धादिङका बलराम बोहरा आजीवन गोठालो बने। वन विभागका सुब्बाको घरमा उनले बिना पैसा १० वर्ष वस्तुभाउ स्याहारे। २०५५ सालदेखि उनी मालपाेत कार्यालयका हाकिमकाे घरमा २२ वर्ष गोठालो बने। तर काम गर्न नसक्ने भएपछि उनलाई घरबाटै निकालिदिए। सकुञ्जेल बिना तलब चौपाया स्याहारेका ७५ वर्षका बलराम अहिले भक्तपुरको मानव सेवा आश्रममा छन्।
वि.स. २००५ सालमा जन्मिएका उनी बोहरा परिवारका कान्छा छोरा हुन्। उनीमाथि एक दाजु छन्। घरका कान्छा छोरा भएको कारण उनले भरपूर्ण प्रेम पाए। उनी सबैका ‘प्रिय’ थिए। तर बलरामको लागि उनकी आमा सबैभन्दा ‘प्यारी’ थिइन्।
आमालाई उनी असाध्यै प्रेम गर्थे। आमासँग सुत्ने, उठ्ने र खाने उनको आदत थियो। आमा नै उनको संसार थियो। परिवारको मायाले पुलपुलिएका बलरामले आमालाई घरायसी काममा पनि सघाउने गर्थे।
सानै उमेरमा छोराले गरेको काम देखेर आमा दंग पर्थिन्। र छोरालाई मायाले सुम्सुमाउँथिन्। बलराम पनि आमाको मायामा लुटुपुटु पर्थे। उमेर बढेसँगै आमासँगको उनको सम्बन्ध अझ प्रगाढ हुँदै गयो।
२०१६ सालमा एघार वर्षका थिए, बलराम। त्यही वर्ष आमा बिरामी भइन्। ओछ्यानमा थला परेकी आमालाई देखेर दुखी भएका उनी रुने गर्थे। तर बिडम्बना उपचार गराउन सक्दैन थिए। ‘हामी गरीब थियौँ, दुई छाक खान त हाम्मेहाम्मे पर्थ्यो। आमालाई उपचार गर्ने खर्च कहाँबाट ल्याउन सक्थ्यौँ र?’ उनले भने, ‘आमाको उपचार गराउन सकेनौँ।’
उपचार गर्न नपाएर महिना दिनसम्म थला परेकी आमा उनीहरुकै आँखा अगाडि बितिन्। आमाले सदाका लागि संसार त्यागेपछि उनी बिरक्तिए। त्यसपछि उनले घर छाड्ने निधो गरे। ‘आमाबिनाको घर मलाई घर जस्तो लागेन, मलाई घरमा बस्ने मनै भएन। त्यसैले घरबाट निस्किने निर्णय गरेँ’, उनी विगत सुनाउँदै भन्छन्।
आमाको दाहसंस्कार गरिसकेपछि उनी गाउँलेहरुका साथमा पोखरा गए। त्यहाँ बसेर उनले महिनाको १५ रुपैयाँमा भाँडा माझ्ने काम सुरु गरे। ‘महिनाको १५ रुपैयाँ कमाउँथेँ तर सबै पैसा खान र बस्नमा सकिन्थ्यो’, उनी भन्छन्, ‘ठाउँ महँगो थियो, त्यसैले पैसा बचत गर्न सकिनँ।’
पोखरा फेवाताल छेउमा बसेका उनी तीन वर्षपछि गाउँ फर्किए। एक वर्ष उनी दाजु र बुबाका साथमा गाउँमै बसे। तर पैसा कमाउने सपना देखेका उनले पुनः घर छाड्ने योजना बनाए। नभन्दै उनी २०२० सालमा धादिङबाट काठमाडौं हानिए। ‘मैले बुबा र दाजुलाई घर बनाउने पैसा बोकेर मात्र गाउँ फर्किने वाचा गरेर काठमाडौं आएँ’, उनले सुनाए।
गाउँबाट एक्लै सहर हिँडेका बलरामको लागि नौलो थियो, काठमाडौं उपत्यका। तर काम गरेर पैसा कमाउने अनि घर बनाउने उनको ठूलो सपना थियो। त्यसैले उनी कामको खोजीमा भौँतारिन थाले। उनले सहरका गल्ली–गल्ली चहारे। तर कहीँकतै कामै पाएनन्।
काम नपाएर लरखराएका उनी काठमाडौंका सडकपेटीमा भोकभोकै सुते। सुनसान सडकमा आफ्नै हात सिरानी बनाएर सुत्दा उनले आमालाई धेरै सम्झिए। आमाको काखमा सुतेको क्षणलाई स्मरण गरेका उनले कयौँ रात आमाकै यादमा आँसु बगाए।
‘काठमाडौंमा आफ्नो मान्छे कोही थिएन, काम पनि कतै पाइनँ। त्यसैले सडकपेटीमै सुतिदिएँ तर आमाको याद धेरै आयो’, स्वर्गीय आमालाई सम्झिएर गहभरि आँसु बनाएर उनले भने, ‘भुइँमा सुतिरहँदा आमाको काखमा सुतेका दिनहरुलाई सम्झिएर धेरै राेएँ।’
काठमाडौं आएको साता दिन हुँदै थियो। उनी सुन्धाराको चोकमा काम सोध्दै हिँडिरहेका थिए। त्यही क्रममा उनलाई वन विभागका सुब्बाले बोलाएर ‘काम चाहिएको हो’ भन्दै प्रश्न गरे। उनले पनि टाउको हल्लाएर ‘हो’ मा जवाफ दिए। त्यसपछि उनलाई ती सुब्बाले आफ्नो घर लगे।
भद्रकालीमा रहेको घर देखाउँदै सुब्बाले बलरामलाई भनेका थिए, ‘आजदेखि यही घरमा बसेर काम गर। तिम्रो काम भनेको गाईवस्तु चराउनु हो। तलब चाहिँ मिलाएर दिउँला।’ जसोतसो बस्ने डेरा र काम पाएर खुसी भए, बलराम।
बिहान सबेरै उठ्थे, गाईवस्तुलाई घाँस काटेर खुवाउँथे र जङ्गलमा चराउन पनि लैजान्थे। उनी आफूले गर्नुपर्ने सबै काम भ्याउँथे। त्यसैले उनको काम देखेर सुब्बा निकै खुसी थिए। बेलामौका उनले गरेको कामको प्रशंसा पनि गरिदिन्थे तर पैसा माग्नेबेला सधैँ झपारेर पठाउँथे।
‘सुब्बा साबले मलाई खान र बस्न दिनुभयो। मैले गरेको कामको प्रशंसा पनि गर्नुहुन्थ्यो तर पैसा माग्दा थर्काउनुभयो’, उनले भने, ‘तँलाई किन चाहियो पैसा? खान र बस्न पाएकै छस् भन्दै झपार्नुहुन्थ्यो।’
दिनभरि चौपायाको काममा व्यस्त रहने उनलाई देखेर दुखी हुन्थे, सुब्बाका सहकर्मी। बलरामलाई देखाउँदै साथीहरुले सुब्बालाई भन्ने गर्थे, ‘तँलाई रक्सी पिएर हिँड्ने पैसा हुन्छ, यो गरीबलाई दिने पैसा हुँदैन?’ तर सुब्बा साथीहरुको कुरालाई बेवास्ता गरिदिन्थे। बरु उल्टै सहकर्मीलाई हपारेर खेदाउँथे।
सुब्बाका घरमा बसेका बलरामले गाईवस्तुको हेरचाहमा १० वर्ष बिताए। तर जब उनले आफ्नो पारिश्रमिकको पैसा मागे, तब सुब्बाले झाेक्किँदै उनीसँग प्रश्न गरे, ‘यत्रो वर्ष मेरो घरमा खाएको र बसेको पैसा चाहिँ कसले तिर्छ? मेरो पैसा खुरुक्क दे!’
आफू ठगिएको कुरा बुझेका उनले एक दशक बगाएको आफ्नो पसिनाको कमाइ बिर्संदै सदाका लागि सुब्बाको घरबाट बिदा भए।
सुब्बाको घरबाट निस्किएका उनी भरिया भए। कहिले उनी भारी बोक्थे त कहिले ज्यामी काम गरेर गुजारा टार्थे। ‘काम नगरेको पनि होइन तर पैसा बचत गर्न नै सकिएन, खान र लगाउन ठिक्क भयो’, उनले सुनाए।
आफूले पैसा कमाउन नसकेको कारण बलरामले विवाहसमेत गर्न पाएनन्। भन्छन्, ‘कामको पछि लागेरै उमेर ढल्कियो। विवाह गर्न पैसा पनि थिएन। अरुको छोरीलाई ल्याएपछि सुख दिनैपर्यो। जुन कुरा मैले सक्दिन थिएँ। त्यसैले विवाह गरिनँ।’
सधैँ कामको खोजीमा भौँतारिरहने बलराम २०५५ सालमा बालकोट पुगे। उनले त्यहीँ बसेर काम गर्न सुरु गरे।
आजीवन बिना तलबको गोठालो
भारी बोकेर हातमुख छोड्ने उनी आफ्नो कामदेखि खुसी थिएनन्। उनी पैसा बचाएर घर बनाउन चाहन्थे तर डेरा भाडा र खानपिनमै सकिन्थ्यो। त्यसैले उनी नयाँ कामको खोजीमा भौँतारिन थाले।
उनी कामकै सिलसिलामा भक्तपुर पुगे। त्यहीँ उनले बालकोटाका एक धनाढ्यको घरमा गोठालो चाहिएको कुरा पत्तो पाए। ‘कामको खोजीमा हिँडिरहेको थिएँ, त्यहीबेला मालपोत कार्यालयका हाकिमको घरमा गोठालो चाहिएको कुरा बुझेँ’, उनले भने, ‘त्यसपछि मैले त्यहीँ काम गर्ने सोचेँ।’ एक दशक गोठालोको अनुभव बटुलेका उनले ती हाकिमलाई काम गर्ने प्रस्ताव राखे।
पातलो तर अग्लो ५० कटेका बलरामको कुरा सुनेर हाकिमले उनलाई ‘काम गर्न सक्छौ?’ भन्दै प्रश्न तर्साए। उनले आफूसँग भएको अनुभव सुनाए। र हाकिमको घरमा गोठालो बस्न तयार भए।
१० वर्ष बिना पैसा काम गरेका उनले मालपोतका हाकिमलाई आफ्नो तलब सोधे तर कुनै जवाफ पाएनन्। ‘मालपोत कार्यालयका हाकिम जस्तो मान्छे, पैसा त देलान् नि भनेर केही बोलिनँ’, उनले सुनाए।
हाकिमको घरमा काम गर्न तयार भएका उनी बालकोट गए। उनले त्यहीँ १८ वटा चौपया पाल्न थाले। गोठालो बलरामको काम देखेर खुसी थिए, हाकिमका परिवार। सबै जनाले उनलाई माया गर्थे। उनी पनि हाकिमकाे घरमा खुसी थिए।
विस्तारै दिनहरुको बित्दै गए। बलरामलाई हाकिमले गर्ने व्यवहार पनि परिवर्तन हुन थाल्यो। बिहानको ३ बजे उठ्थे, उनी। घाँस काट्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सिनामंगल पुग्थे तर घर फर्किँदा खानासमेत पाउँदैन थिए।
‘एकाबिहानै घाँस काट्न बालकोटबाट हिँड्दै सिनामंगल पुग्थेँ, डाेकोभरि घाँस ल्याउँथे तर १२ बजे घर आइपुग्दा भोक्कै हुन्थेँ। मेरो भागको खाना पनि सबै खाइदिन्थे’, उनी सुनाउँछन्, ‘खाना खोई भनेर सोध्दा उल्टै थर्काउँथे।’
कामप्रेमी बलराम गाईवस्तुको स्याहार मात्र होइन, दुधसमेत बेच्ने गर्थे। त्यही दुध बेच्न उनी काठमाडौंदेखि ललितपुरसम्म धाउने गर्थे। ‘मैले ती हाकिमको घरमा धेरै दुख गरेँ। दुधका पोका पनि बेचेँ तर मैले केही पाइनँ’, बिएल नेपाली सेवालाई उनले दुखेसो पोखे।
आफूले गरेको कामको पैसा माग्दा हेप्ने हाकिमको घरमा मान्छेको भीड लाग्ने गरेको उनी सम्झिन्छन्, ‘घरमा हाकिमलाई भेट्न आउने मान्छेको भीड लाग्थ्यो। उहाँले पैसा खाइदिएको भन्दै घरमा झगडा गर्थे।’
हाकिमसँग पैसा माग्न आएकाहरुले गाईवस्तु लैजाने धम्कीसमेत दिन गरेको उनले बताए। तर आफूले माया गरेर पालेका चौपायालाई सजिलै कहाँ लग्न दिन्थेँ र? उनी आमाले सन्तानलाई बचाएझैँ गाईवस्तुको संरक्षणमा उत्रिन्थे। उनी भन्ने गर्थे, ‘तपाईंहरुको पैसा लिनुछ भने हाकिमबाट लैजानुस् तर मैले पालेको वस्तुभाउ लग्न नखोज्नुस्।’
वस्तुभाउको स्याहारमा आधा उमेर बिताएका ७२ वर्षका बलरामलाई काम गर्न नसक्ने भन्दै २०७७ घरबाटै निकालिदिए। पैसा माग्दा हाकिमले उल्टै उनीसँग घरमा बसेको हिसाब गर्न थाले।
उमेर भइञ्जेल अर्काको घरमा बिना पैसा गोठालो बसेका बलरामको जाने ठाउँ कहीँकतै थिएन। त्यसैले उनी भक्तपुरको मानव सेवा आश्रममा बस्न थाले।
तीन वर्षदेखि आश्रम बस्दै आएका बलराम भावुक हुँदै भन्छन्, ‘उमेर छँदा अरुको घरमा गोठालो बसेँ। काम गर्न नसक्ने भएपछि आश्रममा बस्दैछु। म साह्रै अभागी रहिछु।’
जो जसले श्रम शोशण गरेका छन् उनिहरुलाई कानुनी कठघरामा ल्याएर उनले गरेको परिश्रमको मुल्य दिलाउने काम सरकार ,पत्रकार ,समाजसेवी हरुको पहलमा न्याय दिलाउन पहल चाँडै गरोस ।पुन्य पाउन र उनको जीवनभर कमाइ गरेको गरेको मुल्य प्राप्त भइ खुसीको सास फेर्न पाउन्।