धनेम्पा काँईलाकाे ५ भाइ छाेराहरूमध्ये बाँकि जीवित भनेकाे माझाघरे कान्छा र पुछारघरे काँईला हुन्।
माझाघरे कान्छाकाे वास्तविक नाम धनबहादुर हाे तर गाउँकाे बिचमा घर भएकाे र परिवारकाे कान्छाे भएकाले गाउँमा माझाघरे कान्छा र गाउँकाे पुछारमा आफ्नाे अंश परेकाे जग्गामा घर बनाएर बसेकाे मनबहादुर गाउँकाे पुछारतिरै घर भएकाे र परिवारकाे काँईलाे छाेराे भएकाले पुछारघरे काँईलाकाे नामले परिचित छन्।
माझाघरे कान्छा आफ्नै खेतबारीमा नियमित झुम्मिरहन्छ। जीवन धान्ने प्रमुख आधार नै खेतीपाती हाे। पानीको अभाव यहाँको प्रमुख समस्या हाे।सिंचाइकाे अभावले परिश्रम धेरै गरेपनि उत्पादन कमै हुन्छ। तरपनि गाउँमा सबै खुशिनै देखिन्छन्। सानाे खाेल्साकाे पानीले पालैपालो मिलाएर आजसम्मकाे खेती चलाईरहेकै छन्।
पुछारघरे काँईला गाउकाे पुछारमा सानाे चित्राकाे छाना भएकाे घरमा एक्लै बसिरहेकाे छ। श्रीमती पुछारघरे काँईलीले संसार छाेडेकाे लगभग ३ वर्ष भैसक्याे। तीन जना छाेरीहरु आ-आफ्नाे घर गरीखाने भैसकेका छन्। एउटा भएकाे छाेरा बुहारी र नातीनातिना मधेसतिर छन्। त्यसैले पुछारघरे काँईला यसपाली आफू पनि मधेस बसाइँ जाने तयारीमा छ।
छाेरा नविनले उता मधेसतिर नै घर बनाएकाे छ। नवीन विद्यार्थीकालमा सकृय विद्यार्थी राजनीति गर्दै पछि खै के साेचेर गाउँमै केही गर्नुपर्छ भन्दै राजनीतिमा निस्कृय हुँदै भएकाे सिम खेतनै वैंकमा धिताे राखेर तरकारी खेतीमा लागेकाे थियाे। उसले कृषिमा अनुदान र सहुलियतकाे बारेमा पनि बुझेकाे थियाे। बाहिरबाट हेर्दा तरकारी बजार र व्यापार पनि राम्रै देखिएकाे थियाे। गाउँ नजिकै बजार भएपनि तरकारीले बजारभाउ पाएन, पानिकाे हाहाकार उस्तै, हिउँद याममा त खानेपानि नै धाै धाै हुने गाउँमा। अनि उस्ले सुनेजस्ताे र साेचेजस्ताे अनुदान र सहयाेग कुनै निकायबाट पनि पाएन। धेरै ठाउँमा निवेदन पेस र अनुराेधपत्र चढायाे, अलिअलि राजनीतिक भनसुन पनि लगायाे। एकदुई ठाउँबाट आश्वासन पनि आए।तर अनुदान, सहयाेग भन्ने चैं भ्रम मात्रै रैछ जस्तो लाग्न थाल्यो ।नविनलाई आफ्नै लगानी उकास्न गाह्राे भयाे।
नविनकाे बिहे भयाे। एउटा छाेरी पनि भयाे। अन्त्यमा मुख्य उब्जनी हुने जग्गामा पुरै टनेल खाल्डाखुल्डी र तरकारी। अन्य आम्दानीकाे स्राेत केही थिएन। पारिवारिक दायित्व बढेर आयाे। तरकारी बेचेकाे पैसाले घरपरिवार चलाउन गार्हाे हुँदै गएपछि विदेश जाने याेजना बनायाे। विदेश जाने प्रकृया अन्तिम चरणमा पुगेकाे बेलामा कृषि कार्यलयबाट एउटा अनुदान कार्यक्रम पर्याे।जम्मा साठी हजारकाे कार्यक्रम परेपछि उसले पनि चलाखिपूर्ण तरिकाले कागजपत्र बिल भर्पाई मिलाएर पैसा निकासा गरायाे र यता उता मिलाएर जम्मा चालिस हजार हात पार्याे। बाटाे खर्च जुटायाे। र आफ्नाे खेतमा उत्साह र हाैसलापुर्वक टाँगेकाे टनेल निरास हुँदै झिकेर खाेल्सामा थन्क्याएर विदेश हिंड्याे।
देशमा दश वर्ष हड्डि घाेटेर मधेसमा दुईतले पक्कि घर बनाएपछि छाेराछाेरी र श्रीमती उतै बस्छन्।बुहारी र छाेराले हत्ते गरेपछि यसपाली हिउँदमा पुछारघरे काँईलाले गाउँ छाेड्नेनै निर्णय लिएकाे हाे।
खासमा मधेस त काँईलालाई मन पर्दैनथ्याे। पहिल्यै नुन बाेक्न जाँदा देखेकाे मधेसकाे तस्बिर उसकाे आँखा अगाडीनै थियाे। तर गाउँमा एक्लै बस्नुभन्दा उता गएपछि परिवार हुन्छ। नातीनातिनासँग खेल्न पाईन्छ। बुढेसकालमा नातीनातिना खेलाउने रहर पूरा गराैँला भन्ने अभिलाषाले डाेर्यायाे, बुढाे मनलाई। यही साेचले काँईलाले गाउँमा बाँकि रहेकाे जग्गा जमिन पनि बेच्ने निर्णय गर्याे।
जग्गा बेचेर कांँईला बसाइँ जाने कुरा गाउँमा हावासरी फैलियाे।एक कान दुई कान याे खबर माझाघरे कान्छाकाे कानमा पनि पर्याे। उसले सुरूमा त आश्चार्य मान्याे तर पछाडि सम्झियाे, "उस्काे के छर? यहाँ? अब बुढाे पनि भयाे। ठिकै गर्याे।" तर उस्लाई नरमाइलो लागिरहेकाे थियाे।किनभने दाजुभाइकाे बाेलचाल बन्द भएकाे चारपाँच बर्ष भैसकेको थियाे।
कान्छाले मनमनै साेच्याे, "अब जाने बेलामा किदा गर्नु नि नपाईने भैयाे।जानेबेलामा एक छाक भात त खुवाउनु पर्थ्याे।" फेरि आफैं मनमनै साेच्याे, " आ..! मलाई पाे के काे टेन्सन्? मैले गल्ती गरेकाे भए पाे म झुक्नु?
आजभन्दा चारपाँच वर्ष पहिले पुछारघरे काँईलाकाे गाेरूले माझाघरे कान्छाकाे एकगह्रा गँहु भुसुक्कै खाईदिएछ। दिनरात मेहेनत गरेर हर्रे खाेल्साकाे पानी राति राति धाएर ल्याएर हुर्काएकाे गँहु गाेरूले खाईदिएपछि माझाघरे कान्छाले रिस थाम्न नसकेर खेतमै माले गाेरुकाे पुच्छर टुक्राईदिए पछि दाजुभाइ बिचमा ठुलै घमासान परेकाे थियाे।
गाउँलेहरूले समाज बसेर याे झगडा मिलापत्र गराए पनि दाजुभाइकाे बाेलचाल बन्द नै भएकाे थियाे। यत्राे वर्षसम्म नबाेली बसेर पनि केही नसाेचेकाे माझाघरे कान्छालाई याे खबरले अलि गम्भीर नै बनायाे। साेच्याे-"जानेबेला एकपटक बाेलेर गए हुने। हुन त म भाइ हुँ मैले नै माफ माग्नु पर्छ। अब फेरि भेट हाेला नहाेला।"
मनमा कुरा खेलाउँदै आँगनमा बसिरहेकै बेला छेउघरे सांँईलाले खबर ल्याए,"ल है कान्छा भाेली तल पुछारघरमा पुछारघरे काँईलाले घर खाली गर्ने अरे, समाज राखेरै सामानकाे माेलमाेलाई र किनबेच गर्ने अरे गाउँमा खबर गरिदिनु भनेर मलाइ भनि पठायाे र म त खबर भन्दै आकाे।"
(अहिले पनि बसाइँ जाने घरकाे सामानहरु समाज बसेरै बेचविखन गर्ने चलन याे गाउँमा प्रचलित छ)
माझाघरे कान्छा अलि चिन्तित देखियाे। थाेरै आश्चार्य मान्दै बिस्तारै बाेले -"बुढा त हिँडिहाल्ने पाे भाेएछ। अलिक बार ता बस्लाकी, साेचेकाे थेँ त !"
छेउघरे पिंडिबाट उठ्दै बाेल्याे- "उम्, भाेलि विहान आठै बजे आउनुपर्ने अरे है । म हिडें।अब पर... माईला बाजेलाई पुनि खबर गर्नु छ।"
माझाघरेले सानाे स्वरमा भन्याे-"जांड खाएर जाउ बाबै।"
छेउघरे हिँड्दै बाेल्याे, "हैना कान्छा बिहान बिहानै धेरै भैसक्याे, आबाे आज नखाङ।"
भाेलि बिहान पुछारघरे काँईलाकाे आँगनमा सबै गाँउले भेला भए। धनेम्पा बाजे, रमेशेम्पा काका, हवल्दार बाजे, मनेम्मा काेकु, डाँडाघरे जेठा सबै सबै भेला भईसकेका थिए। माझाघरे कान्छा पनि आईपुगेर रमेसेम्पाकाे छेउमा टुसुक्क बस्याे।
आँगनमा पुछारघरे काँईलाकाे सम्पुर्ण सामानहरू थुपारिएकाे थियाे। घरकाे खुकुरी, हँसियादेखि लिएर भाँडाकुँडा, डाडु पन्यु, थाल, बटुकाेसम्म बाँकि भएका अन्नपातहरू बाेरा बाेरामा सबै राखिएकाे थियाे। त्यसपछि अगाडी पुछारघरे काँईलालाई राखियाे।
अनि रमेशेम्पाले कुरा सुरु गरे, "आबाे ..सम्पुर्ण बन्धु समाजलाई साईनाेअनुसार सेवा,हाैवा, नमस्कार ! आबाे हाम्रो काँईलाले गाङ छाेड्ने नै भाेयाे। राम्रो सुब्बे फाब्बे हाेस्। आबाे यहाँ उपस्थित मध्ये सबैभन्दा बुढाे पाकाे भन्नू धनेम्पा बाजे नै हाे। उहाँलाई नै याे काम विधिविधान कसाे हाे । अगाडि बढाईदिनु अनुराेध गरेँ।"
धनेम्पा बाजेले बिस्तारै चस्मा मिलाउँदै बाेले, "हैना आबाे म ता के भन्छु र? जहाँ गाेएपुनि राम्रो गरीखाउ। पितृ र पुर्खालाई नबिर्सिनु,धर्म नछाेड्नु,पाप नगर्नु। आबाे लु ना त के के समान क कस्ले लाने लु न त अब माेल लगाउ।"
यसरी विधिगत रुपमै आनमै माेलमाेलाइ र दरभाउ ताेकेर सरसनमानकाे बेचविखन भयाे। काँसकाे थालमा मनेम्मा बाेजुले भाँडाकुँडामा मनबहादुर र शाेम माईलाले भाउ लगाए। सिरुपाते खुकुरी र एउटा बन्चराे डाँडाघरे जेठाले माेल लगाए। लगायत क्रमले सबै सामानहरु भाउ लागि सक्याे। बाँकि रह्यो गाेठकाे एक हल गाेरु।
अब गाेरुकाे प्रारम्भिक मुल्य ताेकियाे अठ्ठाइस हजार। यसमा माझाघरे कान्छा केही बाेल्न खाेजिरहेकाे थियाे। तर उसलाई उछिनेर दलशेर बाेल्याे, "लाै अब हुनु ता याे गाेरुहरु अलिक बुढाे पुनि भाकाे हाे। आबाे एक दुई बाली पुनि जाेत्ला कि नजाेत्ला तर पुनि एसाे याे पछि पुनि खरिते सरिते पुनि आङ्छ नै हला बरू म तेतै पनि दि पठाङ्ला। काँईला दाजैलाई पुनि बाटाे खाेलिदिनु नै पर्याे। लु...म उनन्तिस हजार नै दिन्छु।"
भिडमा अरू काेहि बाेलेनन्। अलि अप्ठ्यारो मान्दै माझाघरे कान्छाले बाेल्याे, "हैना..! आबाे हुनु ता मेराे दाजैले गाङ छाेड्ने कुराले दुख लागेकाे छ। म भाइ भाेएर दाजैकाे मन दुखाङ्नु हुन्थेना तर तेतिबेला तेस्तै परीगाे। आबाे मलाई दाजै जानेबेला केही दिनु ता सकिना सकिना आझै मागुङ पाे भन्दैछु त ए ...गाङ्ले हाे .तपाईहरु के भन्नुहुन्छ?"
धनेम्पा बाजेले दाहिने हातपट्टीकाे लाैराे देब्रे पट्टी सार्दै बाेले, "खै के माग्छस् त? लु प्रष्ट भन !"
कान्छा फेरी बाेल्याे, "हुनु ता आबाे के पाे भनुङ। त्याे हल गाेरूचैं मलाई मेराे गाेठमा लगेर बाँध्ने ठुलाे मन छ। हुन ता मैले नै त्याे माले गाेरुकाे पुछर त काटेकाे हुँ तर अहिले नरम्राे लागिराखेकाे छ। हाम्रो बाउकाे एउटा मात्रै चिनुङ पुनि हाे याे। बाउले अन्तिम समयसम्म घाँस हालेकाे बाच्छा हाे त्याे। त्यै भाेएर त्यसलाई आफ्नै गाेठमा मरेकाे हेर्ने मन छ।"
रमेशेम्पा बीचमै बाेले, "अनि तेसाे भा के बितेकाे छ त, दलशेरले उन्तिस हजार दिने अरे तिमीलाई पनि माेल माेलाईमा बाटाे खुल्लै छ त। कि कसाे धनेम्पा बाबै..?"
मनेम्मा काेकु पनि बाेल्नु भाे, "अँ त दाजु पछि हक लाग्ने भाइ नै ता हाे त।"
कान्छा बीचमै अलि अलि अक्मकाउदै बाेल्याे, "आबाे खास मसँग ऐले पाँच हजार मत्रै छ हकि! आबाे हिजाे खबर पुनि बेलामा पाईएना। अलिक जम्मा पार्नु पाईएना। आज समाजकाे अगाडि यति राखिदिन्छु। भाेली विहानै हिँड्नेबेला सम्म म बाँकि पैसा ल्याईदिन्छु। कसाे गरुङ त ?"
बीचमा रमेशेम्पा बाेल्याे, "हैना आबाे तिमीहरू दाजुभाइ मिल्याे भने त हामीले भन्नू के छ र? के छ त विचार पुछारघरे काईँला?"
पुछारघरे काँईला अलि तत्तिएर बाेल्याे, "याे केटाकेटीको खेल हैना बाबै! समाज बसेकाे छ। विधि अनुसार माेल लगाएर लानु कसैले राेकेकाे छैना। यस्तो हावा कुरा गरेर हुन्छ? यति विधि रीत जान्नेले उहिल्यै पुछार काट्ने बेलामा चैं के हेरेर काट्याे? अहिले यहाँ कसैले गाेहीकाे आँशु देखाउनु पर्दैना। मलाई पैसा चाहिएकाे छ। दिनेले गाेरू लान्छ कुरा त्यै हाे।"
माझाघरे कान्छा केही बाेलेन। उसकाे अनुहार कालाे भयाे। एकछिन पछि कान्छा त्याे भिडमा थिएन। सायद उ बाटाे लागिसकेकाे थियाे। एवम् रितले पुछारघरे काँईलाकाे सबै सम्पत्तीकाे लिलामी सकियाे तर घरबारी भने कसैले किन्न मन गरेनन्। बरु मधेशतिरै अलिकति भए पनि जग्गा जाेड्नु हितकर हुन्छ भन्ने छाप सबैकाे मनमा लागेकाे हुनसक्छ। त्यसैले घरबारी भने कसैकाे नाममा गएन। विधिपूर्वक पूजा गरेर घरकाे मुल चुल्हा पनि उखेलियाे र सारिने भयाे, मधेशतिरै।
यति विधि पूरा गरेर घरबारी पुरै बाँझाेराखेर वैशाखकाे सुरुतिरै उभाैलीकाे साईत पारेर मधेश पसेकाे पुछारघरे काँईलाकाे मन र ज्यानले मधेश टेकेकै दिनबाट दुख भाेग्न थाल्याे। गर्मीले बसिखान सक्न छाड्याे। दुईतले पक्कि घरकाे पहिलाे तला पुरै भाडामा थियाे। त्यहाँ थुप्रै मान्छेहरू बसेका देख्थे तर काेहिसँग बात मार्ने फुर्सद थिएन। बुढाे मान्छे टिभी हेर्न पनि आँखाले भर दिदैनथ्याे। न आफैँ चलाउन जान्दथे।
दिउँसाे बुहारी अफिस जान्थिन्। काँईलाकाे मुख्य आशा भनेकाे नातीनातिना थिए । उनीहरुलाई खेलाउँला, दिन कटाउँला भन्ने थियाे। तर नातीनातिना पनि फुर्सदविहिन बिहानै उठेर चिया र ब्रेड खाएर ट्युसन् आएर खाना खायाे बाेर्डिङ लाग्याे फर्केपछि।एकछिन फुर्सद हाे तर त्यतीबेला पनि कि माेवाईलमा गेम कि त टिभीमा कार्टूनमा झुम्मिरहने। बेलुका खाना खाएर पनि हाेमवर्कमा ब्यस्त। काँईलाले न अंग्रेजी अक्षर जानेका थिए, न हिसाबका कुराहरु जान्दथे। त्यसैले उनीहरुले लेखेपढेकाे हेरेरै बेलुका एकछिन कटाउँथे।
दिनभर बुढाे मान्छे घरमा एक्लै बसिरहन्थे। न काेही आउँछन न कहिँ जानु छ। बुढालाई वाक्क लाग्थ्यो। के गराैँ र कता जाउँ हुन्थ्यो। छटपटी भईरहन्थ्याे। गाउँ झल्झली सम्झन्थे। बिहानमाथि डाँडाघरबाट जाँड खाँदै गफ गर्दै गाउँ पसेर बेलुका तल पुछारघरसम्म आईपुगेकाे कुराहरू सम्झन्थे। दिनभरी गाेरू गाेठाला गर्दै पिपलकाे फेदमा सिरानघरे जेठासँग कांँचाेपात बेरेर खाँदै गफ गरेकाे सम्झन्थे। हरेलाे डाँडामा लाग्ने मेलामा जुहारी खेल्ने साथीहरुलाई सम्म सम्झन भेट्थे। काँईलाले मन थाम्न सकेनन् मधेसमा। गाउँमा एक्लै भएर पनि कहिले एक्लाेपनकाे आभास नगरेकाे उनले परिवारकाे भिडमा पनि एक्लाे महशुस गरे। गाउँमा हुँदा एक डबका जाँडकाे रन्काेमा एक पाटावारी जाेतिसक्ने जांँगरलाई आज खाने र बस्ने मात्र काम भए पनि दिन कटाउन धाै धाै पर्न थाल्याे। र सबभन्दा ठुलाे पीर भनेकाे काँईलाले आफ्नाे मुल चुल्हा गाड्न पाएकाे थिएन। मधेशमा चुल्हा गाड्न जान्ने धामी भेटिएन। गाउँबाटै झिकाउनु पर्ने भाे। यसाे गर्न समय लाग्ने भयाे। फेरि चुल्हा गाड्न जहिले पायाे उहिले मिल्दैन। उभाैलीकै अवसरमा चुल्हा राखिसक्नु पर्ने थियाे। उधाैलीकाे समय पर्खन निकै समय थियाे। काँईलालाई यहीँ एउटा कुराले पनि असाध्यै छट्पटी हुन्थ्याे।
एकदिन काँईला सुटुक्क बाहिर निस्कियाे। एउटा भट्टी पसलमा छिरेर भक्कु रक्सी पियाे। साँझ परेपछि घर जान चाह्याे तर खुट्टा लागेन। भट्टी पसलेले पसल बन्द गर्ने भन्दै ढाेका बाहिरसम्म ल्याएर छाेडिदियाे र सटर लगायाे। काँईलाले उठ्ने र हिँड्ने प्रयास त गर्याे तर सकेन। पेटीमै लम्पसार परिरह्याे। यता घरमा बुहारीलाई चिन्ता पर्याे। खाेज्दै जाँदा राति लगभग १० बजेतिर काँईला फेला परे सडक पेटीमा। याे घटनापछि झन् काँईलालाई घरकाे गेट बाहिर निस्कन पनि प्रतिबन्ध भयाे।
अब झन काँईला पिंजडाभित्रकाे चराजस्तै भयाे। उसले गाँउमा भाेटे साँईलाकाेमा मातेर लड्दा पनि बिछ्याैना लगाईदिएर सुताउने चलन सम्झियाे, अनि आफूलाई सडक पेटीमा सुताउने साहुकाे अनुहार सम्झियाे। उताकाे ढिँडाे र गुन्द्रुक सम्झियाे, शहरकाे दाल भात तरकारी अचार सम्झियाे। गफ गर्ने साथीहरूकाे अनुहार सम्झियाे, कांँचाेपात बेरेर खाने पार्टनर सम्झियाे। त्यत्राे खाली खेतबारी सम्झियाे। लटरम्म घुर्यानमा फलेकाे निभुवाकाे दृश्य सम्झँदा मुख रसायाे। आफ्नाे हल गाेरूकाे निर्दाेष अनुहार सम्झियाे। यत्राे साेह्र सत्र वर्ष जाेतेर बुढेशकालमा गाेठ छाेडाएकाे दृश्य सम्झियाे। आफ्नाे भाइले भनेकाे कुरा सम्झियाे। पश्चात्ताप मान्याे। साेच्याे - "बरु भाइलाई नै दिएकाे भए आफ्नै गाेठमा मर्न त पाउथ्याे।"
यस्तै कुरा मनमा खेलाउँदै थियाे, "त्याे दलेले दलाल गरेर कति नाफामा माैसमी रूपमा गाउँमा बुढाे गाेरू र गाईहरू बटुलेर लाने खरिदेलाई बेचिसकेकाे थियाे ! उसकाे बुढाे तारे र माले गाेरुसहित थुप्रै अरु बुढा र कमजाेर गाईगाेरुहरु साप्सुकाे किनारै किनार ढुङ्गा र लाैराेले हान्दै हान्दै मधेसतिरै झारीँदै थियाे। न खान न सुत्न पाएकाे थियाे। माले गाेरुकाे एउटा सिङ भाँचिएकाे थियाे।विचरा माले गाेरु ठुट्टे पुछार हल्लाएर झिंगा धपाउने असफल प्रयास गरिरहेकाे थियाे। उसकाे आँखाबाट लगातार आँशु झरिरहेकाे थियाे।"
यत्तिकैमा काँईला झल्यास्स ब्युझियाे। काँईला पसिना पसिना भएकाे थियाे। आफ्नै आँशु पनि बगेछ। आफ्नाे सपना देखेर आफैँ छक्क पर्याे। उस्लाई लाग्याे-"चुल्हा पनि राख्न पाईएन। पितृकाे पूजा बिथाेलियाे। पितृहरू रिसाए क्यार।" काईलाले रातभरमा गाउँ नै फर्कने निर्णय गर्याे।
छाेरा र बुहारीले सकेसम्म फकाउने काेशिस गरे। काँईला आफ्नाे निर्णयबाट पछि हटेनन्। अन्तत पुछारघरे काँईला एउटा साधा माेवाइल र आफ्नाे मुल चुल्हाकाे खरानी जस्ताकाे तस्तै बाेकेर गाउँ फर्कियाे।
गाउँमा पुगेकाे दिन काँईला झाेला नबिसाई सिधै दलशेरकाे गाेठमा गयाे। उसकाे सपना सहि निस्कियाे। गाेठमा उसकाे तारे माले गाेरू थिएन। बरु जख्खु बहरहरू पराल चपाईरहेका थिए। काँईला निशब्द बन्याे। काँईला सरासर दलशेरकाेमा पुग्याे। साँझ परिसकेकाे थियाे। दलशेर पिँडिमा बसेर कांँचाेपात उडाईरहेकाे थियाे। भित्र दलशेरकी श्रीमती भान्सामा व्यस्त थिईन्।
एक्कासी यसरी अस्ति भर्खरै गाउँ छाडेकाे काँईला टुप्लुक्क आईपुग्दा आश्चार्यचकित नजरले हेर्दै दलशेर बाेल्याे, "हैन काँईला दाजै अनि खबरबिनै यति चाँडै के कामले फर्किनु भाे हाै ! अचम्म!?" यति बाेल्दै छेउकाे परालकाे पिरा सार्दै बाेले," लु बसुङ दाजै।"
काँईला बस्दाबस्दै बाेले, "हैना हाै दले माईला मलाई त मधेश फापेना हाै। पानी नै मिलेना।"
दलबहादुर अलमल्ल परे, "हैना दाजै आबाे नफर्किने तपाईं?"
काँईलाले सानाे स्वरमा भन्याे, "आबाे जाँदिना हाै।"
दलबहादुरले पिडिबाटै कराए, "ए माईली तल पुछारघरे काँईला दाजै आङ्नुभएछ। जाँड बना बना।"
यत्तिकैमा काँईलाले साेधिहाल्याे, "हैन त्याे मेराे गाेरूहरू कता बेचिस् माईला? गाेठमा त देखिन त!"
दले माईला अलि झन् चकित हुँदै बाेले, "हैन दाजै गाेठ पनि हेर्न भेटिसक्नुभाे। त्याे गाेरू त माझाघरे कान्छा दाजैले हत्ते गर्नु भाे र दिपठाएँ। भाेलिपल्टै आएर लु माईला बरु बरु तंँलाई दश हजार नै दिन्छु, त्याे गाेरु चैं मलाई नै दे भन्नू भाे। मैले एसाे अलि एकदुई दिन दानापानि पेलेर अन्तै बेचिदिउँला भन्ने साेचेकाे थिएंँ। तर भएन। अब आफ्नै छिमेकीलाई देखादेखि कसरी ठग्नु..! त्यै भएर दाजैलाई दुई दिन जाेत्न सघाईमागेँ र उनन्तीस हजारमै दिईपठाएँ पाे। किन र काँईला दाजै?"
काँईला एकछिन केही बाेलेन। केही समयपछि सानाे स्वरमा भन्याे, "ए, ल ठिकै छ।"
माईलीले जांँड ल्याईदिईन्। धेरै समयपछि आफ्नै गाउँकाे पानी र जांँडले तिर्खा मार्याे।
गाउँमा काँईला फर्केकाे कुरा हावामा फैलियाे। काँईलाकाे घरमा छरछिमेककाे घुंईचाे लाग्याे। काँईली काेकुले चामल र दाल ल्याईदिनुभाे। पल्लाेघरे काकीले पनि चामल र गुन्द्रुक ल्याईदिनु भाे। कसैले दाल, कसैले साग ल्याएर दिए। तर माझाघरे कान्छा आएन। र पनि घरमा फेरी एकपल्ट पुछारघरे काँईला मुस्कुरायाे।
बेलुकाकाे झिसमिसे साँझकाे समय काँईला आँगन सफा गर्दै थियाे। उसकाे घरतिर एकहल गाेरू आँउदै थियाे। पछाडि पट्टी एउटा मानव आकृति अस्पष्ट देखिन्थ्याे । काँईलाले याे दृश्य देखेर पनि वास्ता गरेन। साेच्याे ,काेही मेलाेबाट फर्किदैहाेला !
केही क्षणमा त्याे आकृति उहीँ पुरानाे गाेठमा उहीँ तारे र माले गाेरु लिएर पस्याे। र बाँधिदियाे तारे र माले गाेरू। अनि सरासर आँगनमा आएर आफ्नाे दाइलाई ढाेगिदियाे। अनिमात्र स्पष्ट चिनियाे माझाघरे कान्छाकाे अनुहार!
सानाे स्वरमा बाेल्याे, "दाजै तपाईको गाेरू अब तपाईको नै भयाे।"
काँईलाकाे आँखा रसायाे। केही बाेल्न सकेन। कान्छाले फेरि भन्याे, "दाजै दुख नमान। यस्तै हाे संसार। तिमी पुनि आबाे भासियाै, हाम्रो माया मार्याैजस्तो लागेकाे थियाे। तिम्रो मन ढुङ्गाकाे रैछ भन्ने लागेकाे थियाे। हैना रैछ। सम्झियाै र ता फर्कियाै। आबाे...जाँदा पुनि केही दिनु सकिना। आङ्दा ता झन के दिनु र? भरै बेलुका एकछाक भात चैं मेराेमा खाङ् है दाजै।"
लु म ऐले लागेँ। केही पर्याे भने भन्नुु।
काँईलाले आँशु पुछ्दै भन्याे, "ल ल। आँङ्छु।"
आँशु पुछेकाे देखेर कान्छाले अलि जिस्काएजस्ताे गर्याे, "हना एत्राे बुढाे भएर पुनि के केटाकेटीजस्तो गरिराखेकाे?"
काँईला मुस्कुरायाे मात्रै।
भाेलीपल्टै पुनः गाडियाे चुल्हा! धनसेरम्पा नछुङले फलाके मुन्धुम! काँईली बजुले बजाईन झ्याम्टा। रमेशेम्पा दाजैले सुरू गरे सिली। छिमेकीहरू नाचिरहे साकेला। आँगनकाे बीचमा पुछारघरे काँईला ढाेल बजाई बजाई नाचिरह्याे।