बालखैमा आमा गुमाएका रामबहादुर कार्कीले स्कुलकाे आँगन टेक्न पाएनन्। चाहेजस्तो लगाउन/खान पनि पाएनन्। आमा छँदा राम्रा स्याहार पाएका उनी आमाको निधनपछि बेस्याहार बने।
तीन वर्षको उमेरमा आमाको स्नेहबाट टाढिएका उनी दाइको हेरचाहमा हुर्किए। वि.स २००३ सालमा आमाको मृत्युपछि बुबा नन्दबहादुर कार्की छँटाहा भए। आमाको मायाले बाँधिएका बुबा बिरक्तिएर ‘जुवाडे’ बने।
२२ मुरी धानको बिउ जाने खेतबारी सबै जुवा/तास खेलेर उडाए। पाँच वर्षको उमेरदेखि घरधन्दा सम्हाल्न सिकेका रामबहादुरले ८ वर्षको उमेरदेखि महाजन (साहु)को घरमा काम गर्न थाले।
‘हामीसित धन नभएको होइन तर मेरो बाले सबै सम्पत्ति जुवा खेलेर डुबाए, दाइले पनि आफ्नो बाटो रोजे। त्यसैले बाँच्नका लागि म पनि कमाराे भएँ’ विगत सुनाउँदै उनले भने, ‘मलाई साहुले नै पढाउनु भयो।’
महाजनको घरमा बसेर जसोतसो पढिरहेका थिए, रामबहादुर। त्यही क्रममा बुबाले पनि संसार त्यागे। बुबाको निधनले उनी झनै विक्षत बने। बा-आमाको मायाबाट वञ्चित भएका दाजु–भाइ टुहुरो भए।
‘सानै उमेरमा आमालाई गुमाउँदाको पीडा थियो नै त्यसैमाथि बुबा पनि बित्नुभयो। जुवाडे भए पनि बुबा त भन्न पाइरहेका थियौँ तर दुर्भाग्यवस उहाँले पनि हामीलाई छोडेर जानुभयो,’ स्वर्गीय बुबालाई सम्झिदै उनले भने, ‘त्यसपछि दाइ र मैले गाउँ छोड्ने निर्णय गर्याैँ।’
बुबा-आमाको माया पाउनबाट बञ्चित भएका रामबहादुरले काठमाडौं आउने निधो गरे। उनका दाजुले विदेश जाने बताए। आमा बुबालाई जन्मिएकै ठाउँमा गुमाउनुपरेको कारण कहिल्ल्यै गाउँ नफर्किने वाचा गर्दै छुट्टिएका उनका दाजुभाइ।
‘दाइसँग छुट्टिएर म काठमाडौंको बाटो लागेँ, दाजु विदेश जानुभयो। त्यसपछि उहाँसँग मेरो कहिल्यै भेट भएन्। उहाँले पनि मलाई सदाका लागि छाडेर बुबा-आमा भएको ठाउँमा जानुभयो,’ बाल्यकालमा सँगै हुर्किएका दाइलाई सम्झिए भावुक बन्दै रामबहादुरले भने।
रामेछापबाट काठमाडौंसम्मको यात्रा
गाउँ छोड्ने निर्णय गरेका उनी हिँड्दै काठमाडौंतर्फ लागे। घरबाट एक्लै निस्किएका उनले बाटोमै नयाँ साथीहरु बनाए। जो कामको खोजीमा भौतारिँदै राजधानी जाँदै थिए।
बाटोमा भेटिएका साथीको साथमा उनी तीन दिनपछि काठमाडौंको डिल्लीबजार आए। ‘त्यो बेला सडकमा कुनै गाडी गुड्दैन थिए, त्यसैले हिँडेरै काठमाडौं आइपुगेँ,’ उनले भने।
काठमाडौँ आइपुगेका रामबहादुरले डिल्ली बजारको एक ‘अडिटर’को कार्यालयमा काम गर्न थाले। ‘काठमाडौं आएपछि के गर्ने भनेर थाहा थिएन तर भाग्यवस गाउँकै पुरानो महाजनलाई भेटाएँ, त्यसपछि उहाँकै घरमा बसेर काम गर्न थालेँ,’ नौलो सहरमा परिचित व्यक्तिलाई भेट्दाको खुसी साट्दै उनले बिएल नेपाली सेवासँग भने।
अडिटरको कार्यालयमा काम गरेर उनी ‘एक रुपैयाँ’ कमाउँथे। जुन पैसाले उनले आफ्नो खर्च जुटाइरहेका थिए। ‘त्यतिबेला पैसा महँगो थियो, एक रुपेँ नै धेरै हुन्थ्यो,’ उनी सम्झन्छन्,‘मलाई बजार खर्च पुग्थ्यो।’
आफूले गरेको कामप्रति खुसी थिए, रामबहादुर। दिनभरि कार्यालयको काममा व्यस्त हुन्थे। रातमा साहुको घरमा खाना पकाइदिन्थे। त्यही कारण त उनले बस्नका लागि डेरा पाएका थिए। ‘उहाँहरुले मलाई घरमा बसन दिनुभएको थियो, खानाको व्यवस्था आफैँले जुटाउनुपथ्यो,’ उनले भने।
राजधानी आएको चार वर्ष बितिसकेको थियो। उनले काठमाडौंलाई नजिकबाट निल्यालिसकेका थिए। त्यसैले छुट्टीकाे दिन उनी काठमाडौंका गल्ली–गल्ली चाहार्थे।
पल्टनमा चार वर्ष
वि.स. २०१६ साल, शनिबारका दिन। सुन्धारको बाटो उनी साइकल डोहाेर्याउँदै थिए। त्यतिबेला उनलाई दुई जना आर्मीले बोलाए। हेर्दा मोटो, खाइलाग्दो र निरोगी थिए, उनी। त्यसैले आर्मीको नजरमा परे।
एक्कासी आफ्नो अगाडि आइरहेका आर्मी देखेर डराएका उनी सोच्न थाले, ‘यी आर्मीहरु मलाई समात्न त आएका होइनन् तर मैले गल्ती चाहिँ के गरे र ?’
पोसाकमा सजिएका आर्मीले उनलाई च्याप्प समातेर ‘क्याम्प’तिर लगे। उनलाई राम्रोसँग जाँचे। त्यसपछि उनलाई ती आर्मीहरुले भने ‘आजदेखि तिमी आर्मी भयौँ। यहीँ काम गरेर बस्।’
१६ वर्षको उमेरमा पल्टनमा भर्ती भएका रामबहादुर त्यहीबाट इन्जिनियर बने। उनले बाटो निर्माणलगायत पुल बनाउने काम गर्न थाले।
‘इन्जिनियर आर्मी भएपछि मैले जाबेल, साबेल र कोदालो चलाउन थालेँ,’ आर्मी बनेर काम गरेको कुरा स्मरण गर्दै उनले भने, ‘सुख त कहाँ थियो र हामीलाई ?’
दिनभरि भारी बोकेर देशको सेवामा खटेका रामबहादुरको मार्सिक तलब १६ रुपैयाँ थियो। जसमध्ये उनको हातमा १२ रुपैयाँ पर्थ्याे। ‘दुई रुपेँ बैंकको लागि भनेर कट्थ्यो तर थाहा छैन किन पैसा किन कटाएको ?’ उनी आफैंलाई प्रश्न गर्छन्।
आर्मी बनेर काम गरिरहेका उनलाई लाथ्यो, ‘बेक्कार छ, पल्टनको जागिर। कामअनुसारको दामै छैन। त्यसैले यहाँ काम गर्नु उचित छैन।’
जागिर छोड्ने सोचिसकेका रामबहादुरले चार वर्षपछि पल्टन छोडे। ‘चार वर्षमा मैले ६ सय ६८ रुपैयाँ कमाएँ तर केही बचत गर्न सकिनँ, पल्टन छोड्ने समयमा मेरो हातमा ५० रुपैयाँ थियो,’ उनले सुनाए, ‘त्यही पैसा च्यापेर कलकत्ता भागेँ।’
५० रुपैयाँ बोकेर कलकात्ता
२४ वर्षको उमेरमा ५० रुपैयाँ बोकेर कलकात्ता छिरेका रामबहादुरले उता पनि दु:ख पाए। नौलो सहर भएको कारण सडकपेटीमा बस्न बाध्य भए।
‘पल्टनको जागिर थोरै भयो। कलकात्तामा धेरै पैसा कमाइन्छ भनेको सुनेको थिएँ, त्यसैले धेरै पैसा कमाउने लक्ष्य लिएर कलकात्ता भासिएँ,’ कलकातामा दु:ख पाएको कुरा स्मरण गर्दै उनले भने,‘त्यहाँ आफ्नो मान्छे कोही थिएन, त्यसैले बाटोतिर सुतिहिँडेँ।’
तर, कलकात्ता पुगेको साता दिनमै उनले त्यहीँ डेरा जमाएर बसेका नेपाली भेटे। जसले उनलाई कारखानाको ‘सेक्यूरिटी गार्ड’मा काम दिलाए। ‘त्यहाँ मैले महिनाको ३५ रुपैयाँ कमाउथेँ, जसबाट मैले महिनाको १० रुपेँ मलाई बास दिएका नेपालीलाई दिन्थेँ,’ उनले भने, ‘२५ रुपैयाँ बचाउथेँ।’
कलकात्तामा काम गरेको ६ महिनापछि उनी डेढ रुपैयाँ बोकेर स्वदेश फर्किए। अनि, डिल्लीबजारको पुरानै कार्यालयमा फर्किए। ‘महाजनले साढे चार वर्षपछि मलाई देखेपछि घर छोडेर काहीँ नजा भने,’ उनले सुनाए।
पशुपतिको आर्यघाटमा जल्ने सपना
१६ वर्षको उमेरदेखि ७७ वर्षसम्म तीनै महाजनको घरमा काम गरेका रामबहादुर अहिले नयाँ बसपार्ककको ‘हिमाल वृद्धा आश्रम’मा जीवन बिताइरहेका छन्।
‘६० वर्ष महाजनको घरमा काम गरेँ तर काम गर्न नसक्ने भएपछि मलाई आश्रम राखिदिए,’ तीन वर्षअघि आश्रम आएका ८० वर्षीय कार्कीले आफ्नो दु:ख सुनाए।
रामबहादुरले ८० वर्षसम्म एक्लै संघर्ष गरे। उनले लगनगाँठो कसेनन्। बुढ्यौली पारामा उनी भन्छन्,‘केटी रोज्दारोज्दै बुढो भइयो।’ आफूले विवाह नगरे पनि खुसी रहेको उनी बताउँछन्।
‘मलाई विवाह गर्ने मन नभएको होइन तर म जस्तो गरीब केटोलाई कसले दिन्थ्यो र आफ्नी छोरी, न मेरो गाउँमा घर जग्गा थियो, न त कुनै राम्रो जागिर नै। त्यसैले मेरो विवाह भएन,’ विवाह गर्नुको रहस्य खोल्दै उनले भने, ‘तर मलाई कुनै पश्चताप छैन।’
विवाह गरे पनि सुख नपाउने बताउने उनी आश्रमका ‘सुबेदार बा’ र ‘सूलोचना राजभण्डारी’लाई देखाउँदै भन्छन्, ‘उहाँहरुको छोराछोरी सरकारी जागिरे त कोही अमेरिका र बेलायतमा छन्, तर पनि उहाँहरु यहीँ आश्रममा हुनुहुन्छ। छोराछोरी पाल्दैनन्। त्यसैले म विवाह नगरे पनि खुसी छु।’
छोराछोरी हुनेहरुको बास आश्रममा देख्दा उनलाई लाग्छ, ‘यो संसारमा आफ्नो भन्ने कोही छैनन्।’
बालखदेखि काम गरेको आफूलाई महाजनले सुरुवाती दिनहरुमा आश्रममा भेटन् आएपनि वर्ष दिनअघि आउन छाडेको उनले बताए। आफूलाई परेको बेला ‘छत’ दिएका साहुप्रति उनको एउटै गुनासो छ, ‘जसले काम दियो। उसैले लुट्यो।’
साहुले आफ्नो ७ लाख रुपैयाँ खाइदिएको उनको आराेप छ। ‘आश्रम आउनअघि मेरो तलब पाँच हजार थियो, जुन पैसा मैले बैंकमा बचत गरेर राखेको थियो तर त्यो सबै पैसा साहुले नै खाइदियो। काममा दलाएर मलाई घर न घाटको बनायो,’ उनले दु:ख पोखे।
आफूले केही गर्न नसकेको बताउँदै उनी भन्छन्, ‘यत्रो समय त मैले केही गर्न सकिनँ, पैसा कमाउन सकिनँ। कमाएको पैसा पनि पाइनँ। अब मेरो सपना केही छैन। मैले गर्न पनि केही सक्दिनँ।’
आश्रममा जीवन बिताइरहेका उनको एउटै सपना छ। त्यो हो, पशुपतिको आर्यघाटमा जल्ने। ‘म मेरो मृत्यु पर्खिरहेको छु, अब मेरो चितामा जल्नुबाहेक अरु केही छैन विकल्प,’ आफ्नो मृत्यु कुरेर बसिरहेका रामबहादुर मुसुक्क हाँस्छन्।