स्नेहले भरिएकी स्नेहा, जसले कुकुरहरूकाे स्याहारमा जीवन बिताइरहेकी छिन् (भिडियोसहित)

ममता आचार्य

काठमाडौं

स्नेहा श्रेष्ठकाे जारासँग न माया थियो, न कुनै स्नेहा। आज-भोलि गर्दै दिनहरु बित्दै थिए। खै कहाँबाट ऊसँग गहिरो प्रेम बस्याे ? थाहा छैन। उनी अफिस र घर गर्दै आफ्ना दिनहरु बिताउँथिन्। जारा, उनको सबैभन्दा नजिकको र सधैंको खेल्ने साथी बन्न पुग्यो। उनी अफिसबाट घर कतिबेला आउँछिन् भन्दै बाटो कुर्दै बस्ने जारा उनी गेटमा आउने बित्तिकै कुदेर भेट्न आउथ्यो। यसरी चलिरहेका थिए, जाराका दिनहरु।

एक दिनको कुरा हो, उनी घरमा आउँदा जारा भेट्न आएन। उनको मनमा धेरै प्रश्नहरु उब्जन थाले, किन आएन जारा ? जब उनी गेटभित्र छिरिन् तब छट्पटाइरहेको अवस्थामा जारालाई देखिन्, अनि चिच्याइन् जारा जारा...।

जारा, उनको घरमा पालेर राखिएको कुकुरको नाम हाे। जोसँग उनको पहिले कुनै माया थिएन। जब जारासँग खेल्न, घुम्न र समय बिताउन थालिन् कहिले ऊसँग प्रगाढ माया बसेछ थाहा नै भएन।

घरमा पालिएकाे कुकुरले ‘डिस्टर्ब’ गर्‍याे भन्दै छिमेकीले हटाउन भनेका थिए। तर, उनले घरको सदस्य भएर बसेको जारालाई लखेट्न कहाँ सक्थिन् र। स्नेहा कामबाट जब घर आउँदा जारालाई छट्पटाइरहेको देखिन्, उसको छेउमा विषको दुर्गन्ध आएको महसुस भयो। अनि थाहा पाइन् छिमेकीले कुकुरलाई विष छर्किदिएका रहेछन्। उनले उपचारको लागि तत्काल अस्पाताल लगिन्। हरप्रयासको बाबजुद पनि जारालाई फर्काएर ल्याउन सकिनन्। जारा सदाका लागि बिदा भयाे।

०००

माया गरी घरमा पालेर राखेकाे कुकुरकाे निधन भएपछि स्नेहा भावुक बन्दै गइन्। घरमा पालेर राखिएको एउटा कुकुरले त बाँच्न नपाउने रहिछ भने झन अरू बेसहारा कुकुरले कसरी आफूलाई बचाइरहेको छन् होला ? उनकाे मनमा उब्जिएकाे प्रश्नले मनमा खैलाबैला मच्चियाे। त्यसपछि उनले सडकमा भेटिएका कुकुरहरूलाई ज्यादा माया गर्न थालिन्, खानेकुराहरू दिन थालिन्। कतै बिरामी र घाइते कुकुर भेटिए भने आफैंले बोकेर गाडीमा राखेर उपचार गर्न लैजान थालिन्।

‘पहिले कुनै जनावरहरुलाई माया गर्ने मान्छे थिइनँ म र उनीहरुलाई हानी हुने काम पनि गर्दिन्थेँ। जब मेरो घरको कुकुर बित्यो। मलाई उसले सबै जनावरप्रति माया गर्नुपर्छ भन्ने कुरामा प्रेरित गरायाे,’ स्नेहाले बिएल नेपाली सेवासँग भनिन्।

०००

यसरी स्नेहाले बाटाेमा भेटेका कुकुरहरूकाे उद्दार गर्दै जान थालिन्। तिनीहरूको संख्या दिन प्रतिदिन बढ्दै गएकाे थियाे। उनले एक महिनामै ४०/५० वटा कुकुरहरूकाे उद्दार गरिन्। उनी ती कुकुरहरूलाई घरमा ल्याएर राख्न चाहन्थिन् तर सम्भव थिएन। ‘मैले प्रत्येक दिन २५० रुपैयाँ तिरेर एउटा क्यानलमा उनीहरूलाई राखिदिएको थिएँ। एकदिन मेराे मनमा साेच आयो म जस्तै जनावरहरूलाई माया गर्नेलाई मैले प्रेरित गर्नुपर्छ। मैले जतिलाई उद्दार गरेकी छु। तिनीहरूलाई एउटा घर बनाएर राख्छु,’ स्नेहाले भनिन्।

त्यसपछि सन् २०१४ मा उनले कुकुरहरूकाे लागि घर बनाइन्। त्यसकाे एक वर्षपछि सन् २०१५ मा कुकुरहरूकाे स्याहारकाे लागि ललितपुरकाे भैंसीपाटीमा स्नेहाले सुरू गरिन्, स्नेहाज् केयर।

स्नेहाज् केयरमार्फत् स्नेहाले कुकुरहरूकाे स्याहार गर्न थालिन्। उनले साेही नामबाट फेसबुक पेज पनि खाेलिन्, जहाँ कुकुरहरूप्रति प्रेम दर्शाउनेहरू जाेडिन थाले। उनले त्याे पेजमा कुकुरहरूसँग सम्बन्धित गतिबिधिहरू पाेष्ट गर्थिन्, त्यस्ता पाेष्टहरू हेर्नेकाे संख्या दिनप्रति दिन बढ्दै गयाे। याे काम गरेमा उनलाई सामाजिक सञ्जालमै धन्यवादका म्यासेजहरू आइरहन्थे। कहीँकतै कुकुरहरू विरामी, घाइते भएकाे देख्ने बित्तिकै मानिसहरूले स्नेहालाई खबर गरिहाल्थे। स्नेहा पनि तत्काल कुकुरकाे उद्दारमा खटिन्थिन्। त्यसपछि स्नेहाज् केयरमा कुकुरहरूकाे संख्या बढ्याे। सुरूमा ४०/५० वटा मात्रै कुकुर रहेका यहाँ अहिले २/३ सयकाे हाराहारीमा कुकुरहरू छन्।


फालिएका काठका टुक्रामा भेटिएको खुसी (भिडियाेसहित)


अधिकांश जनावरहरू मानिसकै कारण दुखद अवस्थामा पुग्ने गरेकाे उनी बताउँछिन्। कुकुरमाथि एसिड र तातोपानी खनाइएको, गाईले बाली खायो भनेर तातो अलकत्र र बन्चराेले प्रहार गरेको, कुनै मासु खाना भनि तयार पारेर भैँसी, खसी र सुङगुर राखिएको, कुनै जनावर गाडीमा राखेर ल्याउँदा मापदण्ड नपुर्‍याउँदा घाइते भएको, गाई पालेर दुध खान खोज्ने अनि त्यही गाईको बाछाहरुलाई छाडा छोडिदिएको जस्ता जनावरमाथिकाे ज्यादती उद्दारकाे क्रममा देखेकाे स्नेहा बताउँछिन। ‘यसरी जनावरमाथि हिंसा हुँदा नरमाइलो लाग्छ। जनावरको लागि पनि हत्या हिंसा रोक्ने कानुन बन्न जरुरी छ,’ उनले भनिन्।

बेसहारा जनावरकाे सहारा बन्न पाउँदा गर्व महसुस

सुरूका करिब दुई वर्षसम्म स्नेहाले आफ्नै खर्चमा कुकुरहरूकाे स्याहार गरिन्। बिस्तारै उनकाे कदमकाे प्रसंसा गर्दै धेरै सहयाेगी हातहरू अगाडि बढे। अहिले धेरै मानिसहरूकाे साथ सहयाेग छ, स्नेहालाई। यहाँ केहीले आर्थिक सहयाेग गरेका छन् भने कतिपय मानिसहरू दिनहुँ खानेकुरा बाेकेर आउने गर्छन्।

‘अहिले हामीलाई धेरैले सहयाेग गर्नुभएकाे छ। कतिले कुकुरहरूलाई खाजा बोकेर आउनुहुन्छ। हामीले यिनीहरुलाई समय दिन सकिरहेका हुँदैनौँ, कतिजना आएर बाहिर लगेर खेलाउने गर्नुहुन्छ,’ स्नेहाले भनिन्।

स्नेहाले कुकुर संरक्षणकाे अभियान सुरू गर्दा राज्य र मानिसहरूकाे जनावरहरूलाई हेर्ने दृष्टिकाेण फरक थियाे। जनावरहरूका कुरा प्रहरीले पनि सुन्दैन थियाे। तर, अहिले भने उनकै पहलमा धेरै परिवर्तन आएकाे छ। ‘त्यतिबेला जनावरका कुनै केसको सुनुवाइ हुँदैनथ्यो। पुलिस स्टेसनमा गयो कसैले कुरा सुन्दैन्थे। जाबो जनावरको हो भन्दिन्थे, नमज्जा लाग्थ्यो। हाम्रो देशमा पशुपन्छीकाे कानुन नै नबनेको देख्दा,’ स्नेहाले भनिन्,‘अहिले त धेरै परिवर्तन आएको छ। पहिलेकाे तुलानामा भन्दा आज जानवरप्रतिको कुनै कुरा लिएर गयौं भने कम्तिमा पनि सुनिदिने भएको छ।’

अहिले त जनावरहरूकाे कानुन बन्नुपर्छ भनेर धेरैले आवाज उठाउन थालेका छन्, जनावरहरूकाे संरक्षणकाे लागि धेरै संघ संस्थाहरू खुलेका छन्। धेरै मानिसहरूले सडकमा कुकुरहरूलाई खानेकुरा दिन थालेका छन्। पहिलाकाे तुलनामा भन्दा अहिले यतिसम्म पनि हुनु धेरै खुसीकाे कुरा भएकाे उनी बताउँछिन्।

दुखद अनुभव

स्नेहाले स्नेहाज् केयर खाेलेकाे ठाउँमा पहिला बस्ती थिएन। सुनसान थियाे, उनीहरू आफैलाई बस्न पनि डर हुथ्याे। तर, यहाँ बिस्तारै बस्ती बढ्दै गयाे। जब बस्ती बढ्याे तब स्नेहाकाे तनाव पनि बढ्याे। अहिले याे ठाउँ खाली गर्न भनेर दबाबसमेत आउन थालेकाे उनी बताउँछिन्।

‘हामीलाई ललितपुरका २ वटा वडाबाट यो सेल्टरका जनावरहरुले हामीलाई बाधा पुर्‍यायाे ठाउँ खाली गर भनेर निवेदन पठाएका छन्,’ स्नेहाले सुनाइन्,‘मैले यिनीहरूले भन्ने बित्तिकै कहीँ लैजान सम्भव छैन। मैले महानगरसँग एउटा जग्गा उपलब्ध गराउन भनेको छु। जग्गा मिल्छ भने म यहाँ खाली गरिदिन्छु। तर, नमिलेसम्म चाहिँ लैजान सक्दिनँ।’

स्नेहालाई ललितपुर महानगरपालिकाले लकडाउनकाे बेला सहयाेग गरेकाे थियाे। अहिले पनि एउटा भेटेनरी एम्बुलेन्स दिएकाे छ। त्यसैले महानगरले सही व्यवस्थापन गरिदिनेमा उनी आशावादी छिन्। तर, केही समयअघि एक वडा अध्यक्षले सबै कुकुरलाई विष खुवाएर मार्नुपर्छ भनेर दिएकाे अभिव्यक्तिले सशंकित भएकाे उनी बताउँछिन्।

सबैले आफूले पालेका जनावरहरूकाे हेरचाहा र पालन/पाेषणकाे जिम्मेवारी आफैंले लिनसमेत उनले आग्रह गरिन्। ‘हामी मान्छे पनि शक्त हुँदा सबै काम ऊर्जाका साथ गर्न सक्छौँ। जब अशक्त हुन्छौँ हाम्रो शरीर पनि कमजोर हुँदै जान्छ। र, केही गर्न सक्दैनौँ। अनि हामीलाई पनि बेसहारा बनाएर घरबाट मिल्काइदिने ? त्यो गर्न सक्छौ त कसैले ? गर्दैनौँ नि। हो, हरेक प्राणीलाई पनि आफ्नो ज्यानको माया उत्तिकै हुन्छ नि होइन र ?,’ स्नेहाले भनिन्, ‘यो कुरा सबैले बुझ्नपर्छ र जरूरी पनि छ। जनावरको लागि पनि बलियो कानुन बनोस्। कोहीले उनीहरूमाथि क्रुर व्यवाहार गरेको छ भने हामीले कारबाहीको माग गर्न सकाैँ।’

त्यस्तै अहिले स्थानीय तहहरूमा प्रयाप्त बजेट भएकाेले सामुदायिक पशुपन्छीकाे संरक्षणकाे लागि पनि रकम छुट्याउनुपर्ने उनकाे भनाइ छ।

-अर्काइभबाट

प्रकाशित मिति: : 2024-10-31 07:20:00

प्रतिकृया दिनुहोस्