गाजामा रातभर बर्सिए हजाराैँ रकेट—

इजरायलमै अस्ताए ‘थाई–नेपाली’

Photo:  MEE
Photo: MEE

प्यालेस्टाइनी लडाकू समूह हमासकाे आक्रमणपछि द्वन्द्वग्रस्त इजरायलकाे केराबारीमै ढले– सोमखवान।

उनीजस्ता सयाैँ थाइन्यान्डका विद्यार्थीहरू इजरायलकाे खेतबारीमा काम गर्थे। इजरायल गएका विद्यार्थी र कामदारहरू कलेजदेखि खेतबारीसम्मै रमाउथे। शनिबार एकाबिहानै केरा–बगानमाथि अन्धाधुन्ध रकेट बर्सियाे। लगतै, हाेहल्ला मच्चियाे।

थाई नागरिक सोमखवान घटनास्थलमै अस्ताए। उनीमात्र अस्ताएनन्, उनीजस्ता दर्जनाैँ मानिसहरू हमासकाे आक्रमणबाट मारिए। छाेरा मारिएकाे खबर सुन्नासाथ ६३ वर्षीया आमा नुफा फान्सा बेस्सरी राेइन्। उनी सोमखवानकाे नाम लिँदै चिच्याइन्।

इजरायल–गाजा द्वन्द्वमा मारिएका सयाैँ कामदारमध्ये एक थिए– सोमखवान। युवककाे मृत्युपछि विछिप्त छ परिवार। आमाले अन्त्येष्टिका लागि छाेराको शव घरमै मागिरहेकी छिन्।

पूर्वसैनिक सोमखवान काम खाेज्दै गतवर्ष पाँचवर्षका लागि इजरायल गएका थिए। इजरायल र हमासबीचकाे युद्धमा सोमखवानसहित थाइल्यान्डका १८ कामदारले ज्यान गुमाएका छन्। बाँकी दर्जनाैँ थाई कामदारहरूकाे खाेजी कार्य भइरहेकाे छ।

०००

बझाङको जयपृथ्वी नगरपालिका–११ चैनपुरका गणेशकुमार नेपाली भर्खरै इजरायल गएका दर्जनाैँ नेपाली–विद्यार्थीमध्ये एक थिए। उनी इजरायलकाे खेतबारीमा काम गर्थे, पढ्दै–कमाउथे। तर शनिबार हमासकाे आक्रमणपछि द्वन्द्वग्रस्त इजरायलमै ढले उनी।

गणेशकुमार मारिएकाे खबर सुनेपछि बुवा धनलाल नेपाली छट्पटिरहेका छन्। उनी बाेल्न खाेज्छन् अनि छाेराकाे यादमा राेइहाल्छन्।मृतककाे परिवारमा रुवाबासी छ। परिवारका सदस्य र आफ्तलाई सम्हाल्न मुस्किलै छ। गणेशकी आमा छाेराकाे नाम लि लिँदै भक्कानिन्छिन् अनि मूर्च्छा पर्छिन्।

इजरायली भूमिमा पढ्दै–कमाउँदै गरिरहेका गणेशकुमारसहित १० जना नेपाली विद्यार्थीकाे शनिबार घटनास्थलमै मृत्यु भएकाे छ। बाँकी सयाैँ नेपाली विद्यार्थीहरूलाई उद्दार गर्ने कार्य जारी छ

०००

चार दिनदेखि अरबक्षेत्र अशान्त छ। इजरायल र प्यालेस्टाइनी लडाकू समूह हमासबीच युद्ध जारी छ।

टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले गाजापट्टीको सीमाक्षेत्र कब्जा गरिसकेकाे छ। सेनाले साेमबार रातभर गाजापट्टीमा २०० भन्दा बढी रकेट प्रहार गरेकाे छ। जारी युद्धमा १ सय २३ सैनिकसहित कम्तीमा ९ सय इजरायली नागरिकको मृत्यु भएकाे छ।

इजरायल र हमासबीचकाे लडाइँमा हमासको आक्रमणमा परी दर्जनाैँ विदेशी नागरिकहरूले समेत ज्यान गुमाएका छन्।

सोमबार इजरायली रक्षामन्त्रीले गाजापट्टीको सम्पूर्ण क्षेत्र कब्जा गर्न सेनालाई आदेश दिएका थिए। त्यसपछि इजरायलले रातभर गाजामा आक्रमण गरेको थियो। इजरायली आक्रमणकाे जवाफमा हमासले बन्धक बनाएका करिब १ सय ५० इजरायलीलाई मार्ने धम्की दिएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विद्राेही समूह हमासले इजरायलमाथि आक्रमण गरेर सबैभन्दा ठूलो गल्ती गरेको बताएका छन्।

प्रधानमन्त्री नेतान्याहुले भने, 'हामी युद्ध चाहँदैनौँ। यो हामीमाथि अत्यन्त क्रूर तरिकाले थोपरिएको छ। हामीले युद्ध सुरु गरेका होइनौँ, तर हामी यसलाई अन्त्य गर्नेछौं।'

अक्टोबर ७ देखि सुरु भएको युद्धमा प्यालेस्टाइनले पनि ठूलाे मूल्य चुकाइरहेकाे छ। इजरायलकाे हवाई आक्रमणबाट गाजापट्टीमा १४० बालबालिकासहित ६८७ प्यालेस्टाइनी मारिएका छन्।

इजरायलले गाजामा हालसम्म सयाैँ स्थानमा आक्रमण गरेको छ। शनिबार युद्ध सुरु भएयता गाजामा १ हजार ७ सय ७ वटा रकेट आक्रमण गरेको हिब्रू सञ्चारमाध्यमलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले जनाएको छ।

प्रकाशित मिति: : 2023-10-10 12:06:00

प्रतिकृया दिनुहोस्