सुस्ताएको भारतीय अर्थतन्त्रले नेपालमा असर पार्ला?

काठमाडौं- आर्थिक वर्ष २०१८/१९ भारतीय अर्थतन्त्रको वृद्धिदर घट्दो क्रममा छ। नरेन्द्र मोदी दोश्रो पटक प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेपछि उनले लिएका केही निर्णयका कारण भारतीय अर्थतन्त्रमा नकारात्मक प्रभाव देखिएको आँकलन गरिएको छ। तीन चार महिना अगाडिसम्म ८ प्रतिशत रहेका भारतको आर्थिक वृद्धिदर छोटो अवधिमै घटेर ५ प्रतिशतमा पुगिसकेको छ। 

नेपालको अर्थतन्त्रका धेरै आयाम केही हदसम्म भारतीय अर्थतन्त्रसँग जोडिएकाले एक आपसमा प्रत्यक्ष सम्बन्ध राख्छन्। यसरी नेपालको अर्थतन्त्रसँग प्रत्यक्ष/अप्रत्यक्ष रूपमा जोडिएको भारतीय अर्थतन्त्र सुस्ताएपछि नेपालमा त्यसले कस्तो असर देखिन सक्छ? भन्ने विषयमा अर्थतन्त्रका जानकार व्यक्तिहरूसँग नेपाल लाइभका लागि हेमन्त जोशीले कुराकानी गरेका छन्। हेरौं उनीहरूको भनाइ जस्ताको तस्तै 

भारती अर्थतन्त्र खस्किए मुद्रा विनिमयमा असर पर्छ : डा. पोषराज पाण्डे
भारतको अर्थतन्त्र धराशायी भइहालेको अवस्था होइन। अहिले विश्व अर्थतन्त्रको वृद्धिदर ३ प्रतिशत छ भने भारतमा ५ प्रतिशत आर्थिक वृद्धिदर छ। 

पछिल्लो समय भारतको अर्थतन्त्रको वृद्धिदर कम गर्ने मुख्य कारक भनेको अटोमोबाइल क्षेत्रको बजार घट्नु हो। उत्पादनका क्षेत्रमा अटोमाबाइल क्षेत्रको योगदान बढी हुने भएकाले त्यसको असर वृद्धिदरमा देखिएको हो। अरु क्षेत्रमा पहिलोको जस्तै वृद्धिदर छ। 

अब जहाँसम्म नेपालको अर्थतन्त्रमा प्रभावको विषय छ- नेपाल र भारतबीचको अर्थतन्त्रलाई जोड्ने मुख्य माध्यम वैदेशिक व्यापार हो। अर्को विषय भनेको प्रत्यक्ष वैदेशिक लगानीको हो। नेपाललाई भारतले दिने आर्थिक सहायता, ऋण तथा अनुदानका विषयहरुसँग पनि जोडेर हेर्न सकिन्छ। 

 

केही नेपालीहरु भारतमा काम गर्न गएका छन। त्यहाँबाट नेपाल भित्रने रेमिट्यान्स पनि नेपाल र भारतको अर्थतन्त्रसँग जोडिने विषय हो। यी प्यारामिटर नै हुन्, दुई देशबीचको अर्थतन्त्रलाई तुलना गर्नुपर्ने।

नेपालको अर्थतन्त्रको तुलनामा भारतबाट नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानीको अंश र भारत सरकारको सहायताको अंश निकै कम छ। वैदेशिक व्यापारमा भने अलिकति त्यसको प्रभाव देखिन सक्छ। नेपालले यसै त कम निर्यात छ, त्यसमाथि भारतको उपभोक्ता बजार सुस्त भएका कारण हाम्रो निर्यात घट्न सक्छ। 

भारतीय अर्थतन्त्र निकै नै खस्कियो भने हाम्रो मुद्रा विनिमय दरमा असर पर्छ। नेपाल र भारतबीच स्थिर विनिमय दर छ। 

प्रकाशित मिति: : 2019-09-05 07:21:19

प्रतिकृया दिनुहोस्