तापक्रम ओरालो लागेर माइनस डिग्रीमा झरेको थियो।
हिउँ परेर आँगन र बाटो ढाकिएको थियो। यस्तोमा हिँड्ने बाटो र आँगनको हिउँ साबेलले सोहर्नुपर्थ्याे।
हिउँका डल्ला सोहरे जस्तै मनभित्रका दुःख पनि सोहर्न मन हुन्थ्यो, बाजेलाई। जुन वर्षौंदेखि मुटु नै चिस्याउने गरि कक्रिएकाे थियो।
बाजे हिउँ सोहरेपछि नूनका ढिक्काहरु बाटो र आँगनमा छर्थे। नूनले सोहर्न नसकेको हिउँ पगाल्थ्यो। र फेरि परेका हिउँ जम्न दिदैन थियो। हिउँदभरि बाजेको दैनिकी यस्तै हुन्थ्यो।
मेन रोडबाट जम्माजम्मी पन्ध्र मिनेट हिँडेपछि फाट्टफुट्ट घरहरु देखिन्छ। जंगलको नजिकै पुगेपछि अलिक भिरालो हिँड्नुपर्छ, बाजेको घर पुग्न।
दुईतले घर। बाहिरबाट हेर्दा सुबिधासम्पन्न जस्तो देखिन्छ। त्यस घरको ठीक सामुन्ने अर्को एउटा सानो घर उभिएको छ। घरको वरिपरि करेसाबारी छ। करेसाबारीको बिचमा घरभित्र पस्ने बाटो छ। बाटोको दाँयापटि बडेमानको साङलोले कुकुर बाँधिराखेको हुन्थ्यो। कुकुर आफ्नो बफादारी प्रदर्शन गर्न चुक्दैन थियो।
त्यहाँ पुग्ने जो कोही नयाँ मान्छे देख्दा भुक्थ्यो। कहिलेकाँही उसको भुकाई यत्ति जोडको हुन्थ्यो कि, उसको तन्काईमा साङलो नै चुडिन्छ जस्तो लाग्थ्यो। तर बलियो फलामको साङलो भएकोले कुकुर फुत्किन सक्दैनथ्यो। तथापी, मान्छे पर पुगिन्जेलसम्म पनि भुकिरहन्थ्यो। घरको मालिक आएर नथुप्थुपाएसम्म चुप लाग्दैन थियो।
त्यस घरको परिवारको सदस्य दुई जना मात्रै थिए। बाजे र बोजु, जाे उमेरको क्षितिजमा ढल्किरहेको वैँश बाँचिरहेका थिए। दुबै सत्तरी वर्षको हाराहारीका थिए। कपाल फुलेका। कुप्रिएको ढाड।
प्रायजसो बाजे घर बाहिर देखिन्थे। करेसाबारीमा कुटोले माटो खोस्रिनु, याम अनुसारको तरकारी रोप्नु, गोड्नु, फलेको चिजबिजहरु गाडीमा लोड गर्नु जस्ता यावत काम बाजेको भागमा थियो। बोजुको भागमा भने पकाईतुल्याई र घरभित्रको सरसफाई थियो। साँझपख भने घरकै आँगनको बीच भागको टेबलमा दुःख र सुखका गफ गर्दै खाना खान्थे।
उनीहरुको घर पछाडि सल्लाका अग्ला रुखहरु थियो। घरको छत नाघेर अग्लिएका ती सल्लाका रुखहरुमा केही थान घण्टीहरु झुण्डिएको थियो। जसबाट खिरिलो 'टिङ्टिङ' आवाज उत्पन्न हुन्थ्यो।
कहिलेकाँही साँझपख दुबै जना छतमा उक्लिन्थे। एक झोक्का बतास आएर घण्टीमा ठोक्किन्थ्यो। घण्टीको लयदार 'टिङटिङ' सुन्दै बाजे, बोजु अबेरसम्मै गफ गरेर बस्थे।
तिनीहरुका एक छोरा र एक छोरी पनि थिए, जाे राजधानीमा बस्थे।
चार वर्ष अघि छोराले रोजेको केटीसँगै विवाह गरिदिए। छोरो राम्रो कम्पनीको म्यानेजर पदमा कार्यरत थियो। पद अनुसार तलब पनि राम्रै थियो। बुहारी पनि कुनै बिमा कम्पनीमा काम गर्थिन्। छोराले आफ्नो विहेको लागि लाग्ने खर्च आफैले जोहो गरेको थियो।
छोराबुहारीले बिहे भोज नाम चलेको पार्टी प्यालेसमा दिएका थिए। नाति जन्मेको दुई वर्ष भइसकेको थियो। छोरीको विहे भएको पनि दुई वर्ष वितिसकेको थियो। छोरी कलेजको प्रोफेसर थिइन्। ज्वाँई बैकंमा काम गर्थे। ती सन्तानहरु केही महिनाको अन्तरालमा मात्र बा-आमालाई भेट्न आउने गर्थे।
बाजे, बोजु पनि तिनीहरु आउने दिनको व्यग्रता दिन काटने गर्थे। छोराछोरी आउने दिन बाजे, बोजुमा छुट्टै उमङ्ग छाउँथ्यो। बाजे सबेरै उठ्थे। आँगनको एक छेउमा थन्किएको गाडीको सिसा पुछ्थे। गाडीको सफाईपछि कपडा फेर्थे। चिटिक्क देखिनेगरि कपडा लगाएर बजार जान्थे। छोराछोरीलाई असाध्यै मनपर्ने परिकारको लागि आवश्यक चिजबिजहरु खरीद गर्थे। असिमीत खरीद। यस्तो लाग्थ्यो बाजे महिनाभरको लागि रासन संचित राख्दैछन्।
बोजु भने घरभित्र सरसफाईमा व्यस्त हुन्थिन्। नातीको लागि न्यानो कपडाहरु झिक्थिन् दराजबाट। दूध उमालेर थर्मसमा राख्थिन्। त्यतिन्जेलमा बाजे पनि फर्किसक्थे। ती दुवैको अनुहारमा साकुरा फुलेको हुन्थ्यो।
ती दम्पत्तीको त्यस्तो बिहान घरीघरी घरबाट बाहिर निस्कनु हुन्थ्यो।आँखाहरु लगेर बाटोमा ओछ्याउनु हुन्थ्यो। उनीहरुको हाउभाउ देख्दा यस्तो लाग्थ्यो, मानौं सारा ब्रम्हाण्डका खुसी घर पस्दैछ। र बाजे, बोजु स्वागतका लागि आतुर छन्। तर निकै अबेर गरेर मात्र उनीहरुको घरमा खुसी पस्न आईपुग्थ्यो।
साँझ भुईँमा खस्न लाग्दा झलल लाइट बाल्दै छोरा बुहारी आईपुग्थे। मेलामा हराएको बालक भेट्टाए जस्तैगरी बाजे-बोजु नातिलाई झम्टन्थे।
च्याप्प समाएर नातिको गालामा म्वाईको वर्षा गर्थे। तर महिना दिनमा भेटेका बाजे, बोजुको अनुहार देखेर नाति रुन थाल्थ्यो। ऊ जतिसक्दो आफ्नै आमातिर भाग्न खोज्थ्यो। बाजे खिस्रिक्क पर्थे। बोजु बाजेको मन बुझाउन सबैलाई घरभित्र पस्न भन्थिन्। त्यो असजिलो अवस्थालाई मोड्न खोज्थिन्।
दिनभर लगाएर तयार पारेको परिकार पस्किदैं बोजु सुख-दुःखका कुरा झिक्थिन्।
छोरा बुहारी भोली बिहानै कामतिर जानुपर्ने कुरा बताउँथे। बा-आमालाई आफूसँगै शहरमा बस्न अनुरोध गर्थे। आफूहरु घरीघरी यसरी गाउँमा आउन नपाउने बाध्यता जिकिर गर्थे।
छोरा बुहारीको प्रस्तावले बाजे बोजु असमञ्जमा पर्थे।
“यहीँ जन्मियौं। यहीँ हुर्कियौं। जीवनको सत्तरीवटा ऋतुको उत्सव यहीँ मनायौं। अब यो माटो छोडेर कहाँ जानु ? बस् अब त यो हाडछालाको शरीर पनि यहीँ माटोमै मिलोस्।”, प्रतिउत्तरमा बाजे भन्थे।
बोजु चुपचाप बाजेको कथनमा सहीछाप ठोक्थिन्।भोलीपल्ट बिहान हिजो आएकै बाटो छोरा बुहारी फर्किन्थे। नाति केटो गाडि पछाडिको सिसाबाट बाजे बोजुलाई बिदाईको हात हल्लाउथ्यो। यस्तो धेरैपटक हुन्थ्यो। एउटा नमिठोपन बतासमा बत्तिरहन्थ्यो। बाजे बोजु त्यसदिनभर अमिलो अनुहार बोकेर बस्थे। चुपचाप। चुपचाप।
शरद ऋतुको एक बिहान। बाजे जंगलबाट हावाले उडाएर ल्याएको पात सोहर्दै थिए। उनको मनमा अनेक तर्कना मडारिरहेको थियो। अचानक बाजेले आफ्नाे वरिपरि कालो भुमरी मडारिएको महशुस गरे। उनले अरु सोच्न नपाउँदै मुर्छा परे।
बाजेको घरको बाटो प्राय सुनसान नै हुन्थ्यो। मानिसहरु एकदम कम हिँड्थे। त्यसमाथि त्यो विदाको दिन परेकोले एकदम सुनसान थियो।
बोजु घरभित्र आफ्नै सुरमा काम गरिरहेकी थिइन्। निकै बेर सम्म आँगनमा बाजे मुर्छा परेको कसैले थाहा पाएनन्। खाना पकाएर बोजु बाजेलाई बोलाउन बाहिर निस्किन्। आँगनमा बाजे मुर्छा परेको देखेर बोजु अत्तालिईन्। बाजेलाई उचालेर घरभित्र लान सकिनन्। हतारहतार घरभित्र गएर ल्याण्डलाईनबाट छोरालाई फोन गरेर जानकारी दिइन्।
छोराले एम्बुलेन्सलाई फोन गरेर पठाए। करीब बीस मिनेटमा एम्बुलेन्स आएर बाजेलाई अस्पताल पुयार्यो। कमजोरीका कारण बाजे मुर्छा परेको व्योहोरा डक्टरले बतायो।
दुईदिन सम्म अस्पतालको बँसाई पश्चात बाजेलाई छोराले आफ्नाे फ्ल्याटमा लगे। केही दिनको हेरचाहपछि बाजे अलिक तंग्रिए। बाजेले छिटो भन्दा छिटो गाउँको घरमा फर्किन पाए हुन्थ्यो भन्ने सोच्न थाले।
घर छोडेको दुई हप्ता बित्यो। बाजे घर फर्किए। करेसाबारीमा लसुनका बोट भन्दा झारहरु अग्लो भईसकेको थियो। आँगनमा सुकेका पातहरुले आफ्नाे एकछत्र राज्य जमाईसकेको थिए।
बाजे र बोजुले मिलेर झार केलाए। दिनभर लगाएर सफा गरेको करेसाबारी हेरेर लामो निश्वास छोडे। आनन्दभावमा दुवै मुस्कुराए। दिनहरु पुनः सामान्य तवरले बित्न थाल्यो।
शरद आँगनमा ओर्लेको थियो। बाटोको छेउछाउ रोपेका भटमासका बोट बैंशले उन्मक्त हुन थाले। मोटा कोसाहरुको सौन्दर्यको चाप बढ्न थाल्यो। जाडो महिनामा खाने अचार बनाउन रोपेका मुला, साग छिप्पिन थाल्यो। सधैं जसो बाजे मात्र पस्ने करेसाबारीमा बोजु पनि सँगै पस्न थालिन्।
दुबै मिलेर अचार बनाउन तयारिमा लागे। सदाको बर्ष भन्दा रहर लाग्दा लसुनका पोटी लागेको थियाे। सागका पातहरु उस्तै रहर लाग्दा हुर्किएका थिए। यो पटक राजधानीमा बस्ने छोराछोरीलाई अलिक धेरै अचार पठाउन पाउने कुराले बोजु मख्ख परिन्।
अचार बनाउँदा मिसाउने मसला अलिक धेरै तयारी गर्न थालिन्। मुला काटेर घाममा सुकाईन्। साग तातोपानीले धोएर सुकाइन्। हप्तादिन भित्र अचार बनाईसक्ने योजना मनमनै बनाईन्।
केही दिनमै मूलाका चाना सुक्यो। अचारको लागि तयार भयो। बिहानैदेखि बाजे बोजु अचार बनाउन व्यस्त भए। आठवटा सिसाको बोत्तलमा अचार भरे। ति बोत्तलहरु बोजुले निकै जतनका साथ भान्साको एक कुनामा थन्काइन्।
त्यस बिहानदेखि स्याँठ चलिरहेको थियो। साँझ चिसो अत्यधिक बढ्यो। बाजेले आँगनबाट दाउराका केही चिर्पट टिपे। गोठमा छिरे। गोठको अँगेनुमा आगो झोसे। बोजु पनि आगो ताप्न पुगिन्। दुबैजना आगो ताप्दै गफ गर्न थाले।
गफको सन्दर्भ आगतबाट बिगतमा प्रवेश गर्यो। कसरी ति दुई एकआपसमा भेटिए ? केटाकेटी जन्मिदाँ कुन उमङ्गले नामाकरण गरे। कसरी तिनीहरुलाई हुर्काए। र जीवनको अन्तसम्म पनि एकआपसमा नछुटिने प्रण गर्दै ती दम्पत्तीले वार्तालाप टुङ्ग्याए।
त्यसपछि बोजु भान्सामा छिरिन्। बाजे भने अझै एकछिन भनेर गोठमै बस्न खोजे। आगो तापेर। निकैबेर आगोको न्यानो ओढेर बाजे बसिरहे। बोजुले आवाज दिएपछि भान्सामा जाउँला सोचेर बाजे त्यहीँ बस्दा बस्दै उँघ्न थाले।
“टिङटिङ। टिङटिङ। टिङटिङ।” सल्लाको रुखमा झुन्ड्याइराखेको घण्टीको लयले बाजेको उघाँई बिथोल्यो।
अघिपछिको भन्दा फरक लयमा आवाज आएको चाल पाएर बाजे अवाक् भए। उनले वरिपरि हेर्दा बोजु अघि उठेर गएको सम्झिए। त्यसपछि बाजे पनि उठेर भान्सामा छिरे।
भान्साको भुईँमा बोजु मस्त निद्रामा भेटिईन्। बाजेले नजिकै गएर झक्झक्याए। तर जत्ति झक्झक्याए पनि बोजु बिउँतिइनन्।
बाेजु त कहिल्यै नबिउँतिनेगरी निद्रादेवीको काखमा पल्टिसकेकी थिइन्। सदा-सदाकाे लागि आँखा बन्द गरिसकेकी थिइन्।