आश्रममा बाआमा-९

‘बुहारीले घरमा छिर्न दिइनन्, छोरीले मेरी आमा होइन भनिन्’ (भिडियो)

धेरै वर्षपछि आफ्नो घर भक्तपुर पुगेकी रुकु कोइराला परिवारसँग भेट हुने साेचले निकै खुसी थिइन्। तर उनकाे खुसी धेरैबेर टिक्न सकेन, जब उनलाई बुहारीले घरमा छिर्न दिइनन् अनि छाेरीले आमालाई नमिठाे बचन लगाइन्। ९ महिना गर्भमा राखेर जन्माएकी छाेरीले नै उनलाई जिउँदै मरेकाे भनेर सम्बाेधन गर्दा निशब्द भएकी उनी आँखाभरि आँसु लिएर पुन: आश्रम फर्किएर गइन्। 


बालखैमा आमाबुबा गुमाएकी बनेपाकी रुकु चलाउने ठूलो बाआमाको साथमा हुर्किइन्। संसारमा पाइला टेकेको सातादिनमै उनले पिता गुमाइन्। ‘बा’ काे निधनले छँटाही बनेकी आमा परपुरुषको साथमा भागिन्। सानै उमेरमा बाआमाको मायाबाट बञ्चित भएकी रुकुलाई ठूलो बाआमाले सहारा दिए।

आफूलाई जन्मदिने अभिभाभव गुमाएकी उनले कहिल्यै स्कुलको आँगन टेकिनन्। घरधन्दा र घाँसदाउरामै बित्यो उनको बाल्यकाल। पाँच वर्षको उमेरदेखि घर सम्हाल्न जानेकी उनको बाल्यावस्थामा नै विवाह भयो।

१४ वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी उनी भक्तपुर पुगिन्। माइतीघरमा दुख गरेकी उनले विवाहपछि पनि सुख पाइनन्। बरु उल्टै कहिल्यै नगरेको संघर्ष गर्नुपर्याे।

‘मान्छेले माइतीघरमा दुख गरे श्रीमानको घरमा सुख पाइन्छ भन्छन् तर त्यो कुरा गलत हो। माइतमा दुख गरेकी छोरीले आफ्नो घरमा पनि दुखै पाउँछिन्’, उनी भन्छिन्, ‘किनकी मैले माइतीघरमा दुख पाएकी थिएँ। त्योभन्दा धेरै मैले श्रीमानको घरमा पाएँ।’

१५ वर्षका श्याम कोइरालासँग विवाह गरेर भक्तपुरको कोइराला गाउँ पुगेकी रुकुले राम्रो घरमा बस्न र पेटभरि खाना पाइनन्। आकाशको पानी चुहिने परालले छाएको घरमा बस्न बाध्य भइन्, उनी। ‘श्रीमानको घर राम्रो थिएन, पानी पर्दा घरभित्र आहाल हुन्थ्यो। अघाउन्जेल खान पनि पाइनँ’, उनले सुनाइन्।

उराठलाग्दो श्रीमानको घर देखेर उनले माइतको जग्गा बेचेर दुई तल्लाको घर बनाइन्। त्यसपछि उनले भक्तपुरकै एक नर्सरीमा काम गर्न थालिन्।

दिनभरि बिरुवा गोड्ने र बिरुवामा पानी हालेर उनी महिनाको १५ सय रुपैयाँ कमाउँथिन्। त्यही पैसाले उनी घर खर्च चलाउँथिन्। ‘श्रीमान बिहान घरबाट निस्किएको मान्छे साँझ मात्र फर्किन्थ्यो। दिनभरि कहाँ हराएर आउँथ्यो, मलाई नै थाहा हुँदैन थियो’, उनले भनिन्, ‘मैले नै घर थेगेकी थिएँ।’ 

बिना तलब ३२ वर्षसम्म बलराम हाकिमको घरमा गोठालो बसे (भिडियोसहित)

आफूले कमाएको पैसाले जसोतसो घर चलाएकी रुकुले १९ वर्षको उमेरमा छोरा जन्माइन्। त्यसपछि उनले बर्सेनि चार जना सन्तानलाई जन्म दिइन्। ‘तीन जना छोरालाई जन्माएपछि कान्छी छोरी जन्माएँ’, उनले भनिन्, ‘तर सुख पाइनँ।’

चार जना छोराछोरीलाई जन्माएपछि आफूले झनै दुख पाएको उनले सुनाइन्। छोरालाई जन्म दिएको केही दिनमै काम गरेको उनी सम्झिन्छिन्। ‘सुत्केरी अवस्थामा नै काम गर्न बाध्य भएँ’, बिएल नेपाली सेवासँग उनले दुखेसो पोखिन्।

उनले नर्सरीमा काम गरेरै छोराछोरीलाई स्कुल पढाइन्। दुख र संघर्ष गरेर हुर्काएका उनको जेठा छोराले १८ वर्षको उमेरमा विवाह गरे। ‘८ कक्षामा पढ्दै थियो छोरा। बिहे नगर भनेको मानेन। गरेरै छाड्यो’, उनले भनिन्।

भर्खर विवाह गरेर ल्याएकी बुहारीलाई घरको कामधन्दा सम्हालन लगाएर उनी काममा लाग्थिन्। बाहिर काम गर्न गएपनि खुसी थिइन्, रुकु। ३५ वर्षको उमेरदेखि आफूलाई ‘हिँड्ने बानी’ लागेको उनी बताउँछिन्।

‘म कति वर्षको भएँ, मलाई केही थाहा छैन। तर ३५ वर्षको उमेरदेखि एक्लै भौँतारिएर हिँड्न थालेँ’, आफ्नो विगत सुनाउँदै उनी भन्छिन्, ‘पहिले म धेरै निरोगी थिएँ तर पछि एक्कासी छोप्ने बिरामीले एक्लै हिँड्न थालेँ।’

उनी घरबाट बाहिर निस्किन्थिन्। तर कहाँ जान्थिन्, उनलाई नै पत्तो हुँदैन थियो। भन्छिन्, ‘म कहाँ पुग्थेँ, कहाँ जान्थेँ केही थाहा हुँदैन थियो। आफैँ बौलाएर हिँडिरहन्थेँ।’

एक्कासी घर छोडेर हिँड्ने उनलाई धेरै पटक छोरी–बुहारीले खोजेर घरमा ल्याए। तर विस्तारै उनीहरुले आमालाई वास्ता गर्न छाडे। ‘उनीहरुलाई पनि विरक्त लाग्यो होला नि! पागल बूढीलाई कति चाहिँ खोजेर ल्याउनु भनेर त्यसपछि मलाई छोराछोरीले वास्ता गर्न छाडे’, उनले बताइन्।

छोराछोरीले बेवास्ता गरेकी रुकुलाई श्रीमानले समेत हेरेनन्। मनोरोगी उनलाई परिवारले स्याहार्नुको सट्टा उल्टै तथानाम गालीगलौज गर्थे। उनलाई याद भएअनुसार बुहारीले हेपेर ‘तँ’ भन्दै सम्बोधन गर्थिन्। बुहारीलाई साथ दिँदै उनका श्रीमान र छोराछोरीले पनि रुकुलाई नानाभाँती सुनाउँथे।

आफूलाई बुहारीले सराप्दा उनी चुपचाप बस्थिन्। उनी बोल्न खोज्दा बुहारीले हात तेर्याउँदै कुट्न अघि सर्थिन्। ‘बुहारीले मलाई नराम्रो बचन लगाउँथिन्। मैले केही बोल्न खोज्दा बुहारीले मलाई चुप लाग भन्दै कुट्न खोज्थिन्। बुहारीकै सर्पोट गर्थे छोराछोरी’, उनले भनिन्, ‘बुहारी ल्याएपछि छोरा आफ्नो नहुँदो रहिछ। भाउजूको साथमा लागेर छोरीले भविष्यका लागि ठाउँ बनाएकी होलिन्। हुन पनि हो, म मरिहाल्छु। चाहिने उसलाई माइती नै हो।’

छोराछोरी र बुहारीले आफूलाई हेप्ने गरेको बताउने उनी श्रीमानले समेत बेवास्ता गरेको सुनाउँछिन्। ‘मेरो बूढाले समेत मलाई हेरेन। घरकाे सबै जना मिलेर मलाई घरबाट निकालिदियो।’

आफूले माइतबाट पाएको दाइजोले बनाएको घरमा उनै बस्न पाइनन्। घरका सदस्यले निकालेपछि उनी गाउँ नजिकैको एक मन्दिरमा बस्न थालिन्। त्यही मन्दिर नै उनको बासस्थान बन्यो। मन्दिरको पेटीमा सुत्ने उनले प्रसाद खाएरै पेट पाल्न थालिन्।

‘मेरो घर नजिकै थियो, मन्दिर। त्यसैले मलाई छोराछोरीहरुले पनि देख्थे। त्यहीकारण उनीहरुले मलाई हपारेर मन्दिरबाट धपाए। त्यसपछि म कहाँ गएँ, मलाई नै थाहा भएन’, उनले भनिन्। 

‘छोराछोरीले मलाई जिउँदै मारिसके, लिन आउलान् भनेर के आश गर्नु’ (भिडियोसहित)

गाउँबाट निस्किएर सडकपेटी डुल्न थालेकी उनले कहाँ–कहाँ ठक्कर खाइन्, उनैलाई पत्तो छैन। तर उनी चार वर्षअघि रानीवनको मानव सेवा आश्रम पुगिन्। ललितपुरको सडकपेटी, बेलुकीको समय उनी सुतिरहेकी थिइन्। त्यही क्रममा आफ्नाे उद्धार गरिएको रुकु बताउँछिन्।

‘मलाई त थाहा पनि छैन, कुन अवस्थामा आश्रमका नानीहरुले सडकबाट उठाएर आश्रम ल्याउनुभयो तर उहाँहरुले भनेअनुसार म एकदमै नाजुक अवस्थामा थिएँ रे। यदि उहाँहरु नभइदिएको भए म मरिसक्थेँ होला?’, आश्रमलाई धन्यवाद दिँदै उनले भनिन्।

पहिलोपटक आश्रम आउँदा मनोरोगी रहेकी उनी अहिले आफू निरोगी भएको बताउँछिन्। जसको कारण उनी आश्रमलाई दाबी गर्छिन्। आश्रमले गरेको उपचार र स्याहारकै कारण अहिले बोल्न सक्ने भएकाे उनले सुनाइन्।

आश्रममा आफूले पाएको सेवाले खुसी भएकी रुकु केही समयअघि गाउँ गएर बस्न चाहन्थिन्। उनलाई लागेको थियो, ‘आफ्नै छोराछोरी समानका आश्रमका नानीबाबुहरुले त यतिधेरै हेरचाह गरेका छन् भने मेरै सन्तानले मलाई कसो माया नगर्ला र? पहिलो मनोरोगी भनेर हेपे पनि, अहिले कसो मलाई नअपनाउला र?’ त्यसैले उनले महिनादिनअघि आश्रमका सेवीहरुलाई आफ्नो घर पुर्याइदिन आग्रह गरिन्। त्यसपछि उनी आश्रमका टोलीसँग भक्तपुरको कोइराला गाउँ पुगिन्।

‘यो बूढीलाई चिन्दिनँ, हाम्रो लागि मरिसक्यो’

कयौँ वर्षपछि आफ्नै गाउँ पुग्दा खुसी थिइन्, रुकु। उनलाई गाउँलहरूले समेत रमाउँदै गाउँमा स्वागत गरेका थिए। त्यो देखेर दंग परेकी उनले मनमनै सोच्न थालिन्, ‘मलाई देखेर छरछिमेक त रमाइहेका छन् भने मेरा सन्तानहरु झनै कति धेरै खुसी हुन्छन् होला।’

अनेकौं सपना बोकेर उनी उत्साहित हुँदै आफ्नो घरतर्फ बढ्दै थिइन्। तर उनको सबै सपनाहरु टुटेर गयो, जब रुकुलाई उनकै बुहारीले ‘चिन्दिनँ’ भनेर हप्काइन्।

रुकुसँगै भक्तपुर पुगेकी आश्रमकी मनिषा केसी बुहारीसँग बोल्न मात्र के खोजेकी थिइन्, ती बुहारीले रुकुलाई देखाउँदै भनिन्, ‘काे हो यो बूढी? म चिन्दिनँ।’ बुहारीको प्रश्नको जवाफ दिन खोजेकी केसीलाई हप्काउँदै बुहारीले भनेकी थिइन्, ‘तिमीहरुले जहाँबाट यो बूढीलाई ल्याएका हौ, त्यहीँ लैजाऊ! हैन भने म यो घर छाडेर जान्छु।’

सासूलाई देखेर आक्रोशित भएकी बुहारी झोला बोकेर बाहिर निस्कन खोजिन्। तर रुकुले बुहारीलाई रोक्दै आफू घरबाट टाढा जाने बताइन्।

‘घरमा बुहारीबाहेक कोही थिएनन्। छोरी सहकारीमा जागिरे रहिछ। उनी कार्यालयमा थिइन्। दुई छोरा र श्रीमान आफ्नै पसलमा काम गर्न गएका रहिछन्। अनि मेरो एक जना छोरा विदेशमा गएको रहिछ’, उनले भनिन्, ‘घरमा धेरै परिवर्तन भएको रहिछ तर मलाई केही पत्तो थिएन।’

पत्रकार बन्ने मनिषाको धोको भुइँचालोले चुडायो (भिडियोसहित)

बुहारीको नमिठाे बचन सुनेकी रुकुले छोरीलाई फोन लगाइदिन आग्रह गरिन्। उनी छोरीसँग बोल्न थालिन्। तर उताबाट छोरीले मनपरी गाली बोल्दै भनिन्, ‘त्यो बूढी मेरी आमा होइनन्। त्यो मेरो लागि मरिसक्यो। मलाई त्यसको केही वास्ता छैन।’ ९ महिना पेटमा राखेर जन्माएकी छोरीले नै गाली गरेपछि उनी आश्रमका टोलीसँग फर्किइन्।

आफ्नै परिवारको अपहेलना सहेकी उनी त्यो दिन खुबै रोएकी थिइन्। आश्रमकी मनिषालाई अंकमाल हाल्दै उनले भनेकी थिइन्, ‘नानी! तिमी को हौ, म चिन्दिनँ तर मेरो लागि तिमीहरु भगवान हौ। मेरो पेटबाट बरु तिमीहरुले नै जन्म लिएको भए हुन्थ्यो नि!’

घरपरिवारका लागि मरिसकेकी उनी अहिले आश्रमै रमाइरहेकी छिन्। उनी भन्छिन्, ‘अब यो आश्रम छोडेर कहीँ जान्नँ। यो नै मेरो संसार हो। यहाँबाट अब मेरो एकैपटक लाश उठ्छ।’

माइतीकाे सम्पत्तिले बनाएको घरमा बस्न नपाएकी उनले छोराछोरीविरुद्ध उजुरी दिन सक्छिन्। २०७४ सालमा संशोधन भएको जेष्ठ नागरिकसम्बन्धी ऐनले छोराछोरीले आमाबुबालाई हेरविचार र सुरक्षा गर्नुपर्छ भनेर कानुनमा उल्लेख गरिएको छ। कानुनअनुसार ज्येष्ठ नागरिक एवं आर्थिक अवस्था कमजोर भएका आमाबुवालाई छोराछोरीले अनिवार्य रुपमा हेर्नुपर्छ। तर उनी छाेराछाेरीलाई दुख नदिने पक्षमा छिन्। उनी भन्छिन्, ‘बरु म दुख पाउँछु। उनीहरुलाई कहिल्यै दुख दिन चाहँदिनँ।’

प्रकाशित मिति: : 2023-06-01 22:00:00

प्रतिकृया दिनुहोस्

    यस्तो सबै भएपछी त्यसतामाथी सरकारले कानूनी कार्वाही अगाडि बढाउनु पर्छ किनभने बा आमाले जे जस्तो भएपनि सन्तानको दुख देख्न चाहँदैन ।

    • एक बर्ष अगाडि
    • baburaja