा जोड दिऊँ 

मानवबेचविखन रोक्न विद्यालय शिक्षाबाट बढी जोड दिनुपर्ने घोराही उपमहानरपालिकाकी उपप्रमुख हुमा डिसीको भनाई छ।  उनले जनचेतनाबाटै मानवबेचविखन रोक्न सकिने भन्दै महिना दिनमा विद्यालयमा पुगेर जनचेताको कार्यक्रम बढाउन सकिने बताइन्। 

उनले अहिले पैसाको लोभले पनि बेचविखन बढेको भन्दै गैर कानुनी रुपमा युरोप, अष्ट्रलिया जाने काम रोक्नु पर्ने बताउँछिन्। उनी भन्छिन् ‘४०÷५० लाख रुपैयाँ लगाए नेपालमै पैसा कमाउन सकिन्छ। तर गैरकानुनी रुपमा त्यति धेरै पैसा लगाएर जाँदा बेचविखन हुने गरेको छ। यो रोक्नुपर्छ।’ 

दाङका प्रहरी प्रमुख वलीले मानव बेचविखन रोक्ने हो भने कुनै पनि सूचना प्रहरी कहाँ पुग्ने पर्ने बताए। ‘गाउँगाउँमा बेचविखनको भइरहेको छ। तर सूचना बेचिसकेपछि आउँछ,’ उनले भने, ‘अब कुनै शंका लाग्यो कि प्रहरीमा सूचना आए बेचविखन हुनबाट रोक्न सकिन्छ।’

प्रकाशित मिति: : 2022-09-05 22:10:00

प्रतिकृया दिनुहोस्