डेढ वर्षअघि छोरासँग काठमाडौं घुम्न आएकी ८४ वर्षीया फुलमाया खुसीले फुरूङ थिइन्। कान्छा छोराको हात समातेर उनी सहरका गल्ली–गल्ली डुल्नमा व्यस्त थिइन्। बाह्रबिसेको यात्रा गरेर थाकेकी उनले छोरालाई रूगाउँदै शौचालय गइन् तर फर्किँदा छोरा देखिनन्। सहर डुलाउने सपना देखाएर राजधानी ल्याएका छोराको उनले दिउँसोदेखि साझँसम्म प्रतिक्षा गरिन् तर छोरा फर्किएर आएनन्। त्यसपछि बल्ल उनले बुझिन्, छोराले उनलाई जानेरै बाटोमा अलपत्र बनाएर भागेछन्।
काठमाडौंको सामाखुसीमा रहेको मानव सेवा आश्रमकी फूर्तिली आमा हुन्, फुलमाया घिमिरे। झिस्मिसे उज्यालोमै उठ्ने उनी सात बजे खाजा खान्छिन्। त्यसपछि दिनभरि सुकेको मकैको खोस्टाले उनी पिर्का बनाउँछिन् त कहिले धुप बाटेर घरायसी काममा सघाउँछिन्।
काम गर्नमा पोख्त उनी हाँसेरै दिन बिताउने गर्छिन्। भन्छिन्, ‘जसको मनमा धेरै पीर हुन्छ, उसैले धेरै हाँस्ने गर्छ।’ कहिलेकाहीँ कामविहीन रहँदा उनी आश्रमकै दौँतरीहरूसँग गफिन्छिन्। जोसँग उनी आफूले भोगेका दुखहरू सुनाउने गर्छिन्।
काम गर्नमा पोख्त उनी हाँसेरै दिन बिताउने गर्छिन्। भन्छिन्, ‘जसको मनमा धेरै पीर हुन्छ, उसैले धेरै हाँस्ने गर्छ।’ कहिलेकाहीँ कामबिहिन रहँदा उनी आश्रमकै दौतरीहरूसँग गफिन्छिन्। जोसँग उनी आफूले भोगेका दुखहरू सुनाउने गर्छिन्।
‘यो ठाउँमा मेरो कोही छैन। त्यसैले म जस्तै यहाँका बहिनीहरूसँग दुखसुखका कुराहरु सुनाउने गर्छु’ उनले भनिन्, ‘एक्लै बस्यो भने मन पोल्छ, बोलेर भुलाउने गर्छु।’
गाउँघरको यादमा टोलाउने उनी परिवारको रूने गर्छिन्। उनलाई गाउँ जाने रहर छ, उतै अन्तिम श्वास फेर्ने इच्छा छ तर त्यो सबै उनका लागि असम्भव जस्तै छ।
आफ्नो जन्मथलो सिन्धुपाल्चोक जाने सपना बुनेकी उनी आश्रममा आएका नयाँ मान्छे देख्नासाथ भन्ने गर्छिन्, ‘मलाई घर लैजाने हो।’ बिडम्बना, कसैले उनको प्रश्नको जवाफ दिदैनन्। दियोस् पनि कसरी? उनी परिवारकै कारण त आश्रम आइपुगेकी हुन्।
छोराले अलपत्र बनाएर छाडे
२०७८ सालमा कान्छा छोरा जङगबहादुर घिमिरेले सहर डुलाउने सपना देखाएर काठमाडौं ल्याए। डाँडाँकी घाम बनिसकेकी फुलमाया पनि रमाउँदै छोरासँग बाह्रबिसेबाट राजधानी आइन्।
‘गाउँमा हुँदा घरायसी काममा दिनहरू बित्थे, एकदिन कान्छोले मलाई सहर डुलाउँछु भन्यो छोराले माया गरेर घुमाउन खोज्यो भनेर म धेरै खुसी भएँ अनि सबै जनासँग बिदा मागेर छोरासँग काठमाडौं आएँ’ उनले बताइन्।
छोराको हात समातेर काठमाडौं आएकी उनी खुसी थिइन् तर उनको सबै खुसी छिनभरमा हरायो। जब उनलाई आफ्नै छोराले अलपत्र पार्यो। ‘मलाई छोरासँग घुम्दा रमाइलो लागिरहेको थियो। तर म शौचालय गएर फर्किदा छोरा थिएन। मैले कान्छालाई अबेरसम्म पर्खिएँ तर छोरा आएन। पछि थाहा भयो कि छोराले मलाई जानेरै एक्लै छाडेर गएछ’ उनले बताइन्।
छोराले आफूलाई कहाँ लगेर अलपत्र पारेको उनलाई नै थाहा छैन तर पिपलको बोट रहेको उनी बताउँछिन्। ‘काठमाडौं पहिले पनि आएकी थिएँ तर बूढी भएर सबै बिर्सिएँ। छोराले कहाँ छोडेर गयो थाहा छैन तर त्यो ठाउँमा ठुलो पिपलको बोट चाहिँ थियो’ उनले बिएल नेपाली सेवासँग भनिन्।
गाउँबाट सँगै आएका छोराले छाडेर गएपछि उनी सडकपेटीमा भौतारिन्। बूढी मान्छे एक्ली छटपट्याइरहेको देखेपछि उनलाई त्यहीँका स्थानीयले आश्रम पुर्याए।
पहिलोपटक आश्रम आइपुगेकी उनलाई लागेको थियो, ‘दुई चार दिनमा छोरा आएर यहाँबाट मलाई लैजान्छ’ तर उनको त्यो सपना डेढ वर्षसम्म पनि पूरा भएन। ‘अहिले पनि यहीँ छु खोई लिन आउँदैन मलाई। यहाँका अरू बहिनीहरूलाई त लगेका थिए तर मलाई लिन आएको छैन।’
२०७८ सालदेखि आश्रम बस्दैआइरहेपनि आफ्नो मन भने घरगाउँमै डुलिरहेको उनी बताउँछिन्। ‘म यहाँ बोलिरहेको छु तर मेरो मन र हंश उहीँ बाह्रबिसेमा नै छ। मलाई घर जाने मन छ’ उनले बताइन्।
छोराहरूले आफूलाई आश्रमबाट लिन नआए आफैँ हिडेर गाउँ जाने उनी सुनाउँछिन्। भन्छिन्, ‘छोराहरू आएन भने म एक्लै हिडेर जान्छु। घर देखेकै छु पो!’
श्रीमानको घरमा उनले सात दशक पार गरिसकेकी छिन्। त्यसैले उनलाई श्रीमानको घर ज्यानभन्दा प्यारो लाग्छ। भन्छिन्, ‘सानैमा त्यो घरमा भित्रिए, घरको धेरै माया लाग्छ। गाउँमा धेरै जग्गा छ, एक तले बिल्डिङ घर छ।’ जुन घरलाई उनी हरदम सम्झिरहन्छिन्।
श्रीमानसँग गरेको त्यो वाचा...
वि.स १९९० सालमा फुलमाया नेपाली सिन्धुपाल्चोकमा जन्मिइन्। मध्यम परिवारमा हुर्किएकी उनले पढ्न पाइनन्। पढ्योस् पनि कसरी? उतिबेला ‘छोरी मान्छेलाई पढाउनु हँुदैन’ भन्ने मान्यता थियो।
आफ्ना दुई दाजुभाइ पढ्न गएपनि उनी दिनभरि घरायसी काममा व्यस्त हुन्थिन्। ‘दाजुभाइले पढेपनि मलाई चाहिँ पढ्ने मन थिएन। त्योबेला छोरीहरूले मन हुँदैन भन्थ्यो। त्यसैले मैले पनि चासो दिइनँ’ विगत कोट्याउदै उनले भनिन्, ‘त्योबेला बा–आमाको इशारामा चल्नुपथ्यो।’
वि.स १९१० को मुलुकी ऐनमा विवाहका लागि कन्याको न्यूनतम उमेर पाँच वर्ष तोकिएको थियो। उक्त ऐनको विहावारीको महलमा रहेको तत्कालीन समाजको प्रचलन थियो। सोहीकारण उनको १६ वर्षको उमेरमा विवाह भयो।
मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार २० वर्ष नपुगी कसैले विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुनेछ। साथै कसुर गर्ने जो कोही व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था गरिएको छ।
बालबालिका सम्बन्धि ऐन २०७५ को उपदफा ६६ (२) (ण) अनुसार बालबालिकासँ विवाह गर्नु गराउनु बालबालिकाविरुद्धको कसुर मानेको छ। र दफा ६७ अनुसार त्यस्तो कसुर ठहरेको व्यक्तिहरूले १० वर्षसम्म बालबालिकासँग सम्बन्धित सार्वजनिक तथा निजि क्षेत्रमा काम गर्न, मनोनित हुनु वा निर्वाचित हुन पाउँदैनन्।
इच्छाविपरीत नै उनले सोही गाउँका २१ वर्षीय रामबहादुर घिमिरेसँग विवाह गरिन्। माइती छोडेर श्रीमानको घर गएकी उनलाई दुख भएन। श्रीमान पुजापाठ गरेर घरभरि चामल र फलफुल ल्याउँर्थे। घरमा धन र अन्नको कमी नभएको उनले बताइन्। ‘घरमा आवश्यक सबै पुग्दो थियो’ उनले भनिन्।
पूजापाठ गर्नमा पोख्त रहेका रामबहादुर काठमाडौंसमेत ध्याउने गर्थे। जहाँबाट उनी धेरथोर पैसा कमाएर ल्याउँर्थे। श्रीमान काठमाडौं ओहोरदोहोर गरिरहने भएको कारण उनी पनि चार पटक राजधानी पुगेकी थिइन्।
उनलाई याद भएअनुसार २०२६ फागुन–१६ गते तत्कालीन राजा वीरेन्द्र शाह र ऐश्वर्या राज्य लक्ष्मीदेवीको विवाह भोज खाइन्। ‘राजारानीको विवाह हुँदा म काठमाडौंमै थिएँ। उहाँहरूको विहेको भोज पनि खाएँ’ स्वर्गीय राजारानी सम्झदै उनले भनिन्।
श्रीमानले काठमाडौं बसेर कमाएको पैसाले उनले दुई वटा छोरालाई उच्च माध्यमिक तहसम्मको शिक्षा दिइन्। र छोरीलाई विवाह गरेर इण्डिया पठाइन्। ‘छोराहरूले सानैदेखि सुख पाएँ’ ६ दशक कटिसकेका छोराहरू स्मरण गर्दै उनी भन्छिन्, ‘सानो छँदा दिसा पिसाब खाएर हुर्काएँ। ठुलो भएपछि मलाई नै वास्ता गरेनन्।’
श्रीमान छँदा छोराहरूले माया गरेको तर निधनपछि वेवास्ता गर्न थालेको उनको बुझाइ छ। ‘बूढा जिउँदो रहँदा त उहाँले पैसा कमानु हुन्थ्यो। मलाई छोराहरूले माया गथ्र्यो तर अहिले मसँग पैसा छैन म बूढी आमा घाडो भएँ त्यहीँ भएर घरबाट निकाल्यो’ उनी दुखेसो पोख्छिन्।
श्रीमानले १५ वर्षअघि संसार त्यागेर गएको त्यो कालो दिन उनलाई अझै याद छ। जतिबेला उनले श्रीमानसँग कहिल्यै नरूने वाचा गरेकी थिइन्। ‘छोराहरूले मलाई दुख दिने कुरा उनलाई अगाडि नै थाहा थियो क्यारै! त्यसैले उहाँले अन्तिम श्वास रहँदा दुख हुँदा कहिल्यै नरूनु भनेर वाचा गर्न लगाउनु भएको थियो’ स्वर्गीय श्रीमानलाई सम्झिएर भावुक भएकी फुलमायाले भनिन्।
श्रीमानसँग गरेको त्यो वाचा पूरा गर्न नसकेको उनको आफैंसँग गुनासो छ। ‘छोराछोरीले दुख दिँदा आमाको मन त रोइहाल्छ नि। आँसु रोक्न नसकिँदो रहिछ’ उनले सुनाइन्।
बूढेशकालमा छोराहरूको मायाबाट टाढिएकी फुलमायाको अब मात्र एउटै सपना छ, ‘त्यो हो आफ्नै गाउँघरमा गएर अन्तिम श्वास फेर्ने छ।’
नालायक सन्तानहरु
Please provide her details or contact number of Asram.
कस्तो भावुक बनायो आमा कुपुत्र जन्माउनु भएछ हजुरले यस्तालाई कडा भन्दा कडा कार्वाही हुनु पर्छ ।
पढ्दापढ्दै डाको छोडी रुन मन लाग्यो,यस्तो छोराछोरी जन्माएर यसरी दुख पाउनुभन्दा बरु निसन्तान भएको भए ती आमाले आज यसरी रुन पर्दैनथ्यो होला ????ती आमाको ठाउँ ठेगाना पत्ता लगाएर आजका मिडियाकर्मिहरुले छोराछोरीलाई आमाको सम्पत्ति भोगचलन गर्नबाट बन्चित भएको चाडैं सुन्न पाउ।आमाको गाउँ जाने सपना पूरा भएको देख्न पाउ।
कुन गाउं र टाेल हाे अामालाई साेध्नुहाेस भन्नुहुनेछ त्यसपछि त्यहाकाे वडाध्यक्षमार्फत त्याे मुपुत्रलाई झिकाएर त्यसलाई ७० वर्षपछिकाे भत्तासमेतबाट अहिल्यै बञ्चित र अन्य हदैसम्मकाे कारवाही हाेस