चिटिक्क सजाएर राखिएका सामानहरूले तपाईं हामी जाे काेहीलाई पनि छिट्टै माेहित बनाउँछन्। प्राकृतिक रुपले सजिएकाे हाेस् वा मानवीय सजावट, हामीले कहीँ कतै घुम्न जाँदा देख्याैँ भने भनिहाल्छाैँ,‘आहा ! क्या दामी।’
अझ सामान्य वस्तुलाई पनि अनेकाैँ आकृतिमा परिणत गरेर अनाैठाे तरिकाले बनाइएका कुनै सुन्दर सामानहरु देख्दा हामी अचम्मित भइहल्छाैँ। हाम्राे मन लाेभिहाल्छ। यसरी सबैको मन लाेभ्याउने गरी काठमाडौँको सोह्रखुट्टेस्थित मेहनती कलामा राखिएकाे छन, अनेकाैँ सामानहरू।
मुख्यत: काठकाे प्रयाेग गरी बनाइएका विभिन्न सुन्दर सामानहरूले सुशाेभित छ, मेहनती कला। यहाँ काठलगायतबाट बनेका ऐना, भित्ते घडी, टेबल, ह्याङगर, सेल्फ टेबललगायतका सामानहरू बिक्रीकाे लागि राखिएकाे छ। बाटाेबाटै देख्दा निक्कै आकर्षक देखिने मेहनती कलाले दैनिक धेरै मानिसहरूलाई आकर्षित गरिरहेका हुन्छ। यहाँ आउने मानिसहरू यी सामानहरू देखेर अचम्मित हुने गर्छन्। यसरी सबैलाई आकर्षित गर्ने गरी यी सामानहरू सजाउने सिर्जनशील मिहेनेती हुन्, रमेशकुमार श्रेष्ठ।
रमेश कलाप्रति निक्कै माया भएका व्यक्ति हुन्, जसले खेर जाने अवस्थमा रहेका काठका टुक्राबाट अनेकाै सुन्दर वस्तुहरू बनाउँछन्। रमेशले केही समय पहिलासम्म आल्मोनियमको झ्याल, ढोका र सिसाका सामानहरू बनाउने काम गर्थे। तर, अहिले भने उनकाे काठसँग गहिराे प्रेम छ।
‘मसँग आल्माेनियकाे काम गर्दा केही सामानहरू थिए, लकडाउनकाे बेला समय खेर फाल्नुभन्दा तिनै सामानकाे प्रयाेग गरेर के गराैँ भन्ने साेच आयाे अनि केही नयाँँ सामानहरू बनाउने प्रयास गरेँ, कतिपय कुराहरू जानेकाे थिइनँ युट्युबमा हेरेर सिकेँ, त्यहीबाट हाे, मैले याे काम सुरू गरेकाे,’ ४ वर्षदेखि कलाकाे काम गर्दै आएका रमेशले बिएल नेपाली सेवासँग विगतका कुरा सुनाए।
यसरी कलाको यात्रा सुरु गरेका रमेशले सुरू–सुरूमा आफूले बनाएका सामानहरू माेटरसाइलमा राखेर घुम्दै व्यापार गर्थे। व्यापारकाे लागि आफ्नाे पसल थिएन तर पनि रमेशले हार मानेन् निरन्तर संघर्ष गरिरहे। रमेशले एक वर्ष यसैगरी माेटरसाइलमा सामानहरू राखेर गल्ली–गल्ली डुलेर बेचे। भनिन् छ नि, दु:ख गरे सुख मिल्छ, एक वर्षकाे अथक प्रयासपछि रमेशकाे मिहेनत लैनचाैरकाे एउटा सानाे सटरमा सजियाे। त्यहीबाट जन्मियाे, मेहनती कला। यही ठाउँमा रमेशले आफ्नाे सिर्जनाहरू बेचिरहेका छन्। अहिले विभिन्न ठाउँबाट काठ लिएर सामानहरू बनाइरहेका छन्, रमेशले।
‘काठ सहजै पाइदैन, गाउँ घरतिर भएको भए सजिलो हुन्थ्यो। गाउँमा गर्ने काम हो यो, काठमाडौँमा अलि गाह्रो हुन्छ। मलाई त कहिले साथीभाइले ल्याइदिन्छन्, कहिले काठ गोदामबाट किनेर ल्याउँछु,’ रमेशले भने,‘यसको लागि सिंगाे काठ चाहिन्छ भन्ने छैन, जुनसुकैबाट पनि बनाउन सकिन्छ। अझ मैले त सबै खेरा जाने अवस्थाका टुक्रा काठबाट नै बनाएको छु।’ मिहेनत गरियाे भने खेर गएका सामानबाट पनि राम्राे आम्दानी गर्न सकिने भएकाले भाैतारिएर विदेश नजान सुझाव दिन्छन्, उनी।
आफूले दु:ख गरेर बनाएका यी सामान सबै समक्ष पुर्याउने उनकाे चाहना छ। तर, नेपालमा यस्ता सामानकाे कम महत्व दिइने र विदेश निर्यात गर्न कठिन हुने उनकाे भनाइ छ।
‘यी सबै प्राकृतिक सामानकाे प्रयाेग गरेर बनाएका वस्तु हुन्, यसमा कुनै बेफाइदा गर्ने चिज छैन। आजभोलि बजारमा यस्ता सक्कली सामान पाउन मुस्किल छ। तर, नेपालीहरू भने यस्ता सामानमा कम चासाे राख्छन्, यी सामान विदेशतिर पनि पठाउन पाए राम्रो हुन्छ भन्ने लागेको छ,’ रमेशले आफ्नाे मनकाे कुरा सुनाए।’
रमेश आफूले दु:ख गरेर सिकेकाे याे सीप अरूलाई पनि बाढ्न चाहन्छन्। त्यसका लागि उनी हस्तकला महासंघमा पुगेर कसरी यसलाई विस्तार गर्न सकिन्छ भन्ने बुझ्न खाेजिरहेका छन्।