साउन तेस्रो साता नलाग्दै काँचो स्याउ बजारमा बिक्रीका लागि राखिएको छ।
केही समयअघि कालिकोटको सदरमुकाम मान्मामा काँचो स्याउ बिक्रीको लागि राखिएको थियो। हाल जुम्ला लगायत अरु स्याउ पाइने ठाउँमा पनि काँचो स्याउ बिक्री हुँदै आइरहेको छ। यसरी काँचो स्याउ बिक्रीको लागि बजार आएसँगै गुणस्तर खस्किने खतरा बढ्दै गएको छ ।
यसैबीच कृषि ज्ञान केन्द्र जुम्लाले किसानलाई काँचो स्याउ नटिप्न सुझाएको छ। काँचो स्याउ टिप्दा गुणस्तर खस्किने, बजार विस्तार नहुने र किसानले उचित मूल्य नपाउने र नोक्सान हुने हुनाले स्याउ परिपक्क भइसकेपछि मात्रै टिप्न सुझाइएको ज्ञान केन्द्रका अकिकृत खेमराज शाहीले बताए ।
उनले भदौ पहिलो साता पछिको स्याउ मात्र गुणस्तरीय हुने र त्यसले गुणस्तर कायम राख्न र बजार विस्तार गर्न सकिने भएको किसानलाई यस्ता विषयमा ध्यान दिन आग्रह गरेका हुन् ।
उपयुक्त गुणस्तरको लागि स्याउमा ७० प्रतिशत भन्दा बढी रंग भरिएको हुनुपर्छ । स्याउमा भएको अम्ल, ग्लुकोजमा परिणत भएको हुनुपर्छ । त्यसका लागि कम्तिमा भदौ पहिलो हप्ता कुर्नुपर्ने हुन्छ । तर, हतारमा स्याउ टिप्दा स्याउ स्वादिलो नहुने हुनाले बजार समेत गुम्न सक्ने खतरा बढेको छ ।
हाल जतिसक्दो चाँडो बजारमा स्याउ पुर्याएर बढी मुनाफा कमाउने दाउमा बिचौलियाहरु लागेको र किसानहरुमा जनचेतनाको कमि भएका कारण पनि स्याउ चाँडो टिपिएको कृषि ज्ञान केन्द्रको ठहर छ । यसले किसानहरुलाई थप चेतनाको आवश्यकता महसुस गरिएको छ ।