अमेरिकामा निर्वाचन: ३ राज्यमा सुरू भयो अर्ली भोटिङ, पहिलो दिन नै उत्साहजनक मतदान

बिएल संवाददाता

वासिङ्टन डीसी
Break n Links
Break n Links

अमेरिकामा आगामी नोभेम्बर ५ मा हुने आमनिर्वाचनको दिन आउन अझै ४५ दिन बाँकि छ । तर, तीन राज्य भर्जिनिया, मिनेसोटा र साउथ डकोटामा भने आज शुक्रबारदेखि नै अर्ली भोटिङ सुरू भएको छ ।अर्ली भोटिङको पहिलो दिन उत्साहजनक रूपमा मतदाताहरूको सहभागिता देखिएको छ ।

अमेरिकाको पूर्वीमध्य भागमा अवस्थित भर्जिनिया राजधानी वासिङ्टन डीसीसँगै जोडिएको छ भने मध्यपश्चिमका मिनेसोटा र साउथ डकोटा क्यानाडासँग जोडिएका छन् । राजनीतिक रूपमा भर्जिनिया र मिनेसोटा डेमोक्रेट बहुल नीला राज्य हुन् । तर, रिपब्लिकन बहुल साउथ डकोटा  भने रातो राज्य हो । भर्जिनियामा १३, मिनेसोटामा १० र साउथ डकोटाको ३ इलेक्ट्रोल कलेज मत छ । अमेरिकामा धेरै मत ल्याउने उम्मेद्वारले जित्दैन । जित्नका लागि विभिन्न राज्यमा विभाजित इलेक्ट्रोल कलेज मत बढी ल्याउनु पर्छ । जीतका लागि २७० इलेक्ट्रोल कलेज मत आवश्यक हुन्छ ।

यसपटकको चुनावमा सुरूमा दुई वृद्ध डोनल्ड ट्रम्प (७८) र जो बाइडेन (८१) राष्ट्रपति उम्मेद्वार थिए। त्यतिबेला भर्जिनिया र मिनेसोटाको नीलो रङ खुइलिएर फिक्का भएको थियो। तर, डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनको ठाउँमा कमला ह्यारिस (५९) उम्मेद्वार भएपछि यी दुबै राज्य पुन: नीला भए । मिनसोटाका लोकप्रिय गभर्नर टिम वाल्स डेमोक्रेटिक पार्टीका तर्फबाट उपराष्ट्रपति उम्मेदेवार भएकाले यो राज्य त गाढा नीलो भएको छ। भर्जिनियामा पनि डेमोक्रेटिक राष्ट्रपति उम्मेद्वार कमला ह्यारिस  प्रतिद्वन्दी डोनल्ड ट्रम्पभन्दा धेरै अगाडि छन्। चुनावी पोलहरूको औसतमा उनी १२ अंकले अगाडि देखिन्छिन्।

अमेरिकामा हुलाकबाट मतदान गर्ने मेल इन ब्यालेट, निर्वाचनको दिन अगाडि नै मतदान केन्द्रमा गएर मतदान गर्ने अर्ली भोटिङ, निर्वाचनकै दिन गरिने मतदान र एब्सेन्टी ब्यालेट मार्फत् गरिने मतदान गरी चार  माध्यमद्वारा मतदान गरिन्छ । सबै राज्यमा निर्वाचनको दिन नोभेम्बर महिनाको पहिलो मंगलबार नै भए पनि अर्ली भोटिङ र मेल इन ब्यालेट कहिले र कसरी गर्ने बारेमा भने राज्यहरूका निर्वाचन कार्यालय नै निर्णय गर्छन् । अपवादका रूपमा मिसिसिपी, अलाबामा र न्यू ह्याम्पसायर राज्यमा भने अर्ली भोटिङ हुँदैन ।  

अमेरिकाले आगामी नोभेम्बर ५ मा आमचुनाव हुँदैछ। चुनावमा डेमोक्रेटिक राष्ट्रपति उम्मेद्वार कमला ह्यारिस र रिपब्लिकन राष्ट्रपति उम्मेद्वार डोनल्ड ट्रम्पबीच देशको ४७औं राष्ट्रपतिका लागि तीब्र प्रतिस्पर्धा छ। ट्रम्प अमेरिकाका ४५औं राष्ट्रपति हुन् भने कमला अमेरिकाकै पहिलो उपराष्ट्रपति महिला हुन्। पछिल्ला एक्जिट पोलहरूमा कमला ह्यारिसले डोनल्ड ट्रम्पलाई पछाडि छोडेकी छन्। नोभेम्बर ५ सम्म यही गतिमा उनको गधा चम्क्यो भने  रिपब्लिकनको बूढो हात्ती ट्रम्पको केही सिप लाग्दैन। स्मरणीय रहोस्, अमेरिकामा गधा डेमोक्रेटिक पार्टीको र हात्ती रिपब्लिकन पार्टीको चिन्ह हो ।

प्रकाशित मिति: : 2024-09-21 03:20:00

प्रतिकृया दिनुहोस्