एक महिनादेखि सिंगो देश लकडाउन छ। सरकारको पछिल्लो मन्त्रिपरिषद्को निर्णय अनुसार वैशाख १५ गतेसम्म लकडाउन हुनेछ। यसअघि सरकारले पहिलो पटक चैत ११ गते कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि लकडाउनको निर्णय गरेको थियो। फेरि पनि थपिने सम्भावना कायमै छ।
लामो समयको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने करिब ४४ दशमलव ०७ प्रतिशत श्रमिक प्रत्यक्ष मारमा छन्। जुन विभिन्न उद्योग, कारखाना तथा योजनामा काम गर्ने, सिकर्मी, डकर्मी तथा होटल र पसलमा रोजगार सम्झौता नगरी कामगरि खाने वर्ग हो।
सर्वेक्षणका अनुसार ती मध्ये नेपालमा अझै पनि ठूला भनिएका औद्योगिक प्रतिष्ठानमा ३ दशमलव ३९ प्रतिशत बालश्रमिकहरु छन्। लकडाउनका कारण उनीहरुको समेत दैनिक ज्यालादारी गुमेको छ। नेपाल ट्रेड युनियन महासंघ ‐जिफन्ट) का अनुसार ५९ दशमलव ३२ प्रतिशत श्रमिकहरुले तोकिएको समयभन्दा बढी काम गर्छन्। उनीहरुको पनि काम अहिले लकडाउन अर्थात बन्द छ। अहिले विश्वभरी फैलिएको कोरोना भाइरस महामारीका कारण ती कामगरि खाने वर्गको आम्दानीको स्रोत गुमेको छ।
सरकारसँग भने कति संख्यामा मजदुर छन् भन्ने आधिकारिक तथ्यांक छैन। एक महिनादेखिको लकडाउनका कारण समस्यामा परेका मजदुरहरु हप्तौं हिँडेर आफ्नो घर पुगिरहेका छन्। ती मध्ये तीन प्रदेशको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको बाँकेको कोहलपुरहुँदै आउने/जाने गरेका छन्। प्रहरीका अनुसार दैनिक सरदर ३ सय जना आउने जाने गर्दछन्। कोहलपुरका चौराहा कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ हुँदै पूर्वसम्म पुग्छन्। उनीहरुको कै सुरक्षा तथा उद्धारको लागि चौराहामा हेल्प डेस्क, आराम गर्ने र खानपिनको समेत व्यवस्था गरिएको छ। यसैबीच बिएल नेपाली सेवाले देशभरबाट हजारौं किलोमिटर पैदल हिँडेर कोहलपुरमा आइपुगेका श्रमिकले भोगेका दुःख समस्या र यस्तो बेला आफ्ना नागरिक प्रति सरकारले के गर्नुपथ्र्यो? विपत्तिको बेला सरकारको सहयोग कत्तिको पाउनुभयो भनेर कुराकानी गरेका थियौ। उनीहरूसँग गरिएको कुराकानीको सारसंक्षेप यसप्रकार छ।
ताङचुक बासुक मियाँ–सुनसरी
तीन महिनादेखि सुर्खेतमा जाली बुन्ने काम गर्थे। कोरोनाका कारण लकडाउन भयो। करिब १५ दिन त सुर्खेत मै बसेँ। खानेकुरा केही भएन। बिना काम बस्न निकै समस्या भयो। एक्लै थिएँ। घर जान भनेर पास बनाई मागेँ। सुर्खेत हिँडेर आएको थिएँ। बाटोमा प्रहरीले ट्रकमा हाल्दिए। खाना पनि खाएको थिएन। यहाँ आएपछि खै कसले हो चाउचाउ र पानी दिए। ट्रकमा हाल्दिने भनेका छन्। खै कति बेला जान पाउने हो थाहा छैन।
यस्तो हो के, मत हतारमा निस्किएँ। दुईटा मेरो छोरो छ। दुवै जना भारतमा छन्। लकडाउनका कारण त्यतै रोकिएका छन्। आउन पाएनन्। घरमा बुढी एक्लै छ। यता आफ्नो पनि अलिअलि भएको पैसा सकियो। बुढीले पनि एक्लै छु। बिरामी छु भन्न लागि। फोनमा रून थाली। त्यहीँ भएर मत हिँडेरै जान्छु भनेर आएको। गाडी पाइयो भने हो। नत्र हिँडेरै भए पनि जान्छु म त।
रुपा विक –जाजरकोट
नेपालगञ्ज औषधि गर्न आएको थिएँ। मेरो हड्डी दबिएको थियो। छोरा पनि बिरामी थियो। उहाँ (श्रीमान) पनि बिरामी हुनुहुन्थ्यो। चैत सात गते हो आएको। औषधि पनि राम्रोसँग भएन। होटलमा बसेका थियौं। रूपैयाँ सकियो। उधारोमा बस्दा समस्या हुनेभयो। कोहलपुरको चौराहामा आएपछि घर पुर्याइदिन्छन् भन्ने सुनेर आएका हौं। आज नेपालगञ्जबाट ६ जनाको समूहमा अटो रिजर्ब गरेर यहाँ आएको। बिहानैदेखि यहीँ पर्खिरहेका छौं। खाना नै खाएका थिएनौं। यहाँ त खानाको व्यवस्था रहेछ। भोक पनि लागेको थियो खाइयो। गाडीमा पुर्याइदिन्छन् भन्छन्। फेरि गाउँमा छोराछोरी अर्काको घरमा बसेका छन्। फोन गरेर सधै रोइरेहका हुन्छन्। अब के हुन्छ। हिँडेर जाऔँ। बिरामी शरीर छ। कति दिन लाग्ने हो। गाडीमा हाल्दिए भने जाने। नत्र यतै बस्ने त होला नि।
रामकृष्ण पाण्डे– कालिकोट
पचालझरना वडा नम्बर ८ हो घर। काठमाडौमा लेबरी गर्न गएका थियौं। लेबरी काम पनि गर्न पाइएन। लकडानका कारणले। माघको २२ गते पुगियो। आधा महिना जति काम भयो। चैत ११ गते बाट लकडाउन भएपछि काम नै गर्न पाइएन। त्रिपालको डेरा थियो। त्यो पनि हावाले उडायो। भोकभोकै बस्ने अवस्था आयो। सबै जनाको घर जाने निर्णय भयो। काम गर्ने त खास सिन्धुपाल्चोक हो। त्यहाँबाट हिँडेर काठमाडौँ पुग्यौ। नारायणगढसम्म ट्रकले ल्याइदियो। त्यहाँबाट बुटवल हिँडेरै आयौं। त्यहाँबाट प्रति व्यक्ति सात सय रुपैयाँ तिरेर यहाँ आयौं। काठमाडौंबाट कोहलपुर आएपछि मात्रै खान पाइयो। बीचमा धेरै दुःख भयो। पैसा मागेर दिने कुरा भएन। अब कालिकोट कसरी पुग्ने समस्या भएको छ। १० जना छौं। एक महिला छन्। तनाब भइसक्यो। कसरी जाने भाडाको समस्या छ हामीलाई। यहाँबाट हिँडेर जान पर्यो भने चाउचाउ बिस्कुट किन्ने बाहेक अरू छैन। केही पार लागेन भने हिँडेरै जानुपर्ला अब।