महत हत्याकाण्डका ‘जिउँदा सहिद’ आशबहादुर भन्छन्: राजतन्त्रले तन गलाइदियाे, गणतन्त्रले मन (भिडियाेसहित)

‘चारैतिर चकमन्न अँध्यारो थियो। सशत्र प्रहरीका बुटको ग्र्याब–ग्र्याब आवाज सुनिन्थ्यो। मेरो हातहरू पछाडिपट्टी बाँधिएका थिए। उकालो जङ्गलको बाटो मसँगै अरू छ जना मेरो साथीहरूको हालत पनि त्यही थियो। हतियारधारी सशस्त्र प्रहरीको हातहरूमा गैटी, बेल्चा र मत्तिटेल पनि थियो।

बचपनदेखि जवानी बितेको आफ्नै जङ्गल र बाटो पनि किन आज डरलाग्दो भयो ? कहिले नबिझाउने बाटोका ढुङ्गाहरू पनि खुट्टामा बिझाइरहेका थिए। करिब २ घण्टापछि हामीलाई महतगाउँ (रूकुम) माथिको जङ्गलमा पुर्‍याइयाे। त्यतिबेला बिहान ४ बजेकाे हुँदाे हाे। सशस्त्र प्रहरीले त्यहाँ खाल्टो खनिसकेको रहिछ। अब हामी मारिने निश्चित नै थियो। मैले बलजफत डोरीले कसिएका मेरा हातहरू खोल्न खोजेँ। पसिनाले निर्थुक्क भिजेको हातहरूलाई डोरीबाट फुत्किन अलि सहज भयो। हात खुलिसकेपछि मैले त्यहाँबाट अँध्यारोमै ओरालो कान्लातिर हाम फालेँ। पछाडिबाट ड्याम्म गोली हानिहाल्यो। ५/७ फाईरिङपछि म अलि टाढा पुगिसकेको थिएँ। कहिले रूखमा ठोकिँदै। कहिले ढुंगामा ठोक्किँदै ओरालो–ओरालो लाग्दै गएँ। घुँडा, हात, टाउको सबै रक्ताम्य थियाे। शरीर शिथिल भयो कतिखेर ढलेछु थाहा भएन,’ माओवादी जनयुद्धकाे बेला आफूमाथि भएकाे याे घटना सुनाइरहँदा रूकुम (पूर्व)का ५९ वर्षीय आशबहादुर बुढाकाे अनुहार मलिन भइसकेकाे थियाे।

०००

२०५२ साल फाल्गुन १ गतेबाट सुरू भएको सशस्त्र द्वन्द्वमा हजारौँले ज्यान गुमाए। सत्ता पक्ष र बिद्रोही पक्षको निशानामा परेर सयौँको संख्यामा बेपत्ता पारिए। हजारौं जना घाइते शरीर लिएर जीवन मरणको दोसाँधमा छन्। ती पात्रहरूमध्ये एक हुन्, आशबहादुर बुढा।

२०५६ असोज ५ गते रूकुमका डिएसपी ठूले राईलाई तत्कालीन माओवादी लडाकुहरूले महतको प्रहरी चौकीमा आक्रमण गरी कब्जामा लिएका थिए। तर, पछि माओवादी लडाकुले डिएसपीलाई रिहाइ गर्नासाथ गाउँ पसेको सशस्त्र प्रहरीले यस्ताे घटना घटाइरहेकाे थियाे।

०००

त्यो दिन दसैँकाे दिन थियो। आशबहादुर गाई गोठमा थिए। उनका जेठा छोरा र उनी मिलेर गाई र बाख्रालाई दानापानी दिँदै थिए, प्रहरीले झ्यापझुप समातिहल्याे, उनलाई।

को, किन, कहाँ, कसरी ? प्रश्न सोध्ने कुरा भएन।

उनीहरूले जता भन्यो त्यतै हिँडेर गएका थिए, आशबहादुर। जिल्लाबाटै उनीहरूको नामावलीसहित आएको प्रहरीले उनीहरूलाई गाउँबाट खोज्दै, त्यहाँको काँग्रेससँग नाम रूजु गराउँदै, हत्कडी लाउँदै भेला गर्‍याे। दसैँको दिन चौतारीमा गीत गाउँदै बसेका साथीहरू कसैलाई घरबाट कसैलाई गोठबाटै गिरफ्तार गर्‍याे, सशस्त्रले।

‘प्रहरीले राति २ बजे हत्कडी लगाएर हिँडायो जङ्गलको उकालो बाटाे। बिहान ४ बजेमाथि जङ्गलमा पुर्‍यायाे। अरू ६ जनालाई २/२ जना गरी हट्कडी लगाएको थियो,’ आशबहादुरले त्याे दिनकाे घटना सुनाए,‘तर, मलाई भने डोरीले बाधेको थियो। अगाडि नै खाल्टो खनेर तयार गरिसकेको रहिछ, सशस्त्रले खाल्टो नजिक लगेर घेरा हाल्यो।’

मारिने निश्चितै भएपछि उनले हातको डोरी बलजफ्ती फुत्काएर कान्लाबाट हाम्फालेका थिए। ड्याम्म रूखमा ठोक्किएर उनको खुट्टामा ठूलो चोट लाग्यो। उनकाे रफ्तार राेकिएन। प्रहरीले गोली बर्साउँदै गयो। उनी होसमा हुँदासम्म ७ राउण्ड गोली चलाएको थियो, प्रहरीले। अँध्यारोमा हामफाल्दै भाग्दा रूखमा ठोक्किँएर टाउकोमा, खुट्टामा ढाडमा कतै छोइनसक्नु थिएन।

‘म त भागेँ अरू ६ जना साथीहरूलाई मारेर एकै चिहान बनाएछ, प्रहरीले। खाल्टोमा हालेर सबैलाई मट्टीतेल खनाएर जलाएकाे खबर सुन्दा म फेरि छाँगाबाट खसेजस्ताे भएँ,’ उनी बाेल्छन्।

मृत्युकाे मुखबाट भागेका उनलाई खुल्ला संसारबाट पर पुग्नु पर्‍याे। उनी ४ महिनाभन्दा बढी समय भूमिगत भए। पार्टी र आफन्तले गाेप्य रूपमा उपचार गरे, उनकाे। त्यतिले पुगेन उपचारकाे लागि भारत पुग्नु पर्‍याे। घटना घटेकाे दशकाैँ बित्दासम्म पनि उनकाे मनकाे घाउ जस्ताकाे तस्तै छ।

०००

सशस्त्र द्वन्द्वको दोहोरो मारमा परेका उनले अहिले शारीरिक अशक्तताका कारण दुख पाउनु परेकाे छ। देशमा शान्ति आएपछि युद्धका घाइते अपाङ्गाका लागि बनेका कानुनले पनि उनीहरूलाई छाेएन। न त पार्टीले उनीहरूकाे लागि पहल गर्न सक्यो, न त सरकारले। उनीजस्ता हजारौँको जीवन अहिले पनि कष्टकर छ। न्यायकाे खाेजीमा हिँदा–हिँदा उनका खुट्टाहरू अब गकिसके। उमेरले पनि साथ छोड्न लाग्यो।

राजतन्त्रले तन गलाइदियाे, गणतन्त्रले मन। ‘अब त सरकारकाे आशा गर्ने मन पनि थाकिसक्याे, न्याय पाउने सपनाहरू पानीका फाेका जस्तै फुट्दै गए।’ आशबहादुर बिरक्तिन्छन्, ‘अब त सदरमुकामा थन्किएका फाइल पनि फिर्ता दिन्छु।’

प्रकाशित मिति: : 2022-05-29 22:20:00

प्रतिकृया दिनुहोस्