दिलमाया मगर एकाबिहानै उठ्छिन्, भगवानलाई पुकार्छिन् र छोरालाई सम्झिएर रुँदै आशिष दिन्छिन्। आफूलाई माया मारेका निष्ठुरी छोरालाई सम्झिँदै बित्छ, उनकाे दिन।
छाेरा-बुहारीले वेवास्ता गरेपनि आफूले सधैँ उनीहरूकाे भलाे चिताउँछिन्, उनी। भन्छिन्, ‘मलाई माया मारे पनि म सधैं उनीहरूलाई माया गरिरहन्छु।’
सर्लाही घर भएकी ७० वर्षीया दिलमायाका दुई सन्तान थिए। छाेरी सानै उमेरमा बितिन्। छोरालाई दुखले हुर्काइन्। श्रीमानकाे साथमा उनले छाेरालाई शिक्षित बनाइन्। तर बुढेसकालमा आफैँ छाेराबाट टाढा भइन्।
विवाह गरेका छाेरा श्रीमतीकाे साथमा काठमाडाैं आए। उनी श्रीमानकाे साथ गाउँमा बस्न थालिन्। श्रीमान छँदा जसाेतसाे काम गरेर जीविका चलाउने उनी अलपत्र परिन्, जब उनका श्रीमानले सदाका लागि संसार त्यागे।
एकमात्र सहारा रहेका श्रीमानकाे निधनपछि उनी विक्षिप्त भइन्। त्यही पीरले उनी थला परिन्। हातगोडा दुख्ने रोगले उनलाई सताउन थाल्याे।
बिरामी आमाकाे खबर सुनेर छाेरा गाउँ आए। आमालाई आफूसँगै राजधानी ल्याए। छाेराले माया गरेर काठमाडाैं ल्याउँदा खुसी थिइन्, दिलमाया। तर उनकाे खुसी महिनादिन मात्र टिक्याे। उनलाई छोरा-बुहारीले ‘पाेई टाेकेकी बुढी’ भन्दै हपार्न थाले।
९ महिना गर्भमा राखेर जन्माएका छोरा अनि बुहारीले नानाभाँती भन्न थालेपछि बिरक्तिएकी उनी घरबाट निस्किइन् र पशुपति मन्दिरकाे सडकपेटीमा बस्न थालिन्। त्यही क्रममा उनको भेट मानव सेवा आश्रम उपत्यका इन्चार्ज सुमिरा लामासँग भयाे। जसले उनलाई रानीवनमा रहेको मानव सेवा आश्रममा ल्याइन्।
छोरा-बुहारीकाे साथबाट टाढिएकी उनले अहिले आश्रममा धेरै माया पाइरहेकी छन्। उनी भन्छिन्, ‘म यहाँ धेरै खुसी छु। छोरा-बुहारीबाट माया नपाएकी पनि मैले आश्रममा धेरै माया पाइरहेकी छु।’
०००
८० वर्षकी सुलोचना राजभण्डारीलाई नपुग्दो केही छैन। राजधानीमा घर छ तर उनको आश्रममा बास छ।
१४ वर्षको उमेरमा विवाह गरेकी उनको तीन सन्तान छन्। छोरीले संसारले छाेडिन्। दुई छोराहरुलाई उनले श्रीमानसँग काम गरेर उच्च शिक्षा दिइन्। तर श्रीमान जीवित रहँदा सुख पाएकी सुलोचनाले श्रीमानको निधनपछि दुख पाइन्।
सकुन्जेल काम गरेर हुर्काएका दुई छोराहरुलाई उनले नेपाल विद्युत प्राधिकरणका जागिरे बनाइन्। तर बुढेसकालमा उनी छोराहरुको मायाबाट टाढा भइन्। भन्छिन्, ‘आमालाई माया गर्ने छोरी हो। तर एउटी भएकी छोरी मरिहालिन्। दुई छोराले हेला गर्यो।’
छोराहरुलाई उच्च शिक्षा दिएर जागिरे बनाए पनि संस्कार दिन नसकेको उनको गुनासो छ। ‘मैले नै मेरो छोराहरुलाई संस्कार दिन सकिनँ होला। त्यसैले मैले उनीहरुको माया पाइनँ’, उनले सुनाइन्।
डाँडाको घाम भइसकेकी सुलोचनाले कतैबाट माया पाइनन्, त्यसैले उनी २०७६ सालमा हिमालय वृद्धाश्रममा बस्न थालेकी हुन्। ‘मलाई घरमा कसैले माया गरेन, त्यसैले घर छोडेर आश्रम आएँ’, उनले भनिन्।
आफू चार वर्षदेखि वृद्धाश्रममा बस्न थालेको खबर थाहा पाए पनि छोरा-बुहारीले बेवास्ता गरेको उनी बताउँछिन्। ‘म यो आश्रममा बसेको कुरा सबैलाई थाहा छ तर के गर्नु कोही मलाई लिन आउँदैन।’
तर वृद्धाभत्ता आएको दिन भने आश्रम आएरै उनलाई छोराले बैंक लैजान्छन् र सबै पैसा कुम्लाएर जान्छन्।
आफूले वृद्धाभत्ता माग्दा छोराले भन्ने गर्छन्, ‘तपाईंलाई किन चाहियो पैसा, हामी बचत गरेर राखिदिन्छौँ।’ सास रहँदा खर्च नदिएको गुनासो गर्दै भन्छिन्, ‘मेरो किरिया खर्च थुपारेर राखेको होला।’
वृद्धाभत्ता लिन आउँदा छोराहरुले उनलाई भन्ने गर्छन्, ‘आमा केही समय पर्खनुहोस् है, हामी तपाईंलाई लिन आउँछौँ।’ छोराहरुले झुठो बोलेको ती बचन नै अहिले सुलोचनाको जिउने आधार बनेको छ। त्यसैले त उनी छोरा आउने आशमा बसिरहेकी छिन्।
०००
आफूले जन्माएकी छोरीको नामै सुन्न चाहँदिनन्, चरीकोटकी माइली तामाङ। ७२ वर्षकी उनी छाेरीलाई घृणा गर्छिन्।
छाेरी सानु छँदा उसैकाे लागि दुख गरेकी माइली अहिले तिनै छाेरीलाई देख्न सक्दिनन्। उनी भन्छिन्, ‘मेराे काेखै बैगुनी रहिछ, त्यसैले अहिले छाेरी भएर पनि दुख पाइरहेकी छु।’
सानै उमेरमा विवाह गरेकी माइलीकाे एउट छाेरी छिन्। जसकाे स्याहारमा उनले आफ्नाे पूरै जीवन दिइन्। तर छाेरीकै आँखाकी कसिंगर बनिन्, माइली।
जवानीमै श्रीमान गुमाइन्। दुख गरेर छाेरीलाई हुर्काइन् तर छाेरीले नै आमालाई बेवास्ता गरिन्। ‘छोरी सानो हुँदा मर्ला भन्ने पीर, ठूलो हुँदा मार्छ भन्ने डर। छोराछोरी भएर पनि सुख छैन रहिछ’, उनी भन्छिन्।
बुढेसकालकाे सहारा बनेकी छाेरीले आमालाई छाेडेर काठमाडाैं भागिन्। छाेरीले छाेडेर गएपछि एक्लै बाँच्न थालिन्, माइली। तर उमेर ढल्दै जाँदा उनी काम गर्न नसक्ने भइन्। गाउँलेहरूले उनलाई काठमाडाैं पठाइदिए।
गाउँबाट काठमाडाैं आएर बेसहारा भएकी उनी ललितपुरको मानव सेवा आश्रममा बस्न थालिन्। अहिले उनी त्यहाँ बसेकाे चार वर्ष भयाे। तर उनलाई कसैले खाेजी गर्दैनन्।
‘मेरी छोरीलाई थाहा रहिछ, म आश्रममा छु भनेर तर उसैले मलाई वास्ता गर्दिनन्’, आफ्नी छोरीबारे उनी सुनाउँछिन्, ‘उनी राम्रै कम्पनीमा काम गर्दो रहिछिन् तर मलाई पाल्न सक्दिनँ भनेर गइन्। अब मलाई उसको केही आश छैन।’
छोरीको माया नपाए पनि उनी आश्रममा खुसी छिन्। उनी भन्छिन्, ‘यो आश्रम मेरो घर हो। यहाँका मान्छे नै मेरो परिवार हो। म यहाँ धेरै सुखी छु।’
०००
हिमालय वृद्धाश्रममा १२ वर्षदेखि बस्दै आइरहेकी छिन्, हिमादेवी बस्नेत। उनलाई छोरीले नै आश्रममा राखिदिएकी हुन्।
२० वर्षको उमेरमा विवाह गरेर सिक्किमबाट रामेछाप पुगेकी हिमाले कहिल्यै सुख पाइनन्। २३ वर्षको उमेरमा श्रीमान गुमाएकी उनले छोरीलाई दुखले हुर्काइन्। अरुको घरमा काम गरेर उनले छोरीलाई कक्षा १० सम्म पढाइन्। तर एसएलसी फेल भएपछि छोरीले उनलाई छाडेर इण्डिया भागिन्।
छोरीको सम्झनामा निराश भएकी उनी मित भान्जाका साथमा २०५० सालमा काठमाडौं आइन्। राजधानीको लैनचाैरमा बस्न थालिन्।
भान्जाको घरमा डेरा जमाएर बसिरहेकी हिमाले २०६८ सालमा आफ्नी छोरी नेपालटारमा बसेको थाहा पाइन्। १८ वर्षपछि भान्जाकाे घर छोडेर उनी छोरीको घर बस्न थालिन्।
झण्डै दुई दशकपछि छोरीलाई भेट्दा खुसी थिइन्, उनी। तर आफूलाई थाहै नदिइ विवाह गरेकोमा उनी दुखी भइन्।
‘छोरीले मलाई खबर नगरी विवाह गरेको देखेर दुखी भएकी थिएँ, तर नाति देखेर खुसी भएँ’, उनले भनिन्। सुरुवाती दिनमा छोरी र ज्वाइँले गरेको व्यवहार देखेर उनी दंग थिइन्। तर सातादिन नबित्दै छोरी-ज्वाइँको रबैया नै बदलियो।
उनलाई छोरी-ज्वाइँले अपमान गर्न थाल्यो। तर छोरीको मायाले जसोतसो आफूलाई सम्हालिरहेकी थिइन्, हिमादेवी। तर छोरीले नै ‘तँ बूढीलाई अब म पाल्न सक्दिनँ, मेरो घरबाट निस्किएर जा!’ भनेपछि उनी छानाबाट खसेझैँ भइन्।
छोरीले नमिठो बचन लगाएपछि उनले पनि रुँदै भनिन्, ‘तैँले पाल्न सक्दिनस् भने मलाई आश्रममा लगेर राखी दे।’
हिमाको कुरा मानेर उनले आमालाई नयाँ बसपार्कको हिमालय वृद्धाश्रममा राखिदिइन्। पहिलोपटक आश्रम पुगेकी उनी खुबै रोइन्, छोरीको यादमा। तर विस्तारै बिर्सन थालिन्।
‘छोरीले मलाई माया गरेन भने म किन उसको यादमा रुने? त्यसैले मैले छोरीलाई बिर्सन थालेँ’, उनले भनिन्। एघार वर्षदेखि उनले छोरीको अनुहार देखेकी छैनन्। त्यही पनि खुसी छिन्, हिमादेवी।
‘जहाँ बसे पनि एकमुठ्ठी सास फ्याल्नु त हो नि, म यो आश्रममा अहिले धेरै खुसी छु। छोरीले नदिएको माया यहाँ पाइरहेकी छु’ उनले भनिन्।
०००
९५ वर्षकी भइन्, दाल्हामू माया। राम्रोसँग बोल्न र अरुले बोलेको कुरा ठम्याउन सक्दिनन्। तर पाँच वर्षदेखि ललितपुरको मानव सेवा आश्रममा बस्दै आइरहेकी उनी आफ्नो घर रामेछाप बताउँछिन्।
२०७५ सालमा उनलाई मानव सेवाको टोलीले ललितपुरको सडकपेटीबाट उद्धार गरेको हो। लरबराउँदो बोलीमा उनी भन्छिन्, ‘म कहाँबाट आएँ, किन आएँ थाहा छैन। तर मेरो घर यही आश्रम हो। अब म यहीँ मर्छु।’