काठमाडाैँ उपत्यकामा प्रचलित छ, इन्द्रजात्रा। भाद्र शुक्ल द्वादशीदेखि आश्विन कृष्ण चतुर्थीसम्म ८ दिन मनाइने इन्द्रजात्रा काठमाडौँका नेवाः समुदायको सांस्कृतिक पहिचान बोकेको पर्व हो।
नेवारी भाषामा इन्द्रजात्रालाई येँया पनि भनिने गरिन्छ। यें भनेको काठमाडौँ र या भनेको यात्रा। त्यसैले याे जात्रा काठमाडाैँकाे वसन्तपुरमा मनाइँदै आएको छ।
राजा गुणकामदेवको पालादेखि प्रचलनमा आएको इन्द्रजात्रा वसन्तपुरकाे हनुमानढाेका अगाडि लिङ्गो ठड्याएपछि जात्रा आरम्भ हुन्छ।
तर जात्रा सुरू गर्नुअघि किन ठड्याइन्छ लिङ्गो? त्यसकाे पछाडि भने छुट्टै कथा जाेडिएकाे छ।
त्याेबेलाकाे काठमाडौँमा खबर पुर्याउन अहिलेका जस्ता साधनहरू थिएनन्। एक ठाउँकाे सूचना अर्काे ठाउँमा पुर्याउन पनि हिँडेरै जानुपर्थ्याे। त्यतिबेला पनि इन्द्रजात्रा भने मनाउने चलन थियाे।
तर त्यतिखेर भने सबै स्थानीयबासीहरूलाई जात्रा सुरु भएको थाहा हुँदैन थियाे। त्यसैले जात्रा शुभारम्भ भएको खबर फैलाउन ३२ हाते अग्लो इन्द्रध्वजाा अर्थात् लिङ्गाे ठड्याउन थालिएकाे केन्द्रीय मानन्धर संघका सदस्य केके मानन्धरले बताए।
‘स्थानीयहरूलाई जात्रा सुरु भएको जानकारी गराउनकै लागि लिङ्गाे ठ्याइएको भन्ने बुझिन्छ’, उनले भने।
इन्द्रध्जवा भनेकाे के हाे?
नेवारी समुदायमा इन्द्रध्वजालाई याेंसी पनि भनिन्छ। खासमा याेंसी भनेकाे रानी सल्लाेकाे रूख हाे। जुन भक्तपुरकाे सूर्य विनायक नगरपालिका–१० मा रहेकाे चित्तापाेल जंगलमा पाइन्छ।
साढे तीन राेपनीमा फैलिएकाे जंगलबाट रूख लिन सहज छैन। तर जात्राका लागि भने सरकारले नै स्वीकृति दिएकाे छ।
‘जंगलको रुख काट्ने अधिकार जो-कसैलाई छैन तर जात्राका लागि भने सरकारले रुख काट्न अनुमति दिएको छ’, उनी भन्छन्, ‘यो जात्रा नेवारी समुदायको मात्र होइन, राष्ट्रिय पर्व नै हो।’
३२ हाते अग्लाे र अँगालाे हाल्दा समात्न नसकिने सिधा रहेकाे रानी सल्लाेलाई भक्तपुरबाट तानेर काठमाडाैँ ल्याइन्छ।
तर रानी सल्लाेलाई काट्न सहज नभएकाे उनकाे तर्क छ। ‘रानी सल्लोलाई त्यत्तिकै काट्न हुँदैन। सुरुमा रुखलाई पूजा गर्नुपर्छ। कालो बोकाको बलि, सलामी र तोप दिनुपर्छ, तबमात्र रुख काट्नुपर्छ’, उनले बिएल नेपाली सेवालाई बताए।
पूजा गरेर काटेकाे रानी सल्लाेलाई भक्तपुरबाट तान्दै सूर्यविनायक, ठिमी, कोटेश्वर, बानेश्वर, भद्रकाली, सहिदगेट, टुँडिखेल, हुँदै भेटाहिटीमा ल्याइन्छ। त्यसपछि इन्द्रजात्रा मनाउन सुरू गरिन्छ।
किन मनाइन्छ इन्द्रजात्रा?
हरेक वर्ष मनाइने इन्द्रजात्रासँग एक किम्बदन्ती जाेडिएकाे छ। एकदिन राजा इन्द्र स्वर्गलोकबाट धर्तीमा झरे। उनी आफ्नी आमाका लागि पारिजातको फूल लिन काठमाडाैँ आएका थिए।
फूल टिप्न नेवारकाे बगैंचामा गएपछि उनलाई काठमाडौँका मानिसले ‘चोर’ सम्झिएर समाती राखे। वर्षौँसम्म उनीहरूले इन्द्रलाई छोडेनन्। र, एउटा खम्बामा बाँधिदिए।
फूल टिप्न गएकाे छोरा नफर्किएपछि आमा इन्द्रायणी पीरमा थिइन्। अनि उनी आफैँ धर्तीमा झरिन्।
धर्ती लाेकमा इन्द्रलाई मानिसहरूले बाँधेर राखेकाे देखेपछि आमा इन्द्रायणीले छाेरालाई छाेड्न आग्रह गरिन्। तर कसैले मानेनन्।
त्यसपछि उनले मृत्यु भएका सबैलाई स्वर्ग लैजाने वाचा गरिन्। र, इन्द्रलाई छुटाएर स्वर्ग लाेक लगिन्।
त्यो यहाँका मान्छेका लागि एउटा ठूलो विजय थियो।
अन्तत: त्यही विजयोत्सव ‘इन्द्रजात्रा’ भयो। र, अब त्यो काठमाडौँमा नेवार समुदायका लागि एउटा गौरवपूर्ण पहिचान बनिसकेको छ।
उक्त दिन स्नान गरी, श्रृङ्गारपटार गरी चोखो भएर बिहानै इन्द्रध्वजा उठाउने, लिङ्गो पूजा गरी शीरमा पुष्प गुच्छाले सजाइ, छातासहितको गजूर र जमिनसम्म छुने कपडाको ध्वजा हनुमानढोका अगाडि तलेजु भवानीको मन्दिरसामु राखिन्छ।
यस पर्वमा विशेषगरी जीवित देवी अर्थात् कुमारीको रथ तानेर जात्रा मनाइन्छ। कुमारीको रथको अघि-अघि गणेश र भैरवको पनि रथ तानेर जात्रा गरिन्छ। जहाँ कुमारीको रक्षकको रूपमा गणेश र भैरवको स्थापना गरिएको हुन्छ।
यस दिन विशेष गरेर स्वर्गका राजा देवराज इन्द्रलाई सहकालको देवताको रूपमा पूजा गरिन्छ। र, इन्द्रजात्राको अघिल्लो दिन ५०४ कुमारीको पूजा गर्ने प्रचलन छ।