हिमालय वृद्धाश्रम केन्द्रमा सबैभन्दा हँसिला छन्, ‘मुस्कान बा’। आफ्नो एक मुस्कानले उनी बच्चादेखि बुढालाई मोहित बनाइदिन्छन्। भलै, उनको नाम कमल खत्री हो तर आश्रमका ५० जना बा–आमाले नै उनलाई ‘मुस्कान बा’ भनेर बोलाउने गर्छन्।
कमलले ‘मुस्कान’को उपमा त्यतिकै पाएका होइनन्। त्यसको पछाडि उनको हँसिलो स्वभाव छ। जो सधैँ बिना कारण मुस्कुराइरहन्छन्। ‘मुस्कुराउनु एक कला हो, जुन मभित्र छ। त्यसैले म रिस उठ्दा पनि म हाँसेरै जवाफ दिने गर्छु,’ उनले सुनाए।
कमलले बालखैमा आमा गुमाए। १० महिनाको छँदा आमाको स्नेहबाट वञ्चित भएका उनी बुबाको मायाबाट पनि टाढिए। आमा बितेको वर्षदिन नपुग्दै बुबा टेकबहादुरले कान्छी श्रीमती भित्र्याए।
बुबाले विवाह गरेर ल्याएको नयाँ श्रीमतीले सुरुवाती दिनहरूमा कमललाई माया गरिन्। आफ्नै आमाले जस्तो स्याहारिन् तर साैतेनी आमा आफूलाई जन्मदिने आमा जस्तो त कहाँ हुन्थ्यो र ? विस्तारै कान्छी आमाको रबैया बदलिँदै गयो।
‘मलाई लाग्थ्यो कान्छी आमा पनि आमा नै हुन्। माया गर्छिन् तर म गलत रहिछु। साैतेनी आमा कहिल्यै आफ्नो नहुँदो रहिछ। सुरुमा माया गरेको जस्तो गरिन् पछि कुट्न थालिन्,’ विगत कोट्याउँदै उनले भने।
सानै उमेरमा बा-आमाको छायाबाट अलगिएका उनी दिदीको सहारामा हुर्किए। उनलाई दिदीले आमा जसरी प्रेम गरेर स्याहारिन्। ‘मेरी आमा कस्ती थिइन्, त्यो त मलाई थाहा छैन तर दिदीले जस्तो माया गर्नुहुन्थ्यो होला,’ स्वर्गीय आमालाई उनले सम्झिए।
आमा नभए पनि दिदीको मायामा हुर्किएका उनले कहिल्यै आमाको कमी महसुस गरेनन्। दिदीको साथ पाएर खुसी थिए कमल। तर, आफूसँगै हुर्किरहेकी दिदीकाे १५ वर्षकाे उमेरमा विवाह भयाे।
ज्यानभन्दा प्यारी दिदीको विवाहले उनी नमज्जासँग टुटे। विवाह गरेर आफ्नो घर गएकी दिदीलाई सम्झिएर उनी दिन/रात रुन्थे। ‘दिदीको विवाहपछि म धेरै रोएँ, त्यसपछि सम्हालिन थालेँ,’ उनले भने। आफूलाई सबैभन्दा धेरै माया गर्ने दिदीको विवाह भएपछि घरमा उनी एक्लो परे। कोही भएनन् उनका सहारा। त्यसपछि कमलले एक्लै जिउने अठोट गरे।
१० वर्षको उमेरदेखि नै उनले हलो कोदालो चलाउन सिके। ‘जब दिदीको विवाह भयो, त्यसपछि मैले एक्लै बाँच्न सिकेँ। आफैँ संघर्ष गर्न जानेँ,’ दिदीको विवाहपछि बदलिएको जीवन सुनाउँदै उनले भने।
जेठी आमाका छोरा उनी एक्लाे भए पनि कान्छी आमाको छोरा चार जना र छोरी चारै जना थिए, जसको जेठा दाइ कमल थिए। एउटै बुबाका सन्तान सम्झिने उनले भाइ-बहिनी अथाह प्रेम गरे।
आफू नपढी उनी भाइहरूलाई स्कुल पठाउन चाहन्थे। उनले कमाएको पैसा पनि भाइहरूकै पढाइमा खर्चिए। ‘घरको आर्थिक स्थिती नाजुक थियो, त्यसैले मैले पढ्न पाइनँ तर मेरो भाइहरूलाई पढाउन दु:ख गरेँ,’ बिएल नेपाली सेवासँग उनले भने, ‘तर भाइहरूले मलाई कहिल्यै आफ्नो दाइ सोचेनन्।’
कान्छी आमाका छोरा-छोरीलाई माया गरेका उनले सधैं घृणा पाए। घर खर्च जुटाउनका लागि सानैदेखि मेहनती बनेका उनी २२ वर्षसम्म गाउँमा बसे। त्यसपछि कामको खाेजीमामा काठमाडौं हानिए।
‘मैले मेरो बासँग नागरिकता बनाइदिन आग्रह गरेँ तर उहाँले बनाइदिनु भएन। कान्छी आमाले पनि नागरिकता बनाउनु पर्दैन भन्दै गाली गरिन्। त्यसपश्चात मैले गाउँ छाड्ने निधो गरेँ,’ घर त्यागेको क्षण सम्झदै कमलले भने, ‘मैले सम्पत्ति खाइदिन्छु भनेर मलाई नागरिकता बनाइदिएन। मैले पनि भिख मागिनँ।’
काठमाडौँमा गर्नु परेको त्यो संघर्ष
आफूलाई जन्मदिने बुबाले नै सम्पत्तिको लोभमा नागरिकता बनाइदिन अस्वीकार गरेपछि उनी २०२८ सालमा लागि काठमाडौँ आए। उनको लागि नयाँ सहर थियो, राजधानी। पहिलो पटक काठमाडौँ छिरेका उनी कामको खोजीमा गल्ली–गल्ली भौतारिए तर कहीँकतै पाएनन्। ‘मैले सोचेको भन्दा सहर ठुलो थियो। काम पाउन मुस्किल भयो,’ उनले भने, ‘तर भाग्यवस सुन्धाराका एक जना व्यापारीको घरमा काम गर्ने अवसर पाएँ।’
घरको कामकाज सम्हाल्न व्यापारीकाे घरमा बसेका उनले सरसफाइ मात्र गरेनन् उनीहरूले उनीहरुका कपडा पनि धाेए। अरूको घरमा काम गर्नु उनको रहर थिएन तर बाध्यताको अगाडि उनको केही लागेन। उनी भन्छन्, ‘त्यो बेला मेरो लागि मर्नुभन्दा बौलाउनु बेस थियो।’
व्यापारीको घरमा दु:ख गरेका उनले त्यही काम गरेर कक्षा १० सम्म पढे। ‘एसएलसी दिन्थेँ होला तर सकिनँ। किनकी म व्यापारीको कामको सिलसिलामा भैरहवा पुगेँ,’ उनले सुनाए।
एक दशक बढी व्यापारीको घरमा बसेर काम गरेका कमलले तलब नपाए पनि शिक्षा पाए। त्यही शिक्षाका कारण उनले भैरहवाको एक बैंकमा जागिर खाए। ‘त्यो बैंकमा तलब दिएको त थाहा छैन तर मेरो काम भनेको पैसा गनेर मिलाउने थियो,’ उनले भने, ‘खाजा चाहिँ खान दिन्थ्यो।’
बिना तलब गरेको जागिरबाट दिक्दार बनेका उनले जागिर छाडेर भारत जाने निधो गरे। र, २०४० सालमा भारत भासिए।
नर्ससँग बसेको त्यो प्रेम
एक्लै भारत पुगेका उनी असममा बस्न थाले। त्यहीँ पुगेर उनले घर रङ्ग लगाउने काम सुरु गरे। ‘असमतिर थुप्रै नेपालीहरू थिए। त्यसैले मैले उनीहरूकै संगतमा लागेर काम पाएँ,’ मुस्कान दिदैँ उनले भने।
घर रङ्गाउने काम पाएका उनको साहुकाे घरमा नै बास थियो। उनलाई खान र लगाउन पनि साहुले नै दिन्थ्याे। आफूले गरिरहेको कामप्रति रमाइरहेका थिए उनी।
सधैंकाे जस्तो काम गर्नका लागि दुई तलामाथि डोरी बाँधेर चढे। एक हातमा रङको बाल्टिन र अर्को हातमा ब्रस बोकेर झुण्डिएका उनी एक दिन एक्कासी भुइँमा बजारिए। ‘मैले बाँधेको डोरी फुस्किएछ, त्यसैले नमज्जासँग पछ्यारिएँ,’ कमलले भने।
भुइँमा बजारिएको उनको टाउकोबाट रगत बग्यो। त्यसपछि उनलाई साथीहरूले अस्पताल लगे। त्यहीँ अस्पतालमा उनको ‘रेग्मी’ थरकी नर्ससँग भेट भयो। जोसँग उनको प्रेम बस्यो।
बिरामी उनलाई अस्पतालमा ती नर्सले नै स्यहारिन्, जसकारण उनी नर्सप्रति आकर्षित भए। नर्सलाई मन-मनै मन पराउन थालेका उनले कहिल्यै प्रेम प्रस्ताव राखेनन्। ‘हेर्दा सर्लक्क राम्ररी चिटिक्क थिइन्। उनले मेरो धेरै स्याहार गरिन्। त्यही भएर त उनी मलाई मन परेकाे थियाे,’ उनले भने।
महिनादिन अस्पतालको बसाइँ हुँदा समेत उनलाई भेट्न साहु आएनन्। अस्पताल खर्च पनि दिएनन्। ‘साहुको काम गर्दा लडेँ तर उसैलाई मेरो मतलब थिएन। उसले अस्पताल खर्च पनि दिएन,’ उनी भन्छन्,‘अस्पताल खर्च सबै ती नर्सले ब्यहाेरिन्। सायद उनले पनि मलाई प्रेम गर्थिन्।’
सञ्चाे भएर घर फर्किँदा आफूलाई नर्सले अँगालो हालेर रोएको उनलाई अझै याद छ। ‘उसलाई पनि मसँग बिछोड हुँदा मलाई जत्तिकै दु:ख लागेको रहिछ,’ उनले भने, ‘मलाई नर्ससँग विवाह गर्ने मन थियो तर सकिनँ। म गरीब थिएँ। मसँग घर थिएन। अर्काेको छोरी दु:ख दिनु हुँदैन।’
गरिबीको कारण नर्ससँग बसेको प्रेम त्यागेका कमलले विवाह गरेनन्। भन्छन्, ‘मन परेको मान्छे पाइनँ। विवाह किन गर्नु र ?’
अनागरिक भएकोमा गुनासो
नर्ससँगको त्यो बिछोडका कारण निराशिएका उनले असमकै पाँच तारे होटेलमा काम पाए। उनले ‘सेक्युरिटी’ बनेर काम गर्न थाले। ‘त्यो होटलमा मलाई चिनेका मान्छेले काममा लगाइदिएकाे थियाे,’ उनले भने।
होटलमा काम गर्न थालेका कमलको आम्दानी पनि राम्रै थियो। हाेटलबाट कमाएको पैसा उनी दिदीलाई पठाइदिन्थे। ‘त्यो होटेलमा काम गरेर मैले राम्रै पैसा कमाएँ। धेरै दान गरेर सक्काएँ,’ उनले भने, ‘बाँचुन्जेल धर्म गर्नुपर्छ रे !’
आफूले काम गरिरहेको होटलमा दुई दशक बिताएपछि उनले घर फर्किने निधो गरे। ७४ वर्षको उमेरमा उनले होटलका सबै जनासँग बिदा मागेर नेपाल फर्किने निर्णय गरे।
चार दशक भारतमा बिताएका उनी ३० हजार (आइसी) पैसा बोकेर नेपाल फर्कदै थिए। उनी यात्रुको भीड रहेको ट्रेनको एक कुनामा बसे। ‘ट्रेनमा यात्रा गर्दा पैसाकाे झोला हराउँछ भन्ने कुरा सुनेको थिए। त्यसैले आफूले ल्याएको ब्याग च्यापेर बसेँ,’ उनले भने।
तर, ट्रेनको यात्रा गर्नुअघि उनलाई जे कुराको डर थियो, त्यही भयो। उनले च्यापेर राखेको झोला ट्रेनमै हरायो। ‘मैले धेरै झोला खोजेँ तर कहीँ भेटिनँ,’ उनले भने, ‘३० हजार पैसा र कपडा सबै चोरी भयाे।’
भारतमा मजदुरी गरेर कमाएको पैसा हराएपछि उनी बिचल्लीमा परे। पैसाको झोला हराएर अलपत्र परेका उनी काठमाडाैँकाे नयाँ बसपार्ककाे चाेकतिर भाैतारिन थाले।
‘ट्रेनमा झोला हराएर अलपत्र परेकाे थिएँ। त्यहीबेला मलाई हिमालयका म्याडमहरूले आश्रम ल्याउनुभयो,’ ६ महिनादेखि आफूले आश्रममा डेरा जमाएर बसेकाे बताउँदै उनले भने, ‘म यहाँ खुसी छु। यदी आश्रममा नभइदिएको भएँ म मरिसक्थे होला तर जेहोस् भगवानले रक्षा गर्नुभयो।’
डाँडाको घाम भइसकेका मुस्कान बा'लाई जिन्दगीसँग केही गुनासो छैन तर उनलाई एउटै कुराले पिरोलिरहेको छ, त्यो हो ‘अनागरिक’काे धब्बा। ‘यदी मसँग नागरिकता हुन्थ्यो भने भत्ता पाउँथेँ होला तर बुबाले बनाइदिएनन्। नागरिकता बनाएर पैसा पाउने मेरो लोभ होइन तर मर्ने बेला अनागरिक भएर मर्छु त्यही कुराको दु:ख लाग्छ,’ मुस्कुराइरहेका मुस्कान बा भन्छन्, ‘म नेपाली हुँ तर कुनै प्रमाण छैन।’