हिमालय वृद्धाश्रमकी ‘भान्जी आमा’ कुनै समय सिक्किमको धनाढ्य परिवारकी छोरी थिइन्। बुबा मलाया (हाल मलेसिया) का पूर्व मेजर थिए। जसको नाम कालिम्पोङकै चर्चित व्यापारीमा थियो।
घरकी जेठी छोरी थिइन्, हिमादेवी थापा। उनका दुई बहिनी र एक भाइ थिए। बुबाका ९ वटी श्रीमती थिए। जसमध्ये उनकी आमा कान्छी थिइन्। जो श्रीमानकी प्यारी थिइन्।
सानैदेखि बुबाको छाया परेको कारण उनीहरुले कहिल्यै दुख गर्नु परेन। तर धनाढ्य परिवारमा जन्मिए पनि उनले स्कुलको आँगन टेक्न पाइनन्। उबेला छोरीहरुलाई पढाउने चलनै थिएन। त्यही चलनको फर्दामा परिन्, हिमा।
‘पोसाक’मा सजिएर विद्यालय गएका भाइलाई देखर उनमा रहर पलाएको थियो, भाइले जस्तो पछाडि झोला भिरेर स्कुल जाने। तर त्यतिबेलाकाे पुरुषप्रधान समाजमा छोरीहरुले पढ्न पाउने वातावरण नै कहाँ थियाे र?
एकदिन भाइको पछि लागेर हिमा स्कुल गइन्। उनी स्कुल गएको कुरा बुबाले थाहा पाएछन्। घर फर्किँदा हिमाले नमज्जासँग कुटाइ खाइन्। बुबाले उनलाई सिस्नोपानीले हिर्काए। त्यतिमात्र होइन, बुबाले उनलाई अँध्यारो कोठामा थुनिदिए।
१२ वर्षको उमेरमा बुबाको कुटाइले उनी थला परिन्। आफूले कुटेर बिरामी भएकी छोरी देखेर ग्लानी महसुस गरेका पिताले उनीसँग माफी मागे। उनले बुबासँग एक सर्त राखिन्। ‘स्कुल गएको कारण मैले धेरै कुटाइ खाएर बिरामी भएँ तर म बहिनीहरुलाई पढाउन चाहन्थेँ। त्यसैले मैले बुबा म स्कुल जाँदिनँ, बहिनीहरुलाई पढाउनु भनेर सर्त राखेँ’, उनले भनिन्।
उनको सर्तमा बुबाले पनि सहमति जनाए। र बहिनीहरुलाई पढाउन थाले। छोरीहरुलाई शिक्षा दिनु हुँदैन भन्ने समाजको विद्रोह गर्दै उनले त्योबेला बहिनीहरुलाई पढाएकी थिइन्।
आफूले पढ्न नपाए पनि बहिनीहरु स्कुल गएको देखेर खुसी थिइन्, उनी। आफ्नो परिवार सुखी लाग्थ्यो उनलाई। तर सोचेजस्तो सहज कहाँ छ र जीवन? २०२८ सालमा थापा परिवारमा बज्रपात पर्यो। सबैको प्यारो भाइको निधन भयो। ‘बुबा हामीसँग बस्नुहुन्थ्यो। त्यसैले साैतेनी आमाका छोराले सबै सम्पत्ति भाइलाई दिन्छ भनेर भाइलाई मारिदियो’, उनी सम्झिन्छिन्, ‘बुबाको छोराहरु दुई जना मात्रै थिए। त्यसैले दाइले सम्पत्तिको लोभमा भाइको हत्या गर्यो।’
पुल्पुलाएर हुर्काएका १० वर्षीय छोराको मृत्युले बिरक्तिन थाले, बाआमा। बुबाले कहिल्यै नछोएको रक्सी पिउन थाले। ‘जेठाले कान्छा छोरालाई मारे, कसलाई मैले के गर्ने? अब मलाई बाँच्ने रहर छैन छोरी’ भनेर बुबाले उनको अगाडि रुँदै बोलका ती शब्दहरु उनलाई अझै याद छ।
दिनरात रक्सीमा डुब्ने बुबाको निधन भयो। आमाले पनि बुबाकै पीरमा ज्यान गुमाइन्। दाजुभाइले गर्नुपर्ने ‘किरिया’ उनले कपाल काटेर आफैँले गरिन्। उनी भन्छिन्, ‘मरो बाआमाको निधनमा कोही आएनन्। त्यसैले मैले नै बाआमालाई पार लगाएँ।’
बाआमा दुबै गुमाएपछि उनीहरु हजुर–बाआमासँग बस्न थाले। जसको नजिक बस्थिन्, ठूलो बुबाकी विवाहित छोरी। ‘हजुर–बाआमा सिक्किममा नै बस्नुहुन्थ्यो, त्यसैले सहारा खोज्दै हामी त्यहीँ पुग्यौँ’, उनले भनिन्।
हजुर–बाआमाको साथमा रमाइरहेकी थिइन्, हिमा। तर उनलाई दिदीले नमज्जासँग फसाइन्। ती दिदीको ससुराल रामेछाप थियो। उनी विदा मनाउन माइतीघर आएकी थिइन्।
उनीसँगै आएका थिए, भीमबहादुर बस्नेत। जो नाताले उनको देवर पर्थे। दिदीले हिमालाई भन्ने गर्थिन्, ‘हेर, बहिनी तेरो विवाह गर्ने बेला भइसक्यो। त्यसैले तँ मेरो देवरबाबुसँग विवाह गर। केटा खानदानी छ।’
दिदीले विवाहको कुरा चलाइरहँदा झोक्किने गर्थिन्, हिमा। उनी भन्थिन्, ‘बहिनीहरुको भविष्य राम्रो नबनाएसम्म म कहीँकतै जान्नँ।’
हेर्दा गोरी चिटिक्क थिइन्, हिमा। त्यसैले पहिलो नजरमै उनको प्रेममा ‘पागल’ बनेका थिए, भीम। उनले हिमालाई पाउनका लागि ‘मोहनी’ (अरुलाई आफ्नो वशमा पार्नका लागि गरिने टुनामुना) लगाए। उनले लगाएको मोहनीमा फसेकी हिमा भीमको यादमा ‘बौलाहा’ भइन्। ‘मलाई उहाँको यादले सताउन थाल्यो। उहाँलाई मात्र हेर्न मन लागिरहन्थ्यो। मैले उहाँलाई देख्न नपाएर आफ्नै कपाल तान्ने र नाङ्गै हिडेँ’, मोहनी लागेपछि आफूसँग भएको घटना उनले सुनाइन्।
भीमलाई पाउनका लागि नातिनीले देखाएको व्यवहारले आजित भएका हजुर–बाआमाले उनको विवाह ४८ वर्षका बस्नेतसँग गराइदिए।
एकल भएर सहनुपरेको त्यो ज्यादती
२० वर्षको उमेरमा आफूभन्दा ३० वर्ष बढी उमेरका पुरुषसँग विवाह गरेकी हिमा रामेछाप पुगिन्। त्यहाँ पुगेपछि उनले श्रीमान ‘रोडपति’ (धन सम्पत्तिविहीन) रहेको कुरा थाहा पाइन्।
ससुराली घर लथालिङ थियो। न राम्रो घर, न त जग्गा जमिन। रामेछाप पुगेपछि सिक्किमको घर सम्झिएर उनी रुन थालिन्। दिदीले भनेको कुरा सम्झिइन्। ‘दिदीले मलाई फसाउनका लागि आफ्नो ससुरालीको प्रशंसा गरेको रहिछ। म खुसी भएको कारण मलाई बिग्रार्न खोजेको रहिछ’, उनले सुनाइन्।
विवाह गरेर आइसकेकी हिमा श्रीमानको घर नै आफ्नो ठानेर रमाउन थालिन्। श्रीमान ज्यालादारीमा काम गरेपनि सुखी थियो, हिमाको परिवार। तर विस्तारै उनले श्रीमानको जेठी श्रीमती भएको कुरा थाहा पाइन्।
‘मभन्दा २८ वर्ष जेठो पुरुषलाई मैले प्रेम गरेर विवाह गरेँ। त्यसमा मलाई कुनै समस्या थिएन तर जेठी श्रीमतीले छोडेर गएको खबर गाउँलेको मुखबाट थाहा पाएर दुख लाग्यो। किनकी उहाँले मसँग यो कुरा कहिल्यै खुलाउनुभएन। उनी भन्छिन्, ‘गाउँलेहरुका अनुसार उहाँको व्यवहारले दिक्क भएर जेठी पोइला गएकी रहिछिन्।’
जेठी श्रीमतीबारे प्रश्न गर्न खोज्दा तर्किन्थे, भीम। हिमालाई उनी भन्ने गर्थे, ‘पोइला गएको आइमाईको कुरा मसँग नगर!’
पहिलो पत्नि भएपनि अहिले श्रीमानको साथमा आफू भएको कारण उनी खुसी थिइन्। तर उनको खुसी धेरै टिक्न सकेन। भीमले आफ्नो असलियत देखाउन थाले। श्रीमानले दिनरात रक्सी पिउन थाले। ‘रक्सी पिएर चुपचाप बसे त हुन्थ्यो नि तर के गर्नु मलाई भक्कु कुट्थ्याे’, श्रीमानले गरेको अत्याचार सुनाउँदै उनले भनिन्, ‘मैले कत्ति गाउँलेलाई गुहारेँ तर कसैले सुनेन।’
श्रीमानको कुटाइ सहेर बसेकी हिमा विवाह गरेको वर्ष दिनैमा दुई जिउको भइन्। गर्भवती उनले श्रीमानको लात्ती खान छोडिनन्। २२ वर्षको उमेरमा उनले छोरीलाई जन्म दिइन्। तर भीमको पिउने बानी सुध्रिएन।
०००
२०३५ सालमा तीन वर्षकी थिइन्, छोरी अस्मिता। उनी छोरीसँग खाना पकाउनमा व्यस्त थिइन्। त्यतिनैबेला उनले श्रीमानको मृत्यु भएको खबर पाइन्। ‘धेरै रक्सी पिएको कारण मुटु फुटेर लोग्नेको मृत्यु भएको रहिछ’, उनी भन्छिन्, ‘मैले कहिल्यै श्रीमानको माया पाउन सकिनँ।’
छोरीलाई जन्म दिएपछि कर्म पनि दिनुपर्छ भन्ने सोचेर उनी गाउँलेको घर–घरमा काम गर्न थालिन्। तर एकल महिलालाई हेर्ने समाजको दृष्टिकोण कहाँ सकारात्मक थियो र? परपुरुषसँग बोल्नै नहुने। बोल्यो कि नाम जोडिदिहाल्ने।
‘श्रीमान नभएकै कारण मैले धेरै जनाको गाली सुनेँ। दुनियाँ पुरुषहरुसँग नाम जोडे तर मैले छोरीको लागि ती कुराहरु बेवास्ता गरिदिएँ। मलाई छोरीको भविष्य बनाउनुथियो’, आफ्नै जेठाजुले परपुरुषसँग आँखा लगाएको बताउँदै उनले भनिन्, ‘दुखमा कोही आफ्नो मान्छे नहुँदो रहिछ।’
गाउँहरुको अपहेलना सहेर पनि दुखसुख उनले छोरीलाई १० कक्षासम्म पढाइन्। तर बिडम्बना छोरी परीक्षामा फेल भइन्। एसएलसीमा फेल भएपछि साथीहरुको संगतमा लागेर उनी इण्डिया भागिन्। ‘एक्ली भएकी छोरीले घर छेडेपछि मलाई घर बस्न मन लागेन’, १२ वर्षदेखि आश्रममा बसिरहेकी हिमा भन्छिन्, ‘त्यसपछि काठमाडौं आएँ।’
कसरी आश्रम पुगिन्, हिमा?
गाउँमा दुख पाएकी हिमा मित भान्जासँग काठमाडौं आइन्। भान्जा र बुहारीसँग उनी लैनचौरमा बस्न थालिन्। ‘गाउँमा मैले दुख पाएको देखेर मित भान्जाले मलाई साना केटाकेटीहरुको हेरचाह गरिदिनु माइजु उतै बस्नु भन्नुभयो। घरमा छोरी पनि थिइनन्, त्यसैले भान्जासँग काठमाडौं आएँ’, राजधानी आउनुको कारण उनले खुलाइन्।
काठमाडौं बस्न थालेकी उनी भान्जाका साना छोराछोरीको स्याहारमा जुट्न थालिन्। भान्जाका तीन छोराछोरीलाई खाना पकाएर खुवाउने र स्कुल लैजाने उनी घरको सारा काम भ्याउँथिन्। आफ्नो समय उनी केटाकेटीहरुको हेरचाहमा कटाउँथिन्।
एकदिन क्यान्सर लागेकी भान्जी बुहारीले ‘छोराछोरीको हेरचाह गरिदिनु माइजु’ भन्दै उनकै काखमा प्राण त्यागिन्। बुहारीले प्राण त्याग्नुअघि गरेकाे अन्तिम वाचा पूरा गर्न उनले १८ वर्ष तीनै छोराछोरीको सेवामा खटिइन्।
समय बित्दै गयो। बच्चाबेलादेखि आफूले हुर्काएका नातीनातिनी ठूला भए। उनलाई हपार्न थाले। घरबाट ‘निस्किएर जा’ भन्न थाले। उनले पनि भनिन्, ‘मेरो जाने ठाउँ कतै छैन। कहाँ जाम?’ हिमाको कुरा सुनेर भान्जाका २० वर्षीयले छोराले भने, ‘नेपालटारमा तिम्री छोरी छिन्, त्यहीँ जाउ!’
इण्डिया गएकी छोरीको कुरा सुनेर खुसी हुँदै हिमाले भनिन्, ‘मेरो छोरीलाई बोलाइदेउ। मेरी छोरीकै घरमा बस्छु।’ नभन्दै उनी छोरीको साथमा नेपालटार गइन्।
विवाह गरिसकेकी छोरीको एक छोरा थिए। त्यो थाहा पाएर हिमा छक्क परिन्। घरजम गरेर बसेकी छोरीले आमालाई नखोजेको देखेर उनी निराश भइन्। ‘छोरीले विवाह गरेर छोरा पनि जन्माइसके छिन् तर मलाई खोजिनन्। त्यो देखेर नरमाइलो लाग्यो’, उनले सुनाइन्।
घरबाट भागेर गएकी छोरीलाई वर्षौँपछि देखेर हौसिएकी उनी एकैछिनमा दुखी भइन्। जब आफ्नी छोरीले अरुसामु ‘माइजु’ भनेर चिनाइन्। ‘म गरीब थिएँ, त्यसैले छोरीले मलाई हेला गरिन्’, उनले भनिन्, ‘छोरीले भान्जी भनेर बोलाउन लगाइन्।’ छोरीको हेपाइ उनले महिना दिन सहिन्।
लैनचौरबाट आएको महिना दिनपछि उनलाई छोरीले भन्न थालिन्, ‘तँ, यहाँ बस्नु पर्दैन। तँलाई म पाल्न सक्दिनँ, त्यसैले मेरो डेराबाट निस्किएर गइहाल।’ ९ महिना गर्भमा राखेर जन्माएकी छोरीले नमिठो बचन गरेपछि उनी भक्कानिइन्। र छोरीलाई रुँदै भनिन्, ‘मेरो जाने ठाउँ कहीँ छैन। त्यसैले मलाई एउटा आश्रममा राखी दे!’
आमाको कुरा मानेर उनले हिमालाई नयाँ बसपार्कको हिमालय वृद्धाश्रम केन्द्रमा राखिदिइन्।
सुरुका दिनमा आश्रम बसेकी उनी छोरीको यादमा रुने गर्थिन्। तर छोरीले ‘गाउँमा दुख पाएकी माइजु हो’ भनेर आश्रममा राखिदिएको थाहा पाएर उनी कठोर बनिन्, छोरीको सम्झनामा रुन छोडिदिइन्।
आफ्नै छोरीले माइजु भनेर बोलाउने गरेको कुरा सुनेर आश्रमका सबै जनाले उनलाई ‘भान्जी आमा’ को उपनाम दिए।
एक दशक बढी आश्रममा जीवन बिताइसकेकी उनी अहिले सबैकी प्यारी ‘भान्जी आमा’ बनेकी छन्। भन्छिन्, ‘छोरीले नगरेको माया मैले यो आश्रमबाट पाइरहेकी छु।’
आफूले जन्माएकी छोरीलाई एघार वर्षदेखि नदेखेकी भान्जी आमा भन्छिन्, ‘जहाँ भएपनि खुसी होस्। मलाई जस्तै उनलाई छोराछोरीले हेला नगरोस्।’
‘गाउँलेको बचन सहेर मैले दुख गरेर छोरीलाई हुर्काएँ तर मलाई नै पाल्न सकिनन्। मेरी छोरी निष्ठुरी भएपनि अरुले छोराछोरी बाआमालाई हेला नगरोस्’, दुई हात जोडेर उनी भन्छिन्, ‘मैले जस्तो दुख अरू मान्छेको बाआमाले नपाओस्।’