२०७२ सालको भुइँचालोपछि हेटौंडा पुगिन्, गोरखाकी मनिषा केसी। गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पको त्रासबाट बच्नका लागि उनी दाइकाे साथमा हेटौंडा पुगेकी थिइन्। जन्म थलो छाडेर नयाँ सहर जाने पक्षमा थिइनन् उनी। तर आमाबुबाकै सल्लाहमा उनी मकवानपुरको ‘मानव सेवा आश्रम’ पुगिन्।
सानै उमेरदेखि परिवारबाट टाढिएर मानव सेवी बनेका दाइ त्यही आश्रममा आवद्ध थिए। त्यसैले मनिषा पनि दाइसँग आश्रममै बस्न थालिन्।
पहिलोपटक आश्रम पुगेकी उनी जथाभावी फोहोर देखेर आजित भएकी थिइन्। तर आश्रममा बसेर सेवा गर्न थालेकी उनले मनोरोगी बाआमाले जथाभावी गरेको दिसापिसाब साेरिन्। त्यतिमात्र हाेइन, उनले कयाैँपटक कुटाइ पनि खाइन्। तर पनि जसाेतसाे सहेर बसिन्।
आश्रममा आएर कहिल्यै गर्नु नपरेको संघर्ष र दुखबाट दिक्दार बनेकी उनले धेरै पटक भाग्ने याेजना पनि बुनिन्। तर आश्रमका भाइबहिनीसँगको लगावका कारण उनले त्याे ठाउँ छाेड्न सकिनन्। उनी भन्छिन्, ‘म साना केटाकेटीहरुसँग छिट्टै घुलमिल हुन्छु। त्यसैले मलाई त्यहाँको भाइबहिनीसँग छुट्न मन मानेन।’
आफूभन्दा साना केटाकेटीको मायाले आश्रममा बाँधिएकी उनी आफूसँगै भाइबहिनीलाई पनि स्कुल लैजान्थिन्। र उनीहरुलाई गृहकार्य गर्नमा सघाउँथिन्।
आश्रम बस्न थालेको महिनादिनपछि उनमा पनि सोच आयो मानव सेवी बन्ने। त्यसपछि उनले आश्रम बसेरै सडक मानवको उद्धार गर्ने साेच बनाइन्।
‘आश्रमका दाइदिदीहरुले गर्नुभएको काम देखेर मलाई रमाइलो लाग्यो। त्यसैले मलाई पनि त्यस्तै काम गर्ने इच्छा जाग्यो’, उनले भनिन्।
१५ वर्षको उमेरदेखि नै मानव सेवा गर्ने लक्ष्य लिएकी उनले आफ्नो मनमा सजाएकाे योजना घरमा सुनाइन्। तर उनको प्रस्ताव घरबाट अस्वीकार भयाे।
‘दाइ घरबाट टाढा बसेर सेवामा हुनुहुन्थ्यो, कान्छी छोरी पनि टाढिन्छ भन्ने डरले मलाई आश्रममा बसेर सेवा गर्ने अनुमति दिनुभएन’, उनी भन्छिन्, ‘दिदीले पनि विवाह गरिसक्नुभएको थियो। उहाँहरुकाे साथी काेही थिएन। त्यसैले मलाई घर बाेलाउनुभयाे।’
बाआमाले आश्रम बस्न नदिएर दुखी भएकी उनले हार मानिनन्। आमाबुबालाई फकाएरै आश्रम बस्न थालिन्। ‘बेलाबेलामा भेट्न आउने वाचा गर्दै आश्रमको सेवामा लाग्न थालेँ’, उनले भनिन्।
पत्रकार बन्न चाहन्थिन्, मानव सेवी बनिन्
गोरखामा २०५७ सालमा जन्मिएकी मनिषा केसी परिवारकी कान्छी छोरी थिइन्। उनका एक दाइ र दिदी छन्। घरकी सानी भएकै कारण उनी पुल्पुलिएर हुर्किइन्।
घरको सारा काम आमा र दिदीले गर्थे। उनकाे काम भनेकाे मात्र अध्ययन थियाे। पढाइमा रुचि राख्ने मनिषाको सानैदेखिको सपना थियो, राज्यको चौथो अंग अर्थात् पत्रकार बन्ने।
पत्रकार बन्ने हुटहुटी लिएकी उनले पत्रकारिता विषय लिएर पढिन् तर पत्रकार बन्न सकिनन्। सानाे छँदा पत्रकार बन्ने देखेकाे सपना ठूली भएसँगै हराउँदै गयाे। जसको कारण थियो, उनको मानवीय स्वभाव।
‘पत्रकार बन्ने मेरो सानैदेखिको सपना थियो तर बन्न सकिनँ। पत्रकार नबने पनि म असल मानव बन्न सफल भएकी छु’, उनले भनिन्, ‘मलाई मानव विश्वविद्यालयमा पढ्ने सौभाग्य मिलेकाे छ।’
पाँच वर्ष हेटौंडाको मानव सेवा आश्रममा बिताएकी उनी अहिले काठमाडौंको रानीवन शाखामा छिन्। उनी दुई सय जना बाआमाको सेवामा दिनरात लागिपरिरहेकी छिन्। २०७७ सालमा राजधानी छिरेकी उनी भन्छिन्, ‘चितवन र सर्लाहीको शाखा पनि गएँ, त्यसपछि काठमाडौं आएँ।’
आश्रममा रहेर मानव सेवामा पोख्त रहेकी उनी अहिले काठमाडौं जिल्ला संयोजक बनेकी छन्। आश्रममा आठ वर्ष बिताइसकेकी उनले हालसम्म अनगिन्ती सडक मानवकाे उद्धार गरिसकेकी छन्। भन्छिन्, ‘मैले मेरो हातले धेरै जनालाई सडकबाट उठाएँ, परिवारसँग पुनर्मिलन गराएँ र कयाैँलाई आफ्नै हातबाट गुमाएँ। त्यसको कुनै हिसाब छैन।’
सडकबाट उठाएर कयाैँ बेवारिसेहरूलाई पुनः जीवन दिएकी मनिषालाई यकिन छैन अहिलेसम्म कति जनाकाे बिदाइ गरिन्। तर पहिलोपटक चितवनमा एक जना बुबाको अन्तिम संस्कार गरेको उनलाई हिजोझैँ लाग्छ।
‘आजभन्दा चार वर्षअघि आफैँले सेवा गरेर राखेको एकजना बुबाको निधन भयो। उहाँकाे आफन्तबारे मलाई कुनै खबर थिएन। त्यसैले मैले नै उहाँकाे दाहसंस्कार गरेँ। मसँग अरु कुनै विकल्प पनि थिएन’, उनले सम्झिइन्।
परम्पराअनुसार छोरी मान्छेले चिन्तालाई जलाउनु हुँदैन, त्यसाे गरेमा ठूलाे अनिस्ट हुन्छ भन्ने मान्यता छ तर त्यो अन्धविश्वास मान्ने पक्षमा छैनन् उनी। भन्छिन्, ‘उहाँलाई आफ्नै हातबाट जलाएपछि मलाई थप उर्जा मिल्याे। मलाई झनै राम्रो भइरहेको छ। मानव सेवा गर्न पाइरहेकी छु।’
छोरालाई अरूकाे हातमा सुम्पिँदा गर्नुपरेको त्यो संघर्ष...
आठ वर्षअघि परिवारबाट टाढिएकी उनलाई कहिलेकाहीँ बाआमाले घर बोलाउने गर्छन्। छोरीको न्यास्रो लागेका बाआमालाई भेट्न उनी वर्षको एकपटक गाउँ जाने गर्छिन्। उनी भन्छिन्, ‘आश्रममा सेवा गर्ने भएपछि जतिखेर मन लाग्यो त्यतिखेर जान पनि त मिल्दैन नि।’
आश्रम बसेको सुरुवाती दिनहरुमा छोरीको चिन्ता लिने मातापिता अहिले खुसी छन्। छोरीले गरेको मानव सेवा देखेर दंग पर्छन्। त्यही कुरामा खुसी छिन्, मनिषा। तर बेलामाैकामा भने घरकाले उनलाई गुनासो बिसाउनका लागि फोन गरेर भन्ने गर्छन्, ‘छिमेकीले तिम्रो छोराछोरी नै जोगी बने भनेर जिस्काउँछन्।’ बाआमाको पीडा बुझेर उनी पनि सान्त्वना दिँदै भन्ने गर्छिन्, ‘हामीले गरेको काम देखेर छिमेकीहरू लोभिएको हो, आमा!’
सयौँ बेसहारा आमाबुबाका सहारा बनेकी उनी आफूलाई जन्मदिने मातापिता सम्झिएर कहिलेकाहीँ दुखी हुन्छिन्। ‘तीन जना छोराछोरी भएपनि आमाबुबा एक्लो हुनुहुन्छ, उहाँहरुलाई कसले सहारा दिन्छ होला र?’, भावुक हुँदै उनले भनिन्, ‘बिरामी हुँदा कसले औषधि दिन्छ होला। तर मैले मेरा बाआमालाई स्याहार गर्न नसके पनि सयौँ जना असहाय आमाबुबाकाे सेवा गर्न पाइरहेकी छु।’
कयाैँ बेसहारालाई सडकबाट उद्धार गरिसकेकी उनी चार महिनाअघिकाे घटना सम्झँदा दुखी हुन्छिन्। उनी भन्छिन्, ‘आफूले स्याहारेका मानवलाई गुमाउँदा अथाह दुख हुदोँ रहिछ।’
चार महिनाअघि उनी मानव सेवामा व्यस्त थिइन्। महानगरीय प्रहरी वृत्त, गौशलाले सडक मानवको उद्धारको लागि उनलाई बोलायो। अतालिँदै उनी रानीवनबाट गौशाला आइपुगिन्। त्यहाँको दृश्य देखेर उनी भक्कानिइन्।
‘एक जना बिरामी दाइ हुनुहुन्थ्यो, जसको खुट्टामा घाउ थियो र पूरै किरा परिसकेकाे थियो। ती दाइको खुट्टाबाट किरा झरिरहेको थियो। जुन देखेर म अत्तालिएकी थिएँ। बिरामी दाइलाई देखेर म उहाँको नजिक गएँ। त्यहाँ पुग्दा उहाँको शरीरबाट यतिधेरै फोहोर गन्हाइरहेको थियो कि कोही पनि उहाँको नजिक जान सकेनन्’, चार महिनाअघिको कुरा सम्झँदै उनले भनिन्, ‘हुन त मैले धेरै मान्छेको उद्धार गरिसकेकी छु तर सबैभन्दा फरक हुनुहुन्थ्यो।’
साता दिनदेखि सडकमा छटपटाइरहेका ती पुरुषलाई उनले आश्रम ल्याइन्। आफैँले सरसफाई गरिदिइन्। आश्रम ल्याएर बदलिएको पुरुषको रुप देखेर सन्तष्ट थिइन्, मनिषा। तर उनको खुसी धेरै टिक्न सकेन। केही दिनपछि नै ती पुरूषकाे निधन भयो। त्योबेला धेरै रोएकी थिइन्, संयोजक मनिषा।
आफ्नो पीर भुलेर रमाउने उनी केही दिनअघि मात्र रोएकी थिइन्, जुनबेला उनी आश्रमकी एक आमालाई पुनर्मिलन गराइदिन भक्तपुर पुगेकी थिइन्।
‘हामीले ललितपुरबाट एक जना आमालाई सडकबाट उठाएर आश्रम ल्याएका थियौँ। पछि आमाले नै घर पुर्याउन आग्रह गर्नुभयो। तर विडम्बना उहाँहरुले आमालाई अपनाउनुभएन। बरु उल्टै मलाई गालीगलौज गरेर पठाउनुभयो’, उनले भनिन्, ‘छोरीले समेत आमालाई मरिसकिन् भनेर गाली गर्नुभयो। बिचरा! ती आमा आश्रम फर्कनेबेला कत्ति धेरै रुनुभयो।’
९ महिना पेटमा राखेर हुर्काएका छोराछोरीले जिउँदो आमालाई मरिसकिन् भनेर गाली गरिरहँदा मनिषा रोएकी थिइन्। ती आमाको आँसु देखेर उनी पनि भक्कानिएर रोएकी थिइन्। उनी भन्छिन्, ‘आफूलाई जन्म दिएका बाआमालाई कसरी त्यस्तो बचन गर्नसक्छ भनेर चित्त दुखाएर रोएकी थिएँ।’
२२औँ वसन्त पार गरिरहँदा उनले धेरै उतारचढाव देखिन्। आफूले सडकबाट उठाएका मानवलाई पुनः जीवन दिँदा उनी खुसी भइन् त कहिल्यै आश्रममा बसेका बाआमालाई गुमाउँदा दुखी भइन्। तर वैशाख १ गते जस्ताे दुखी कहिल्यै नभएकाे उनी बताउँछिन्। आफ्नो बाआमासँग छुट्टिँदाको क्षणभन्दा धेरै समस्या भएको उनले सुनाइन्।
पाँच महिनाअघि नुवाकोटको विदुर नगरपालिकाले आमा र छोरा सडकमा भौँतारिरहेको खबर मनिषालाई सुनायो। उनले पनि दुबै जनालाई आश्रम ल्याइदिन आग्रह गरिन्। त्यसको केही दिनपछि आमा र ६ महिनाको छोरा आश्रम आइपुगे।
आमा मानसिक रोगी थिइन्, त्यसैले उनी आफूले जे खायो छोरालाई पनि त्यही खुवाउँथिन्। आमालाई छोराको कुनै वास्ता थिएन। उनी जथाभावीलाई छोरालाई लडाउने गर्थिन्।
आमाले छोरालाई गरेको व्यवहार देखेर डराएकी मनिषाले छोरालाई आफैँ स्याहार्ने निधो गरिन्। र उनको हेरचाहमा खटिन थालिन्।
दिनभरि उनी मानवको उद्धार गर्नमा व्यस्त हुन्थिन्, साँझ छोरासँग खेल्न पाउँदा रमाउँथिन्। उनको दिनभरको थकान छोराको एक मुस्कानले मेटाइदिन्थ्यो।
तीन महिनासँगै बसेका ती छोरासँग उनको सम्बन्ध यतिधेरै प्रगाढ थियो कि उनी खाँदा र सुत्दा छाेराकै साथमा रमाउँथिन्। छोरालाई भेटेर उनले नयाँ जीवन पाएकी थिइन्। घरपरिवारको तिर्सना ती छोराले पूरा गरिदिएका थिए।
‘ऊसँग भेटेको केही महिनामै म उसैलाई यतिधेरै माया गर्ने भएकी थिएँ कि मैले आफूले आफैँलाई बिर्सिन्थेँ’, छोरा सम्झँदै उनले भनिन्, ‘उसले मलाई हाँस्न र जिउन सिकाएको थियो। उसले मलाई नयाँ जीवन दिएको थियो। घरकाे याद उसैले मेटाइदिएकाे थियाे।’
६ महिनाको छोरा पाएर निकै खुसी थिइन्, मनिषा। उनले छोरालाई आफैँले हुर्काउने संकल्पसमेत गरिसकेकी थिइन्।
‘छोरा मसँगै सुत्थ्यो। ऊ बिरामी हुँदा म रातभरि सुत्न पाउँदिन थिएँ। छोरा बिरामी हुन्थ्यो तर सबैभन्दा धेरै पीर मलाई पर्थ्याे। ऊ रुँदा म पनि सँगै राेइदिन्थेँ। आफूले जन्माएको छोराछोरीको भन्दा धेरै मलाई उसको चिन्ता लाग्थ्यो। उसलाई मैले हुर्काएर ठूलो बनाउने पनि साेचिसकेकी थिएँ’, उनले बिएल नेपाली सेवालाई सुनाइन्।
छोराको प्रेममा मग्न रहेकी मनिषाले आफ्नो वाचा पूरा गर्न सकिनन्। तीन महिनापछि उनी ९ महिनाको छोरासँग टाढा भइन्। प्रेम गरेर राखेका छोरालाई सादोबाटोका रैथानेले ‘अडप’ गर्याे।
छोरालाई अरुको हातमा सुम्पिने उनकाे मन त थिएन तर बाध्यताका अगाडि घुँड्डा टेक्दै उनले आफ्नाे ज्यानभन्दा प्याराे छोरालाई नयाँ घरमा पठाइदिइन्।
‘नयाँ वर्षको दिनै मैले मेरो मुटुलाई अरुको हातमा दिएँ। त्याे दिन म धेरै रोएकी थिएँ। मलाई मेरो बाबु कसैलाई दिने मन थिएन तर उसको भविष्यका लागि मैले मेरो चाहनाहरु सबै मारिदिएँ’, छोरालाई सम्झिएर भावुक बनेकी मनिषा रुँदै भन्छिन्, ‘उसलाई मैले अरुको घरमा पठाइदिए पनि सधैँ ऊ मेरो छोरा रहिरहने छ।’
आफ्नो मुटुको टुक्रालाई नयाँ बाआमाकाे घरमा पठाएको महिना दिन बितिसक्दा पनि छोराको यादले हरपल तड्पिरहन्छिन् मनिषा। त्यसैले त उनी बेलामौकामा फोन गरेर छाेराको आवाज सुन्ने गर्छिन्।
छोराले दिएको खुसी मूल्यवान रहेको बताउँदै उनी भन्छिन्, ‘अहिले पनि राति सुत्नेबेला छोरा राेएको सम्झिन्छु अनि झस्किएर उठ्छु। मेरो छोरा सानै भएपनि उसले मलाई जिउन सिकाएर गयो।’
तीन महिना सँगै बसेका छोराले जस्तो आफूलाई अरुले कसैले पनि सुख दिन नसक्ने उनको बुझाइ छ। कहिलेकाहीँ छोराकाे सम्झनामा भावुक हुने उनी छोरासँग खिचाएका तस्बिर हेर्दै रूने गर्छिन्। ‘अहिले मलाई त्यो छोरा मेराे आफ्नै पेटबाट जन्मिएकाे भए हुन्थ्याे जस्ताे लाग्छ’, छोराको यादमा विरक्तिएकी आमा भन्छिन्, ‘तर ऊसँग जस्तो सम्बन्ध मेरो अरु कोहीसँग पनि हुन सक्दैन।’
आफ्नो सबथोक मानेका छोरालाई आफूबाट टाढा पठाएकी उनी हिजोआज मनभरि पीडा बोकेर पनि हाँस्ने गर्छिन्। आफ्नो आँसु लुकाएर हँसिली बनेकी मनिषा निरन्तर मानव सेवामा खटिरहेकी छन्। भन्छिन्, ‘सडकलाई मानवमुक्त बनाउनु छ।’