जिउँदो सहिद

३६ गाेली खाएर ढलेका अजयशक्ति एक ‘टुम्लेट’ पिसाब पिएर उठे (भिडियाेसहित)

मिति: २०५८ मंसिर ०८
स्थान: सोलु (सल्लेरी) सोलुखुम्बु।

चकमन्न रात, हातमा हतियार। आर्मी क्याम्पबाट आएका राता गोलीहरु कान र टाउको छेउबाट सुइकिरहन्थे। दाेहोरो भिडन्त निरन्तर जारी थियो। ती राता र ताता गाेलीले कतिखेर कसकाे प्राण लिने हाे थाहा थिएन। ‘मरे सहिद, जिते संसार’, यही अठोट बोकेर माओवादी लडाकुहरुको कमाण्डिङ गरिरहेका थिए, सुरुल पुन मगर अर्थात् कमरेड अजयशक्ति।

जित्नुभन्दा अर्को कल्पना थिएन। आफ्नो आर्कबाट दुईवटा बङ्कर कब्जा गरिसकेका थिए। एउटा एसएलआर पनि कब्जा भइसकेको थियो। रात छिप्पिँदै थियो, करेन्ट बग्ने काँडेतार काट्दै बङ्कर र माइन बम छिचोल्दै अजयशक्ति अघि बढिरहेका थिए। उनको टिम पछ्याउँदै थियो। त्यतिबेलै उनको अगाडि आर्मीले हानेको बम बिस्फोट भयो। सहयाेद्धा बमको धक्काले उछिट्टिए। उनी पनि घाइते भए, १/२ होइन ३६ वटा गोली र बमका छर्रा शरीरमा छिरे। उनको त्यो अटल साहस र चट्टानी शरीर ढल्यो। रात ढल्दै गयो। अजयशक्तिको शरीर सोलुको चिसोले चिस्सिदै गयो। सिस्नेको छोरा सगरमाथाको काखमा ढल्यो....

०००

वि. सं. २०३५ मा रुकुमको मैकोटमा बुबा सिर्जमन र आमा जुजनमायाको कोखबाट जेठो छोरोको रुपमा जन्मिए सुरुल। किसान परिवारमा उनको बाल्यकाल दु:ख र अभावसँग खेल्दै/हुर्किदै बित्याे। औपचारिक शिक्षा प्राथमिक तहसम्म पनि पूरा गर्न पाएनन्। सुरुलले विद्यालयको पढाइ छाडेर घरमै कृषि कर्म गर्न थाले। गाउँमा हुने घटनाक्रमले उनमा बाल्यकालमै राजनीतिक चेत पलाइसकेको थियो। हुकाम र मैकोटको सीमा विवादका कारण हुने लडाइँलाई नजिकबाट नियाल्न पाए। त्यसबेलादेखि प्रत्यक्ष/अप्रत्यक्ष रुपमा लडाइँमा सहभागी भए। जसले उनमा राजनीतिक चेत र विद्रोही स्वभावको विकास भयाे।

०००

२०५२ सालमा जनयुद्धको औपचारिक सुरुवात हुँदा उनी ग्राम (गाउँ) सुरक्षादलको कमाण्डर थिए। त्यसपछि उनी सुरक्षा दलको कमाण्डर हुँदै स्क्वायडका कमाण्डर भएर अगाडि बढे। १७ वर्षकै उमेरमा उनको नेतृत्वमा कोल गा.वि.स.काे क्युबाङमा एम्बुस गरेर हतियार कब्जा गरे। त्यसपछि पार्टीभित्र उनको आदम्य साहसको कदर गरियो। उनीभित्रको त्यो साहास देखेर उनलाई थुप्रै लडाइँको मोर्चामा खटाइयो। उनले थुप्रै लडाइँहरु सफलताका साथ पूरा गर्दै गए। महत, दुनै, रुकुमकोट, कालिकोटजस्ता दर्जनौँ लडाइँ जिते। उनी लडाकुबाट कमाण्डर भए, सुरुलबाट अजयशक्ति हुँदै गए।

०००

२०५८ काे मंसिरमा पूर्वबाट शसक्त लडाकु जनमुक्ति सेनाको माग भयो। जसानुसार उनको टिमलाई पूर्व पठाउने पार्टीले निर्णय गर्‍याे। नेतृत्वको आदेशपछि उनी आफ्नो लडाकु टिम लिएर पूर्व सोलुखुम्बुतिर लागे। उनकाे जिम्मामा सोलुखुम्बुकाे सोलु (सल्लेरी)मा रहेको आर्मी क्याम्प आक्रमण गर्नु थियो। अपरिचित भूगोल, साँघुरो समय सीमाकाबीच बुझ्न कठिन रह्यो। उनकाे नेतृत्वकाे टाेली मंसिर ८ गते आक्रमणको पूर्ण तयारी पूरा गरेर अगाडि बढ्यो। तर, आर्मी क्याम्प नपुग्दै आफ्नै समूहबाट एउटा ग्रीनेड झरेर विस्फोट भयो। उता विस्फोटनको आवाजले आर्मी अलर्ट भइसकेको थियो। समय प्रतिकुल भएपछि सम्पूर्ण टिम फर्कियो। ‘९ गते बिहानैबाट रेडियोमा पश्चिम किल्लाहरुमा माओवादीको सफल आक्रमणका समाचारहरु आएका थिए। ती समाचार सुन्दा एकमन खुसी भयो तर पूर्वमा आक्रमणको मौका गुमाउँदा मन दुख्यो,’ सुरुलले बिएल नेपाली सेवासँग २१ वर्ष पुरानाे घटनाबारे सुनाए।

चारैतिर चकमन्न रात थियो। सम्पूर्ण टिम आर्मी क्याम्पको नजिकै पुगिसकेको थियो। निर्धारित समयमा आक्रमण सुरु भयो...पटटट, ढुम, ड्याङ्ग, चारैतिरबाट दोहोरो गोली चल्न थाल्यो। कानको छेउबाट कैयौँ गोलीहरु गए। गोली लागेका सहयाेद्धाहरु पानी मागिरहेका थिए। घाइतेहरुबाट आउने चित्कार र बम/गोलाको आवाजले सल्लेरीका रनवन सबै थर्कियो।

‘आक्रमण सुरु भएको १० मिनेट जति भएको हुँदो हो, हामीले २ वटा बङ्कर खाली गरिसकेका थियौँ,’ उनी सम्झन्छन्,‘मेरो सहयाेद्धा (सुरज) र म एउटै कभरमा थियौँ, हाम्रा साथीहरू पोस्टतिर आक्रमण गर्दै अगाडि बढिरहेका थिए। त्यतिबेलै हाम्रो अगाडि बम विस्फोट भयो। सुरज कमरेडले ऐया भन्न पाउनुभएन र म गम्भीर घाइते भएँ। मेरो शरीरमा गोली र बमका छर्राहरु छिरे।’ यही घटना थियाे, २०५८ मंसिर ०८ काे, जतिबेला सुरुल मृत्युकाे मुखबाट फर्किएका थिए। त्यतिबेला उनकाे शरीरमा ३६ वटा गाेलीसँगै कयाैँ छर्राहरु लागेका थिए। उनकाे टाउको, कोखा र खुट्टामा लागेका थिए, गोलीहरु।

त्यसपछि उनकाे उपचारकाे लागि मेडिकल टाेली पुग्याे। उनी गम्भीर घाइते थिए तर त्यहाँकाे प्राथमिक उपचारबाहेक अर्को विकल्प थिएन। करिब आधा घण्टाको टाढा बाटोसम्म सहयाेद्धाले उनलाई बोकेर ल्याए। तर, उनको बिग्रदो स्वास्थ्य अवस्था देखेर उनलाई सहयाेद्धाले त्यही छाडेर हिँडे। मंसिरको चिसोमा सोलुखुम्बुको जंगलभित्र सुरुले रात बिताए।

अघिल्लाे दिन अस्ताएकाे सूर्यले बिहानै नयाँ किरण छाउँदासम्म सुरुलकाे जीवनमा नयाँ किरण छाउने/नछाउने अन्याेल थियाे। उनले सहयाेद्धाहरु फर्केर आउने झिनो आश पनि मरिसकेका थिए। गाेली लागेको ठाउँबाट रगत बगिरहेको थियो। सुतेको ठाउँमा रगतको आहाल जमेको थियो। दुखाइले शरीर आफ्नो थिएन। पानी सकिएको थियो। तिर्खाले ओठ/मुख प्याकप्याक्ति भएकाे थियाे। शरीर छटपटाउन थाल्यो। बिस्तारै हरियो वन रातो बन्दै कालो अँध्यारो हुन लाग्यो। सारा संसार अन्धकार भयो। शरीरले अन्तिम सास फेर्दै थियो। ‘अन्तिम नै भएपछि टुम्लेटमा पिसाब फेरेर पिएँ। पिसाबले सास अल्झाएछ फेरि बाँचेछु,’ सुरुलले त्याे कहालीलाग्दाे घटना सुनाए,‘पटक–पटक बेहोस हुने फेरि होसमा आउने प्रक्रिया भइरहयो।’

होसमा आउँदा सहयाेद्धाले छाडेर गएकोमा सुरुलकाे मन भक्कानियाे। धेरै पटक रोए। यसरी जंगलमा बस्नु, मृत्यु पर्खनुभन्दा अरुथोक केही थिएन। ‘बरु गाउँतिर झर्न सके जनताले बचाउलान्, दुश्मनले भेटे मारिदेलान् र सहिद हुँला’ भन्ने  निर्णय गरेर घाइते शरीर लिएर गाउँतिर झर्ने निधाे गरे उनले। तर, शरीरको आधा भाग गोलीले चाल्नोजस्तो छियाछिया पारिदिएको थियो। अलिअलि घस्रिँदै पनि शरीरमा असह्य पीडा हुन्थ्यो। तर पनि कुकुर भुकेको आवाजतिर बढिरहे उनी। त्यो दुरी करिब १० मिनेटको थियो तर उनलाई सात घण्टा लाग्यो। ‘त्यो गोठमा पुगेपछि मैले इसाराले बोलाए। तर, म कम्ब्याट ड्रेसमा थिएँ, उहाँहरु डराइडराइ गोठभित्र छिर्नु भयो। फेरि घस्रिँदै ढोकामा पुगेर पानी मागेको याद छ, त्यसपछि बेहोस भएछु। म होसमा आउँदा उहाँहरुले मलाई माद्राेमा राख्नुभएको रहेछ,’ सुरुलले जीवनकाे त्याे कठिन क्षण सुनाए।

सुरुललाई मृत्युकाे मुखबाट बचाउने व्यक्ति थिए, गर्दने तामाङ। उनले प्रहरी र आर्मीबाट सुरुललाई घाँसभित्र लुकाए। ‘पटक–पटक मेराे मृत्यु भइरह्यो, फेरि बाचिरहेँ। बाच्नु र मर्नु सँगै–सँगै भइरह्याे। त्यसपछि मलाई धरम बुबा (गर्दने)ले उहाँको भाइ–छोरासँग मिलेर राति तामाखानीको गुम्बामा पुर्‍याउनु भयो। त्यहाँ मलाई गुम्बाका पुजारी आङ्बु लामाले बचाउनुभयो,’ सुरुलले भने। उनकाे लागि लामाले ठुलाे गुन लगाए।

त्यहाँ औषधि थिएन, दुखाइ कम गर्न लामाले सुरुललाई रक्सी खुवाउन थाले। त्यही क्रममा गुम्बामा आएकी एक महिला (कान्छी तामाङ)ले सल्लेरी बजारबाट ल्याइदिइन्। औषधि खाएपछि उनी बिस्तारै निकाे हुँदै गए। चलाउने नमिल्ने उनकाे शरीर उठ्न मिल्ने भयाे। त्यही गुम्बामा सुरुलले शरीरबाट आधा दर्जन गाेली आफैं निकाले तर, कयाैँ समयसम्म उनकाे शरीरबाट रगत बगिरह्याे, घाउ पिपले पाक्याे। चाेटै चाेटका बाबजुद उनले हिँड्ने प्रयास गरे।

गुम्बामा पूजापाठका लागि मान्छेहरु आउथे। त्यसैले सुरुलकाे लागि गुम्बा पनि असुरक्षित थियाे। सुरुलले गुम्बा छाड्ने निर्णय गरे। उनलाई त्यहाँबाट लामाबुबाका कपडा लगाएर पठाइयाे। ‘तिमी बाच्याै भने र म पनि रहे भने कुनै दिन भेट्न आउनु,’ आफूलाई बिदाइ गर्दा लामाबाबाले भनेकाे कुरा अहिले पनि सम्झिन्छन सुरुल। उनी त्यहाँबाट खाेच्याउँदै खाेच्याउँदै अगाडि लम्किरहे।

 

०००

सोलुखुम्बुको गुम्बाबाट हिँडेका सुरुल ओखलढुङ्गा पुगे। तर, त्यहाँ पार्टी सम्पर्क नपाएपछि उनी रामेछापको बाम्तीभण्डार पुगे। त्यतिबेला सूचना प्रवाह कठिन थियाे, उनले पेजरबाट काठमाडौँका सहयाेद्धालाई सम्पर्क गरे। तर, उताबाट अजयशक्ति सहिद भएकाे बताइयाे। अजयशक्ति भावुक भए आफैं मृत्युकाे खबर सुनेर। एकैचोटी सरसर्ती आँखामा गुम्बाका लामाबुबा र बहिनीको तस्बिर झल्किए। आँखा रसायो। मनमनै पुनर्जीवनको दिनेहरुकाे लागि धन्यावद दिए। उनी केही समयमै रामेछापमा पार्टी सम्पर्कमा पुगे। उनी सहभागी रहेकाे रामेछापकाे एक श्रदाञ्जीसभामा उनकाे नाम सहिदकाे सूचीमा थियाे। त्यहाँबाट सुरुले आफ्नाे नाम सहिदकाे सूचीबाट काटेर आफैं जीवित घाेषणा गरे।

यसपछि पनि उनले जीवनमा थुप्रै समय मृत्युशय्यामा बिताए। शरीरका सबै गोली निकाल्न नपाउँदै उनी आर्मीको कब्जामा परे, त्यहाँ उनले प्रत्येक पल पुन: मर्दै बाचे। हिमालको काखमा हुर्केकाे एउटा योद्धालाई आर्मीको निर्मम यातनाले ढाल्न सकेन। अजयशक्ति कहिलै हारेनन्। जेल जीवनकाे १४ महिनापछि उनी खुल्ला आकाशमुनि आए।

वि.सं. २०६० सालतिर सुरुल घर फर्किए। तर, फेरि पनि उनकाे मनले मानेन पुन: युद्धका अन्य मोर्चाहरु सम्हाल्दै गए। २०६४ सालको चुनावपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बन्यो। सेना समायोजनका बेलामा क्यान्टोनमेन्टमा रहेका माओवादी सेनालाई सबै शक्ति मिलेर हटाउन खोजे। थुप्रै लडाइँ जितेका केही लडाकुहरु २०६६ सालमा अयोग्य भनिए र घर फर्काइए। अजयशक्तिले पनि २०६८ सालमा स्वैच्छिक अवकाश लिए।

आफ्नो घाइते शरीर लिएर घाइते अपाङ्ग योद्धाको हितमा लडे। सिङ्गो राज्यसँग र पार्टीसँग लडे। उनकाे पार्टी माओवादी ०६४ पछि पटक–पटक निर्वाचनमा याे, सरकारमा गयो। उनले पटक–पटक पार्टीको निर्देशन मानेर धेरैलाई जिताए। तर, नेतृत्व तहबाट आफ्नो भूगोल र समुदाय घाइते अपाङ्गका मुद्दा सुनुवाइ नभएपछि यसपटककाे चुनावमा आफैं प्रदेश सभा सदस्यकाे लागि रुकुम (पूर्व) (क)बाट प्रतिस्पर्धामा उत्रिए। पार्टी टिकट नदिएपछि उनले बागी उम्मेदवारी दिएका थिए। उनी र उनको समूहले बिद्रोह गर्‍याे। त्यही कारण उनी पार्टीकाे कारबाहीमा परे। अनेकाैँ कठिनाइबीच उनले चुनाव जिते। अजयशक्तिले मंसिर ४ लाई विजयकाे दिन बनाए।

सुरुल पुन मगर अहिले लुम्बिनी प्रदेश सभा सदस्य बनेका छन्। आफ्नो भूगोल र क्षेत्रका लागि काम गर्ने अवसर पाएका छन। शारिरिक अवस्था कमजोर भएपनि सहयाेद्धाका विचार र सोचाइमा काम गर्न सकिनेमा विश्वास छ। जनताको मन र मत जितेर आएका सुरुल फेरि अजयशक्ति बन्ने बाटोमा छ्न्। जीवन र मृत्युसँग पटक–पटक पैठेजाेरी खेलेका सुरुलले पुन: नयाँ जीवनकाे सुरुवात गरकाे छन्। अनेकाैँ पटक मरेर पनि देश र जीवनकाे लागि निरन्तर लागिरहेका सुरुलकाे आगामी यात्रा सफल हाेस् शुभकामना।

भिडियाे:

महत हत्याकाण्डका ‘जिउँदा सहिद’ आशबहादुर भन्छन्: राजतन्त्रले तन गलाइदियाे, गणतन्त्रले मन (भिडियाेसहित)

...त्यसपछि मेराे खुट्टा बमकाे धुवाँसँगै उड्याे (भिडियोसहित)

दिलपुरी घर्तीकाे अपत्यारिलाे जीवन: बुबाकाे मृत्युले झाँक्री बनायाे (भिडियाे रिपाेर्ट)

प्रकाशित मिति: : 2022-12-30 22:20:00

प्रतिकृया दिनुहोस्