पीटरकाे बेहुली बन्ने रहर

आफ्नो लैङ्गिक पहिचान कसले गर्ने, समाज, विज्ञान वा आफैंले? प्रश्न जटिल छ तर प्राकृतिक रुपमा वा आत्मसम्मानका लागि आफ्नो पहिचान आफैं गर्न हाम्रो समाज स्वतन्त्र मानिन्छ। व्यक्तिगत रुचि, आत्मसन्तुष्टि वा स्वभावले मानिसलाई एकाएक बदलिदिन्छ। कुनैबेलाका ‘अनुज’ अर्थात् ‘अशोक राई’ ‘पीटर’मा रुपान्तरित हुँदाको कथा निकै रोचक छ।

उनको नागरिकतामा नाम अनुज थियो, घरमा बोलाउने नाम अशोक। तर, हिजोआज उनी पीटर राईबाट चर्चित छन्। पहिचानको लडाइँका क्रममा उनको नाम बदलिएको छ। उनी हुन् ट्रान्सजेन्डर महिला। जन्म पुरुष तर अहिले महिलाको स्वरुप, घर परिवार र समाजसँग नभएर सुरुदेखि आफैंसँग जुधेर आफ्नो पहिचान बदलेका हुन्।

छोराको अंग लिएर जन्मिएपनि स्वभाव र हाउभाउ छोरीको जस्तो भएकाले उनी सानैबाट परिवारमा फरक नै थिए। खोटाङमा जन्मिएर काठमाडौंमा उच्च शिक्षा अध्ययनका क्रममा उनले लैङ्गिक पहिचान बदल्न निकै ठूलो संघर्ष गर्नपर्यो।

‘म परिवारको जेठो सन्तान, जन्मिँदा छोराको अंग लिएर जन्मिए पनि आफूलाई सानैदेखि छोरीको स्वभावमा उतार्थें, फुटबलभन्दा भाडाँकुटी खेल्ने रहर, छोरीकै पहिरन मन पराउने, बाल्यकाल अलिअलि याद छ,’ ३७ वर्ष अघिको आफ्नो वाल्याअवस्था सम्झँदै अहिले आफूलाई पीटर भन्न रुचाउने उनले सुनाइन्, ‘टीनएज हुँदै गएपछि फूपुहरु मलाई अशोक धेरै केटीसँग संगत गरेर केटीजस्तै भयो भन्नुहुन्थ्यो। ’

उनले अघि भने, ‘जब बाल्यकालबाट म टीनएजमा लागेँ, सायद ११ वर्ष जतिको थिएँ होला, अरु केटाहरु देख्दा जिउ सिरिङ्ग हुन्थ्यो, त्यसरी नै बाल्यकाल बित्यो।’

काठमाडौंको धुम्बाराहीमा रहेको नीलहिरा समाजको केन्द्रीय कार्यालयमा भेटिएका उनले २०२१मा मात्रै आफूले आफू के हुँ भन्ने जानकारी पाएको बताइन्।

‘अहिले म यो स्वरुपमा छु, यसै आज पीटर बनेको होइन, अंग एउटा तर चाहना अर्को हुँदा पहिले त आफैंसँग लडें। त्यसपछि समाज र परिवारसँग। धेरै समय म को हुँ भन्ने मलाई नै थाहा भएन, यहाँ (नील हिरा समाज २०१२ तिर) आएपछि मात्रै म को हुँ भन्ने थाहा पाएँ, आफ्नो अंग र चाहनाको वास्तविकता बुँझे,’ उनले सुनाइन्।

शिक्षित परिवारमा जन्मिएका त्यसबेलाका अनुजको स्कूले नाम अनुज राई र घरको नाम अशोक थियो। घरमा अशोक भनेर बोलाउने, स्कूलमा उनका साथीहरु पनि उनलाई कहिले अनुज त कहिले अशोक भन्ने गर्थे। फूपु र बहिनीहरुका बिचमा हुर्किएका उनलाई स्कूलमा आफ्नै बाबा ममीसमेत पढाउने भएकाले असहज भएन।

‘म त फूपुहरुका बिचमा हुर्किएँ, बहिनी र भाइहरु पनि थिए, स्कूलमा बाबा प्रिन्सिपल र ममी पनि स्कुल पढाउने भएकाले मलाई सानोमा त असहज भएन, साथी-भाइहरुले मलाई हेप्नै सक्दैनथे, हेडसरको छोरा म,’ विगत सम्झँदै हाँसोसहित उनले भनिन्। स्कूले जीवन (प्लसटु)सकेपछि त्यतिबेलाका अनुजलाई परिवारले काठमाडौंमा पढाउने निधो गर्यो। आफूभन्दा कान्छी बहिनी र भाइहरुको समेत रेखदेख उनको काँधमा आयो। काठमाडौंमा उनी अभिभावकीय जिम्मेवारीमा बाँधिइन्।

‘मलाई घरमा पनि विभेद् थिएन, हामी एकदमै नियममा हुर्किएका थियौं, स्कुल जानेदेखि, खाना खाने र बेलुकी टीभी हेर्नसम्म रुल्स थियो’, उनले पारिवारिक अवस्थासँगै आफूलाई जोड्दै लगिन्, ‘बाबा शिक्षक भएकाले एउटै मात्रै कन्सेप्ट थियो पढ्नु पर्छ, मलाई स्कूल सकिएपछि बाबा ममीले स्नातक पढाउन काठमाडौं राख्नुभयो, मेरो जिम्मेवारी त्यसपछि थपियो।’

त्यतिबेलासम्म अहिलेकी पीटर अनुज नै थिए। काठमाडौंमा कलेज जीवन थियो। भर्खरै कलेज पढ्न थालेकाले उत्साह पनि, नयाँ जोश पनि। त्यसबेलाका अनुज कलेज र बानेश्वरको डेरा आउजाउ गर्न थाले। कलेजमा साथी बने। साथीका साथीहरुसँग पनि चिनजान भयो। उनले अगाडि भनिन्, ‘त्यो बेला कलेजमा सबैका ब्वाइफ्रेण्ड थिए, म चाँहि केटा भएर केटा नै मन पराउन थालेँ, मलाई त्यस बेलादेखि केटाहरुप्रति आकर्षण बढ्दै गएको थियो, स्वभाव महिलाको जस्तो भएपनि त्यो बेला म केटै थिएँ, केटा भएर केटा नै मन पराउन थालेछु।’

पीटरले त्यसपछि फेरि खोटाङ रहँदाका प्रसंगमा आफूलाई खुलाइन्, ‘त्यसबेला भूमिका श्रेष्ठले टिभीमा कार्यक्रम चलाउनुहुन्थ्यो, त्यो कार्यक्रम म लुकीलुकी हेर्थेँ, भुमिकालाई देख्दा मान्छे चाहिँ कति राम्री स्वर चाहिँ केटाको जस्तो भन्ने लाग्थ्यो, त्यही क्रममा म पढ्दै गर्दा काठमाडौं आएँ,’ उनको कथा फेरि काठमाडौंतर्फ नै मोडियो।

‘काठमाडौं आएपछि मैले भाइ-बहिनीलाई पढाउनुपर्ने थियो, म अभिभावककै रुपमा बस्नुपर्ने भयो, त्यो समय मैले आफूलाई टाइम दिन भ्याइनँ, व्याच्लर्सको पढाइ सकें’, उनले भन्दै गइन् ‘त्यही दौरानमा मैले मास्टर्स पढ्न सुरु गरेँ, त्यो बेलासम्म पनि मैले म आफूलाई के हुँ भनेर चिन्न पाइनँ, त्यो समय नै मलाई प्राप्त भएन।’ उनी यसरी २०१५अघि तिरै फर्किइन्।

आफैंलाई आफू के हुँ भन्ने जानकारी नभएको अवस्थाबाट आफैंसँग संघर्ष गर्नु परेको उनको कथाले फेरि उनलाई भावुक बनायो। हाल आफूलाई पीटरको नाम दिएकी उनले आफूलाई पुरुषबाट मनदेखि आएको महिलाको आफ्नो पहिचानमा उतार्न पाइला पाइलामा संघर्ष गर्नु परेको सुनाइन्।

‘जब मेरो बहिनीको विवाह भयो, भाइहरु बाहिर गए (भाइहरुको पेशा उनकै आग्रहमा गोप्य राखिएको), त्यसपछि म एक्लो हुन थालें, त्यो एक्लोपनले मलाई को मनपर्छ? मेरो चाहना के हो? भन्ने थाहा पाउन लागें, मेरो पहिलेदेखि नै फूपु र दिदीहरुसँग संगत थियो, केटाहरु दाजु-भाइहरुसँग मेरो संगत भएन नै, उनीहरु मसँग साथीजस्तो पहिले देखि नै थिएनन्।’

त्यसपछि उनलाई आफ्नो पहिचान खोज्नुपर्छ भन्ने लाग्न थाल्यो। समाजसँग कसरी खुल्ने भन्ने उनलाई डर पस्यो। ‘हामी घर बनाएर इमाडोल सर्यौ, त्यसै समयदेखि मलाई माया, आकर्षण र प्रेमका कुरा बढी थाहा हुन लाग्यो, त्यसबेला म केटाको स्वरुपमा भएपनि केटी हुन चाहन्छु भन्ने लाग्दै गयो, तर मलाई कसरी खुल्ने भन्नेमा गाह्रो हुन लाग्यो,’ उनले भावुक हुँदै भनिन्।

रुप एउटा चाहना अर्कै। चाहनाअनुसार आफूलाई कसरी उतार्ने? पीटरलाई चिन्ता बढ्यो। त्यस समय भर्खरै फेसबुक आएको थियो। फेसबुकबारे त्यसबेलासम्मका अनुजलाई जानकारी भयो। आफूलाई केटी बनाउन उनले फेसबुकको साहारा लिए। फेसबुकमा फेक आइडी खोले र साथी बनाएर च्याट सुरु गरे।

‘त्यतिबेला फेसबुकमा फेक आइडी बनाउने चलन धेरै थियो, मिग थ्रीमा ब्याइज लभ ब्वाइज भन्ने ग्रुप पनि हुन्थ्यो, त्यहाँ गएर म बोल्थेँ, फेक फेसबुक बनाएर बोल्न त्यहीबाट सिकें, म त ब्याचलर पास गरिसकेको मान्छे, मास्टर्स पढ्दै थिएँ, एक जनासँग आफन्तमार्फत विवाहको कुरा आयो,’ उनले दंग पर्दै भनिन्।

घरमा जेठो सन्तानका रुपमा जन्मिएको त्यसबखतको अनुजलाई विवाहको कुरा आउनु पनि अचम्म लागेन। तर, विवाह गर्ने कुरामा भने उनको मन नै मानेन। ‘बाहिर रहेका आफन्तमार्फत एउटी महिलासँग इन्गेजमेन्ट गरिदिनुभयो, बाबा ममीले नभनी नै मैले आफन्तकै सल्लाहमा इन्गेजमेन्ट त गरेँ तर उनी भएको ठाउँसम्म म आफैं जान सकिनँ, उनी यता नआउने म उता नजाने भएकाले विवाह रोकियो,’ उनले त्यसबखतको प्रसंग सुनाउँदै भनिन्।

मनले आफ्नो वास्तविक पहिचानको खोजी गरिरहेका उनलाई बहुतै ठिक भएजस्तो लागेछ। ‘त्यसबेला मैले एक दुई जना गे साथी बनाइसकेको थिएँ, उहाँहरु विवाहित नै हुनुहुन्थ्यो, उहाँहरुको सुझाव मलाई विवाह गर्नुपर्छ भन्ने थियो,’ उनले भनिन्।

समय फेरिँदै थियो, इन्टरनेटले फड्को मार्दै गयो। अनुजले त्यसबेला चाइनाका एकजना व्यक्ति इन्टरनेटमार्फत नै भेटे। ‘पीटर’ नामका ती चाइनीजसँग उनको सम्बन्ध झाँगियो। अनुजको नजिकको साथी ती चाइनीज व्यक्ति पीटर भए।

‘मेरो चाइनाको पीटर भन्ने एकजना साथीसँग चिनजान भयो, ऊसँग म इन्टरनेटमार्फत एकदमै धेरै बोल्थे, उसँग मेरो लभ नै परेजस्तै भयो, म उसलाई एकदमै मन पराउथे, उसँग बोल्न कुरा गर्न थालेपछि आफैंलाई के हुन्थ्यो के,’ उनले आफ्नो अनुभवबारे खुलाइन्।

उनले ती चाइनीज पीटरलाई गरेको मायाले कुनै सीमा नै बाँकी राखेन। ‘तपाईं साथीजस्तै भएर सबै कुरा आज गर्दैछु’, उनले आफ्ना प्रेम कथा खोल्दै भनिन्, ‘ऊ नेपाल नआउने म चाइना जान नसक्ने, ऊसँग इन्टरनेटबाटै लभ पर्यो, भेट्न पाइनँ तर आफ्नो फस्टलभको नाम नै मैले आफ्नो नाम राख्दिएँ, त्यसबेलादेखि म अशोक, अनुज हुँदै पीटर भएँ।’

त्यसपछि आफूले फेरि पहिलेजस्तै फेक आइडी चलाउँदै गएको उनले बताइन्। त्यही क्रममा आफूले एकजना केटा साथी भेटेको र आफू केटीका रुपमा उनीसँग भेट्न तयार भएको भन्दै उनले त्यस पललाई आँखामा उतार्दै भनिन्, ‘मैले फेरि फेक आइडी नै चलाउँदै गएँ, एकजना केटा साथी भेट भयो, वसन्तपुरमा ऊसँग डेट जाने कुरा भयो, मलाई खुसी पनि लाग्यो, असजह पनि भयो,’ आफू पहिलोपटक केटी बनेर कोही केटासँग भेट्न जान गरेको प्रयास थियो त्यो उनको।

‘घरबाट कसरी निस्किने भन्ने तनाव त भइनै रह्यो, मैले १२ बजेको टाइम दिएको थिएँ, २ बजेतिर मात्रै ऊसँग भेट भयो, म ऊभन्दा केही पर नै बसेँ, सबैले मलाई नै हेरेजस्तो फिल भयो, आधाघण्टा जति ऊसँग कुराकानी भयो, त्यसपछि ऊ गयो,’ फेरि एकपटक बिदाई गरेजस्तै हात माथि उठाएर हल्लाउँदै पीटरले ती केटा साथीसँगको पहिलो भेटमा गरेको हाउभाउबारे खुल्दै भनिन्।

त्यसपछि पीटरको नील हिरा समाजको हालकी अध्यक्ष पिंकी गुरुङ, समाजकै भूमिका श्रेष्ठ तथा सीमरन शेरचनसँग देखादेख भयो। त्यही दौरान पीटरका एकजना साथीको ‘मिस्टर गे’ भाग लिने कुरा चल्यो। आयोजक ब्लुडायमण्ड सोसाइटी नै थियो।  ‘ऊ एक्लै आउन नसक्ने, त्यही बेला म पनि बिडिएसमा जोडिएँ, त्यसपछि मेरो बिडिएसमा आउजाउ बढ्यो, म त्यहीँ इन्टर्नका लागि काम गर्न लागें, २०११/०१२ त्यतिबेला नै मैले गे, ट्रान्स भन्नेबारे बुझ्न थालें, त्यतिबेलासम्म म आफू गे हुँ भन्ने लाग्थ्यो,’ उनले सुनाइन्।

नील हीरा समाजमा इन्टर्न गर्दै गएपछि पीटरले आफूले घरमा आफ्नो वास्तविक पहिचान बुझेको र आफूले प्रष्ट रुपमा परिवारसँग खोलेर कुरा गर्न पटक-पटक प्रयास गरेको बताइन्।

‘जब मैले आफू ट्रान्स जेन्डर हुँ भन्ने थाहा भयो, त्यसपछि घरमा भन्ने आँट गरेँ, पटक-पटक कोसिस गरेपनि सकिनँ, मलाई बाबा मम्मीलाई भन्न एकदमै गाह्रो भयो, त्यसअघि फूपुदिदी र बहिनीलाई भनिसकेको थिएँ, उनीहरुले मलाई बाहिरबाट कपडा पठाउँदा केटीकै कपडा पठाउन थालिसकेका थिए, बाबा मम्मीलाई नभने पनि केटीले नै लगाउने लुगा ल्याइदिन थाल्नुभयो,’ दिदी बहिनीले नै बाबा मम्मीलाई भनेको हुन सक्ने संकेत गर्दै उनले भनिन्, ‘दिदी बहिनीले नै भनेको भएर होला, उहाँहरुले मलाई गर्ने व्यवहार फरक हुँदै गयो, छोरीकै व्यवहार गर्न थाल्नु भयो, मैले आफैंले मुखै खोलेर उहाँहरुसँग भन्न सकिनँ।’

पीटरको काम नील हीरा समाजमा चल्दै थियो। इमाडोल घरबाट आउजाउ गाह्रो भयो। त्यसमाथि पनि केटीको कपडा लगाएर अफिस जान उनलाई सहज भएन, केटाको कपडा लगाउन मन भएन। त्यसपछि उनले इमाडोल नबसेर लाजिम्पाटमा कोठा खोजिन्, घरबाट केटाको स्वरुपमा निस्किने, लाजिम्पाट पुगेर महिलाको पहिरनमा अफिस जाने उनको दैनिकी भयो।

‘केही दिन घरबाटै आउजाउ भयो, झोलामा कपडा हालेर कोठामा पुगेर महिलाको पहिरनमा आफूलाई चेन्ज गरेर अफिस जान थालेँ,’ उनले सुनाइन्। बाबा मम्मी घरमा नहुँदा भने घरबाटै महिलाको पहिरनमा अफिस जाने गरेको उनले बताइन्।

‘उहाँहरु घरमा नहुँदा चाहिँ म घरबाटै महिलाको पहिरनमा अफिस आउन लागें, फेरि बाबा मम्मी आएपछि म घरबाट केटाको लुगा लगाएर आए पनि लाजिम्पाट कोठामा पुगेर कपडा फेरेरै अफिस आउने गर्थे,’ उनले आफ्नो कथा सुनाउँदै गइन्।

‘त्यसपछि मलाई विवाहका लागि घरमै केटा मान्छेको कुरा आउन थाल्यो, एकजना दिदीकै आफन्तकहाँबाट फेरि बाहिरै बस्ने केटाको कुरा आयो, मैले त्यो केटा मान्छेसँग कुरा पनि गर्न थालेँ, मलाई केटी बनेर विवाह गर्न त्यसबेला एकदमै रहर जाग्यो। मलाई विवाह भन्ने कुरा एकदमै ठुलो कुरा हो भन्ने लाग्न थाल्यो, तर भिसा पाइनँ, म ट्रान्स भएकै कारणले मलाई भिसा दिइएन, विवाह भएर पनि म जान पाइउँदिन कि भन्ने लाग्न थाल्यो। एउटा केटी हुनु र ट्रान्स हुनुमा असर पार्दो रहेछ भन्ने त्यसबेला बुझेँ। एउटा डकुमेण्टले पनि कति असर पार्दो रहेछ भन्ने त्यसबेला बुझेँ,’ उनले आफ्ना छेकिएका रहर खोतल्दै भनिन्।

यस वर्षको तिहार उनका लागि बाबा मम्मीको अगाडि लक्ष्मी बन्न जुर्यो। बाबा मम्म घर बाहिरबाट फर्किँदा घरका भित्तामा पीटरले राखेका आफ्नो महिला पहिरनको तस्बिरले बाबा मम्मीको मन तानिसकेको रहेछ। ‘राम्री देखिएकी छौं, तिम्रो आइडेन्टीटी देखें’ भन्ने बाबाको वचनले पीटरलाई तिहारबाट बाबा मम्मीका अगाडि छोरी स्वरुपमा खुलायो। उनले लक्ष्मी पूजाका दिन आफूलाई महिलाकै पहिरनमा बाबा मम्मीका अगाडि उभ्याइन।

‘धेरैपटक कोसिस गरें सकिनँ, बाबा मम्मी बाहिर गएका बेला घरको भित्तामा छोरी बनेको फोटो राखेको थिएँ, त्यो फोटो पहिलेपहिले झिक्दै राख्दै आएको थिएँ तर यसपटक हटाइनँ,’ उनले भनिन्, ‘ओहो राम्री देखिएकी छौं’ बाबाको प्रतिक्रिया पाएको भन्दै उनले सुनाइन्।

‘मलाई ठूलो आँट आयो, छोरी बनेर आर्शिवाद मागेँ, पहिले छोरा भएर जन्मिएको अहिले छोरी भयौ, आँटेको सोचेको पुरा होस् भनेर आर्शिवाद दिनुभयो,’ उनले सुनाइन।

उनले आफ्नो पहिचान र स्वअनुभूतीले जितेको त्यो दिनलाई सम्झँदै भनिन्, ‘त्यो दिन मेरा लागि विशेष दिन बन्यो, म घरमै पीटर भएँ, छोरी भएँ, ट्रान्स जेन्डर भएँ, मैले मेरो पहिचान पाएँ।’

पीटरले २०२१देखि नियमित हर्मोनको सेवन गर्दै आइरहेकी छिन्। ‘आफ्नो स्वरुपलाई परिवर्तन गर्न मैले हरेक दिन हर्मोन लिइरहेको छु, यो नखाए नशाहरु देखिने, अनुहार नरम नहुने हुन्छ, रेगुलर नै खाइरहेको छु’, उनले भनिन्।

आफूले शरीरमा लगाउन एउटा ‘जेल क्रिम’ पनि प्रयोग गर्ने गरेको उनले जानकारी दिइन्। ‘जेलले फिमेल हर्मोन बनाउन सहयोग गर्छ, बडीमा लगाउने गरेको छु, सर्जरी गर्ने मेरो प्लान छैन, रहर छैन,’ पीटर भन्छिन्।

बेहुली बन्ने रहर

पीटरलाई अहिले बेहुली बन्न रहर लागेको छ। पहिले आफ्नो पहिचानको खोजीको लडाइँमा रहेकी उनलाई अहिले विवाह गर्न मन छ। ‘मलाई बाबाले विवाह गर्ने प्लान के छ भनेर सोध्ने गर्नु हुन्छ, लाइफमा एक्लै होलिउ विचार गर भन्दै आउनुभएको छ, कसैलाई ज्वाइँँ बनाएर लगेँ भने स्वीकार्नुहुन्छ, अहिलेसम्म एक्लै छु, ४० वर्षसम्ममा विवाह गर्छु भन्ने छ, बेहुली बन्ने मन छ,’ उनले रहर खोल्दै भनिन्।

श्रीमानमार्फत सर्जरीको अपेक्षा भएमा भने आफूले विवाहपछि सोच्न सक्ने बताउँदै उनले भनिन्, ‘पर्फेक्ट हाउस वाइफ, पर्फेक्ट बुहारी भएर उसको घरमा रहन्छु, श्रीमान्लाई कम्फर्टेवल भएन र तिमी सर्जरी गर भन्ने सुझाव आयो भयो म त्यसका लागि पनि तयार हुनेछु तर श्रीमानलाई र परिवारलाई तेरो बुहारी यस्तो भन्ने कुरामा उहाँहरुले स्ट्याण्ड लिन सक्नुपर्छ, म हरेक कुरामा कम्परमाइज गर्न तयार छु,’ उनले भनिन्।

आजको आजै यो समुदायका व्यक्तिले आफूलाई समाजमा खुलाउन नसक्ने उनी बताउँछिन्। पहिले आफूले आफूलाई बुझ्नुपर्ने भन्दै उनले त्यसपछि मात्रै समाज र परिवारमा आफ्नो पहिचानका लागि लड्न सकिने आफ्नो अनुभवले सिकाएको उनले बताइन्।

- महेश गौतम (नेपाल न्यूज बैंक)

प्रकाशित मिति: : 2024-11-23 13:18:00

प्रतिकृया दिनुहोस्