‘मास्क र पंजा लगाएर काम गरिरहेको छु। स्वस्थ छु। तीस पुगेको छैन। कोरोनाविरुद्ध खोप लगाउन मन सर्रर भएको छैन। विज्ञानलाई मान्छु तर मेरो शरीरमा अर्को तन्तु किन पठाउनु भन्ने लाग्छ। लाउनै पर्ने भएछ भने लगाउला।’, नियमित पसल आउने कृषलाई खोप लगायौ ? भनी राखेको जिज्ञासामा खोप नलगाउनुको कारण यसरी जनाए। र, थपे, 'मैले विज्ञानलाई वेवास्ता गरेको पनि होइन। म कतै पनि गएको छैन। जानै परेछ भने विचार गर्न सक्छु। अहिले नै त्यो खोप शरीरमा पठाउनु नचाहेको मात्र हो।' कृष हेयर डिजाइनर हुन्।
- भनाई (१)
‘यो पोशाक लगाएकै समयमा मैले भन्न त मिल्दैन तर म खोपमा भर पर्न सकेको छैन। र यो इर्मेजेन्सीमा निकालिएको हो। यसले शरीरको जीनलाई नै प्रभाव पार्छ भन्ने सुनेको छु। वास्तवमा यो के हो भन्ने बारेमा सबै पक्ष राम्ररी थाहा छैन। मलाई लाग्छ सबै कुरा राजनीतिकरण भएको छ।’, बेलाबेलामा समस्या भए भन्नु होला भन्दै पसलमा आइरहने सुरक्षाकर्मीले खोपका विषयमा आफ्ना विचार राखे।
- भनाई (२)
प्रतिनिधि यी भनाईहरु कोरोनाविरुद्ध खोप ‘चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको विड’ भनिने नेपाली उखानसँग मिलेको छ। कारण, खोपका बारेमा सही तथ्यगत सूचनालाई खोपविरुद्ध समाजिक संजालमा आइरहेका भ्रामक सामग्री हुन् र त्यस्ता सामग्रीले सर्वसाधारणमा द्धिविधा उत्पन्न भएको हो।
जुलाई १७ मा प्रकाशित 'गार्जियन'का अनुसार कोभिडविरुद्ध खोपलाई असफल बनाउन गलत सूचना र ‘कन्सप्यारेसी थियरी’ मार्फत् भ्रम सिर्जना गर्ने १२ जना शक्तिशाली व्यक्तिहरुको पहिचान 'ह्वाइहाउस'को सेन्टर फर काउन्टेरिङ डिजिटल हेट साइट (सिसीडिएच)ले खोज बाहिर ल्यायो।
अमेरिका र बेलायतमा रहेका उनीहरुले इन्टरनेटको सुविधालाई प्रयोग गर्दै खोप लगाउन नहुने लगायतका भ्रामक सामग्री प्रेषित गरेका छन्। त्यसरी प्रकाशित सामग्रीहरुलाई पाँच करोड ९० लाख मानिसले पछ्याएको भेटिएको छ। खोपविरुद्ध तथ्यहीन विषयहरु 'फेसबुक', 'ट्वीटर'लगायतका समाजिक संजालहरुले प्रयोग गरिएको 'गार्जियन'ले उल्लेख गरेको छ।
'सिसीडिएच'ले आठ लाख १२ हजार फेसबुकमा फेब्रुअरीदेखि मार्चसम्म प्रस्तुत समाग्रीहरुको विश्लेषण गरेको थियो। तीमध्ये ६५ प्रतिशत समाचार सामाग्री असत्य पाइएकाे थियाे।
सरकार जनताको स्वास्थ्य सुरक्षाप्रति उत्तरदायी भएर नै अर्बौ डलरको लगानी एवं अनुसन्धानबाट कोभिडविरुद्धको खोप स्थापित हुने हो। अमेरिकामा चरणबद्ध रुपमा दिइएको खोप पूरा मात्रा लगाउनेहरु करिब ४९ प्रतिशत छन्। ती मध्ये ६५ वर्ष माथि ७९.१ प्रतिशले पूरा खोप लगाइसकेका छन्।
विडम्बना, अझै युवा पुस्ता खोपप्रति विश्वस्त हुन सकेका छैनन्। समान्य हुन गइरहेको जनजीविकामा असहजता उत्पन्न भएको छ। चौथो 'वेभ'मा आएको डेल्टा भाइरस संक्रमण मध्य र पश्चिमी राज्यहरुमा बढेको छ। अस्पतालमा भर्ना भएको ९९.५ प्रतिशत संक्रमितहरु खोप नलगाएकाहरु रहेको तथ्य सार्वजनिक भएका छन्।
'टेनिसी'का स्वास्थ्यकर्मीले 'द गार्जियन'लाई (जुलाई २३ मा) भनेका छन्, ‘अस्पतालका भन्टिलेटरमा हजुरबुवा-आमा र हाम्रा अभिभावकका उमेरका विरामी हुन्थे। अहिले हामीजस्ता २० देखि ३० वर्षकाहरु छन्।’
'नजिकका देउता, हेला' भनेजस्तै छ। नेपाललगायत कति देशमा खोप लगाउन घण्टाै लाइनमा बस्नु परेको छ। यहाँ सहजै उपलब्धतालाई बेवास्ता गरिएको छ। बाहिरी संसारको आँखाले अमेरिकालाई हेर्दा लाग्छ, संकुचित विचार हा्े वा सरकारीे योगदानलाई अर्घोलो ठान्ने परिपाटी ? त्यो पनि युवा पुस्ता ? खोपप्रति अविश्वास गरी नलगाउने र ज्यान जोखिममा पार्नु जीवनको मूल्य थाहा नपाउनु जस्तै हो।
त्यतिमात्र नभएर खोप लगाउनका लागि राज्यले प्रोत्साहनका कार्यक्रमहरु चलाएका छन्। जस्तैः मेरिल्याण्ड राज्यमा खोप लगाउनेहरुलाई दैनिक ४० हजार बराबरको चिट्ठा खुलाएको थियो। मेरिल्याण्ड राज्यमा पूरा मात्राको खोप लगाउनेको संख्या करिब ५५ प्रतिशत छ।
खोप नलगाउँदा
अस्पतालको नीति विपरीत उपलब्ध खोप नलगाएका ६ जना उच्च पदस्थ स्वास्थयकर्मीलाई 'आरडब्लुजे स्वास्थ्य केन्द्र न्यूजर्सी'ले निष्काशन गरेको 'वासिङटन पोष्ट'ले जनाएको छ। यसैगरी 'ह्युस्टन मेथोडिस्ट' अस्पतालले अस्पतालको खोप लगाउने नीतिलाई स्वीकर नगरेका एक सय ५३ स्वाथ्यकर्मी र कर्मचारीलाई कारवाही गरेकाे पाइएकाे छ।
वुहान (चीन) बाट शुरु भएको कोरोना भाइरस अल्फा (बेलायत), विटा (साउथ अफ्रिका), गामा (ब्राजिल), लोटा (न्यूयोर्क), क्यालिफोर्निया (क्यालिफोर्निया) हुँदै डेल्टा (भारत) चौथो रुपमा रुप परिवर्तन गरेको यस भाइसरका कारण विश्वमा चार दशमलव १५ मिलियन व्यक्तिको मृत्यु भइसकेका छ।
अतः उपलब्ध खोप लगाऔं। मानव कल्याणका लागि आफू र अरुको जीवन जोगाउन योगदान दिऔं।