अमेरिकाको ४७औं राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पका लागि दिन दाहिना हुँदै गएका छन्। चुनावी अभियानमा ऐतिहासिक जीत हासिल गरेका उनीविरूद्ध ३४ अभियोगमा दोषी ठहर गर्ने न्युयोर्कको म्यानहट्टन अदालतले अनिश्चितकालका लागि सजाय सुनाउन स्थगित गरिदिएको छ।
पोर्नस्टार स्टोर्मी डानियललाई चुप लगाउन तिरेको एक लाख ३० हजार डलरको झुटो विवरण राखेको ३४ अभियोगमा दोषी ठहर गर्ने न्यायाधीश जुआन मर्चनले ट्रम्पविरूद्ध अनिश्चितकालका लागि सजाय नतोक्ने निर्णय गरेका छन् । पटक पटक सजाय तोक्न म्याद सारिएको मुद्दाको नोभेम्बर २६ मा सजाय तोक्ने भनिएको थियो । तर, न्यायाधीशले त्यसको चार दिन अघि नै अनिश्चितकालका लागि सजाय नतोक्ने 'एक पन्ने' फैसला सुनाए ।
अमेरिकामा पूर्व राष्ट्रपति 'फेलोन' प्रमाणित भएको र त्यस्तो एक फेलोन फेरि राष्ट्रपतिमा निर्वाचित भएको अनौठो परिस्थिति सिर्जना भएको छ । यस अतिरिक्त केहि समय पहिले सर्वाोच्च अदालतले अर्को एक मुद्दामा राष्ट्रपति वहाल रहेको बेला राष्ट्रपतिका रूपमा गरिएका कुनै कार्यमा मुद्दा नलाग्ने फैसला गरेको छ । यही फैसलाको नजीर अगाडि सारेर ट्रम्पका वकिलहरूले यो 'हस मनी' मुद्दालाई खारेज हुनुपर्ने माग गरिरहेका छन् । उता, डिस्ट्रिक्ट एटोर्नी एल्भिन ब्रागले भने यो अचम्मको परिस्थितिका कारण न्यायाधीश नै अन्योलमा रहेको र ट्रम्प राष्ट्रपति रहुञ्जेल मुद्दाको सजाय नै नतोकिने परिस्थिति आएको बताएका छन् । उनले यस्तो परिस्थितिमा मुद्दा खारेज गर्ने भन्दा सजाय मुल्तवीमै राख्ने निर्णय नै बढी श्रेयस्कर हुने बताएका छन् ।
डोनल्ड ट्रम्पको अचम्मको चरित्र र व्यक्तित्वको कारण अमेरिकी अदालतले पनि आफ्नो शाख राख्न नसकेको अवस्था सिर्जना भएको छ। उनीविरूद्धका मुद्दाहरू हुन् वा सजाय तोक्ने निर्णय सबै यी मुद्दाहरूको निर्णयले पार्ने राजनीतिक प्रभावको आँकलन गर्दै होसियार पूर्वक ढिलो गरिएका थिए । चारवटा फौजदारी मुद्दामध्ये चुनाव अघि उनलाई दोषी प्रमाणित गरेको मुद्दामा पनि सजया तोक्ने मिति भने चुनावपछि सारिएको थियो । अब त त्यो सजाय पनि अनिश्चितकालका लागि नसुनाइने भनेर अचम्मको नजीर स्थापित गर्न खोजिएको छ ।