
न्यायका निरीह सात वर्ष
ईश्वरी राई (इशु)
साँझको ४ बजेको थियो। दिनभरि भारी बोकेर थाकेको शरीर लिएर उनी घर फर्कँदै थिए। त्यतिनै बेला आफू हिँडेको विपरित दिशाबाट आइरहेको गाडीले उनलाई ठक्कर दियो। ‘स्पीड’ मा गुडिरहेको गाडीको ठक्करबाट भुँइमा बजारिएका उनी एक्कासी बेहोस भए। सडकभरि रगतको खोलो बग्यो।
सिन्धुलीका चन्द्रबहादुर लामा व्यापार गर्न राजधानी छिरे। २०४५ सालमा उनी १०वटा खसी लिएर काठमाडौं आए। पहिलोपटक गाउँ छाडेर सहर पसेका उनले काठमाडौंको तरकारी बजार छेउमा खशी बेच्न सुरू गरे। गाउँबाट ल्याएकाे ठूला खशी १७० र साना ताैल भएका खसी उनले ७० रूपैयाँमा बेच्न थाले। व्यापार गरेर फापेका उनकाे खशीको व्यापार आम्दानीको स्रोत बन्याे।
हजुरआमाले दिएकाे २५० रूपैयाँ बाेकेर २६ वर्षकाे उमेरमा काठमाडाैं आएका उनी व्यापारी बन्न पाउँदा खुसी थिए। उनले काठमाडौंका रैथानेहरुलाई साथी बनाउन समेत भ्याइसकेका थिए। साथीहरुसँग घुलमिल बढाउँदै गएका लामाको कामप्रतिको मोह घट्दै गयो। उनी काममा भन्दा धेरै ‘क्यारम बोर्ड’ मा व्यस्त हुन थाले।
‘मैले धेरै जनालाई साथी बनाएकाे थिएँ। ती साथीहरू क्यारम बोर्ड खेल्थे, त्यही खेलेको देखेर मलाई पनि रमाइलो लाग्यो, त्यसपछि मैले पनि खेल्न सुरु गरेँ। तर क्यारम खेल्न थालेपछि मलाई काम गर्नमा ध्यानै गएन’,उनले भने, ‘क्यारम सिक्न सुरुका दिनहरुमा मैले खसीबाट कमाएको पैसा धेरै बगाएँ।’
काममा जानुको सट्टा दिनभरि खेलमा रमाउने उनी क्यारम बोर्ड खेल्नमा सिपालु भए। क्यारम खेलेरै उनले दिनको सात सय रुपैयाँ कमाउन थाले। ‘म क्यारम बोर्डकाे च्याम्पियन भएको थिएँ, मसँग खेल्न साथीहरु डराउँथे तर मलाई चाहिँ खुबै रमाइलो लाग्थ्यो’, उनी सुनाउँछन्, ‘मलाई लाग्थ्यो, मेरो लाइफ राम्रोसँग बित्नेछ तर सोचेको जस्तो कहाँ हुन्थ्यो होला र?’
क्यारम बोर्ड खेल्नमा रमाइरहेका उनको ३० वर्षको उमेरमा विवाह भयो। साथीकै बहिनीसँग वैवाहिक बन्धनमा बाँधिए, लामा।
विवाह गरिसकेपछि उनको जीवनमा आमूल परिवर्तन आयो। दिनभरि क्यारम बोर्डमा झुम्मिरहने उनी कहिले ज्यामी त कहिले भरिया बनेर काम गर्न थाले। त्यही कामबापत उनी दिनको हजार रुपैयाँ कमाउँथे। ‘विवाह गरेपछि मैले कहिल्यै नपाएको दुख पाएँ’, उनले विवाहपछि भोगेको अनुभव सुनाए।
विवाहपछि उनको चार सन्तान भयो। त्यही सन्तानकाे पालनपाेषणकाे लागि उनी दिनरात नभनी काममा खट्थे। आफू भोकभोकै बसेर भएपनि उनी श्रीमती र छोराछोरीको पेट भर्थे। ‘ज्यामी काम र भारी बोक्ने काम उस्तै त हो नि। सधैँ काम हुँदैन थियो। काम नहुँदा भोकै बस्नुपर्थ्यो तर मैले श्रीमती र छोराछोरीलाई कहिल्यै भोकै सुताइनँ’, उनले भने।
आफूले नपढेपनि चारै जना सन्तानलाई शिक्षित बनाउने उनको ठूलो सपना थियो। ‘म अशिक्षित थिएँ तर मेरो छोराछोरीलाई शिक्षित बनाउन चाहन्थेँ। त्यसैले उनीहरुका लागि दिनरात काम गरेँ’, बिएल नेपाली सेवालाई उनी दुखेसो पोख्छन्।
चार जना सन्तानको पढाइ खर्च जुटाउन उनले मात्र सक्दैनन् थिए। त्यसैले श्रीमती पनि उनीसँगै काममा खट्ने गर्थिन्। एकाबिहानै काम गर्न लामा दम्पत्ति नयाँ बानेश्वरबाट सुन्धारा पुग्थे। बिहानको ६ बजेदेखि ज्यामी काम गर्ने उनीहरु साँझ ५ बजे घर फर्किन्थे। ‘हामी बुढाबुढीले दिनको दुई हजार कमाउँथ्यौँ। जुन पैसा घर खर्च र छोराछोरीको पढाइमा सकिन्थ्यो’, उनले भने।
भोको पेट काम गरेर छोराछोरी हुर्काएका लामा दम्पत्तिले कहिल्यै सुख पाएनन्। आफूहरूले काम गर्न नसक्ने भएपछि छोराछोरीहरु लाखापाखा लागे। ‘छोरीहरु आफ्नो घर गइहाले। छोराहरु विवाह गरेर भक्तपुरमा बस्न थाले’, उनी भन्छन्, ‘बुढेसकालको सहारा कोही भएनन्।’
सानो छँदा दुख गरेर हुर्काएका छोराहरुले बेवास्ता गरेपछि सुर्ताउन थालिन्, लामाकी श्रीमती। त्यही तनावका कारण उनी थला परिन्। त्यसपछि सदाका लागि संसार छाडेर गइन्।
२०७५ सालमा श्रीमतीको निधन भएपछि बिरक्तिएका चन्द्र दिनरात श्रीमतीकै यादमा रुन थाले। ‘मेरो जिउने सहारा भनेकै श्रीमती थिइन् तर उनले पनि मलाई छाडेर गइन्। उनको मृत्युले म बौलाहा जस्तै भएको थिएँ’, स्वर्गीय श्रीमतीलाई सम्झिएर भावुक भएका उनले भने, ‘तर जाने गइहाले पनि बाँचेकाहरु त बाँच्न पर्दो रहिछ नि!’
आमाको निधनले दुखी भएका पितालाई सहारा दिन कोही आएनन्, छोराछोरी। दुख गरेर बढाएका सन्तानले नै बेवास्ता गरेपछि उनले आफू एक्लै जिउने अठोट गरे। ‘मेरो छोराछोरीलाई त म नचाहिने भएपछि मलाई किन उनीहरु चाहियो र?’ उनले सुनाए।
श्रीमतीको निधनलाई बिर्सिएर उनी अगाडि बढिसकेका थिए। तर २०७८ सालमा उनको ठूलो दुर्घटना भयो। साँझको ४ बजेको थियो। दिनभरि भारी बोकेर थाकेको शरीर लिएर उनी घर फर्कँदै थिए। त्यतिनै बेला आफू हिँडेको विपरित दिशाबाट आइरहेको गाडी (बालुवा बोक्ने) ले उनलाई ठक्कर दियो। ‘स्पीड’ मा गुडिरहेको गाडीको ठक्करबाट उनी भुइँमा बजारिए। सडकभरि रगतको खोलो बग्यो। त्यसपछि के भो उनलाई पत्तो भएन।
त्यो दुर्घटनाले बदलिएको चन्द्रकाे जीवन
नयाँ बानेश्वर चोकमा भएको दुर्घटनामा बेहोस भएका उनको आँखा कान्तिपुर अस्पतालमा खुल्यो। होश फर्किएपछि चन्द्रले थाहा पाए, उनको देब्रे खुट्टा भाँचिएको रहेछ।
खुट्टाको उपचारका लागि ६ महिना अस्पताल बसेका उनले डाक्टरलाई नै साथी बनाए। आफूलाई पहिलोपटक आमाले जन्म दिएपनि दोस्रोपटक डाक्टरले जीवनदान दिएको उनको बुझाई छ। ‘म त्यो डाक्टरको ऋण कहिल्यै तिर्न सक्दिनँ’, उनी भन्छन्।
६ महिनापछि अस्पतालबाट डिस्चार्ज भएका उनी अन्योलमा परे। कहाँ गएर बस्ने भन्ने कुराले उनलाई पिरोल्न थाल्यो। ‘छोराछोरीको घरमा गएर बसाैँ भने रिसाइहाल्छन्, त्यसैले सडकपेटीमा सुत्न थालेँ’, उनले सुनाए।
अस्पतालबाट निस्किएका उनी सडकपेटीमा भौँतारिन थाले। त्यही क्रममा उनलाई मानव सेवा आश्रम भक्तपुरले उद्धार गर्यो। त्यसपछि उनी २०७८ सालदेखि भक्तपुरको आश्रममा बस्न थाले।
सुरुवाती दिनहरुमा उनलाई नाैलाे लागेकाे थियाे, आश्रम। तर अहिले त्यही आश्रम नै उनकाे घर बनेकाे छ। उनी भन्छन्, ‘पहिलाे दिनमा त कहाँ आइपुगेछु जस्ताे लागेकाे थियाे तर अहिले यहीँ नै रमाइलाे लाग्छ। मेराे घर नै यहीँ हाे जस्ताे लाग्छ।’
छाेराछाेरीहरूले नगरेकाे माया अहिले उनले त्यही आश्रमबाट पाइरहेका छन्। ‘आफ्नाे मान्छे कहिल्यै आफ्नाे भएनन्, पराइ मान्छे आफ्नाे भए’, उनले भने, ‘मेरा छाेराछाेरीहरू जागिरे छन् तर मलाई वास्तै गर्दैनन्।’
दुई वर्षअघि आश्रम छिरेका उनी अहिले आश्रमका क्यारम बोर्ड ‘च्याम्पियन’ बनेका छन्। उनलाई सबैले ‘च्याम्पियन बा’ भनेर सम्बाेधन गर्छन्। जुन शब्द सुनेर खुसी हुन्छन्, उनी।
‘म यहाँ धेरै खुसी छु। सबै जनाले माया गर्नुहुन्छ र मसँग क्यारम सिक्न खोज्नुहुन्छ’, लामा भन्छन्, ‘यो आश्रम नभइदिएको भए यतिखेर म मरिसक्थेँ होला!’
आफूले जन्माएका छोराछोरीहरु नै आफ्नो नभएको गुनासो गर्दै उनी भन्छन्, ‘मेरो छोराहरुलाई म आश्रममा बसेको कुरा थाहा छैन होला तर यदि उनीहरुले थाहा पाए पनि मलाई यहाँबाट लिन आउँदैनन्। किनकी उनीहरुले मलाई पहिले नै माया मारिसकेका छन्।’
६१ वर्ष पुगिसकेका उनलाई अझै काम गर्ने रहर छ तर खुट्टाले काम गर्न नदिने उनकाे गुनासाे छ। ‘मलाई काम गर्ने त धेरै रहर छ तर के गर्नु यो खुट्टाले कामै गर्न दिँदैन’, घाउ भएको खुट्टा देखाउँदै उनले भने, ‘एकपटक घाउ भएपछि फेरि पहिले जस्ताे नहुँदाे रहिछ।’ आधा जीवन दुख गरेका उनी आश्रममा खुसी भएकाे बताउँछन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया