अमेरिकाको नेपाली डायस्पोरामा घटेका पछिल्ला दुई अप्रिय घटनामा दुई नेपाली महिलाले जीवन गुमाएका छन् । यी अत्यन्तै दुःखदायी र हुनै नपर्ने घटना हुन् । भए, जति नै भत्सर्ना गरे पनि कमै हुन्छ । यद्यपि, यी प्रतिनिधि घटना मात्र हुन् । यी घटनाको सामान्यीकरण गरेर नेपालीको चरित्र चित्रण गर्नु घातक र दुर्भाग्यपूर्ण हुन्छ । यी घटनाबाट पाठ सिकेर भविष्यमा दोहोरिन नदिन जे गर्न सकिन्छ, त्यो नै नेपाल र नेपालीका लागि गर्न सकिने योगदान हुन्छ ।
मुनाको दुःखद निधनका लागि उनीहरूको अव्यवहारिक÷अल्लारे अमेरिका मोह जति जिम्मेवार छ, त्यसलाई समयमै तगारो लगाउन नसक्ने अभिभावकहरू पनि त्यत्तिकै दोषी छन् । यसका लागि सरकारले चाँडोभन्दा चाँडो स्नातक नगरेका विद्यार्थीलाई अध्ययनका लागि पढ्न जान नदिने नीति ल्याउन जरूरी छ । अन्यथा, अरू पनि थुप्रै मुनाहरूको यस्तै दुःखद समाचार सुन्नुपर्ने हुन्छ । भन्दा अप्रिय लाग्छ तर सत्य के हो भने अमेरिका पढ्न आएका कतिपय किशोरीहरू जटिल र कहालीलाग्दो दैनिकी बाँचिरहेका छन् ।
नेपालीहरू सपनाको देश अमेरिकामा आउने क्रम जारी छ । माथिल्लो बाटो होस् वा तल्लो बाटो, जुन बाटो भएर पनि नेपालीहरू अमेरिका आइरहेकै छन् । डीभी लोटरी पारेर होस् वा विद्यार्थी भिसा, अमेरिकी बेहुली भएर होस् वा अमेरिकी बेहुला खोजेर, नेपाली पाइला अमेरिकातिर बढेकै छन् । सेमिनार, गोष्ठी, सम्मेलनको नाममा होस् वा घुम्ने नाममा, सकेजति नेपालीहरू अमेरिका छिरेकै छन् । पछिल्लो समय त इजरायल गएका नेपाली दिदीबहिनीहरू पनि अनेक ज्याक लगाएर यता आउन थालेका छन् । जापान, क्यानडा, अस्ट्रेलिया र युरोपेली देश पुगेका केही नेपाली पनि अमेरिका आइरहेकै छन् ।
प्रश्न आउनेको हैन, भरसक फर्कनै नखोज्ने प्रवृतिको चाहिँ हो । एक किसिमले भन्ने हो भन्ने नेपालीको अमेरिका आउने क्रम लगभग एकतर्फि नै छ । सानो संख्यामा केही अवपाद बाहेक आएका धेरैजसो यो वा त्यो नाममा अमेरिकातिरै बसेका छन् । कोही कागज बनाएर बसेका छन्, कोही कागज बनाउने क्रममा बस्दैछन्, कसैको कागज बन्ने छाँट छैन, लुकेरै भए पनि बसेकै छन् ।
अमेरिका एउटा देशमात्र हैन, जीवन बाँच्ने फरक परिभाषा पनि हो । यसको अर्थ नेपाली जीवनको परिभाषा नै बदलेर बाँच्नुपर्छ यहाँ । यसै पनि नेपालीहरूको नानीदेखि लागेको बानी जाँदैन । यस्तो बानी नजाने नेपालीलाई कागजपत्र हुँदा त अमेरिकामा बस्न सजिलो छैन भने कागजपत्रविहीन हुँदा त हरिबिजोग हुन्छ नै । यसरी बस्ने स्थिति हरिविजोग हुँदा पनि बस्नैपर्ने जबर्जस्तीले निम्त्याउने भनेको समस्या नै हो ।
संख्या बढेसँगै समस्याको संख्या पनि बढ्छ नै । पछिल्लोपटक अमेरिकामा नेपालीको बढ्दो ‘जबर्जस्ती संख्या’सँगै समस्याहरू पनि उकालो चढ्न थालेका हुन् । आफ्नो समस्या लुकाउने तर अर्काको समस्याको बेलुन फुक्ने नेपालीको अर्गानिक चरित्र नै हो । त्यही चरित्रका कारण अमेरिकामा भएका पछिल्ला केही अप्रिय घटनाको अतिरञ्जनाले अमेरिका बस्नलायक ठाउँ नै हैन कि भन्ने जस्तो पनि पारिएको छ, यथार्थमा त्यस्तो हैन । किनकि, केही अप्रिय घटनाको सामान्यीकरण गरेर त्यस्तो निर्णयमा पुग्न सकिन्न ।
हो, अमेरिका ठूलो छ । ठूलो घरको ठूलो चाला भनेजस्तै यसका समस्याहरू पनि ठूला छन् । ती समस्याहरू अमेरिकी कोणबाट हेर्दा सामान्य मात्र हैनन्, नगण्य पनि हुन् । तर, एक सानो देश नेपाल र त्यस देशको एक बासी नेपालीका रूपमा हेर्दा ती समस्याहरू आकाश खसेजस्तै कहालिलाग्दा छन् । अझ डरलाग्दो कुरा त ती समस्याहरूको जरो खोज्दै जाँदा नेपालमै भेटिन्छ, यहाँ त त्यसको बोट, हाँडबिँगा र पातहरू मात्र देखिएका हुन् ।
प्रसंग अमेरिकाको नेपाली समुदायमा घटेका पछिल्ला दुई अप्रिय घटनाहरूको हो । पहिलो घटना राजधानी वासिङ्टन डीसी मेट्रो एरियासँगै भर्जिनिया राज्यको मनाससमा घट्यो । एक नेपाली नर्स ममता काफ्ले जुलाई ३१ देखि बेपत्ता छिन् । रगतका छिटा र मारिएका थप दशी प्रमाणहरू उनको घरमै भेटिएका छन् । प्रहरी उनी मारिएको निस्कर्षमा पुगेको छ । र, अमेरिकी कानूनी भाषामा भन्दा पोइन्ट अफ इन्ट्रेस्ट हुँदै प्राइम सस्पेक्ट नै उनको श्रीमान् नरेश भट्ट छन् । अहिले उनीमाथि श्रीमतीको शव बेपत्ता बनाइएको आरोप छ र उनी प्रहरी हिरासतमा छन् ।
घटना र विकासक्रम यति हो । यसको पृष्ठभूमी के थियो ? घटना हत्याको बिन्दुसम्म कसरी पुग्यो ? यो कि ममतालाई थाहा थियो कि नरेशलाई थाहा छ । ममता अब बोल्न सक्दिनन्, नरेश मुख खोल्दैन । पछिल्लो स्थिति यही हो । यस बीचमा यो घटनालाई यो रूपमा गिजोलेर यति भयावह रूपमा प्रस्तुत गरियो कि सारा नेपाली जाति नै एक नृशंस जाति हो भन्ने किसिमको भाष्य निर्माण हुन पुग्यो । हो, यो दुःखदायी घटना नहुनुपर्ने थियो, भयो । तर, यो घटना एक चुनिएको अप्रिय सत्य मात्र हो । यो अमेरिकी नेपाली समुदायमा हुने आमघटना हैन र यो नेपाली आमचरित्र पनि हैन ।
तर, दुर्भाग्य मुलतः वासिङ्टन डीसी मेट्रो एरियाका तथाकथित नेपाली सामाजिक अभियन्ता र सञ्चारकर्मीहरू त्यसमा पनि खासगरी टिकटके र फेसबुकेहरूले यो घटनालाई लाइक, सब्सक्राइब र फलोवर्स बढाउने अवसर बनाए । अझ यसो भनौ, यो संवेदनशील प्रतिनिधि घटनालाई सारा नेपालीको चरित्र चित्रण गर्ने माध्यम बनाइ दिए ।
उनीहरूका टिकटक र फेसबुक सामग्रीको आधारमा संसारभरका नेपाली टिकटके र फेसबुकेहरू पनि घटनालाई गिजोल्न थपिए । उनीहरूले जानेर वा नजानेर सारा नेपाली पुरूषहरूलाई नरेश भट्टको ठाउँमा उभ्याए र हत्यारा बनाइदिए । यसैगरी, सारा महिलाहरूलाई ममताको रूपमा प्रस्तुत गरेर देवी बनाइ दिए । तर, सत्य कुरा के हो भने यो घटना नरेश एक श्रीमान् र ममता एक श्रीमतीबीच भएको नितान्त व्यक्तिगत तर दुर्भाग्यपूर्ण घटना हो ।
यो घटना किन भयो ? यस प्रश्नको उत्तर फेरि पनि कसैसँग छैन । घटनाको एक पक्ष ममता अब यो संसारमा छैनन् र उनको कुरा अब कहिलै बाहिर आउदैन । अर्को पक्ष नरेश त कहिलै माफ नपाउने हत्याकै अभियुक्त हो, उसले जे भने पनि अधिकांशले पत्याउदैनन् । यस्तो अवस्थामा नेपाली समुदायका तथाकथित जान्नेसुन्नेले जे भनेपनि, त्यो उनीहरूको व्यक्तिगत धारणा वा जजमेन्ट मात्र हो । आ–आफ्नो आग्रह÷पूर्वाग्रहको आधारमा सेकिने यस्तो रोटी अमेरिकी–नेपालीहरूको साझा चरित्रका रूपमा सेकिदैन । यो घटनाको पाठका लागि एकछिन पृष्ठभूमीमा जाउँ ।
ममता र नरेशको उमेर लगभग एक दशक फरक छ। यो भनेको एक पुस्ताको अन्तर हो । नरेश सुदूरपश्चिमको, ममता मध्य नेपालको, यो भूगोलको मात्र दूरी हैन, संस्कृति–संस्कार थुप्रै कुराको लम्बेतान दूरी पनि हो । पेशाले ममता नर्स, नरेश सैनिक । यो सामान्यतः सोच र कोणको बाटोबाट हेर्दा कहिलै नभेटिने दुरी हो । यी दुईबीच फेसबुकमा भेट भएको छ । यसैपनि फेसबुके मायाप्रेमको आयु कर्कलाको पातमाथिको पानी जस्तै छ ।
उनीहरूको स्वार्थ भनेको ममतालाई अमेरिका आउनु छ, नरेशलाई नर्स विवाह गरेर कमाउ श्रीमती चाहिएको छ । पछिल्लो समय यसै पनि अमेरिकी कागजी हैसियत भएका अविवाहित नेपाली केटाहरूको पहिलो रोजाइमा नेपाली नर्स पर्छन् । यसको सिधा कारण छ, नर्सले जागीर पाउँछन् र राम्रो कमाउँछन् ।
वास्तवमा अमेरिकामा नेपाली नर्सहरूको जीवन कष्टपूर्ण छ । १२ घण्टाको तनावपूर्ण कामका लागि एक घण्टाको ब्रेक, जान आउन अर्को २ घण्टाको तयारी र बाटो । कम्तीमा पनि १५ घण्टा खट्नुपर्छ । त्यति खटेर घरमा आएपछि छोराछोरीले दिने तनाव अनि कतिपयको घरमा त आएर खाना पकाउने पनि गर्नुपर्छ । अझ श्रीमान् समझदार छैन भने उसले दिने तनावको कुरै छोडौं ।
यति धेरै जागीर र घरको तनावपछि पनि श्रीमानको यौनतृष्णा मेट्नुपर्छ । एक दिनका लागि हैन, धेरैजसो यस्तै कठिन रूटिन जीवन बाँच्नुपर्छ । सुरू सुरूमा ठीकै लागे पनि बिस्तारै यो दिक्कलाग्दो र पीडादायी हुँदै जान्छ । यौनतृष्णा मेट्न नसक्दा श्रीमानहरू बाहिरतिर विवाहेत्तर सम्बन्धमा जोडिन्छन् । यो स्थिति बढ्दै जाँदा पारिवारिक तनाव बढ्दै जान्छ र अन्ततः डिप्रेसनमा जाने सम्भावना बढ्छ ।
अमेरिकामा रहेका अधिकांश नेपाली नर्सहरू यस्तै अवस्थामा छन् भन्दा पनि हुन्छ । यद्यपि, न उनीहरू यो कुरा सार्वजनिक रूपमा भन्छन् न कार्पेटले कसिंगर छोपेर बाहिर अत्तर छर्कने स्वभावका उनका श्रीमानहरू यो कुरा स्विकार्न नै तयार छन् । ममता पनि सम्भवतः यही परिस्थितिबाट गुज्रिरहेकी हुन सक्छिन् । यसो नभएर उनी भाग्यमानी पनि हुन सक्छिन् । तर, उनको जुन परिस्थितिमा दुःखद् अन्त्य भयो, त्यसले उनी अपवादमा रहेर भाग्यमानी थिइन् भन्न सकिने अवस्था छैन ।
अर्को कुरा, नेपालका गाउँठाउँबाट अमेरिका आएका धेरै नेपालीहरूमा पुरूषप्रधान सोच खिलझै गाडिएको छ । उनीहरू आफ्नो सोच र कोणलाई फराकिलो पार्न एक पाइला पनि अगाडि सर्न तयार छैनन् । एक किसिमले भन्ने हो भने उनीहरू अमेरिकामा पनि मिनी नेपालमै बसेका छन् । अर्कोतिर, धेरैजसो नेपाली महिलाहरूमा उत्तरआधुनिक सोच आइसकेको छ ।
त्यसलाई उकास्न सामाजिक सञ्जालले अहम् योगदान गरिरहेको छ । पुरूषहरू अगाडि बढ्न पाइलै नचाल्ने तर महिलाहरू भने दौडन खोज्ने– हरेक श्रीमान् श्रीमतीबीच जीवनको गतिमै यस्तो ठूलो विरोधाभास छ । यो विरोधाभासलाई सम्बोधन गर्न नसक्ने अमेरिकाको नेपाली समुदायका घरहरूमा एक किसिमको द्वन्द छ । दिनानुदिन त्यो विस्फोट हुने अवस्थातिर धकेलिदैछ । त्यसलाई सही किसिमले सम्बोधन गर्न सकिएन भने अमेरिकाको नेपाली डायस्पोराले अरू पनि धेरै नरेश र ममताहरू पाउँन सक्नेछ ।
मुना पाण्डेको हत्या
यसैगरी, नेपालीहरूको सबैभन्दा घनाबस्ती भएको टेक्सास राज्यमा अर्को एउटा अप्रिय घटना घट्यो । यो घटनामा एक नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भयो । हत्या बबी सिंह साह भनिने एक भारतीयले गर्यो । किन गर्यो ? यसको उत्तर पनि प्राप्त भैसकेको छैन । यस घटनामा पनि मुना अब बोल्दिनन्, बबी मुख खोल्दैन । बबीले जे भने पनि ऊ हत्यारा हो, उसले भनेको कोही पत्याउनेवाला छैन ।
ममताको तुलनामा मुनाको यो घटनाले खासै महत्व पाएन । वाडीसी मेट्रो क्षेत्रका नेपाली अभियन्ता जुरूक्कै उठेर लागे तर टेक्सासका नेपाली खासै लागेनन् । मुना विद्यार्थी भएकाले उनका लागि बोलिदिने परिवारका सदस्य र अरू पनि कोही नभएर पनि होला । तर, पनि कानूनले आफ्नो बाटो लिइरहेको छ । ममताको पक्षमा बोल्नेहरूको भन्दा मुनाका पक्षमा नबोल्नेहरूले नै मुद्दा बलियो बनाएका छन् । त्यहाँ बिना कुनै अतिरिक्त दबाब प्रक्रियाले काम गरिरहेको छ ।
यो घटना नेपालबाट मात्र प्लस टू सकेर अमेरिका पढ्न पठाउने अव्यवहारिक सोचको दुःखद पटाक्षेप हो । १७–१८ वर्षका छोरीहरूलाई अमेरिकामा कमाएर पढ्नुपर्ने र कहिलेकाँहि घरमा पनि पैसा पठाउनुपर्ने परिस्थितिमा धकेलेपछि यस्तो परिस्थिति हुनसक्ने सम्भावना रहन्छ नै । यस्तो परिस्थितिमा मुनाहरूको अनेक खालका मानिसहरूसँग भेट हुनसक्छ, अनेक किसिमका जटिलताहरूसँग जुध्नुपर्ने हुन सक्छ । मुना दुर्भाग्यपूर्ण त्यो स्थितिमा पुगिन्, अरू कयौं मुनाहरू जटिल अवस्थामा गुज्रिरहेका होलान् वा कतिले त्यो अवस्थामाथि विजयप्राप्त पनि गरे होलान् ?
मुनाको दुःखद निधनका लागि उनीहरूको अव्यवहारिक÷अल्लारे अमेरिका मोह जति जिम्मेवार छ, त्यसलाई समयमै तगारो लगाउन नसक्ने अभिभावकहरू पनि त्यत्तिकै दोषी छन् । यसका लागि सरकारले चाँडोभन्दा चाँडो स्नातक नगरेका विद्यार्थीलाई अध्ययनका लागि पढ्न जान नदिने नीति ल्याउन जरूरी छ । अन्यथा, अरू पनि थुप्रै मुनाहरूको यस्तै दुःखद समाचार सुन्नुपर्ने हुन्छ । भन्दा अप्रिय लाग्छ तर सत्य के हो भने अमेरिका पढ्न आएका कतिपय किशोरीहरू जटिल र कहालीलाग्दो दैनिकी बाँचिरहेका छन् ।
यी दुई घटना अमेरिकाको नेपाली समुदायमा घटेका प्रतिनिधि घटना मात्र हुन् । यी दुई अप्रिय घटनालाई आधार बनाएर अमेरिकामा यस्तै हुन्छ भन्ने किसिमको ‘बास्केट धारणा’ बनाउन जरूरी छैन । जबसम्म यी घटना किन भए ? भनेर तिनको बस्तुगत अन्वेषण गरिदैन तबसम्म भावनामा बगेर केही पनि हुनेवाला छैन । कामना गरौं, मुना र ममता यस्ता घटनामा पर्ने अन्तिम पात्र बनुन् । यसका लागि जिम्मेवारहरू दण्डित हुन्, उनीहरूलाई न्याय मिलोस् भन्ने आवाज उठाऔं । तर, यस्ता घटनालाई सामान्यीकरण गरेर अमेरिकी–नेपालीको छवि बिगार्ने कामचाहिँ कसैले पनि गर्दै नगरौं ।