नेकपा (एमाले)काे तर्फबाट मुगुका प्रतिनिधि सभा सदस्यकाे उम्मेदवार हुन्, राजु कार्की। लामाे समयदेखि राजनीति र सामाजिक कार्यमा सक्रिय उनी मुगुका प्रभावशाली युवा नेताका रूपमा स्थापित छन्। कुनै पदीय जिम्मेवारीमा नरहँदा पनि मुगु र समग्र कर्णालीकाे विकास लागि काम गर्दै आएका उनी आगामी मंसिर ४ मा हुने निर्वाचनकाे दाैडमा छन्।
चुनाव जितेर संसदमा छिर्दै मुगालीवासीकाे समस्या राज्यकाे माथिल्लाे तहमा पुर्याएर उचित नीति निर्माणसँगै समस्या समाधान गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका कार्कीले बिएल नेपाली सेवासँग आफ्ना याेजना तथा मुगुकाे मुहार फेर्नकाे लागि गर्न सकिने सम्भावनाबारे बताएका छन्।
कर्णाली, कर्णाली माथिको पनि मुगु। राज्यबाट पिछाडिएकाे, विकास निर्माणदेखि भाैतिक निर्माण पूर्वाधारमा पनि निकै पछाडि छ। हाल पनि समग्रमा हेर्दा कर्णाली प्रदेशका १० जिल्लामा मुगु जिल्ला निकै पिछडिएकाे छ। बजेटका हिसाबले पनि अहिले तपाईंले रातो किताब हेर्नुभयो भने पनि वा बहुदलका किताब हेर्नुभयो भने पनि अन्य जिल्लाको तुलनामा हाम्रो जिल्लामा बजेट कम छ। जसको मुख्य कारण राजनीतिमा कम पहुँच भएर हो। राजनीतिको पहुँच हाम्रो ठाउँमा पुगेन। हाम्रोमा लिडरले राजनीतिक पहुँच पुर्याउन सकेनन्। हामी भन्दाका अग्रज वा दाइ–साथीहरूले राजनीति त गर्नु भएकाे हो, प्रयास पनि गरिराख्नु नै भएको होला तर रिजल्ट नै निस्किएन। अब भने हामी रिजल्ट निकाल्ने गरी जादैछौँ।
मैले मुगु जिल्लामा गर्नुपर्ने धेरै केही पनि छैन। सानो जनसंख्या छ, भूगोल ठुलो छ। हामीले भूगोलको विकास गर्ने होइन, जहाँ मान्छे बसेका छन् त्यहाँ विकास गर्ने हाे।
अर्काे दीर्घकालीन रुपमा हेर्ने हो भने बाटो होला, शिक्षा होला, स्वास्थ्य होला, सामाजिक क्षेत्रमा काम गर्नुपर्ने हाेला र उनलाई दैनिक रुपमा काम गनुपर्ने, उनीहरूको रोजीरोटीको लागि केही गर्नुपर्ने होला रोजगारका कुरा आउँलान्। उनीहरूकाे आवश्यकताकाे परिपूर्तिको कुरा आउँछ। मलाई लागेको के हाे भने धेरै ठुलो आवश्यकता पनि छैन, त्यहाँका जनताको। १५ वर्षीय आयोजना हेर्दा, १९ वटा राष्ट्रिय आयोजना हेर्दा कर्णालीमा एउटाले पनि छोएको छैन। त्यसमाथि मुगु छुने कुरा नै भएन।
हाम्रो भूगोल कठिन र कठोर छ। तर, विश्वमा नेपालमा भन्दा कठिन भूगोलहरू पनि छन्, त्यहाँ विकास भएकै छ। भनेपछि, हाम्रो जस्तो ठाउँमा विकास गर्न अप्ठ्यारो त होइन तर के हो भने अपर्याप्त बजेट र सरकारका जुन नीतिहरू छन् राज्यको ७७ वटा जिल्लामा नै एउटै छन्। तर, कर्णालीकाे लागि छुट्टै नीति चाहिन्छ। काठमाडौंमा हामी बाह्रै महिना काम गर्न सक्छौँ, कर्णालीमा ६ महिना मात्र काम गर्न सकिन्छ। तर, काठमाडाैँ र मुगुकाे नीति एउटै छ।
हाम्रा बालबालिकाले ६ महिना मात्र पढ्न पाउँछन् तर काठमाडौँ वा सहरी क्षेत्रका बच्चाहरूसँग प्रतिस्पर्धा गर्नुपर्छ। लोकसेवा आयोगलगायतका अन्य प्रतिस्पर्धामा जाँदा दुबै ठाउँका बच्चा एकै ठाउँमा राखेर काम गर्नुपर्छ। त्यसकारणले पनि कहीँ न कहीँ नीतिमा ल्याकिङ भएको छ। त्यसैले नीति चेञ्ज गनुपर्छ।
उदाहरणका रुपमा पर्यटन क्षेत्र लिउँ, एउटा टुरिष्ट डोल्पा वा रारा जानुपर्यो भने त्यसलाई हवाई टिकट साह्रै महङ्गाे छ। चितवनमा एक महिना खान बस्न पुग्ने पैसा उसको कर्णाली जाँदा हवाई टिकटमा नै सकिन्छ भने राज्यको नीति चाहिँ जो चितवन वा पोखरासँग छ, त्यही पोलिसी हुम्ला, जुम्लामा छ। एउटा टुरिष्ट डोल्पा आउन–जान एक लाख त हवाई टिकटमा सकिन्छ भने राज्यको पोलिसीमा केही न केही कमी छ। त्यसकाराण केही सुधार गर्नुपर्छ।
मैले आफूले जितिसकेपछि सामान्य मुगालाी जनताहरूलाई प्रष्ट भन्ने के हो भने, स–साना आयोजनामा मेरो ध्यान पुग्दैन। स्थानीय निकाय छन्, ती सबै निकायले गर्ने काम हो। त्यो भन्दा अलि ठुलो कामहरू प्रदेश सरकारले गर्ने हो। मैले अलि त्यो भन्दा ठुला आयोजनाका काम गर्ने हो। साना, मझौला मात्रै हाेइन मैले ठुला आयोजनामा के काम गर्न सक्छु त्यही काम गर्ने हो। हाम्रो काम एक टिम वर्क हो। एक्लैले गर्ने होइन। भोलि हामी जस्तै एउटा समानुपतिकबाट आउलान्, हाम्राे पार्टीबाट आउलान्, जे गरे पनि मिलेर गर्ने कुरा हो। कर्णालीका अन्य जिल्लाहरूबाट पनि म जस्तै साथीहरू आउलान् एउटै टिमवर्कमा काम गर्ने हो। कर्णाली होस् या मुगु होस् राष्ट्रिय गौरवका आयोजनाहरूले छुनु पर्यो। यसले मात्रै कर्णाली र मुगुका जनताहरूको मुहार फेर्न सकिन्छ।
एक करोड, डेढ करोड, पाँच करोडले हुँदैन। मैले अघि नै भनिसकेँ एकदम भूगोल कठिन छ। काठमाडौँमा एउटा इट्टा पुर्याउन १५ रुपैयाँ पर्छ भने कर्णालीमा ६० रुपैयाँदेखि ७० रुपैयाँसम्म पुग्छ, भनेपछि अब हामीले कसरी विकास गर्न सक्छौँ ? बजेट बाँडफाँट गर्दा काठमाडौँको भन्दा १०० गुण कम बजेट छुटाइएको हुन्छ भने कसरी विकास गर्न सकिन्छ त ? तर, राज्यकाे नीति निर्माणकाे तहमा पुग्नु भएकाले त्याे बुझ्नु भएन्। भाेलिका दिनमा जाे राज्यका नीति निर्माण तहमा पुग्नु हुन्छ उहाँहरूले पनि त्याे न साेच्ने हाे भने कर्णाली जहिले पनि पीडामै हुन्छ। गरिब नै रहन्छ।
वास्तवमा हेर्ने हो भने हामी गरिब छैनाैँ। ठुलो भूगोलमा सानो जनसङख्या छ, हामीले विकास गर्ने भनेको त्यही हो। यसका साथै समग्र देशको अवस्था यस्तै छ। तर, पनि मानव विकास सूचकाङ्क हेर्ने हो भने शिक्षा, स्वास्थ्य क्षेत्रमा सबैभन्दा पछाडि पारिएको कर्णाली हो। त्यसमाथि मुगु अझ १० वटा जिल्लामा पनि पछि परेको छ। त्यसैले त्यो माथि उकास्नको लागि मेलै देखेँ कहीँ न कहीँ प्रदेश सरकारले एक ढङ्गले याेजना बनाएको छ।
अब हिमाली अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पर्यो भने अपर मुगुमा किन नबनाउने ? त्यो ठाउँमा त्यत्रो भूगोल छ। ढोरपाटन आरक्षण हुन्छ भनेपछि किन अपर मुगु वा अपर मुस्ताङमा हुन सक्दैन ?
आखिर त्यहाँ कोही न कोही स्थानीय, जङ्गली जनावरहरू त तल/माथि परेकाे छ। हामीले त्यसमा राज्यको कर लिएर सिकार आरक्षंण बनाउन सकिन्छ। मैले पनि के भनेँ भने मुगुको वास्तविक मुहार फेर्ने भनेको हामीले रारा बेच्नै पर्छ। रारालाई सेल गर्नको लागि हामीले रारामा पूर्वाधार निर्माण गर्नुपर्छ। अहिले रारामा राम्रो होटल छैन, न मनोरञ्जनका साधन छन्। रारा गयो पाँच मिनेटमा सकिन्छ। हामीसँग के छ त ? केही क्रियाकलाप नै छैन। त्यसका लागि केही हुनु पर्यो। लजिङ फुडिङको राम्रो व्यवस्था हुनुपर्यो। त्यसै प्रकारको म्यानपावर हुनु पर्यो। त्यही प्रकारकाे हर्स राइडिङ, बोट चलाउने, फिसिङ गर्ने व्यवस्था मिलाउनु पर्छ अनि बल्ल राराको विकास हुन्छ। नीति निर्माण तहमा हामी पुगिसकेपछि रारा क्षेत्रलाई पर्यटकीय हिसाबले विकास गर्न सक्छाैँ।
मेरो हिसाबले रारामा दुई काम गर्न सकिन्छ। एउटा रारादेखि मुर्मटारसम्म केबलकारको बन्दबस्त गर्न सकिन्छ। केबलकार भएपछि बालकदेखि वृद्धसम्म जाे पनि मुर्मटारसम्म जान सकियो। मुर्मटारबाट कर्णालीका ९ वटा जिल्लाकाे अवलाेकन गर्न सकिन्छ। त्यहाँबाट सैपाल हिमालको दृश्य तथा राराको दृश्य देख्न सकिन्छ।
मेलै देखेको त्यहाँ इलेक्ट्रिसिटिको समस्या छ, बिजुली नहुँदा धेरै कुरामा समस्या छ। मैले त्यहाँ वायु इनर्जीको सम्भावना देखेको छु। अहिले दुई दिन पानी पर्ने हो भने समस्या छ। त्यसैगरी त्यसमा वायुइनर्जी जोड्ने हो भने समस्या समाधान हुन्छ। जसको लागि सम्भावना भएको एउटा किम्रीमा र अपर मुगुमा देखिन्छ। जहाँ बिहानदेखि बेलुकासम्म हावा चल्छ। त्यसैगरी मुगुका पनि चार गाउँपलिकामा यसकाे सम्भावना रहेकाे छ। जसमा छायानाथ रारा गाउँपलिका, मुगुम कार्मारोङ, सोरु तथा खत्याड गाउँपालिका हो। मलाई लाग्छ खत्याडको स–साना आयोजनाहरू स्थानीय सरकारबाट वा गाउँपालिकाबाट भइरहेका छन्। अब सङ्घीय आयोजना यस्तो एउटा चाहिएको छ कि रारामा भएको पानीबाट ओभरफ्लो भएको एक्जिटबाट रौंयासम्म ठुलो एउटा तटबन्धन भनेर एउटा आयोजना गर्न सकेयौँ भने अहिलेको ११ वटै वटा कभर गर्दछ।
अहिलेको अवस्थामा हेर्ने हो भने बाढी पहिरोका कारण त्यस आसपासमा रहेका जति पनि खेतीयोग्य जमिन, धानहरू बगाएर पीडामा छन्। जसको बारेमा राज्य सिरियस भएर सोच्नुपर्ने हो। तीन/चार दिनअघि परेको अविरल वर्षाका कारण सयौँ हेक्टर जमिन र सयौँ क्विनटल धान क्षति भएकाले अहिले मुगुमा भोकमरी हुने अवस्था छ। यदि तटबन्धन राम्रो हुँदो हाे भने खत्याड खोलाले त्यति धेरै क्षति गर्ने थिएन। म भन्छु कि एउटा आयोजना यस्तो होस् कि ११ वटै वडालाई खत्याड गाउँपालिकाले जोड्ने। त्यो चाहिँ खताडी खोला तटबन्ध आयोजना हो, जो एक मल्टिपरपोज पनि होस्। खोला किनारमा माछा पालन गर्न पनि सकिन्छ।
त्यसैगरी छायानाथ रारा गाउँपालिकामा रारा आसपासकाे क्षेत्र भएकोले स्मार्ट भिलेज सञ्चालन गर्न सकिन्छ। जसको लागि सरकारले याेजना पनि निकालेको छ। मलाई लाग्छ स्मार्ट भिलेज अन्तर्रगत मोरमा गाउँ, कार्की डाँडा हुन सक्छ। भाम डाँडा पनि हुन सक्छ यी छायानाथ रारा गाउँपलिकामा पर्ने यी चार गाउँ स्मार्ट भिलेजको रुपमा डेभलप गर्न सक्छौँ। पर्यटकहरू त्यहाँ आउँदा ती टिपिकल भिलेजहरू एउटा आर्कषक बन्न सक्छ।
त्यसैगरी कृषिको क्षेत्रमा हेर्ने हो भने हाम्रोमा प्रदेश सरकारले आयोजना त भन्यो अर्गानिक जोन भनेर तर अर्गानिक जोनको लागि के–के पूर्वाधार चहिन्छ भन्ने हिसाबले सोचेको छैन। अझ अर्गानिक जोनभित्र पनि टुरिष्ट गएर अर्गानिक जोन कहाँ हो त भनेर हेर्न लायक ठाउँहरू बनाउन पर्यो। ती गाउँहरू पत्ता लगाएर सम्भावयता अध्ययन गर्नु पर्यो।
अहिले हामी सरर... रारा र फोक्सुण्डाे गएर हेर्यो फर्कियो, यस्तै भएको छ। भनेपछि हामीसँग एक्टिभिटी छैन। ती एक्टिभिटी टुरिजम क्षेत्रमा बढाउन सक्यो भने कर्णाली पाल्ने राज्यको लागि एउटा राम्रो राजश्व संकलन गर्ने केन्द्र बन्न सक्छ। यो हामी सधैँ गरिबी–गरिबी भनेर बसेका छौँ, अब गरिब भन्ने शब्द नै हटाउनुपर्छ। कर्णाली अब गरिब छैन, त्यहाँका मानिसहरू गरिब छैनन्। कर्णालीका मानिस काठमार्डौं आउन अपडाउन गर्न उनीहरूसँग पचाँस हजार तिर्न सक्ने क्षमता छ भने कसरी गरिब हुन्छ ? जहिले पनि गरिब–गरिब भनेर हुमिलेट फिल गराउने ? कर्णालीका मान्छेप्रति नराम्रो दृष्टिकोण हटाउन पर्छ भन्छु, म।
अर्को चाहिँ मैले देखेको के भने हाई अल्टिटिउड राम्रो खालको प्ले ग्राउण्ड अथवा रङ्गशाला मुगुकाे भाम गाउँमा हुन सक्छ। जहाँसम्म चौर छ, जहाँ विदेशी पर्यटक गएर मज्जासँग सयर गर्न सकुन्, अथवा गेम खेल्न सकुन्। जसमा विभिन्न खेलहरू हुन्छन्। एउटा चाहिँ मैले हाई अल्टिटिउडमा गएर गेम खोलेभन्दा विदेशी तथा स्वादेशीले गर्व गरोस्।
हामीहरूले ती ठाउँको विकास गर्नुपर्छ। अर्काेतिर बस्ती विकास, मैले भने नि हामीसँग पर्याप्त भूगोल छ। भूगोलका आधारमा बस्तीहरू छरिएर रहेका छन्, छरिएर बसेको बस्तीलाई विकास गर्न खोज्यौँ भने वास्तवममा आर्थिक अभावका कारण सम्भव छैन। कहीँ १५ कहीँ २० घरका बस्ती छन्। त्यो ठाउँमा बाटो मात्र पुर्याउन करोडौँ रुपैयाँ लाग्छ, भनेपछि ती बस्तीलाई व्यवस्थित गर्न एकीकृत बस्ती बनाउन एक सुरक्षित ठाउँमा सिफट गर्नैपर्छ। जसलाई नमुना बस्तीको रुपमा होस्। आफ्नाे बाजेदेखि बसेको ठाउँ छोडन् मन त लाग्दैन तर के हो भने उनीहरूले नियमित रुपमा आफ्नाे खेती त गर्न सक्छन् तर बस्तीको लागि हो भने हामीले सुरक्षित ठाउँमा सिफ्ट हुनैपर्छ, अनि मात्रै कर्णालीको विकास छ।
हाम्रो चारै वटा पालिकामा सुरुमा विद्यालयहरूमा डिजिटल प्रविधि प्रायोग गराैँ। सुरुमा खत्याडको दुई वटा स्कुलमा डिजिटलाइज गराैँ। एकैचोटी सम्भव छैन तर हामीले स्याम्पलिङकाे रुपमा हुन्छ कि या कहाँ हो त सम्भावना जहाँ बत्ती छ जहाँ अन्य पूर्वाधारको विकास गराैँ। सम्पलिङको लागि चारै वटा पाालिकाको छ वटा स्कुलमा स्याम्पलिङका रुपमा डिजटिल क्लस या डिजिटल जोन सुरू गर्नै हो भने राम्राे हुन्छ।
हाम्रा मान्छेसँग पैसा छ तर जुत्ता छैन। मानौँ ऊसँग जिन्सी छैन तर चामल छ त्यो साटासाट गर्ने। पहिलाको जस्तो चामल दिएर नुन राख्ने। यस खालको सामान एक्सेञ्च गर्ने। यसकाे सहकार्य गाउँपालिकाको केन्द्रमा हुनु पर्यो। जसलाई गाउँपालिकाले नै व्यवस्था गरोस् ताकि क्यास हुनु पर्दैन मसँग मकै भए पनि हुन्छ, कोदो भए पनि हुन्छ। मलाई कुनै पनि समान आवश्यक पर्यो भने आफूसँग भएको सामान दिएर आफूलाई चाहिएको सामान लिन सकियोस्। यस्ताे खालकाे विकास गर्न या यस्ता खालका पसल सञ्चालन गर्न सहकारी पसलहरू पनि मैले जरुरी देखेको छु।
(प्रतिनिधि सभा सदस्य उम्मेदवार राजु कार्कीसँगकाे कुराकानीमा आधारित)
भिडियाे: