‘सुन’ को ‘अर्थ-समाजशास्त्र’

Break n Links
Break n Links

सुनचाँदी व्यवसाय हाम्रो पुर्ख्यौली पेसा हो। करिब तीनसय बर्षदेखि हाम्रो परम्परा हो। नेवार समूदाय भित्रका शाक्य, बज्रचार्य, ताम्राकारहरुले सुनचाँदी र पत्थरको व्यवसाय गर्दै आइरहेका छन्। हजुरबुबा, बुबादेखि हाल पुस्तान्तरण हुँदै आइरहेको पेशा हो। हाम्रो सबै पुस्ता यही पेशामा आबद्ध छन्। 

नेपाल सुनचाँदी व्यवसायी संघले २०६९ साल फागुन २० गते स्थापना भएपछि जल्दोबल्दो समस्याहरुमा काम गर्दै आइरहेको छ। एउटा छाता संगठनको रुपमा प्रतिनिधिमुलक हिसावमा काम गरिरहेका छौं। महासंघ भनेको एउटा विशाल सागर जस्तै भएकाले यसका विषयहरु विविध छन्। समस्याहरु अनेक छन्। विभिन्न प्रदेशमा विभिन्न प्रकारको समस्याहरु छन्। ११८ जनजातिहरुले लगाउने गहनाहरुको बारेमा महासंघले बृहत अध्ययन र अनुसन्धान गरिनै रहेको छ। त्यसमा समस्याहरु पनि ११८ प्रकारकै छन्।

तर हामीले संघलाई हाल एक प्रशिक्षण र बुज्रुक संस्थाका रुपमा अगाडि बढाएका छौं। ४० बर्षको इतिहासमा हामीले धेरै आरोह अवरोहहरु पार गर्दै आयौं। पञ्चायती व्यवस्थादेखि प्रजातन्त्र र हाल गणतन्त्र पनि व्यहोरिरहेका छौं। गणतन्त्रको हालको अवस्थामा सुनचाँदीको बजारमा स्वायित्व छैन्। अधिकार छिनिएको अवस्था छ। एकाधिकार रुपमा बजार चलिरहेको छ। प्रतिस्पर्धा छैन। सरकारले राम्रो नीति बनाइदिएको छैन्। औद्योगिक कच्चा पदार्थको रुपमा मान्यता दिनुपर्ने हो त्यो  दिएको छैन्। कोटा प्रणाली छ। कोटा प्रणालीमा बैकिङ एकाधिकार पनि छ।

वाणिज्य बैंकहरुले मात्र सुन ल्याउने प्रथाले उपभोक्ताले सुन नपाउने र उद्योगपतिले कच्चा पदार्थ नपाउने अवस्था छ।  र बैंकहरुमा सिमित कारोवार छ। अनौपचारिक क्षेत्रमा बजार गइसकेको छ। स्वतन्त्र रुपले प्रतिस्पर्धा गर्न पाएको छैन। यसकारण विकृतिहरु मौलाएको छ। 

०६३ सालमा तत्कालिन अर्थमन्त्री रुपज्योतिले राष्ट्र बैंकको कार्यविधिमा दर्तावाला कम्पनी र लगानीकर्ताले सुन झिकाउन पाउने व्यवस्था सर्वप्रथम सुरु गर्नुभयो। त्यसअघि निजी क्षेत्र र बैंकहरुले ल्याउने गर्थे। तर २०६७÷६८ को कार्यविधिले त्यसलाई ठ्याक्कै उल्टो गरेर बैंकहरुले मात्रै सुन ल्याउन पाउने, बैंकहरुले मात्रै सुनको वितरण गर्न पाउने भनेर राष्ट्र बैंकको कार्यविधि आयो। त्यसलाई अहिलेसम्म कुनै रिभ्यू नगरिएकाले त्यो उपभोक्ता विरुद्ध देखिएको छ।

किनभने उपभोक्ताले चाहना गर्यो भने दुई तोला काँचो सुन पनि लगानी गर्न  पाउँदैन। संविधानले प्रतिस्पर्धाको कुरा गरेको छ, मौलिक अधिकारको कुरा गरेको छ, सम्पत्ति आर्जनको कुरा गरेको छ। तर प्रतिस्पर्धा, मौलिक अधिकार र सम्पत्तिमा लगानी गर्ने मौका नेपाली नागरिकले पाएका छैनन्। सुनको वृद्धि अहिले विश्व बजारमा ३० प्रतिशत भन्दा बढी छ। यही एक सातामा सुनको २५ प्रतिशत वृद्धि भएर आइसकेको छ। बैंकमा पैसा हाल्नु भनेको एक दुई प्रतिशत व्याज आउनु हो। सुनमा पैसा हाल्नु भनेको वृद्धिको हिसावले सबैभन्दा लाभदायी छ। तर नेपाली जनताले त्यो गुमाइरहेको अवस्था छ। नेपाली कर्पोरेट सेक्टरले गुमाएको अवस्था छ। व्यापारीहरुले पनि गुमाएको अवस्था छ। 

सुनको मूल्य बृद्धिको सवाल
महासंघमा आउँदा मेरो नारा थियो–‘सुनचाँदीमा लगानी, भरपर्दो आम्दानी’ भन्ने थियो। अहिले हेर्दा त्यो ठिकै त रहेछ नि। र नेपालीहरुले सुनमा लगानी गर्‍याे भने विजयी भइने रहेछ। सुनमा लगानी गर्ने मानिसले बाजी नै मारेका छन्। सुनको खानी सबैभन्दा बढि अफ्रिकी देशहरुमा छन्। अरु ठाउँमा पनि छन् तर उत्खनन् भएको छैनन्। नेपालमा पनि आठ नौं ठाउँमा छन्। त्यो उत्खनन् हुने अवस्था विस्तारै सुरु हुँदैछ। तर सबैभन्दा बढि चाँही दक्षिण अफ्रिकामा छ। हाल विश्वको अवस्था शान्त छैन्, एकदमै युद्धग्रस्त छ। अनिश्चिततामा विश्व आर्थिक अवस्था छ इजरायल र अरेबियाको युद्ध छ। यमनमा त्यति नै अशान्ति छ। अफ्रिकामा पनि त्यस्तै छ। युक्रेन र रुसको युद्ध त तीन वर्ष नाघिसक्यो। यसले गर्दा अन्तर्राष्ट्रिय अर्थतन्त्र प्यारालाइस भएको अवस्था छ। 

एक महिनामा चाइना र अमेरिकाको ठूलो कस्टम वार भइरहेको छ। त्यसले गर्दा व्यापारहरु प्यानिकमा छ र क्यासमा छ। त्यसैले सुरक्षित अवतरणको लागि उनीहरुले सुनलाई रोजेका छन्। आफ्नो लगानीलाई सुरक्षित गर्ने हिसाबमा संसारकै व्यापारीहरु लागेको छन्। आर्थिक मन्दी आउन लागेको छ। ठूला ठूला राष्ट्रहरु जुधाइको अवस्थामा छ। त्यसले गर्दा व्यापारीहरुको हार नहोस् भनेर उनीहरुले आफ्नो फन्डलाई सुनमा सुरक्षित अवरणको लागि रोजेको आस्था छ। 
मुल्य तोलामा दुई लाख पुग्ने दाबी 
केही समयअघि सुनको मूल्य घटेको थियो। अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जितेपछि विश्व अर्थतन्त्रमा सहज हुन्छ भन्ने थियो। तर उहाँले जुन निर्णय लिनुभयो त्यसले झन झन असहज अवस्था बन्यो। सबै घटनाक्रमलाई हेर्दा सुनको मूल्य अझै एक दुई महिना बढ्ने देखिएको छ। किनकी चाइनाले खरिद गरिरहेको छ। चीनमा पनि आर्थिक समस्या आउन लागिरहेको छ। चीन पनि त्यसै चुप लागेर त बस्दैन होला। उसले पनि आफ्नो घोषणा गर्न बाँकी नै छ।
विश्वका मल्टी विलिनियरहरुको उद्योग धेरैजस्तो चाइनामा नै छन्। किनकी जनसङ्ख्या र टेक्नोलोजीको हिसाबले चीन धेरै अगाडि बढेको अवस्था छ। तर त्यो संकटमा जाँदा त्यहाँ अमेरिकन लगानी बढि छ। चीन संकटमा जाँदा उनीहरुको आकर्षण पनि सुनमा नै देखिन्छ। यि सबै घट्नाक्रमलाई हेर्दा एकदुई हप्तामा प्रतितोला दुई लाख पुग्ने लक्ष्य देखिन्छ।

मुल्य वृद्धि हुँदा व्यापारमा प्रभाव
अहिले नेपालभरीको स्थानीय बजारमा बाइ बैंकको अवस्था आएको छ। वर्षमा एउटा फर्मले सुनचाँदीको लगभग ९–१० करोडको कारोबार गर्छ। विगत ५० सालदेखि विक्री गरेका बस्तु एकैचोटी एक लाख ९० हजारको दरमा किन्नुपर्ने अवस्था आएको छ। तर सरकारले हामीलाई हेर्ला जस्तो पनि लाग्दैन्। किनकी यो समस्या विगतमा पनि थियो। मूल्य बढ्दा मानिसले खरिद भन्दापनि विक्रीमा बढि चासो देखाउँछन्। तर अहिलेको अवस्था दुर्लभ हो। एकै दिन ८–१० हजारले ने मूल्य बढिरहेको छ। त्यसैले अहिले बजारमा किन्ने मान्छेको संख्या ठप्प नै छ।

बैशाख भनेको बच्चाहरु भर्ना गर्ने, गर्जो टार्ने महिना पनि हो। यस्तो बेला पैसाका लागि पनि मान्छेहरुले सुन बेच्ने गरेका छन्। सुनको भाउ बढ्दा मानिसहरुले रमाइलो पनि मानिरहेका छन्। किनभने एउटा परिवारले विवाह गर्दा ६ देखि १० तोला सुन बनाउछ, त्यो भनेको महिलाको सम्पत्ति हो। महिलाको अधिकारका कारण पाएको सुन हो। 

अहिले नेपालमा ठूलो मात्रामा रेमिट्यान्स भित्रि रहेकोछ। सँगै मान्छेको क्रय शक्ति बढेको छ। र धेरै मान्छेले सुनमा लगानी गरेका छन्। नेपालीहरुसँग अहिले सुन किन्नलाई प्रर्याप्त पैसा पनि छ। सुनको व्यवसाय फैलंदो छ। सरकारले नीति राम्रो बनाउने, प्रोत्साहन गर्ने हो। फ्रि मार्केट इकोनोमी अनुसार प्रतिस्पर्धासहितको बजारमा हामी गयौं भने राम्रो हुन्छ। सबै ठाँउलाई मिल्ने हिसाबको नीति बनाउन आवश्यक छ। 

व्यवसायीका समस्याबारे नयाँ वर्षभन्दा अगाडि नै मन्त्रीलाई ज्ञापनपत्र  बुझाएका छौ। सुनचाँदी आयात निर्यात गर्नका लागि ठूलो कम्पनीहरुले ल्याउनुपर्छ। भर्खर आएका कम्पनीहरुलाई दियो भने शंकास्पद कारोबारहरु हुन सक्छ। राष्ट्रको ढुकुटीसँग सम्बन्धित भएकाले १० वर्ष अनुभव भएका मान्छेहरुलाई कारोबार गर्न दिंदा कारोबार राम्रो हुनेछ। 

रोजगार बढाउन, औद्योगिक क्षेत्रका रुपमा अघि बढ्न सहज हुन्छ। छिमेकी देशहरुले प्रगती गरिरहेका छन्। भारतले २० प्रतिशत कर सुनचाँदीबाट उठाई रहेको छ। चीनले पनि करिब १७ प्रतिशतको जीडीपीमा योगदान गरिरहेको छ। नेपाललाई मात्र खुम्चाएर राख्न मिल्दैँन्। किनभने यसमा रोजगारीको सम्भावना छ। विदेश जाने युवाहरुको लागि भनेर कालीगढ तालिमको लागि सम्झौता भएको छ । 

तस्करीको माहोल
सुन तस्करी भएको खबर मिडियाहरुमा आइरहेको छ। तर हाम्रो व्यवसायका सदस्यहरु यसमा सामेल छैनन्। ०४४ सालयता यस्ता घटनामा हाम्रा सदस्यको नाम कहींकतै आएको छैन्। सीप बेचेर जीवन चलिरहेकै छ। तर राष्ट्र बैंकले बनाउन लागेको कार्यविधिका सवालमा हामीले स्वतन्त्र हुनुपर्छ भनेका छौं। 

सुनचाँदी भन्ने बस्तु खुल्ला छोड्ने वा कोटामा राख्नुपर्छ भन्ने पनि छैन। कोटा राख्न हुन्न। यो संविधान विरोधी कदम हो। संविधानमा नागरिकले पनि लगानी गर्न पाउने अधिकार छ भनिएको छ तर नागरिकले सुन किन्न पाएका छैनन्। काँचो सुन व्यापारीहरुले मात्रै किन्न पाउछ। एक वर्ष भित्रमा ४० किलो भनेर कोटा तोकियोस्। सिजन अनुसार होस्। औद्योगिक कच्चा पदार्थलाई कोटा सिस्टम राख्दा उद्योगहरुलाई समस्या परिरहेको छ। 
यो व्यवसायलाई संविधानको मर्म अनुरुप देशको राजस्व, रोजगार र समग्र मुलुकको उन्नती हुने हिसाबले हेर्नुपर्छ। नेपालमा खुल्ला सिमाना छ। नेपाल ट्रान्जिटको बाटो हो। चाहेर पनि नियन्तण गर्न सकिरहेको छैन। यस्तो समस्या क्यानडा र अमेरिकाको बीचमा पनि छ। खुल्ला सिमानाको समस्या समाधान गरेर कसरी काम गर्न सकिन्छ त्यसका लागि विशेषज्ञ टीम आवश्यक छ। मापदण्ड अझै आएको छैन्।  मापदण्ड आवश्यक छ। नेपाल अहिले ग्रे लिस्टमा पर्दा सुनचाँदीको क्षेत्रमा पनि असर परिरहेको छ।  ग्रे लिस्टबाट निकाल्न पनि सुनचाँदीलाई नियमनसहित स्वतन्त्र छोड्नुको विकल्प छैन। हाम्रो व्यवसायी जिवनको अवरोधहरु हटाउने नीति नियम छैन। व्यपारमा प्रतिस्पर्धा गर्न पाएका छैनौ। नेपालमा सुनको सम्भावना छ। किनभने हामीसँग दुर्लभ गहनाहरु छन्। एउटा दुर्लभ गहना श्रीपेच हो। त्यो नेपालको कलाकारले बनाएको हो। त्यो हाम्रो सान हो। अरु विभिन्न प्रकारका गहनाहरु प्नि बनाएका छन्। हाम्रो सीप अन्तर्राष्टिय बजारमा बेच्न सक्छौं। सीपलाई ट्रान्सफर  गर्न सक्छौ। 

(नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष माणिकरत्न शाक्यसँग गरिएको कुराकानीमा आधारित)
 

प्रकाशित मिति: : 2025-04-19 09:52:00

प्रतिकृया दिनुहोस्