सुर्खेत । सामाजिक मूल्यमान्यतामा परिवर्तन र परम्परागत हानिकारक अभ्यासबारे सोमबार सुर्खेतको वीरेन्द्रनगरमा अन्तरपुस्ता संवाद कार्यक्रमको आयोजना गरिएको छ।
समाजमा व्याप्त रहेका सामाजिक कुरीतिलाई हटाउन युएन वुमनको आर्थिक सहयोग तथा द स्टोरी किचनको अयोजनामा कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रमका सहभागीले कर्णालीमा छाउपडी प्रथा, बालविवाह तथा लिङ्ग पहिचान गरेर भ्रूणहत्या गर्ने समस्या विकराल बन्दै गएको भन्दै यसको न्यूनीकरणमा लाग्नुपर्नेमा जोड दिए ।
सीमान्तकृत महिलाका लागि महिला संस्था वामका कार्यकारी निर्देशक मधुरानी ढकालले छोराको मोहले गर्भमा छोरीको भ्रूणहत्या गर्नाले महिलाको प्रजनन स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको बताइन्। यस्ता महिलालाई पाठेघरलगायत अन्य समस्या विकराल अवस्थामा देखिने गरेको ढकालले बताइन्।
त्यसैगरी समाजमा बालविवाहको पनि विकराल अवस्थामा रहेको अधिकारकर्मी एवं आवाज संस्थाका मनोविमर्शकर्ता निशा पौडेलले बताइन्। पछिल्लो समय बालविवाहको स्वरूप परिवर्तन भएको उनको भनाइ थियो। ‘पहिले बुबाआमाको करकापमा विवाह हुन्थ्यो’, उनले भनिन्, ‘तर, अहिले बालबालिका आफैं विवाह गर्ने प्रचलन बढेको छ।’ संस्थामा गत आर्थिक वर्ष २० बालविवाहका उजुरी दर्ता भए पनि कुनै पनि मुद्दाहरु कानूनी प्रक्रियामा नगएको उनको भनाइ थियो ।
प्रहरी महिला सेलका डिला विकले छोरा नभएको कारण दोस्रो विवाह गर्ने पुरुषको सङ्ख्या उल्लेख्य रहेको बताइन्। गत आर्थिक वर्षमा मात्र ४३ बहुविवाहका मुद्दा दर्ता भएको उनले जानकी गराइन्। सामाजिक विकास मन्त्रालयका विश्वणी जोशीले सामाजिक विकृतिविरुद्ध सरोकारवाला निकाय सशक्त भएर लाग्नुपर्नेमा जोड दिइन्।
मन्त्रालयले यस विषयमा विभिन्न खालका कार्यक्रमको आयोजना गरेको भन्दै समन्वय गरेर अघि बढ्ने बताइन्।
कार्यक्रममा इक्वल एक्सेसका अनु उपाध्यायले समाजका तीनवटै पुस्ताका व्यक्तिलाई एकै ठाउँमा राखेर कार्यक्रम गरेमा प्रभावकारी हुने भएकाले नै अन्तरपुस्ता संवाद कार्यक्रमको आयोजना गरिएको बताइन्।