जंगलबीचको पाखोमा यति राम्रो ‘रिसोर्ट’ बन्ला। त्यो ‘रिसोर्ट’ले गाउँकै परिचय उचो पारिदेला !
कसले पो सोचेको थियो होला?
सोच्दै नसोचेको पाखो भीरमा यस्तो लक्जरी रिसोर्ट सुरु होला। यति धेरैको मन लोभ्याउला? कमैको सोचको विषय थियो यो। आजभन्दा एक दशक अगाडि।
एकपटक पुगेपछि फेरि पनि फर्केर जाऊँ-जाऊँ लाग्ने। पुगेपछि यतै बसुँ-बसुँ लाग्ने...। आधुनिकतामा पनि प्रकृतिको परक पस्केको छ, रुपाकोट रिसोर्ट।
हो, वर्षौंदेखि मनमनै गुम्सिएको रुपाकोट रिसोर्टको सपना दशकअघि पूरा गरे सञ्चालक पुष्पराज अधिकारीले। लक्जरी सँगसँगै एकान्त मन पराउने घुमन्तेहरु उनैकहाँ पुग्छन्। ८ हजार मिटरभन्दा अग्ला दर्जनौं हिमाल आँखैअघि, दक्षिणमा रुपा र बेगनास। शान्त, हरियाली डाँडापाखा। रुपाकोटबाट गर्न पाइने प्रकृतिको यो दृश्यपान अन्त कतै सायदै मिल्न सक्छ।
पोखराबाट २४ किलोमिटर उकालो लागेपछि पुगिने रुपाकोट रिसार्टको भित्री कथा उधिन्ने हो भने त निकै लामो छ। जति लामो, त्यत्तिकै मिठो पनि...।
हाल, रुपाकोट रिसोर्टलाई स्थापित गरेर यत्तिको ब्रान्डिङ गर्ने सञ्चालक अधिकारी पोखरा महानगरकाे मेयरका आंकाक्षीका रुपमा आएका छन्।नगरप्रमुखको आंकाक्षीको रुपमा उनको नाम पार्टी केन्द्रमा पुगिसकेको छ। पुष्पराजको मेयर बनि सकेपछिका सपनालाई यहाँ प्रस्तुत गरेका छौं।
०००
म मेयर भएँ भने आम्दानी डबल पार्छु, सुकुम्बासीलाई सित्तैमा अपार्टमेन्ट दिलाउँछु
२४ किलोमिटरको दुरी पार गर्दै पुष्पराज दिनहुँ पोखरा ओर्लिन्छन्।
बाटोभरि खाल्डा र खुल्डी। चोक-चोकमा लामो ट्राफिक जाम। बाटैभरि अस्तव्यस्त सवारीको पार्किङ। यो सब देखेर दिक्क हुन्छन् पुष्पराज। एउटा काम लिएर हिँड्यो, दिनै बित्ने।
‘म्यानेजमेन्ट नै भएन। अहिले पोखराको ‘वेल म्यानेज’ गरेमा आधा समस्या समाधान हुन्छ। पोखरा सिटी राम्रो देखिन्छ’, पुष्पराज सुनाउँछन्।
पोखरा भनेको धेरै सम्भावना बोकेको ठाउँ हो। हालको पर्यटनलाई अपग्रेट गरे मात्रै पनि पोखराको विकासमा ठूलो टेवा पुग्न सक्थ्यो। पर्यटन क्षेत्रमा लामो समय काम गरेर विज्ञता हासिल गरेका पुष्पराज टुरिजम अपग्रेट हुनुको साटो डाउनग्रेटेड भएको ठान्छन्। भन्छन्, ‘म मेयर भएर आएपछि पोखरालाई ब्रान्डिङ गर्छु। क्वालिटी सर्भिस दिन्छु। क्वालिटी सार्वजनिक चिज सुधार गर्छु।’
पोखराको मेयर पदमा भिड्ने झट्टै आएको योजना होइन यो। दुई वर्षदेखि सोचिरहेका थिए पुष्पराजले। लामो समय बेल्जियम बसे पनि राजनीतिक रुपमा एमालेमा सक्रिय थिए उनी। रुपाकोटमा जन्मे, हुर्केर ११ वर्षको उमेरमा परिवारसँगै बसाइँसराइले हाइस्कुल पढ्न चितवन पुगे। चितवनमा एसएलसीसम्मको पढाइपछि उच्च शिक्षाका लागि काठमाडौं पुगे। त्रिचन्द्र कलेजमा पढ्दा पढ्दै सोल्टी होटलमा काम पाए। यो नै उनको जीवनको ‘टर्निङ पोइन्ट’ बन्न पुग्यो। यसरी करिअर अघि बढाउँदै उनले आफ्नै ट्राभल विजनेस सुरु गरे।
०४६ को जनआन्दोलनदेखि राजनीतिमा लागेका पुष्पराजको ०४८ सालदेखि पार्टी सदस्यता छ। ‘बेल्जियममा पनि प्रवास कमिटी थियो। जिल्ला कमिटी बराबरको मान्यता दिएको थियो। ६५ सालमा आठौं महाधिवेशन प्रतिनिधि भएँ। यसरी पार्टीमा म विभिन्न जिम्मेवारीमा रहेँ,’ उनले सुनाए।
उनमा राजनीतिक चेत ०४६ सालको जनआन्दोलनदेखि नै पसेको हो। त्रिचन्द्रमा ब्याचलर्स सेन्टअप भएर बसेको थिए। जनआन्दोलन सुरु भयो। उनी पनि सामेल भए। ‘म बाहिर फिनल्यान्डको भिजा अप्लाई गरेर पर्खेर बसेको थिएँ। भिजा आउन ६ हप्ता लाग्थ्यो। म फुर्सदिलो पनि थिएँ। समय पनि त्यस्तै थियो। इनर्जेटिक पनि हामी। पञ्चायतले राम्रो गरेन भन्ने बुझाई पनि थियो हाम्रो,’ उनी सुनाउँछन्।
त्यतिबेलाका समकालनीन विद्यार्थीकालमा सक्रिय अहिलेका चर्चित नेता शंकर पोखरेल, भिव रावल कीर्तिपुरमा स्ववियुमा सक्रिय थिए। उनले नाम सुनेका थिए, भेट अक्कल झुक्कल हुन्थ्यो। त्यही दौरानमा एक/दुई चोटी घनश्याम भुषालकाे वेलकम स्पिच पनि सुनेका रहेछन् उनले। ‘चितवनमा अहिले मेयरको टिकट पाउनुभएको छ, विजय सुवेदी पहिला प्रदेशको माननीय हुनुहुन्थ्यो। मेरो एकदम समकालीन हो। म यहाँबाट माइग्रेट भएर चितवन गएँ। त्यहाँ मेरो एसएलसी हो,’ उनी अघि सुनाउँछन्।
त्यतिबेलै कास्कीका दिवंगत नेता रविन्द्र अधिकारी र खगराजसँग पनि राम्रै चिनाजानी थियो उनको। विदेशै गए पनि फर्केर नेपालमै केही गर्नुपर्छ भन्ने उनको पहिलो प्राथमिकता। युरोपमा रेष्टुरेन्ट चलाए। कमाई राम्रै थियो। अहिले सबै बेचबिखन गरेर नेपालै आए।
‘सधैँ बाहिर बस्छु भनेर गएको पनि होइन। अवसर पायौं, त्यसलाई प्रयोगमा ल्यायौं,’ पुष्पराज सम्झिन्छन्, ‘नेपालमा द्वन्द चलिरहेको थियो। तर, डे वानदेखि नै नेपाल फर्किन्छु भन्ने थियो। मेरो क्वालिफिकेसनले अमेरिकाको पिआर पनि मिल्थ्यो।’
चाहेको भए अरु ठूला देशमा पनि भिजा र कार्ड पाउन सक्थे। तर, नेपालकै मायाले तानेर जन्म गाउँसम्मै ल्याइ पुर्यायो उनलाई। भन्छन्, ‘बस्न र कार्ड पाउँथेँ। विद्यार्थी भिजा सजिलै पाउन सकिन्थ्यो। तर, म बसिनँ।’
जे जति पोखरा बनाउन सकिन्छ। पोखराको अप्टिममा युज कसरी हुन सक्छ भनेर पोलिटिक्समा आउने र मेयरै हुने योजना बनाएका हुन् रे, पुष्पराजले। मेयरमा निर्वाचित भए पहिलो व्यवस्थापनलाई नै मुख्य प्राथमिकता दिने योजना बनाएका छन् उनले।
‘यसको जे जस्ता संरचना छन्। त्यसलाई व्यवस्थापन, कर्मचारी, फोहोर, सार्वजनिकस्थल, ढल, स्कुल, स्वास्थ्यको व्यवस्थापन गरेर अपग्रेड गर्ने। यो अपरिहार्य चिज हो,’ पुष्प आफ्नो योजना सुनाउँछन्, ‘सेकेण्डमा व्यवस्थापन सँगै डेभलपमेन्ट घरको मापदण्ड, स्ट्रीट मापदण्ड, औद्योगिक क्षेत्र कहाँ गराउने ? पोखरालाई मेट्रो रेलदेखि ठुला हाइवेमामा कसरी लिंकेज गर्ने जस्ता योजना बनाउन सकिन्छ। प्रायोरिटीको आधारमा पहिला गर्ने र पछि सर्ट टर्म, लङ टर्म योजना बनाउने। जस्तो उदाहरणको लागि हिँड्दा हिँड्दै तपाईं जाममा फस्नुहुन्छ। विचरा एउटा ट्राफिक बिचमा बसेर कराको छ कराको छ। एउटा सानो ट्राफिक लाइटले म्यानेज हुन्छ त्यो। कुन ठाउँमा वान वे बनाउने, कुन ठाउँमा पार्किङ जोन नराख्ने, त्यो योजना नै छैन हामीकहाँ। गाडी त्यहिँ छ, मोटरसाइकल त्यहिँ छ। भद्रगोल छ के। ठाउँ ठूलो भएर पनि म्यानेजमेन्ट भएन। म्यानेजमेन्ट नभएर नै देश गरिब भएको हो। हाम्रा कर्मचारीमा मोटिभेसन हुँदैन। टाइममा काममा आउँदैनन्।’
अहिले नयाँ योजना ल्याउने र त्यसमा बहस नै सुरु भएको छैन। नयाँ टपिकमा बहस गर्ने नराम्रो चिजलाई राम्रोले प्रतिस्थापन गर्ने कामै भएको छैन।
पुष्प अघि सुनाउँछन्,
कुनै पनि ठाउँमा रिसर्च विङ भन्छ। कार्यालयमा पनि केही बैंकमा देख्नुहुन्छ- पहिला लाइनमा बस्नुपर्थ्याे, अहिले टिकेट आएको छ। प्रायोरिटीको आधारमा भोलि के हुन्छ भने घरबाटै काम गर्न सकिने हुन्छ। घरबाटै गर्न सकिएन भने पनि अपोइन्टमेन्ट लिने। ठ्याक्क यति बजे मेरो पालो भनेर पर्खेर बस्नु परेन, समयको युटिलाइज भयो।
अहिले बाटोमा यति धेरै स्कुल बस छन् कि तिनले समस्या पारिरहेको छ। ती सबै बसलाई महानगर पालिकाले सञ्चालन गरेको सार्वजनिक बस, स्कुल बसभन्दा व्यवस्थित, पङचुुअल गरे, कुन रुटको बस कहाँ जान्छ भनेर आफ्नो बच्चालाई बसमा चढाउन मिल्यो नि। एउटा पार्किङ समस्या अन्त्य, ड्राइभर चाहिएन। बाहिरतिर डेभलप कन्ट्रीमा कुनै पनि स्कुलको बस हुँदैन। नगरपालिकाको सार्वजनिक बस र ट्रेन प्रयोग गर्छन्।
उनीहरुको ५ मिनेट दश मिनेटको वाक डिस्टेन्समा बस स्टप हुन्छ। हाम्रोमा पनि बढीमा १० मिनेटमा छ। त्यति हिँडेर स्कुल नजिकै बस पुग्छ भने त स्कुल बस चाहिएन नि। यो पनि म्यानेजमेन्टभित्र पर्छ। यसलाई म्यानेज गरे पुग्यो। भएको चिजलाई म्यानेज गर्ने हो।
०००
पुष्पराजले मेयरमा निर्वाचित भए पोखरालाई अपार्टमेन्ट सिटी बनाउने योजना बनाएका रहेछन्। त्यसलाई महँगो दाममा बेचेर महानगरको आम्दानी बढाउने उनको योजना। ‘मैले भनेको १० हजार अपार्टमेन्ट बनाएर विदेशीलाई बेचौं। अहिले विदेशीले कम्पनीको नाममा मात्र पाउँछन्। व्यक्तिको नाममा पाउँदैनन्। ९९ वर्षको लिज बनाएर उनीहरुलाई बेचौं,’ उनी सुनाउँछन्, ‘महँगो मूल्य बनाएर १ मिलियन डलरको मूल्य तोकेर बेचौं। सेकेण्ड होम बनाऔं। यसो गर्दा के हुन्छ भने दश अर्ब डलर जम्मा हुन्छ। ती नेपाली कम्पनीले बनाउँछन्। नेपाली समान प्रयोग हुन्छ। यो भनेको बोल्ड डिसिजन हो। बाहिरको लगानी ल्याउने। बाहिरको मान्छे आकर्षण गर्ने भनेको बोल्ड डिसिजन हो।’
अर्को हो, अपार्टमेन्ट पोखराको सुकुम्बासी राख्ने
पुष्पराज अघि सुनाउँछन्, ‘सुकुम्बासी नभन्ने निम्न आय स्रोत भएका व्यक्तिमा क्याटागोराइज गर्ने अनि महानगरले स्पोन्सर गरेर खाली जग्गामा तिनलाई अपार्टमेन्ट बनाउने। २० तले बनाउँदा केही समस्या छैन। पोखराको महेन्द्रपुल चिप्लेढुंगातिर हो भासिने। अहिले प्रविधि पनि छ। बाहिर १ सय तलाको घर बनाउँछन्। मैले त २० तलाको मात्र परिकल्पना गरेको हो। २० तलाको बनायो भने एक रोपनीमा ८० अपार्टमेन्ट बन्न सक्छ। महानगरले १ वर्षमा दुई अर्ब खर्च गर्ने योजना बनाए १० वर्षमा पोखराको सुकुम्बासी समस्या समाधान हुन्छ। २ अर्ब महानगरका लागि ठूलो कुरा पनि होइन।’
म मेयर भएँ भने महानगरको इनकम नै डबल गर्छु
महानगरको आम्दानीको स्रोत बढाउन इनकम यसलाई व्यवस्थापन गरे पुग्छ। करको दायरा अलि फराकिलाे पार्ने, गल्ती गरेकालाई जरिबाना तिराउने। राम्रो सेवा दिए घर निर्माणदेखि हाउजिङ, विदेशी पर्यटक धेरै भित्राउने र उनीहरुलाई राम्रो सेवा सुविधा दिएर महँगो शुल्क लिन सके मात्रै पनि आम्दानी महानगरभित्रै हुने उनी बताउँछन्।
‘डबल त यत्तिकै गराउन सक्छु। बाहिरको इनकम ल्याएर। यहाँ टुरिस्ट एराइभल बढी बनाउन सकियो भने १०० डलरमा रुम बेचे १३ डलर सरकारको रुम भयो। भोलि ६० डलरमा रुम बेच्ने अवस्था आए राज्यलाई १३ प्रतिशत आयो। यसरी बढाउन सकिन्छ,’ उनी सुनाउँछन्।
पुष्पराजलाई लाग्छ, देश यति गरिब हुनुपर्ने नै होइन। जुन देशमा समुद्रको पानी उमालेर बाफ बनाएर खानुपर्छ त्यो देश धनी छ। जहाँ एक खेती मात्र उब्जनी हुन्छ, ती देश धनी छ। युरोपमा १ खेती हुन्छ। तीन सिजन खेती उब्जनी हुने हामी भने गरिब छौं। ‘हाम्रोमा म्यानेज छैन। सिँचाइ खानेपानीको प्रचुर प्रयोग हुन सकेको छैन। वनजंगललाई हामीले गलत उपयोग भयो। त्यसको प्रभावकारिता वैज्ञानिक उपयोगिता भयो भने इनकम आउँछ,’ उनी भन्छन्।
नागरिक, व्यवसायी र कर्मचारीको आम्दानी बढाउने मुख्य उद्देश्य हो उनको। पोखरालाई ब्राण्डिङ गर्ने। टुरिजमको ब्राण्ड गर्ने, टुरिष्ट आउने धेरै पैसा लिने वतावारण बनाउने उनको योजना। मेयर पदमा निर्वाचित भएकै दिनदेखि युद्धस्तरमा काम थाल्ने योजना छ उनको। भन्छन्, ‘त्यसको चेन इफेक्ट त भइहाल्छ। आज मजदुर हजारमा पाउँछ। डिमाण्ड बढी भएपछि मूल्य बढ्छ। मेरो उदेश्य। सिटी रिच बनाउने।’
अन्तिममा हामीले सोध्यौ ?
तपाईंभन्दा धेरै योगदान गरेका पार्टीमा हुनुहुन्छ, तपाईंले टिकट पाउनु होला? ‘मैले पार्टीमा यति वर्ष काम गरेँ। त्यसकारण मैले टिकट पाउनुपर्छ भनेर मैले भन्दिनँ। त्यो क्राइट एरियाभित्र म पर्दिनँ। मभन्दा धेरै योगदान गरेका साथीहरु हुनुहुन्छ। मेरो क्लेम के हो भने म चाहिँ यो ठाउँलाई धनी बनाउन सक्छु। यो ठाउँको सम्भावना एकदम हाइ छ। त्यसका लागि गुड गर्भनेन्स चाहिन्छ। वेल म्यानेज चाहिन्छ। यो नगरी हुँदै हुँदेन। बढीभन्दा बढी विजनेश आउन पर्यो,’ उनी भन्छन्।
पोखरा सुन्दर नगरि भनेर उप नामले चर्चित छ। तर, यो वास्तवमै सुन्दर नुहुने उनी सुनाउँछन्। गुड म्यानेजमेन्टले यो सब सम्भव हुने उनी बताउँछन्। भन्छन्, ‘यो ठाउँलाई धनी बनाउन सक्ने क्षमता मसँग छ। देखेको, भोगेको, पढेको। यी चिजमा म विज्ञ हुँ। यसलाई राम्रो तरिकाले युटिलाइज गर्न सक्छु भन्ने मेरो क्लेम हो। त्यसैले मैले क्लेम गरेको हो। म पार्टीको पनि मान्छे। मेरो यो क्षमता छ, यो योग्यता हेरेर मलाई नेतृत्व दिइयोस् भन्ने मेरो क्लेम हो।’