नेपाली औषधि, नेपाली बजार (श्रृङ्खला-१)

नेपाली औषधि बजार उधिनिरहेकाे ‘ओम्निका’

‘मेडिकल’ क्षेत्रमा एक दशक लामो अनुभव बटुलेका महेशलाई पटक-पटक साथीहरूले सुझाव दिए, ‘तिमी औषधि उत्पादन कम्पनी खोल् महेश!’ 

‘सेल्स पर्सन’ बाट करिअरको सुरुआत गरेका महेशले चिकित्सा प्रतिनिधि भएर काम मात्र गरेनन् औषधि व्यवसाय सम्बन्धि ज्ञान पनि हासिल गरे।

सायद! उनकाे त्यही क्षमतालाई राम्राेसँग बुझेका थिए महेशका दाैतरीहरूले।

महेशसँग कम्पनी सञ्चालन गर्नका लागि साथीहरूकाे सकारात्मक सुझाव थिए, साथमा उनीसँग औषधिसम्बन्धि ज्ञान पनि थिए। तर बिडम्बना, गाेजीमा पैसा थिएन।

औषधि कम्पनी स्थापना गर्नसक्ने सामर्थ्य मात्रै उनीसँग थिएन तर कम्पनी खोल्नका लागि उत्प्रेरित गर्ने साथीहरूको अठोट साथ पनि थियो। त्यही साथ र विश्वासले महेशसहित १५ जना साथीहरू मिलेर नेपालमा एउटा औषधि उत्पादन कम्पनी सञ्चालन गर्ने योजना बन्यो। 

त्यसपछि सुरु भयो ‘ओम्निका’

उनीहरूको योजनाअनुसार कम्पनी बन्ने पक्का भयो। अब कम्पनीको नाम के राख्ने? सबै साथीहरू अन्योलमा परे। त्योबेला धेरै कम्पनीको नाम मान्छेको ‘थर’बाट राखिएको थियो। तर महेशको साचे भने विल्कुलै फरक थियो। 

‘कम्पनीको नामलाई थरसँग जोड्ने हाम्रो कुनै सोच थिएन, त्यसैले हामी सबैजना मिलेर नाम खोज्न थाल्यौं’, उनी भन्छन्, ‘धेरै सोचेपछि हामीले कम्पनीको नाम ओमनिका राख्यौं।’

भक्तपुरको इँटा टायल कारखानाबाट करिब एक किलाेमिटर टाढा छ, ‘ओम्निका ल्याबेटोरिज’। 

सन् १९९७ सालमा स्थापना भएको ओम्निकाको उत्पादनको मार्केटिङ सन् २००० सालदेखि सुरु भयो।

उनीहरूको सपना कम्पनी बनाउने मात्रै थिएन। कम्पनीमा गुणस्तरीय औषधि उत्पादन गर्नु र त्यही औषधिलाई जनताहरूसम्म पुर्‍याउनु थियो। त्यसैले ओमनिकामा बनेका औषधि देख्नका लागि तड्पिरहेका थिए महेशहरू। 

कम्पनी तयार थियो। पर्खाइ थियो त औषधिको। तर अब औषधि पनि बन्ने तयारीमा थियो। 

औषधि बनाउने अघिल्लो रात। ओमनिकामा कस्तो औषधि बन्ला? महेशको मनमा कुरा खेलिरह्यो। 

भोलिपल्ट बिहान। 

कम्पनीले सात थरिका औषधि बनायो। जसमा ग्यास्ट्रिक, रुघाखोकीलगायतका औषधिहरू थिए। त्यही औषधिलाई पहिलोपटक महेशका साथी तथा ओम्निकाका अध्यक्ष प्रदिप श्रेष्ठले सेवन गरेका थिए। 

रुघाको औषधि सेवन गरेको एक घण्टापछि श्रेष्ठले भने, ‘इट्स वर्क। साँच्चिकै औषधिले काम गर्‍यो है। अघिसम्म मेरो नाक पूरै बन्द थियो अहिले बोल्न सजिलो भयो।’

पहिलोपटक आफ्नो कम्पनीमा बनेका ‘मेडिसिन’ र साथीको प्रतिक्रिया पाएर महेश यतिधेरै खुसी थिए कि जति पीडा सहेर बच्चा जन्माएपछि खुसी हुन्छिन् एउटी आमा। 

‘साँच्चै, म धेरै खुसी थिएँ। रातभरको तनाव र कौतुहलता हटेको थियो’, बिएल नेपाली सेवालाई उनले भने, ‘औषधि तयार हुँदा र यसले राम्राेसँग काम गरेकाे देख्दा रमाइलो र आनन्द हुनु स्वभाविक नै हाे।’ 

एक महिनामा सात थरिका औषधि बनाएको ओम्निकाको ‘प्रोडक्ट’ चिनाउन बजारमा काम गर्न थाले महेशका टोलीहरू। 

‘कम्पनीको मार्केटिङ गर्दा धेरैजनाले भाेजभतेर र प्रचारप्रसार गर्छन् तर हामीले भोजभतेर गरेनौं। हामी आफैं बजारमा गएर हाम्रो कम्पनी र प्रोडक्टको बारेमा बतायौं’, कम्पनीका प्रबन्ध निर्देशक महेश भन्छन्, ‘ओम्निकामा उत्पादित औषधिलाई बजारमा चिनाउनु चूनौतीपूर्ण थियो।’

अर्न्तराष्ट्रिय प्रोडक्टसँग ओमनिकाको प्रतिस्पर्धा

ओम्निकाले पहिलोपल्ट निकालेको औषधि थियो, ‘हायोसपान’। जसलाई ग्यास्ट्रिकका साथै महिलाहरूले महिनावारी हुँदा पेटको दुखाईबाट छुटकारा पाउनका लागि सेवन गर्छन्।

तर नेपालमा हायोसपान उत्पादन हुनअघि विदेशी प्रोडक्ट ‘बुस्काेपान’ चर्चित थियाे। जसले विश्वभरको विश्वास जितेको थियो। नेपाली महिलाहरूको मन–मनमा बस्न सफल थियो। त्यही प्रोडक्ट नै ओमनिकाको लागि चूनौतीपूर्ण थियो। 

‘बुस्कोपानसँग प्रतिस्पर्धा हाम्रो लागि त्यति सजिलो थिएन तर हामीले हार मानेनौं। बजारमा काम गर्दै हायोसपानबारे बताइरह्यौं’, उनले भने। 

ओम्निकाको टोलीले आफ्नो बजारीकरणको माध्यम चिकित्सक र स्वास्थ्यकर्मीलाई सुनाउँदै उनले भने, ‘हामीलाई विश्वास नगर्नूस् तर अब तपाईंकहाँ आउने बिरामीहरूलाई हायोसपान दिनुस् र उनीहरूको प्रतिक्रिया लिनूस्।’

महेशलाई विश्वास गरेका केही डाक्टरहरूले बुस्कोपानको सट्टामा हायोसपान बिरामीहरूलाई प्रयोग गर्न लगाए। 

नयाँ औषधि सेवन गरेका बिरामीहरूको प्रतिक्रिया धेरै सकारात्मक आउन थाल्यो।

त्यसपछि देशभर हायोसपानको चर्चा हुन थाल्याे। यतिसम्म कि बुस्कोपानले हायोसपानलाई हराउन नयाँ–नयाँ अफर दिन थाल्यो..‘१० प्याकेट किन्दा एक प्याकेट फ्री।’ 

तर ओम्निकाले कहिल्यै ‘बोनस अफर’ बाँडेन तर पनि नेपालको नम्बर–‘वान ब्राण्ड’ बन्न सफल भयो। 

ओम्निकालाई चिनाउने ब्राण्ड हायोसपान मात्र बनेन ‘एलोरिक’ले पनि उत्तिकै सफलता दिलायो। यूरिक एसिडको समस्या हुँदा प्रयोग गरिने एलोरिक औषधिले अर्न्तराष्ट्रिय प्रोडक्ट ‘जाइलोरिक’सँग प्रतिस्पर्धा गर्‍याे। र, नेपालकाे नम्बर एक प्राेडक्ट बन्याे।

नेपालमा गुणस्तरीय औषधिको उत्पादन भइरहेको थियो। तर सन् २००३ सालमा डब्लूएचओले ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ लाई भित्र्यायो।

त्यसपछि झनै औषधिकाे गुणस्तरीय बढ्दै गयाे। 

नेपालमा ‘जीएमपी’ पाउने पहिलाेपटक पाँच  कम्पनीमध्ये ओम्निका पनि एक थियाे। उनी भन्छन्, ‘त्याेबेला धेरै कम्पनीहरूले जीएमपीबारे बुझेका थिएनन्।’

नेपाली जनतालाई गुणस्तरीय औषधि खुवाउने लक्ष्य बोकेको ओम्निकाले औषधि मात्र उत्पादन गरेन। कम्पनीमा भएका फर्मासिस्टलाई पहिलाे पटक भारतमा लगेरपनि नयाँ प्रविधि सिक्ने अवसर दिलायाे।  

त्योबेला ओम्निका मात्र एक त्यस्तो कम्पनी थियो, जसले पहिलोपटक सन् २००० सालदेखि कम्पनीका फर्मासिस्टलाई ‘इण्डियन फर्मासेक्टिकल कंग्रेस’ मा भाग लिन भारत पठाउन थालेकाे थियाे। 

नेपालबाट पहिलाेपटक भारत जाने ओम्निकाकी शाेभा बस्नेत थिइन्। त्यसपछि विस्तारै नेपालका अन्य औषधि कम्पनीहरूले फर्मासिस्टहरूलाई भारत पठाउन थाले।  

‘स्टोरोइड्स’ बनाउने पहिलो कम्पनी बन्यो ओम्निका

सन् २००७ सालदेखि ओम्निकाले हाडजोर्नी सम्बन्धिका औषधि ‘स्टोरोइड्स’ को उत्पादन सुरु गर्‍याे। उक्त औषधि उत्पादन गर्ने पहिलो कम्पनी थियो ओम्निका। 

‘नेपालमा स्टोरोइड्स औषधिको उत्पादन हाम्रो कम्पनीले सुरुवात गरेको थियो तर औषधिको जति महत्व थियो त्यतिकै उत्पादन गर्दा घातक पनि हुन्थ्यो’, उनी सुनाउँछन्, ‘औषधि बनाउने मान्छेले धेरै सावधानी अपनाउनुपर्छ। त्यसको लागि छुट्टै फ्याक्ट्री चाहिन्छ।’ साेहीकारण ओम्निकाले अहिलेपनि स्टोरोइड्स छुट्टै बनाइरहेकाे छ। 

पहिलोपटक स्ट्रोओइल्सको उत्पादन सुरु गरेको ओमनिकाले जस्तै अहिले धेरै कम्पनी त्याे औषधि बनाइरहेको छ। जुन औषधि सबैभन्दा धेरै कोभिड–१९ को समयमा आवश्यक परेको थियो। 

‘क्यान्सर’को औषधि उत्पादनको प्रयास

कुनैबेला सात वटा औषधि बोकेर बजार छिरेको ओम्निकाले अहिले एक सय २० थरिका औषधि उत्पादन गरिरहेको छ। जसमा ट्याबलेट, क्याप्सुल र पाउडर जस्ता औषधिहरू समावेश छन्।

‘हामीले ट्याबलेटमा खोकीको औषधि पनि बनाएको थियौं, त्यसबाट पनि राम्रो चर्चा पायौं’, ट्याबलेट औषधिले सहज भएको बताउँदै उनले भने, ‘बोतलको झोल औषधि भन्दा ट्याबलेट औषधि बोक्न पनि सजिलो भयो र मूल्य पनि सस्तो पर्‍याे।’ 

सन् १९९७ सालमा दर्ता भएको कम्पनी ओम्निकामा अहिले दुई सय जना कर्मचारीहरूले रोजगारी पाइरहेका छन्। 

‘हामीले कम लगानीमा कम्पनी खोलेका थियौं’, उनी सुनाउँछन्, ‘त्योबेला धेरै सस्तोमा सञ्चालन भएको कम्पनी ओम्निका थियो। हामीसँग धेरै लगानी गर्ने क्षमता थिएन।’ 

चुनौती र संघर्ष गरेर अगाडि बढेको ओम्निकाको अब लक्ष्य भनेको नयाँ ‘फ्याक्ट्री’ सञ्चालन गर्नेछ। जहाँ क्यान्सर, स्टोरोइड्सलगायतका प्रोडक्टहरूलाई उत्पादन गर्ने योजना छ।

पैसा कमाउनेभन्दा पनि सधैं गुणस्तरीय प्रोडक्टलाई ध्यान दिएकाे ओम्निकाको अगामी उद्देश्य भनेकै नेपालीहरूका लागि आवश्यक र जीवन रक्षक औषधि नेपालभित्रै उत्पादन गरेर औषधिमा देशलाई आत्मनिर्भर बनाउने छ।  

प्रकाशित मिति: : 2024-11-08 16:00:00

प्रतिकृया दिनुहोस्