७० वर्षीया सुवर्णा श्रेष्ठको फिल्म खेल्ने चाहना
एक्कासी चितामा सुताउँदा उनी डराउँछिन्। अत्तालिएर चिताबाट उठेर उनी चिच्याउन थाल्छिन्। अनि चितालाई हेर्दै भक्कानिएर रुन्छिन्। त्यतिकैमा उताबाट ‘कट’ को आवाजले सुटिङ रोकिन्छ। फिल्मका निर्देशकले उनलाई सम्झाउँदै भन्छन्, ‘ए, लाटी किन रोएकी? यो त मात्र नाटक हो। तिमीलाई केही हुँदैन। क्यामरामा कैद गर्नका लागि तिमीलाई जलाएको जस्तो देखाउने हो, त्यसैले तिमी डराउनुपर्दैन।’ डायरेक्टरको कुरा मानेर उनी रुदैँ चितामा सुत्छिन्। र दहन गर्नेबेला जुरुक्क उठ्छिन्। तर चिताबाट उठेर जीवित रहेकी उनी भिडियोमा आफू जलेकाे देखेर आफैँ छक्क परिन्।
७० वर्षीया सुवर्णा श्रेष्ठलाई फिल्म ‘ज्वाला’ मा गरेको त्यो अभिनय अझैँ याद छ। जब उनलाई चितामा राखेर जलेकाे देखाइएकाे थियाे। सन् १९९४ मा मुकुन्द बस्ताकोटीले निर्देशक गरेकाे फिल्म हाे, ज्वाला। जहाँ फिल्मकाे सुरूवाती चरणमै सुवर्णा चितामा जल्छिन्।
अभिनेता राजेश हमालकी ‘आमा’ बनेर खेलेकाे फिल्म ज्वालामा अभिनय गर्दा धेरै राेएकी थिइन्, सुवर्णा। जब उनलाई आफू जलेर मर्ने डर भयो।
‘मलाई जिउँदै आगो लगाएर डराउँछन् कि भन्ने कुराको डर थियो’ तीन दशकअघिको कुरा कोट्याउँदै उनले भनिन्, ‘त्यसैले म धेरै रोएँ, तर मरिनँ।’
कलकारिता गर्नमा माहिर उनले सन् २००० मा फिल्म ‘ढुकढकी’ मा पनि आफ्नाे अभिनय दर्साइन्। जहाँ उनी ‘सुकुम्बासी’ बनेर दर्शककाे मन जित्न सफल भइन्। सुवर्णाले गरेकाे अभिनय र बाेलेकाे ‘डायलक’ मा माेहित भएका अभिनेता निर शाहले नै उनलाई फिल्ममा राख्न सुझाएका थिए।
२५ वर्षको उमेरदेखि फिल्म क्षेत्रमा पाइला टेकेकी उनले २५–३० वटा फिल्ममा काम गरिसकेकी छिन्। जसमध्ये ‘ढुकढुकी’ र ‘यो मायाको सागर’ आफ्नो प्रिय फिल्म भएको उनी बताउँछिन्। भन्छिन्, ‘यी फिल्महरु मेरा लागि स्मरणीय छ।’
सानैदेखि कलाकार बन्ने सपना बुनेकी उनले १२ वर्षकाे उमेरदेखि राष्ट्रिय नाचघरमा नाच्न सुरू गरिन्। र १५ वर्षकाे उमेरदेखि नाटक खेल्न थालिन्। त्यहीँ नाटककाे कारण उनी फिल्म क्षेत्रमा आउन सफल भइन्।
उनले गरेकाे नाटक देखेर खुसी भएका निर्देशक यादव खरेलले उनलाई ‘श्री स्वास्थानी’ फिल्मका लागि अफर गरे। त्यही फिल्म नै उनकाे डेब्यू फिल्म थियाे। ‘पहिलोपटक फिल्ममा काम गर्न पाउँदा निकै खुसी भएकी थिएँ’ उनले भनिन्।
फिल्म खेल्नमा व्यस्त रहेकी उनको फिल्म क्षेत्रमै जीवन कटाउने इच्छा थियो। तर संयोगवश उनले ३५ वर्षको उमेरमा बालाजूका जोजो श्रेष्ठसँग विवाह गरिन्। ‘मलाई विवाह गर्ने कुनै इच्छा थिएनँ तर उहाँले मलाई टुनामुना लगाउनु भएको रहिछ’ उनी भन्छिन्, ‘मलाई हरपल उहाँको याद आउथ्यो त्यसैले विवाह गरेँ। तर त्यो विवाह मेरो इच्छा विपरीत थियो।’
उनका श्रीमान जोजो कपडाका तान बुन्थे। त्यसैले उनलाई पनि त्यही काम गर्न लगाए। तर कलाकार बन्ने सपना बुनेकी सुवर्णाका लागि कलकारिता नै सबथोक थियो। तान बुन्न अस्वीकार गर्दै उनले फिल्म खेल्नमा रुची देखाइन्। तर विवाहपछि उनको लागि चुनौतीपूर्ण काम थियो, फिल्म खेल्न। विवाहित महिलाले फिल्म खेल्लनका लागि श्रीमानको हस्तक्षर चाहिन्थ्यो।
त्यसैले सुवर्णालाई पनि फिल्म खेल्नका लागि श्रीमानको सहमति चाहियो। उनले श्रीमानलाई सम्झाउने धेरै कोशिस गरिन् तर असफल भइन्। त्यसपछि उनले आफ्नो नजिकको साथीलाई श्रीमानसँग कुरा गर्न लगाइन्। साथीको कुरा मानेका जोजोले पनि उनलाई फिल्म खेल्न अनुमति दिए। श्रीमानको साथ पाएकी उनले फिल्ममा निरन्तरता दिइन्।
आफूले चाहेको काम गर्न पाएर खुसी थिइन्, उनी। तर विस्तारै श्रीमानको व्यवहार बदलिदैँ गयो। श्रीमानले उनलाई फिल्म नखेल्न भन्दै हप्काउन थाले। जसको कारण थियो, पुरुषप्रधान समाज। ‘हात काट्यो जाली से चुराले, माया फाट्यो गाउँभरको कुराले’ आफ्नो दुख उनी गीतमा सुनाउँछिन्।
फिल्म खेल्न छाडेपछि उनी श्रीमानसँग काम गर्न थालिन्। तानको कपडा बुन्ने काम पूख्यौली थियो। जोजो बुनेको कपडा स्वदेशी मात्र नभई विदेशीले पनि मन पराएका थिए।
जोजोलाई यूरोपका एक नागरिकले भनेका थिए, ‘तिमीले राम्रो काम गर्छौँ, त्यसैले विदेश हिड्, तिमीले धेरै पैसा कमाउने छौँ।’ ती नागरिकको कुरा सुनेर मख्ख परेका जोजोले विदेश जाने निधो गरे।
‘मैले त्यो देशको नाम बिर्सिएँ तर फादरले मेरो श्रीमानलाई यूरोप लैजाने कुरा गर्नुभयो’ उनले भनिन्।
श्रीमान यूरोप जाने कुराले दुखी भइन, सुवर्णा। उनले श्रीमानलाई स्वदेश नछोड्न अनुरोध गरिन्। बरु उल्टै जोजोले उनलाई सम्झाएर गए।
यूरोप जानेबेला नलाई श्रीमानले भनेका थिए, ‘मैले भविष्यका लागि पैसा कमाउनुपर्छ। म धेरै पैसा कमाएर आउँछु, तिमीले घरको ख्याल गर्नु है।’ तर श्रीमतीलाई चाड्डै घर फर्किने वाचा गर्दै यूरोप उडेका जोजो उतै अस्ताए। खुसी हुँदै पैसा कमाउन विदेश गएका उनी बाकसमा फर्किए।
‘विदेश उडेको दुई दिनपछि उहाँको लाश आयो’ स्वर्गीय श्रीमानलाई सम्झिएर भावुक हुँदै उनले भनिन्, ‘उहाँल मलाई एक्लै छाडेर जानुभयो।’
‘श्रीमानको निधनले विक्षत भएकी उनले कहिले नगरेको मद्यपान गर्न थालिन्। श्रीमान गुमाउनुको पीडा र छोराछोरीको आमा बन्न नपाएको कुराले पिरोलिरहेको थियो, त्यसैले रक्सी खान थालेँ। साथीहरु पनि सबैजना जाढरक्सी खाने थिए, त्यसैले झनै बिग्रिएँ’ उनले भनिन् ‘तर एकदिन त्यही साथीहरुको संगतमा गाँजा खाएँ, मरेर बाचेँ।’
एकदिन उनलाई साथीले गाँजा खान आग्रह गरे। साथीको कुरा मान्दै उनले चुरोटमा राखेर गाँजा तानिन्। तर कहिल्यै नखाएको गाँजा तानेर उनी बेहोश भइन्। र ढिला होशमा आइन्। ‘त्यो दिन म मरेर बाँचेकी थिएँ, उनी सम्झिन्छिन्, त्यसपछि मैले केही नखाने निधो गरेँ।’
मद्यपान गर्न थालेपछि उनी श्रीमानले सिकाएका काम गर्न थालिन्। आफूले कमाएका पैसा उनी देवरलाई दिन्थिन्। उनी सोच्ने गर्थिन्, ‘मेरो छोराछोरी नभएपनि देवरको छ, उनीहरु नै मेरा साहरा हुन।’ त्यसैले उनी आफू कमाएको पैसा तीन छोराछोरीलाई खचिन्थिन्। तर आफूले सोचेजस्तो कहाँ हुन्छ र?
काम गर्न सकुन्जेल सबैजनाको प्यारी उनी बूढेशकालमा टाढा भइन्। उनी भन्छिन्, ‘आफूले जन्माएका छोराछोरीहरु जस्तो नहुँदो रहिछ, अरुका सन्तान।’
माइतीघरमा सुख नपाएकी उनले ससुरालीमा पनि दुख पाइन्। सानै उमेरमा आमा गुमाइन्। छोरीको वेवास्ता गर्दै पिताले अर्की श्रीमती ल्याइन्। जसकारण उनी सदाका लागि टाढा भइन्।
‘मलाई मेरो बुबाले छोरी भनेर कहिल्यै स्वीकार गर्नुभएन। त्यसैले बाको निधनअघि नै मैले उहाँको किरिया गरिदिएँ’ उनले भनिन्, ‘छोरीलाई माया नगर्ने पिता मलाई किन चाहियो र?’
सानै उमेरमा बाआमाको मायाबाट वञ्चित भएकी उनी काकाको काखमा हुर्किइन्। ‘मैले बाआमाको माया कस्तो हुन्छ भनेर कहिल्यै थाहा पाइनँ, म आफैँ पनि आमा बन्न पाइनँ’ उनी भन्छिन, ‘सानोबेला कसैले बाआमाको बारेमा सोध्दा म दुबैजना बितिसक्नुभयो भनिदिन्थेँ।
...मिल्थ्यो भने फेरि फिल्म खेल्थेँ
ललिततपुरकी सुवर्णा श्रेष्ठको सपना थियो, कलाकार बन्ने। पढाइमा भन्दा धेरै चासो उनको अभिनयमा थियो। त्यसैले त उनले कक्षा एक पढ्दै गर्दा स्कुल छाडिन्। ‘मलाई पढाइमाभन्दा धेरै कलाकार हुनेमा ध्यान थियो, त्यसैले पढ्न सकिनँ’ उनले भनिन्।
पढाइबाट छुटकारा पाउनका लागि उनी कक्षाकोठामा सधैँ हल्ला गर्थिन्। त्यहीकारण उनले गुरुआमाको हातबाट थप्पड खाइन्। र सदाका लागि स्कुल छाडिन्। ‘मैले मिसलाई थर्काएर स्कुल छाडेँ’ उनले सुनाइन्।
कलाकार बनेर चर्चा कमाउने उद्देश्य लिएकी उनले दालभात खाएर अभिनय गरिन्। ‘फिल्म खेलेर मैले पैसा पाइनँ, मात्र दालभात खाएर अभिनय देखाएँ’ उनले बताइन्, ‘पैसा नपाएपनि मेरो सनिा पूरा भयो।’
चार दशकअघि फिल्म क्षेत्रमा रमाएकी उनी अहिले काठमाडौंको रानीवनमा रहेको मानव सेवा आश्रममा खुसी छिन्। उनी भन्छिन्, ‘मेरो जिउने साहरा भनेको छ, यो आश्रम।’
एक वर्षअघि उनलाई प्रहरीले आश्रम पुर्याएको हो। जब उनी पशुपतिनाथ मन्दिरमा एक्लै भौतारिरहेकी थिइन्। उनी भन्छिन्, मेरो घर नभएको पनि होइन तर म परिवारको साहरा पाइनँ। त्यसैले बिरक्तिएकी थिएँ। आफूसँगैका दौतरीसँग आश्रममा रमाइरहेकी उनी एउटै कुरा चाहन्छिन्। त्यो हो, फिल्म खेल्ने।
‘अहिले फिल्म खेल्ने मेरो उमेर छैन। कमजोरी भएँ सक्दिन पनि तर मिल्थ्यो भने म फेरि एकपटक फिल्म खेल्न चाहन्थेँ’ उनी भन्छिन्, ‘म मेरो कला देखाउन चाहन्थेँ।’