‘भाउअ (छोरा) राम्मो, पाठारो (सजिलो) गरि गएस।’ रातभर उसिनेका, दुई दिन सुकाएका- सिमी, मकैको पिठो, खाद्य संस्थानबाट पाँच घण्टे म्याराथनपछि घर भित्रिएका चामल, सिन्की आदि खानेकुरा र केही थान कपडा खाँदेर बनेको बडेमानको आफूभन्दा ठूलो भारी।
नाम्लोले घचक्क खिचेर घाँटीको आकार दुई इन्च घटाउँदा जिन्दगीले पहिलो पटक देख्यो, पहेँला घाम। आँखाबाट आगोका फिल्का नाच्नेबेला निस्किएका थिए संसारकै प्रिय वाक्य। आहा! आमाको बोली। एक मन भनिरहेथ्यो आमा छोडेर कही नजाउँ। अर्को मन हिड्ने बेला यस्तो के सोचेको? जा खुरुक्क।
मन यसरी कुँडियो कि खुलेर 'आमै राम्मरी बस्या है' भन्न सकिएन। गला अवरुद्ध थियो। बोल्यो भने हिक्का छोडिने डर। आमाको अनुहारमा आँखा डुलायो आँसु खस्ने डर।
कतै नहेरी सरासर ओरालो हिडेर जुम्ला खलंगा पुग्दासम्म केही भएन। टुँडिखेलहुँदै उकालो चड्दासम्म ठिकै थियो। चेरे चौर पुग्दा अनुहारमा लाली पोतिन सुरु भैसकेको थियो।
कुन चाहिँ बहुराष्ट्रिय कम्पनीको कमाल थियो त्यो त ठ्याक्कै भन्न सकिदैन। तर, सुरुमा फिक्का रातो हुन्थ्यो। विस्तारै रंग बदलिएर गाढा रातो अनुहारभरी पोतिँदा छाला टनटन भरिएर फुट्ला झैं हुने।
डाँफे लेख काटेर ओराले लाग्दा फिक्का, भुलभुले उकालो चढ्दा गाढा रंगमा बसेको लाली उसैगरि पाँच दिनसम्म बस्यो। कैयौं पटक पसिनासँगै बगेको आँसुले पखाल्न सकेनन्।
२०६६ सालको जेठ महिनामा पहिलो पटक कतै टाढाको दूरी नापेका थिए खुट्टाले। सायद त्यो हजार माइलको यात्रा थियो। त्यसैले एक पाइलाबाटै सुरु भयो। ती पाइलाहरु पुगेका थिए मुगुका पाटन इमार, माजिनथान, नयाँ वन, अंग्री, छापाखोला, च्यार्कु, रिमार, ठूलोकोखी, स्यानकोखि, चाल्ने, टाँके, हङ्गदङ्ग खोला लगायत ठाउँ। जहाँ पाइन्थ्यो, -यार्सागुम्बा।
त्यहीँ पाईपाई खोजेथेँ, -यार्सागुम्बा। कक्षा छ। रोल नम्बर सात। उमेर १३ वर्ष। नाम गोर्ख बहादुर बोहोरा।
जिन्दगीको पहिलो कमाइ पन्ध्र हजार हातमा राखिदिँदा आमाको मुहार बलेको दियाजस्तो थियो। गोर्ख बहादुरको मन त झन् नालापानीमा युद्व जितेको बहादुर गोर्खालीको भन्दा बढी। घर खर्च र कापी कितावमा सकियो पहिलो वर्षको कमाई। दोस्रो र तेस्रो वर्षको कमाई पहिलाको हाराहारीमा भयो। तर, चौथो वर्ष समयले कोल्टो फेर्यो गोर्ख बहादुरले सात लाख कमाए।
कक्षा नौ पढ्दै गर्दा उनले यति धन कमाए सायद त्यतिबेला नेपाल सरकारको मुख्य सचिवले कमाएन्। बाँकी चार वर्ष चार, पाँच लाखको हाराहारीमा कमाए। असन्तोष केही थिएन। घर व्यवहार र पढाइ खर्चको लागि समस्या भएन। बाँकेको कोहलपुरमा थपियो एउटा मिलेको घडेरी। प्रमाणपत्र तह सकियो। वन रक्षकमा नाम निस्कियो। त्यसपछि पाटन आउजाउ रोकियो।
कलिलो उमेरमा नङमासु खियाउँदा, पैतालामा खाटा बस्दा जीवनले लय समात्यो। गोर्खले भने ‘आफूले सोचेको जस्तो भयो। अब सरकारी जागिरलाई निरन्तरता दिन्छु। मेहनत गर्छु। माथिल्लो तहमा पुग्ने कोशिस गर्छु।’
गोर्खको जस्तै सुखदुःख गर्न पुगेका थिए हजारौं बालबालिका। आज पनि पुगिरहेछन् निरन्तर।
हुनत मुगुबाट प्रधानमन्त्री ओली र उनकी पत्नी राधिकाका छोरीहरू ठिन्ले साङ्मु लामा र छिरिङ छोङजुम लामा पनि आठ नौ वर्षकै उमेरमा यार्सा खोज्न पाटनतिर लागेका छन्।
आफन्त र नातागोता सहित दुई, तीन महिना लेकको बाँस गर्न स्कुल छोडेर हिडेका छन् उनीहरु र हिडिरहेछन् जिन्दगीको लामो सफर।
हरेक वर्ष कोही न कोही त्यहीँ छुट्छन् सँधैको लागि। लाग्छ उनीहरु त्यो भन्दा पनि टाढाको सुदूर यात्रामा निस्किए। स-साना नानीहरू लेकमा बिलाउँदै गरेको हिउँजस्तै बिलाउँछन्।
सात कक्षा पढ्दै गर्दा अनेकौ सपना बुनेर मुगु नाक्चेलाग्ना चड्दै गर्दा आजभन्दा नौ वर्षअघि अस्ताएका थिए पातरासी २ का सेर बहादुर बुढा।
तीन वर्षअघि रत्नचूडेश्वर माविमा कक्षा १० पढ्दा पढ्दै कक्षा केठा छोडर हिँडेकी छिरिङ लामा बस्ने पहिलो बेच्न वर्षभरिलाई खाली भयो। यतिबेला जाजरकोटका कृष्ण विक र रमेश चलाउने तथा जुम्ला तल्फीका तिल सार्कीका खबर गहिरो शोक बनेर आए।
यार्सागुम्बा अहिले कर्णालीको उच्च हिमाली क्षेत्रमा बसोबासे गर्नेको मुख्य आम्दानी हो। यतिबेला कमाउन पाइएन भने वर्षभरिलाई छुकछुक हुन्छ। पछि छुकछुकाउने मानसिकतामा कोही हुन्नन्। अवसर छोप्न खोज्छन्। यस्तै मौका छोपे पातरासी गाउँपालिका ३ का फुलमाया र पदमराज महताराले।
उनीहरु दुईसातादेखि भर्खरै नौ महिना लागेको छोरो छोडेर यार्सागुम्बा टिप्न पाटन गएका छन्। छोरो मावली घरको हजुरआमाले हेरचाह गरिदिएकी छन्। यसरी बुढा आफन्तलाई दुधे बालबालिका जिम्मा लगाएर पाटन जाने पातरासीको वडा नं ३ मा पचास बढी घर परिवार छन्।
एकातिर अभिभावक छन् जो कुनै पनि हालतमा मौका गुमाउन चाहँदैनन्। स-परिवार गएर कमाऔं भन्छन् अर्कोतिर गाउँपालिका छ जो विद्यालय छोडेर यार्सा संकलनको लागि पाटन नजाउ भन्छ।
गएको चैत अन्तिम साता पातरासी गाउँपालिकाले एउटा निर्णय गर्यो अब विद्यालय बन्द गरेर यार्सागुम्बा संकलन गर्न नपाउने। विगतका वर्षहरुमा विद्यालयको पठापाठन ३ महिनासम्म अवरोध हुन थालेपछि यो वर्ष गाउँपालिकाले पाटन जाने विद्यार्थीको तातीलाई रोक लगाउन खोजेको हो। पातरासी गाउँपालिका अध्यक्ष लक्षिमान बोहोरा विद्यार्थीको भविष्य प्रति चिन्तित भएर निर्णय गराए। त्यसबेला उनले भने, 'तीन महिना पाटन बस्दा ५० हजार कमाइ हुन्छ। तर, नियमित अध्ययन गरे भविष्य बन्छ।’
घोषणा गरेर मात्र केही नहुँदो रहेछ। केहीले माने पनि अधिकांशले गाउँपालिकाको निर्णय मानेनन्। विद्यालय खाली भए। धेरै विद्यार्थी निश्चित उद्धेश्य बोकेर पाटन जाने हुनाले उनीहरुलाई रोक्न नसकिएको बताउँछन् ऋणमोक्ष माद्यामिक विद्यालयका शिक्षक दत्त महत।
विद्यार्थी मुलत घरका आवश्यकता पूर्तिका लागि पाटन जान्छन्। जस्तो, जाडोमा ट्यूसन पढ्ने पैसाको जोहो गर्न, आफ्ना दैनिक आवश्यकता पुरा गर्न आदि। यसका अलवा कति फेसनका वस्तु उपभोग गर्न र महंगा मोवाइल खरिद गर्ने लालसाले पनि पाटनसम्म पुग्छन्। बा-आमाको कमाइ राम्रो हुनेहरु हिजो पनि जाँदैनथे र आज पनि गएका छैनन्। 'जो कमजोर आम्दानी हुनेहरू छन् उनीहरुको लागि केही स्किम गाउँपालिकाले ल्याएको भए सायद विद्यार्थी रोक्न सकिन्थ्यो कि ?' महतले भने।
कति पाटनबाट फर्किएपछि स्कुल जाँदैनन्। पैसा धेरै हुने हुनाले त्यसैमा भुल्छन्। रक्सी पिउन सिक्छन्। जुवाको लत बस्छ र बिग्रन्छन्। आफूले कमाएको सबै सकाउँछन्। त्यसका अलवा अरू ऋण लगाउँछन्। आउने वर्ष यार्सागुम्बाका ठेकेदारको लागि यार्सा संकलन गरिदिने सौदा गर्छन्। ठेकेदारका बँधुवा मजदुर बन्छन्। पालिका अध्यक्ष बोहेराले भनेजस्तो ५० हजारको लोभमा भविष्य बर्वाद हुन्छ।
विगतमा विद्यालयका शिक्षक पनि जान्थे यो वर्ष शिक्षक विद्यालय कुरि बसेका छन्। गाउँपालिकाका कार्यकारी अधिकृत टेक बहादुर बुढथापा विद्यालय बन्द हुँदा कोर्स नसकिने हुनाले गाउँपालिकाले यार्सा टिप्न विद्यालय छोड्ने संस्कारलाई निरुत्साहित पार्न यस्तो निर्णय लिनुपरेको बताउँछन्।
उनले भने, ‘यहाँको शैक्षिक अवस्थालाई सुधार्न बालबालिकालाई पाटन लैजाने चलनमा रोक लगाएका हौं।’ तर गाउँपालिका हार्यो।
गाउँपालिकाको उपाय काम लागेन। आदेश मानेर यार्सा टिप्न नगाएकालाई घाटा लाग्यो। विद्यालयको पढाइले पनि गति लिएको छैन। अब के गर्ने अर्को दोधार त बाँकी नै छ। तर केही विकल्पबारे अहिने नै छलफल हुन जरूरि छ। विद्यालयका प्रयोगात्मक कक्षाहरु पाटनमा सञ्चालन गर्ने पनि एउटा विकल्प हुन सक्छ। यर्सा संकलन र उपयोगिताबारे पाटन जानेबेला यसबारे कक्षा संचालन गरेर दैनिकी बनाउन लगाउने र त्यसैलाई फर्कीला प्रस्तूत गर्न पा रिपोर्ट बनाउन लगाउने वा त्यस्तै अन्य उपाया लगाएर त्यो समयमा आम्दानी पनि हुने र सिकाइ पनि हुने गरि वातावरण मिलाउन सके कस्तो होला? प्रकृति, यहाँका हरेक वस्तु आदिको विषयमा अध्ययन गर्नु, रहस्य खोज्नु पनि ज्ञान निर्माणका माध्यम हुन्।
यसो गर्दा विद्यार्थीको निगरानी हुन्छ र उनीहरु कुलतमा लाग्ने सम्भावना पनि कम हुन्छ। होइन कुनै पनि हालतमा विद्यार्थी रोक्नुपर्ने तर्क हो भने गाउँपालिका वा सरकारी निकायबाटै अभिभावकको आम्दानीको दायरा फराकिलो हुनेगरि वातावरण मिलाउनु पर्छ।
घर ताला लगाए यार्सागुम्बा संकलन गर्न जाने जुम्ला चौधविस क्षेत्रका नागरिक बढी छन्। कतिको जीवनस्तर यर्सागुम्बाले बदल्यो। कति राम्रा व्यापारी भए। कतिले जुवा खेलाएर धन कमाउन जस्तो कार्य पनि गरिरहेका छन्। कतिले जुवातास खेलेर आफ्नो समय, श्रम र सम्पत्ति सकाइरहेका छन्। आर्जीत आम्दानी उपभोगमा खर्च भैरहेको छ। महंगा इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा दुख गरेर कमाएको रकम विदेशसम्म पुग्छ र यहाँ केही रहँदैन। विदेश गई कमाएको रकम विदेश अनि स्वदेशमै कमाएको रकम पनि विदेश जान थालेपछि जिनेदगीले लय समाउने कुरै आएन।