मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
ईश्वरी राई (इशु)
काठमाडौंको सुन्धारा छेउमा काम गरिरहेका शेरबहादुर एक्कासी बेहोस भए। थाकेकाे कमजोर शरीर र टन्टलापुर घाममा खटिरहेका उनी नमज्जासँग भुइँमा बजारिए। उनको अवस्था देखेर डराइरहेका साथीहरुले उनलाई अत्तालिँदै वीर अस्पताल लगे। अचेत अवस्थामा अस्पताल पुगेका उनले होश खुल्दा आफूलाई वृद्धाश्रममा पाए।
नयाँ बसपार्कको हिमालय वृद्धाश्रम केन्द्र पुग्दा निराश देखिन्थे, मकवानपुरका शेरबहादुर बोगटी। दुई साताअघि आश्रम आएका उनी गाउँ जाने सपना बुनिरहेका थिए।
कामको सिलसिलामा वर्ष दिनअघि गाउँ छाडेका उनी घर जान चाहन्छन्। ‘अब मलाई पैसा कमाउने रहर छैन। गाउँ गएर आनन्दसँग जिन्दगी बिताउन चाहन्छु’, उनी भन्छन्।
दुखमा हुर्किएका शेरबहादुरले कहिल्यै सुख पाएनन्। उनी भन्छन्, ‘भाग्यमा सुख लेखेको रहिन्छ।’ शरीरमा तागत रहुन्जेल काममा घोटिएका उनी अब सुखकाे श्वास फेर्न चाहन्छन्।
गाउँका ती पाखाहरूमा रमाउन चाहन्छन् उनी तर ती सपनाहरू उनका लागि असम्भव जस्तै भइदिएको छ। ‘मैले मेरो परिवारलाई नभेटेको वर्ष दिन कट्यो। उनीहरूको फोन नम्बर मसँग छैन। म आफैँ घर जान पनि सक्दिनँ तर मलाई गाउँ जाने ठुलो रहर छ’, उनी सुनाउँछन्।
पाकिस्तानले दिएको त्यो धम्की
वि.स. २०२३ सालमा ओखलढुङ्गामा जन्मिएका उनी बोगटी परिवारका कान्छा छोरा हुन्। उनीमाथि एक दिदी र तीन दाइ थिए। घरका कान्छा सदस्य भएपनि उनी सानैदेखि दुखको चपेटामा परे। ८ वर्षकै उमेरदेखि उनी घरायसी काममा पोख्त भए।
‘मेरा जेठा र माइला दाइ नेपाली सेनामा भर्ती थिए। त्यसैले मैले दुख पाएँ’, उनले सुनाए, ‘पैसा कमाउने भएपछि आफ्नो मान्छे पनि आफूसँग नहुँदो रहिछ।’
सरकारी जागिरे दाइहरूको अपहेलना सहनुपरेको कारण साइला र कान्छा हेटौंडामा बसाइँ सरे। त्यही ठाउँलाई उनले आफ्नो कर्मथलो बनाए। सदाका लागि जन्मथलो छाडेर मकवानपुर हानिएका उनले खेती किसानी गर्न थाले।
उबेला नै उनले कक्षा ७ सम्मको अध्ययन पूरा गरेका थिए। त्यसैले शेरबहादुरले जागिरे बनेर पैसा कमाउने सोच बनाए। ‘मेरो बुबा गाविसका अध्यक्ष हुनुहुन्थ्यो। त्यसैले उहाँको भत्ताले नै आमाले हामीलाई दुखले पढाउनुभयो’, उनले भने।
धेरै पैसा कमाउने सपना देखेका उनी २०३६ सालमा इण्डिया हानिए। गाउँकै ठिटाहरूको साथमा शेरबहादुर पहिलो पटक छिमेकी देश भारत पुगे। त्यहाँ गएको साता दिनमै उनी ‘फौजी’ मा भर्ना भए।
‘सर्लक्क खाइलाग्दो शरीर नै त्योबेला आर्मीमा हुनुपर्ने गुण थियो, जुन मभित्र थियो’, बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भने, ‘तर त्यस ठाउँमा धेरै नेपालीहरू आर्मी थिए, जसकारण मलाई फौजी बन्न सहयोग मिल्यो।’
गाउँमा रहँदा खेती किसानीमा रमाउने उनी १३ वर्षकै उमेरमा देशका रक्षक बनेका थिए। कलिलो उमेरमा आर्मीकाे सिपाही बनेका शेरबहादुर खुसी थिए। त्यस बखत दुखले काेल्टे फेरेको उनको बुझाइ थियो। तर सुख पाउन देखेको उनको सारा सपना छताछुल्ल भयो, जब उनी फौजीमा लागेको तीन महिनामै उनी इण्डिया छाडेर घर फर्किए। जसको कारण थियो, ‘भारत र पाकिस्तानबीचको लडाइँ’।
सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तानबीचको पहिलो युद्ध सन् १९४७ अक्टोबर २० देखि सुरु भएको थियो। युद्धको कारण थियो, कश्मिर। जम्मु–कश्मिरका तत्कालीन राजा हरि सिंहले कश्मिर औपचारिक रुपमा भारतको हिस्सा रहने घोषणा गरेसँगै भारतीय सेना सुरक्षार्थ भन्दै कश्मिरमा उत्रियो। कश्मिरको अधिपत्यका लागि पाकिस्तानी सेनाले पनि कमान समाल्यो र दुई देशबीच युद्ध सुरु भयो।
‘सन् १९७५ मा म इण्डियन फौजी थिएँ, त्याबेला तत्कालीन प्रधानमन्धी इन्दिरा गान्धी थिइन्’ उनले बताए। पेशाले आर्मी भएपनि उनी दुई देशबीच चर्किरहेको युद्धको त्रासमा बाँचिरहेका थिए। उनलाई युद्धबाट टाढै रहनु थियो। त्यसैले उनी आर्मीको जागिर त्यागेर नेपाल फर्किए।
युद्धमा शहिद हुने डरले आर्मीको जागिर छोडेर घर फर्किएका शेरबहादुरलाई पाकिस्तानले दिएको त्यो धम्की अझै याद छ। ‘तिमीहरूमाथि बन्दुक चलाउने आदेश सरकारबाट आउँछ तर हामी त आफ्नै गोजी अर्डर बोकेर हिँड्छौँ’, पाकिस्तानले दिएको त्यो धम्की सम्झिएर अझै तर्सिने गर्छन्, शेरबहादुर।
माओवादी द्वन्द्वकालमा हराइन् श्रीमती
इण्डियाको जागिर छाडेर नेपाल आएका उनले गाउँमै खेती किसान गरे। यसैबीचमा १५ वर्षको उमेरमा उनी राजधानी हानिए। उनी काठमाडौंको सुन्धारामा एक ‘जर्नेल’ को घरमा काम गर्न बसे। ‘गाउँकै चिनेका मान्छेले मलाई त्यहाँ पुर्याएको हो’, उनले भने।
जर्नेलको घरमा काम गरिरहेका शेरबहादुर खुसी थिए। त्यहाँबाट कमाएको पैसाले हातमुख जोड्न पुगेको थियो। कामप्रतिको उनको लगाव र मेहनत देखेर खुसी भएका जर्नेलले शेरबहादुरलाई आर्मी बन्न प्रस्ताव राखे।
‘ती जर्नेल साबको घरमा म भाँडा माझ्ने काम गर्थें। उहाँको छोराछोरीको हेरचाह गर्थें। त्यसैले उहाँले मलाई आर्मी बनाउनुभयो’, उनी भन्छन्, ‘खुसी हुँदै आर्मीमा भर्ती भएँ।’
वि.स. २०४५ सालमा उनी नेपाल आमीमा भर्ती भए। भाँडा माझेर २२ वर्षको उमेरमा सेनामा भर्ती भएका शेरबहादुरले २५ वर्षको उमेरमा विवाह गरे।
परिवारको सहमतिमा वैवाहिक बन्धनमा बाँधिएका उनी श्रीमतीलाई गाउँमा छाडेर काठमाडौंमै बस्न थाले। ‘मेरो ड्यूटी काठमाडौंमा थियो, त्यसैले विवाह गरेको केही दिनमै काममा लागेँ’, उनले सम्झिए।
आर्मीको जागिर गरेर मासिक साढे चार सय कमाउँथे, शेरबहादुर। जुन पैसा उनी घर खर्चका लागि गाउँ पठाउने गर्थे। नेपालमै जागिरे बनेका उनी खुसी थिए तर त्यो खुसी पनि धेरै समय टिक्न सकेन। सात वर्षपछि उनले आर्मीकाे जागिर त्यागे। जसको कारण उनी आफ्नो परिवार रहेकाे बताउँछन्।
‘छुट्टीको समय गाउँ गएको थिएँ। श्रीमती माओवादीमा लागेको कुरा बुझेँ। मैले उनलाई कयौँ पटक पार्टी त्याग्न सुझाएँ तर उनी मानिनन्। त्यसपछि मैले आर्मीको जागिर छोड्ने निर्णय गरेँ’, उनले भने।
वि.सं. २०५२ सालताका नेकपा माओवादीको बिगबिगी थियो। २०६३ सालसम्मै माओवादी द्वन्द्व कायम रह्यो। विद्रोही माओवादीले नेपाली राजतन्त्र ढाल्ने र गणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ जनयुद्ध सुरू गरेको थियो।

वि.सं. २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँगै युद्ध समाप्त भएको थियो।
उक्त विद्रोहको परिणामस्वरुप नेपाली नागरिक, विद्रोही माओवादी, नेपाली सेना र प्रहरीलगायत गरी १७ हजारभन्दा बढीको मृत्यु भएको थियो भने युद्धमा होमिएका हजारौँ मानिसहरू बेपत्ता भएका थिए। त्यही बेपत्ता हुनेको संख्यामा थिइन्, शेरबहादुरकी श्रीमती।
‘मेरो सानो छोरा बोकेर श्रीमती कता बेपत्ता भइन्, थाहा छैन। फर्किएर कहिल्यै आइनन्’, माओवादीको द्वन्द्वमा हराएकी श्रीमती सम्झिएर भावुक भएका बोगटी भन्छन्, ‘उनी बेपत्ता भएबापत सरकारले तीन लाख रूपैयाँ दिएको थियो।’
श्रीमतीलाई गुमाएबापत पाएको रकम आफूले नचलाएको बताउँदै उनले भने, ‘मेरी आमाले त्यो पैसाको के गर्नुभयो, मलाई थाहा छैन। मैले एक सुका चलाइनँ।’
‘आर्मीको जागिरे त्यागेकोमा पछुतो छ’
श्रीमतीलाई गुमाएपछि उनले दुई छोराछोरीलाई आफैँले हुर्काउने निधो गरे। ३० वर्षको उमेरमा उनी फेरि इण्डिया भासिए।
दोस्रो पटक भारत पुगेका उनले त्यहाँ सयाल खेतीमा काम गर्न सुरु गरे। त्यहीँबाट कमाएको पैसाले उनले छोरालाई ‘मास्टर्स डिग्री’ र छोरीलाई ‘एसएलसी’ सम्मको शिक्षा दिए।
जिन्दगीभर आफ्नो लागि पैसा बचत गर्न नसकेका शेरबहादुर छोराछोरीलाई पढाउन पाएकोमा खुसी छन्। उनी भन्छन्, ‘उनीहरूलाई शिक्षित बनाउनु नै मेरो कर्तव्य थियो।’
अहिले उनकी छोरीले विवाह गरिसकेकी छिन् भने छोरा कतारको एक कम्पनीमा काम गर्छन्। ‘म गाउँमा छँदा छोराले महिनाको ८० हजार कमाउँथ्यो, अहिले कति छ थाहा छैन। तर मैले उसलाई पैसा नपठा भनेको छु। भविष्यमा उसैलाई पैसाको आवश्यकता पर्छ’, उनले सुनाए।
छोरालाई पैसा नपठाउन आदेश दिएर कामको लागि घर छोडेका उनी अहिले अलपत्र छन्। उनी भन्छन्, ‘मैले आर्मीको जागिर नछोडेको भए हुन्थ्यो, अहिले पछुतो लागिरहेको छ।’
हिजोआज घरको यादमा आश्रममा बसेर टोलाइरहने उनलाई थाहा छैन, कसरी आफू आश्रममा पुगेँ? तर उनलाई यतिमात्र थाहा छ, आश्रम आउनुअघि आफू वीर अस्पतालकाे ‘बेर्ड’मा थिए।
केही समयअघि शेरबहादुर सुन्धारा चोक छेउमा काम गर्दै थिए। थाकेका कमजोर शरीर र टन्टलापुर घामका कारण उनी एक्कासी बेहोस भए। उनको अवस्था देखेर डराएका साथीहरूले उनलाई अत्तालिँदै वीर अस्पताल लगे।
‘मलाई साथीहरूले वीर अस्पताल लगेको मात्र याद छ, तर कसरी आश्रम आइपुगेँ त्यो यादै छैन’, उनले भने, ‘आश्रमकी म्याडमहरूले भन्नुभएपछि बल्ल थाहा पाएँ, मलाई एम्बुलेन्समा राखेर यहाँ ल्याउनुभएको रहिछ।’
सानैदेखि गर्नुपरेको संघर्षले आजित भएका उनी गाउँ गएर पशुपन्क्षी स्याहार्न चाहन्छन्। शेरबहादुर भन्छन्, ‘गाउँमा धेरै काम केटाकेटीहरूलाई सिकाउनु छ।’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया