ब्राजिल बाबा र गोदावरी

हेमन्त विवश

काठमाडौं

सुदूरपश्चिमको कैलाली जिल्लामा पर्ने गोदावरी धार्मिक, पर्यटकीय र प्राकृतिक हिसाबले निकै नै महत्वपूर्ण मानिन्छ। पहाडको फेदीमा कलकल बगिरहेकी गोदावरी नदी र यस क्षेत्रमा विराजमान देवी देउताका बारेमा पुराणहरूमा समेत उल्लेख गरिएको पाइन्छ। कतै लोक कथा, कतै डेउडा गीतका पंक्तिहरूले पनि बोकेको देखिन्छ गोदावरी धामको महत्व।

कथा भन्छ, गोदावरीको शिरमा अन्कन्टार जस्तो लाग्ने पहरा छ। जसको नाम हो, हात्तीजंग। हात्तीका पाइलाका छाप देखिने भएकै कारण उक्त ठाउँलाई हात्तीजंग भनिएको मान्यता रहिआएको छ। उक्त ठाउँमा ज्योतिर्मय शिवलिङ्ग भएको र परापूर्व कालमा उक्त भीरमा अवस्थित ओडार र गुफाहरूमा बसेर कैयौं साधकहरूले तपस्या गरेको कुरा सुन्नमा आउँछ। पौराणिक कथाअनुसार उक्त लिङ्गमा चढाइएको दूध बग्दै गएर गोदावरी नदी बन्न गएकी हुन् भन्ने मान्यता पनि छँदै छ।

गोदावरी नदीको पारिपट्टि पहाडको फेदी छ। नदी किनारबाट झण्डै चार सय मिटर माथि सन्यासीहरूका कुटी र मठ मन्दिरहरू छन्। त्यहाँबाट अझै माथि पाँच सय मिटर उचाईमा एउटा सानो झुप्रो छ। जुन त्रिशूल गाडेर धुनी जगाएइको गुरु गोरख नाथको सुरुवाती चरणको मन्दिर हो। त्यतै भेटिन्छन्, दुई जना विदेशी शन्तहरू। एक जना ब्राजिलबाट आएका हुन् भने एक जना रसियाबाट।

रसियाबाट आएका ती युवाले सामाजिक काम गर्ने उद्देश्यले पाँच जनाको समूहमा नेपाल आएर बैतडीमा एउटा प्रोजेक्ट चलाएका थिए। त्यो प्रोजेक्टमा काम गर्ने क्रममा उनी वेद अध्ययन गर्न थाले। वेद मन पर्न थालेपछि आफ्नो यात्रा मोडेर सन्यासी हुने पथ रोजे। साथमा आएका अरु चार जनालाई घर पठाइ दिए।

उनी गोदावरीमा बस्न थालेको एक महिना भयो। जो सिकारु चरणमै छन्। दिक्षा लिइसकेका छैनन्। समाजसेवी धिरज विक्रम सिंहका अनुसार रुसबाट आएका अन्य चार जना महिलाहरू पनि छन् उक्त मार्ग अपनाइरहेका। उनीहरू यतिखेर गुरुसँग दिक्षा लिन भनी वनारस पुगेका छन्।

ब्राजिलबाट आएका बाबाको दिक्षा प्राप्त गरिसकेपछि गुरुले दिएको नाम हो, शिवनाथ। गोदावरी क्षेत्रमा उनलाई ब्राजिल बाबा भनेर नै चिन्छन् अधिकांशले। शिवनाथले नेपालको बारेमा धेरै कुरा आफ्ना गुरुबाट सुनेका थिए। त्योभन्दा अगाडि उनलाई सगरमाथाको देश नेपाल भन्ने मात्र थाहा थियो। गुरुले पशुपति नाथ र गोरखनाथको बारेमा मात्र बताएनन्। पशुपति क्षेत्रमा रहेको मृगस्थली गुरु गोरखनाथको मुख्य भूमि मानिने कुरा समेत बताए। सात वर्षअघि उनी नेपाल आए। पशुपतिनाथको दर्शन गरे। मृगस्थलीमा घुमे र फर्किए।

एक वर्षपछि शिवरात्रीमा पुनः नेपाल आए। गोरखाको गोरखनाथदेखि मनकामना मन्दिर, देवघाटलगायतका तीर्थस्थल पुगे। त्यही दौरानमा भेटे सुदूरपश्चिमतिरबाट आएका केही शन्तहरूलाई। जसले उनलाई सुदूरपश्चिम क्षेत्र र त्यहाँका तीर्थस्थलको बारेमा बताए। त्यसपछि तीन वर्षअघि सुदूरपश्चिम पुगे। बैतडी, बझाङ्ग, डडेल्धुरा, डोटीलगायतका जिल्ला घुमिसकेपछि अन्तमा गोदावरीको जङ्गल रोजेर बस्न थाले। जहाँ बेलाबखत पुगिरहन्छन् योगी व्यग्र वेदनाथ पनि। पछिल्लो समयमा योगी व्यग्र वेदनाथको पहलमा कतिपय विदेशीहरू यो मार्गमा लागिरहेका देखिन्छन्।

धिरज विक्रमका अनुसार उक्त ठाउँमा सालको रुखमुनि एक हात खडा गरेर एक जना साधु १२ वर्षसम्म ध्यानमा बसेका थिए। ती साधुका सेवक थिए, बाजुराबाट कैलाली बसाइँसराइ गरेका गेडे खड्का। ती शन्तको मृत्युपश्चात उहाँको समाधि भएकै ठाउँमा खड्काकै सल्लाह सुझावमा गोदावरी मन्दिर पीठ समितिसँग समन्वय गरेर नौ वर्षअघि काठमाडौंबाट आएका योगी हंशनाथ र योगी व्यग्रवेदनाथको पहलमा ब्रीज मन्त्र गरी वैधानिक रुपले गोरख धुनि स्थापना गरियो। चार वर्ष यही ठाउँमा बसेर हंशनाथ काठमाडौं फर्किए। जहाँ हिजोआज शिवनाथ आफ्नो नित्य कर्म गरिरहेका छन्।

शिवनाथका अनुसार उनका बुवाका हजुरबुवा भारतीय मूलका थिए। आमाको बुवाको हजुरबुवा पोर्चुगलका थिए। उनी १९ वर्षका छँदा उनका बुवाको देहावसान भयो। विद्यालय स्तरको पढाइ सकेपछि उनी सेनामा भर्ना भए। उनको मनले जागिर खानु, पैसा कमाउनु, बिहे गर्नु सबै बेकारका कुरा ठानेपछि दुई वर्षमै छोडिदिए सेनाको जागिर पनि। अनि बाइबल अध्ययन गर्न थाले। यतिले मात्र सकेनन् मन बुझाउन। अनि भौतारिँदै पुगे भारत। जहाँ बुद्ध दर्शनको अध्ययन गरे, विभिन्न गुरुका प्रवचन सुने। भागवत गीता, वेद र विभिन्न पुराणसँग सम्बन्धित प्रवचनहरू सुन्दै गए। अंग्रेजी भाषामा धार्मिक पुस्तकहरूको अध्ययन गर्न थाले। भारतको महाराष्ट्रस्थित नासिकमा गुरु भेटाए। गुरुको प्रवचनले उनलाई तान्दै लग्यो र अन्तमा तिनै गुरु योगी आदिनाथ महाराजबाट १२ वर्षअघि दिक्षा लिए।

दिक्षा लिएपछि आमासँग सम्पर्क नभएको कुरा बताउँदै सुनाउँछन्, ‘भाइबहिनीहरू कोही अमेरिका त कोही युरोपका अन्य देशमा छन्। आमाले पनि जन्मेको ठाउँ छोडेर अन्तै बसिरहेकी छन् भन्ने सुनेको हो १२ वर्ष अगाडि। अहिले त खै को कहाँ के कस्ता छन्, थाहा छैन्। अहिले मेरी आमा भनेकी यिनै प्रकृति बनेकी छन्। यही भूमि, गङ्गा, पर्वत सबैमा आमाको रुप देख्छु।’

कानमा काठका मोटा मुन्द्रा लगाएका छन् शिवनाथले। समाजसेवी धिरज विक्रम सिंहका अनुसार कान चिरेका शन्तहरू उच्चकोटीका मानिन्छन्। जो सुरुवातीको चरणमा कालो कपडा पहिरन्छन्। आन्तरिक कोर्ष पुरा गरिसकेपछि मात्र कान छेडी काठ, माटो वा सुनका मुन्द्रा लगाउने गर्छन्। उनी सम्बोधन गर्दा ॐ आदेश भन्ने गर्छन्। बिहान चार बजे अर्थात् ब्रह्म मुहर्तमा उठेर स्नान गरी नित्यकर्ममा लाग्छन्। ६ बजेसम्ममा जप ध्यान गर्छन्। त्यसपछि आश्रम वरिपरि रोपेका बोटविरूवामा पानी हाल्नु, नयाँ वृक्ष रोप्नु, सरसफाइ गर्दै दश बजिसक्छ। बिहानको भोजनपश्चात आइपुग्छन् कैयौं भक्तहरू, सेवकहरू। केही समय उनीहरूसँगको भेटघाटमै व्यतित हुन्छ। साँझतिर पुनः जप ध्यान आरती, किर्तन भजनमा रम्छन्।

साँझ बिहानको भोजनका बारेमा उनी सुनाउँछन्, ‘हामी साकहारी भोजन गर्ने मान्छे कहिले सेवकले ल्याइदिन्छन, कहिले दिउँसोतिर माग्न जान्छौं, जुक्ति मुक्ति चलेकै छ।’ धिरज विक्रमका अनुसार उनीसँग गोदावरी क्षेत्रमा काम गर्ने थुप्रै योजना छन्। तर खुल्न सकेका छैनन्। यो समुदायबाट कतिको सहयोग मिल्छ भन्ने पनि लागिरहेको होला।

सुदूरपश्चिममा जहाँ जाँदा पनि भक्तिभाव भएका मान्छे भेटाउँदा आफू निकै प्रफुल्लित भएको कुरा सुनाउँदै शिवनाथ भन्छन्, ‘ठूलो मन र सभ्यताको संस्कृति हो, हिन्दू सनातन सभ्यता। हामीले जप-ध्यान सँगसँगै परोपकारको मार्ग अपनाउनु पर्छ। दिन-दुखीको सेवा गर्न सिक्नुपर्छ। प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्छ। ज्ञानको मार्ग फराकिलो पार्न सक्नुपर्छ। धर्तीमा बसुन्जेल समाजका लागि केही गरेर जानुपर्ने हुन्छ।’

गाेदावरी सातवटा पहाडी जिल्लाको मुख्य प्रवेशद्वार हो। जुन ठाउँ विगतमा आत्रेय ऋषिको आश्रम भएको ठाउँको रुपमा पनि चिनिन्छ। नेपालको अति प्राचीन क्षेत्रमध्येमा गोदावरी क्षेत्र पनि मानिन्छ। उत्खनन् गर्ने हो भने यहाँ प्राचीन भाँडाकुँडा र सिक्काहरू भेटिने प्रवल सम्भावना देखिन्छ। २०१४ सालमा गोदावरीमा रहेको पुरानो मन्दिर भत्किएपछि बेलको रुखमुनिको शिवालयमा पूजाआजा गर्ने चलन चल्यो।

२०३४ सालमा डोटीका हरि मल्लले शन्त बनेर गोदावरी क्षेत्रमा प्रवेश गरे। दिक्षा प्राप्त गरिसकेपछि तिनै मल्लको नाम रह्यो मौनी बाबा। तिनै मौनी बाबाको पहलमा मन्दिर, गौसाला, कुटी निर्माण गरिए। मौनी बाबााले नै समाधि गडामा माताहरूका लागि समेत कुटी निर्माण गर्न लगाए। बारी बगैंचा बनाए। र गोदावरी क्षेत्रको वनलाई धार्मिक वन घोषणा गरे। मौनी बाबाको मृत्युपछि त्रिलोक गिरि महन्त बने। उनले पनि यस क्षेत्रमा यज्ञशाला, पुस्तकालय, मौनी बाबाको मुर्ति स्थापनालगायतका थुप्रै निर्माणका काम गरेको देखिन्छ।

महाभारत कालमा पाण्डवहरू बास बसेको ठाउँका रुपमा समेत चिनिने गोदावरी क्षेत्र सुधारको उद्देश्य बोकी धिरज विक्रमको नेतृत्वमा गुरु गोखनाथ परिषद गठन गरिएको छ। सिंहका अनुसार समुदायसँग समन्वय गरेर असी नब्बे हजार बोटविरुवा रोप्ने र गौशाला स्थापना गर्ने तयारी भैरहेको छ। सिंह बताउँछन्, ‘हामी योगा र विपासना जस्ता कार्यक्रम सञ्चालनको योजनासहित अघि बढिरहेका छौं। निकट भविष्यमा उक्त कार्य सुरु गर्छौं। धार्मिक पर्यटनका दृष्टिले प्रचुर सम्भावना बोकेको गोदावरी क्षेत्रमा राज्यको नजर पर्न सकेको छ जस्तो लाग्दैन। गौशाला, गुरुकुल, योगा सेन्टरलगायतका थुप्रै कामहरू भइसक्थे, सरकारी निकायले सहयोग गरिदिएको भए। मात्र नेताका भाषणमा कैद भएका छन् हाम्रा पर्यटकीय क्षेत्रहरू।

प्रदेश सरकार वा स्थानीय तहले सानो तिनो रकम छुट्याउन खोजे पनि लिन सक्ने अवस्था नै नभएको कुरा स्वीकादै सिंह बताउँछन्, ‘यस्तो पवित्र कार्यका लागि रकम माग गर्दा पनि कर्मचारीले कमिसन माग्छन्, त्यसैले सरकारी निकायमा प्रपोजल पेश गर्ने हाम्रो योजना नै छैन। जे जति सकिन्छ, आफैं गर्छौँ। बरु चन्दा उठाउँछौं। सरकारी कार्यालयको दैलोमा जाँदैनौं।’ यसबाट सजिलै भन्न सकिन्छ, गोदावरीमा शन्तहरू आरती उतारिरहन्छन्। नेपाल आमाको जयजयकार गरी किर्तन भजन गरी ध्यानमग्न देखिन्छन् भने सरकारी कार्यालयका कर्मचारीहरू सत्ताको आरती उतार्दै चाकडी र कमिसनमा ध्यानमग्न छन्।

प्रकाशित मिति: : 2023-02-18 20:41:00

प्रतिकृया दिनुहोस्