आकर्षक रोजगारीको प्रलोभन दिएर भारतको अति संवेदनशील राज्य जम्मु–काश्मिर लैजादैँ गरेका २ नेपाली युवती र ८ युवासहित १० जनालाई नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।
मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीले सुनसरी प्रहरीसँग समन्वय गरेर सुनसरीको घुस्की नाकाबाट भारत लैजान लागेका १० नेपालीलाई बिहीबार साँझ उद्धार गरेको हो। उद्धार गरिएका १० जनै उर्लाबारी नगरपालिका–४ का स्थानीय वासिन्दा रहेको प्रहरीले जनाएको छ। यी सबैलाई शुक्रबार अभिभावकको जिम्मा लगाइएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी मासिक १७ हजार भारतीय रुपैयाँ र ओभर टाइमसहित राम्रो कमाई हुने भन्दै प्रलोभनमा पारेर सबैलाई जम्मु–काश्मिर लैजान लागिएको बताउँछन्।
‘हामीले यो घटनामा तीन जनालाई पक्राउ गरेका छौं’, उनले भने।
पक्राउ परेका तीन जना मोरङ उर्लाबारी–४ का ४८ वर्षीय पुड्का उराव, उनकी श्रीमती ४५ वर्षीय फूलकुमारी उराव र सुनसरीको हरिनगरा–७ का ४० वर्षीय अफिज अन्सारी रहेका छन् ।
पक्राउ परेका उराव दम्पत्तिले गाउँघरबाट सोझा–साझा व्यक्तिलाई प्रलोभनमा पारेर अन्सारीको सम्पर्कमा पु¥याउने गर्दथे। अन्सारीले भने आफ्ना साला अब्दुल कलामसँग मिलेर काश्मिर पु¥याउँने काम गर्थे। कश्मिरमा उनीहरूको सम्पर्क व्यक्ति नेहाद हुन्।
उराव दम्पत्ति र अन्सारी पक्राउ परे पनि अन्सारीका साला फरार छन्।