ब्यङ्ग

हाइट, हतियार र व्यापार

राजीव घिमिरे

काठमाडाैं

आज फेरी भ्यूटावर कै न्यूज पढें, भ्यू टावर किन व्यापारको वस्तु हुन्छ? भ्यूटावर नै व्यापारको वस्तु हो कि वा त्यहाँबाट देखिने ‘भ्यू’ व्यापारको वस्तु हो कि वा भ्यूटावरको ‘उचाइ’ व्यापारको वस्तु हो ?

व्यापार खास गरी फरक हाइटलाई भजाएर हुँदोरहेछ। जहाँ फरक हाइट छ त्यहाँ मार्केट सिर्जना हुन्छ।

के२ भन्दा सगरमाथा २३७ मिटरले अग्लो छ, त्यसैले यो फरक हाइटले गर्दा सगरमाथाले मार्केट पायो । डाँडो मात्र मार्केट प्लेस हुँदैन त्यसमा केही मिटर मात्र अग्लो भ्यूटावर थपिदियो भने मार्केट प्लेस बन्यो, त्यो भ्यूटावरबाट देखिने भ्यू त पहिलेदेखि नै देखि राखेको हो, भ्यूटावरको ‘उचाइ’ व्यापारको बस्तु बनी दियो ।

संसारमा कहिल्यै घाटा नहुने व्यापार मध्य हतियारको व्यापार एक हो रे । यो व्यापारले पनि आफ्नो मार्केट यो “हाइट” मा नै खोज्दो रहेछ।

हुतु र तुत्सीको जेनोसाइड पछिको कुरा हो, म बुरुण्डिमा काम गर्दा, मैले हुतु र तुत्सीमा के फरक छ भनेर सोध्दा उनीहरूको सधैँ एउटै उत्तर हुन्थ्यो “खुट्टाको कुर्कुच्चाको हाइट”। त्यही कुर्कुच्चाको हाइटको फरकपनाले गर्दा हतियारको त्यहाँ त्यत्रो ठूलो व्यापार भयो ।

नेपालमा केही नेपालीको बीचमा नाकको हाइटमा फरक छ, अब हतियार व्यापारीले त्यहाँ मार्केट प्लेस देखिसक्यो। फेरि नेपालीको लागि नाकले धेरै नै महत्व राख्छ, सुर्पणखाको नाक काटिएकोले त्यत्रो युद्ध भयो, कति धार्नी नाकको कुरा इतिहासमा जहिले पनि उठ्छ । त्यसैले नेपालीको नाकको हाइट एकदमै उर्वर व्यापारको वस्तु हो ।

हातमात्र मार्केट प्लेस होइन, हातमा अलिकति हाइट थपिदिनु पर्छ झन्डा बोकाएर, अनि त्यहाँ हतियारको व्यापार सुरु हुन्छ- कसको झण्डा अग्लो भनेर। 

हातको चुरा वा कपडाको झण्डाको व्यापार त इन्द्रचोकको व्यापारीले गर्छ तर झन्डा बोक्दा निस्कने जुन “गर्वको उचाइ” छ नी त्यसको व्यापार हतियार व्यापारीले गर्छ।

टाउको मात्र मार्केट प्लेस हुँदैन, टाउकोमा टोपी लगाएर अलिकति हाइट थपिदिनु पर्छ, त्यो हाइटको फरकले गर्दा अर्को मार्केट प्लेस निर्माण भै हाल्छ । त्यो टोपी लगाएर निस्कने “हाइटको फरकपना”लाई  हतियार व्यापारीले भजाउँछ, उसको मार्केट प्लेस नै त्यही थपिएको हाइट हो।

हाइटेक कार्यालयहरू
============
सरकारी कार्यालयहरूलाई हाइटेक बनाउने, सबै काम अनलाइन गर्न मिल्ने बनाउने भनेर कसैले भन्यो भने तलका सम्बादहरू याद आउँछन् ।
१.
खानेपानी अफिस र उपभोक्ता समितिको कार्यालयको व्यवस्थापक बीचको कुराकानी, फोनमाः
खानेपानी अफिसः “तपाइको अफिसको इमेल एड्रेस के हो, त्यहाँ एउटा इमेल पठाउनु छ”
उपभोक्ता समितिः “अफिसको इमेल ठेकेदार साहबले लिएर जानु भयो”
खानेपानी अफिसः ”अफिसको इमेल पनि लिएर जान मिल्छ र?”
उपभोक्ता समितिः “अस्ति ठेकेदार साहब आउनु भएको थियो, तपाइको अफिसको इमेल ठेगाना दिनुस् भनेर माग्नु भएको थियो, मलाइ थाह छैन भने पछि आफैले कम्प्यूटर खोलेर, कागजमा टिपेर लग्नु भएको थियो, हाल सम्म फिर्ता दिनु भएको छैन।“
२.
हाकिमले आफ्नो कक्षमा ठूलो टिभी टाँस्नु भयो ।
सबै जम्मा भए हेर्न।
एक कर्मचारीः “हाम्रो सर क्या हाइटेक मान्छे, paradigm shift नै गरिदिनु भयो नी”
३.
खानेपानी अफिस र अर्को सरकारी कार्यालयको बीचको सम्बाद, फोनमाः
खानेपानी अफिसः “हजुर, त्यो फलानो डकुमेन्ट हाम्रो इमेलमा पठाइदिनुस् न”
अर्को अफिसः “त्यो डकुमेन्ट त प्रिन्ट गरेको मात्र छ सप्टकपि छैन त”
खानेपानी अफिसः” त्यसको सफ्टकपि त हजुरको कम्प्युटरमा थियो नी”
अर्को अफिसः”कस्तो कुरा नबुझ्नु भएको, अस्ति बिर्सेर अर्को कपि नै नबनाइ नै फलानो कार्यालयको इमेलमा एटेच गरेर पठाइदिएछु, अब अर्को कपि त बाँकी नै रहेन नी ।“

यो केसमा चाही अति भए पछि मैले पनि सुझाव दिएः “ए हजुर, कुरा बिग्रेको छैन, जसलाई इमेल पठाउनु भएको हो उहाँलाई तुरुन्त फोन गर्नुस्, त्यो एटेचमेन्टलाई डाउनलोड गर्न लगाएर कम्प्युटरमा राख्न लगाउनुस्, एक कपि बनाउन भन्नुस र आफ्नो पेनड्राइभ ड्राइभरलाई दिएर उहाँ कहाँ पठाएर त्यो सफ्टकपि सारेर ल्याउन भन्नुस्”

उहाँलाई कुरा चित्तबुझेछ, तपाइलाई पनि चित्त बुझ्यो ?
--

प्रकाशित मिति: : 2021-01-23 20:49:00

प्रतिकृया दिनुहोस्