भारतमा बाढीका कारण ज्यान गुमाउनेको संख्या १ सय ४३ नाघ्यो, १ कराेड २० लाख प्रभावित

Agency

भारतको तीनवटा राज्य असम, बिहार र केरलमा बाढी र पहिरोका कारण शनिबारसम्म १ सय ४३ जनाले ज्यान गुमाइसकेका छन्।

बाढीका कारण नेपालसँग जोडिएको भारतको दुई राज्य बिहार र असममा मात्र १ करोड २० लाख व्यक्ति प्रभावित बन्न पुगेका छन्।

बिहारमा मात्र ६६ लाखभन्दा बढी भारतीय प्रभावित भएको जनाइएको छ। यहाँ आर्मी र पुलिसको १८ वटा टिम राहत र ज्यान बचाउने कार्यमा जुटेका छन्।

पछिल्लो २४ घण्टायता बिहारमा मात्र १४ जनाले ज्यान गुमाएका छन्। बिहारमा हालसम्म मर्नेको संख्या ९४ पुगेको छ।

सरकारले राहत कार्यलाई सुचारु राखेपनि अत्याधिक पानीका कारण प्रभावकारी बन्न सकेको छैन्। राज्य सरकारले बिहारको १२ जिल्ला पुरै प्रभावित रहेको बताएको छ।

राज्यको १ हजार ग्रामिण सडक र १५ पुल बाढीको कारण क्षतिग्रस्त बनेका छन्।

स्थानीय नदीको जलस्तर घटेपनि नेपालबाट बग्ने बागमती, बुढी गण्डकी र कमला नदीको जलस्तर खतराको चिन्हभन्दा माथि नै छ।

असममा ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ। राज्यको ३७ सयभन्दा बढी गाउँ जलमग्न भएको र ४८ लाख मानिस प्रभावित रहेको बताइएको छ। यहाँ पनि पछिल्लो २४ घण्टामा ११ जनाले ज्यान गुमाएका छन्।

यस्तै, केरलमा लगातारको बर्षाका कारण तीन जनाको ज्यान गएको छ। आठ बेपत्ता भएको समाचार एजेन्सीहरूले बताएका छन्।

प्रकाशित मिति: : 2019-07-20 21:50:55

प्रतिकृया दिनुहोस्