यो देशमा धेरै खाले लेखनहरु भए। यो बिचमा धेरै उतारचढावहरु आएका छन्। लेखनको दमले थुप्रै पल्ट व्यवस्थाहरु परिवर्तन भएका छन्। व्यवस्था परिवर्तनको अवसरमा राज्यले उत्सव मनाएका छन्। त्यो अवसरमा राज्य वा त स्थानीय निकायले कहिलेकाहीँ झारा मेट्ने भए पनि साहित्यिक गोष्ठिहरु गर्छन्। व्यवस्था परिवर्तनका निम्ति आवाज बुलन्द गर्नेहरुलाई गेट बाहिर राखिन्छन्, अनि गाइन्छन् व्यवस्थापन नमिलेको संगीतहरु। खास त्यसका गीतकार, संगीतकार तथा गायकहरु चाहिँ भित्र के हुँदैछ? हामीलाई पनि त्यो मञ्चमा बोलाइन्छ कि भनेर आशा गर्दै गाजाबाजा बोकेर, आफूले लेखेको गीत च्यातिएको गोजीमा बोकेर, आफूले गाएको गीत बिग्रन्छ कि भनेर लेग्रो तानी-तानी अभ्यास गरिरहेका हुन्छन् तर उनीहरु सदा गेट बाहिर नै हुन्छन् र गेट बाहिरबाटै बिदा हुन्छन्।
यस्ता कैयौँ घटनाहरु पिँधमै छन्। राज्य त्यो त्यस्ता घटनाहरुलाई निस्तेज पार्न चाहन्छन्। तल पिँधमा रहेका समुदायहरु आज पनि भूत भइसकेका व्यवस्थाहरुको सिकार नै भइरहेका छन्। चरम अत्याचारहरु भोगिरहेका छन्। हामीले समानता र उन्मुक्तिको आदर्शवादी गीत कैयौँ मञ्चहरुमा घोक्रो फुलिनेगरी गाए पनि व्यवहारतः हामी ठुला मान्छे हौँ भन्ने भ्रमहरु हामीमा सलबलाई नै रहेका छन्। हिजोका त्यो शोषकी र हेपाहा फँणाहरु अहिले पनि समाजमा कहीँ अदृष्य त कहीँ खुलेआम रुपमा सलबलाउँदै मौका पाउने बित्तिकै डस्न पछि परेका छैनन्। यसविरुद्व कलमकर्मी तथा संस्कृतिकर्मीहरु फेरि एकपल्ट जुरुक्कै उठ्ने बेला आएको छ। हो यो मेसोमा दर्बिलो रुपमा देखा परेका छन् कवि ‘मञ्जुल मितेरी’ र उनको कृति ‘कामी’।
मञ्जुलको हत्केला मलिलो छ। उनी हाल जापानमा छन्। उतै अनेकौँ गतिविधिका साथ रमाइरहेका छन्। उनी र उनको टिमले एउटै ढुंगामा विश्वकै अग्लो र ठुलो भगवान गौतम बुद्धको मुर्ति कुँदेर ख्याति कमाइसकेका मञ्जुल लेखनमा पनि उत्तिकै दम राख्छन्। उनले जापान बसाइँमा नै ‘कामी’ कविता कृति तयार गरे। र, मुर्तिको काम सक्ने बित्तिकै सो कृतिको सार्वजनिक गर्नकै खातिर आफ्नो जन्मभूमि नेपाल कात्तिकमा ओर्ले। र, एक भव्य कार्यक्रमको आयोजना गर्दै सो कृतिको कात्तिक १२ गते सार्वजनिक गरे।
‘एक हुल ‘ब्वाँसा’हरु
उभिरहेका थिए भेरी किनारमा
बोकेर खोपडीभरि चेतनाको चिहान
दफन गर्दै थिए
आफैँले बोकी ल्याएका मानवताका नाराहरु
र खासखुस कुरा गरिरहेका थिए–
“भो नकराऔँ हामी
त्यहाँ मान्छे होइन
अछुत मारिएको रहेछ”’
(चेतनाको चिहान-३२)
यस्तै-यस्तै भावना र विचारहरुले ओतप्रोत ‘कामी’ले राम्रो बजार पायो। उनी नेपाल बसाइँमा निक्कै व्यस्त रहे। कृतिसँग सम्बन्धित रहेर नै उनी देशको गाउँ र सहरको दर्शन गरे। अचम्मको कुरा त के भने वर्ष दिन नपुग्दै उनको कृति दोस्रो संस्करण आइसकेको छ। यो उनको काव्यिक क्षमताको उदाहरण हो। सायदै कविले पाउँछन् यो भाग्य र मौका। प्रथमतः उनको यो कृतिको नामैले धेरैलाई छोयो। कतिले यो नामलाई आन्दोलनको प्रतीक ठाने त कतिको यो नामैले मथिंगल हल्लाएको हुनुपर्छ। माथि उल्लेखित कविताले गणतन्त्रको खिल्लि उडाइदिएको छ। गणतान्त्रिक मुलुकमा अन्तरजातीय प्रेम गरेको नाममा नवराज वि.क.हरुले प्रेमको सहिद हुनुपर्ने? भेरीमा हाम फाल्नुपर्ने? योभन्दा अर्को लाज पनि गणतन्त्रमा होला र?
‘सपना–
घडेरी जोड्ने छ
घर बनाउने छ
गाडी किन्ने छ
सपना–
ऋण तिर्ने छ
आफू र आफ्नालाई पुग्ने जति
अलिकति खुशी जोड्ने छ
सपना –
ती दूरदराजका बस्तीहरुका लागि
अँध्याराहरुको शहर झरेर
अलिकति उज्यालो किन्ने छ
र तिनै सपनाहरु पूरा गर्न
आज फेरि हथौडा किनेको छु।’
(हथौडा-७४)
हुन त कविता लेखनलाई हेर्ने आ– आफ्नो दृष्टिकोण हुन्छ। सायदै सदियौँदेखि पीडा र उत्पीडनमा परेका हामी जस्ताको निम्ति यस्ता कविता आफ्नो मुटु लाग्छ। सम्भ्रान्त वर्गका कलावादीहरुलाई यस्ता कविता आक्रोश वा भाषण या त खस्रो लाग्न सक्छ तर यो देशका अधिकांश पाठक र जनताले मन पराउने कविता यी नै हुन्। हथौडा कविता यो राज्य व्यवस्थाले दलनमा पारेको समुदायको आवाज त हो नै साथै यो देशका लाखौँ श्रमजीवीहरुका प्रतिनिधि कविता हो। एउटा श्रमजीवीले सानो औजारमा ठुलो आशा राख्छन्। त्यो सानो औजारमा ठुलठुलो सपना सजाउँछन्। र, त्यो सपना पूरा गर्नमा राज्यको हात पनि उत्तिकै हुन्छ। तर, यो देशमा पछिल्लो पल्टको अवस्था हेर्ने हो भने त त्यो सपनालाई भत्काउन यो देशका जिम्मेवार पद फुल्लीहरु नै लागिपरेका छन् जस्तो कि भुटानी शरणार्थीको नाममा, गैरशरणार्थीहरुलाई अमेरिका पठाउने हाइप्रोफाइलका नेपाल सरकारका जिम्मेवार व्यक्तिहरु भकाभक मुछिदैछन्। अनि यो देशका श्रमजीवीहरुको हथौडाले सजाएका सपनाहरु कसरी पूरा होस त? बरु आफू पदको दुरुपयोग गर्दै हथौडाधारीलाई सदा किनारा लगाउन चाहन्छन्। र, त भन्न मन लाग्छ वा मञ्जुलका क्या कविता?
‘तिम्रा कलिला पाइतालाहरुले
खेल्दै गरेका कलिला खेलहरुलाई
युद्धका ती क्रुर नङ्ग्राहरुले
तिमीसँगै
हरे !
कसरी चकनाचुर पारेछन्
छियाछिया पारेछन्
अङ्गभङ्ग पारेछन्
मैले त भनेकै थिएँ नि छोरा
एक्लै कतै ननिस्कनु भनेर
त्यो उज्यालो
तिम्रो उज्यालो थिएन’
(अन्तिम अङ्कमाल- ६०)
हो, आज पनि हामी आकाशको उज्यालो घामलाई मेरो उज्यालो भन्न पाउँदैनौँ। यो मुलुकका सामन्तहरु त्यो घामको उज्यालो र त्यो जूनको शीतल आफ्नै पेवा ठान्छन्। हुन त यहाँका मजदुर तथा श्रमजीवीहरुको त्याग र बलिदानीमा अनेकौँ व्यवस्थाहरु बदलिए तर उनीहरुको अवस्था जस्ताको तस्तै छ। व्यवस्था परिवर्तनका निम्ति प्रयोग भएका हँसियाहतौडा र ती औजारहरु खिया परेको छ। उनीहरुको हामीलाई वास्ता छैन। यो देशका दलित र किनारीकृतहरुलाई यहाँका शोषक, सामन्ती सोच बोकेकाहरुले मान्छे गन्न चाहँदैनन्। पैतलाको धुलो सम्झन्छन्। र, नै त उज्यालो खोज्न हिँडेका छोराहरु सकुशल फर्किने हो या हैन, पवित्र प्रेम गरेका नवराज वि.क.हरुको आयुभरिको जीवन जिउन पाउँछ कि पाउँदैन भनेर आमाहरुले चुहिने छानोमुनिको साँघरमा बसेर पर्खनु पर्ने पीडादायी अवस्थाको चित्रण छ माथिको कवितामा। विडम्बना जुझारु एउटा आशासरीको छोरो अङ्भङ्ग भएको हेर्नुपर्ने आमाको दर्दहरु अझ पनि छँदैछ। त्यही दर्दहरुको उदाहरण हो, अन्तिम अङ्कमाल कविता।
‘मान्छे
कोर्छ सिमानाहरु आफैँ
र गर्छ युद्ध, विश्वयुद्ध
न जित्न सक्छ कहिल्यै
न हार्न मान्छे कहिल्यै
धसेर आफैँमा युद्धको खरानी
अल्झिरहन्छ युगयुग
नदीहरु सलल्ल बगिरहन्छन्
मान्छे
पाल्छ लोभ, अहंकार र महत्वाकाङ्क्षाको आगो
बनाउँछ विजयको अन्तिम निशाना
उही मान्छेको छाती
र हस्तान्तरण गरिरहेछ भावी पुस्तालाई
युद्धले डढेको पृथ्वी ’
(पृथ्वीको हस्तान्तरण- ८०)
यो समाजका जातीय अहंकारले भरिएका मानिसको खोल मात्र ओढेकाहरुले कहिल्यै नसोचेको हुँदो हो दैलो परका बा मान्छेहरुको यो सोच र चिन्तन होला र? यो ब्रम्हाण्डप्रति यत्रो सोच राख्दो हो र? आजसम्म यही मनोदशाले ग्रसित छ सम्भ्रान्त जातहरु। बरु आफ्नो जात र समुदायको वकालत गर्दा उल्टो उनीहरुलाई नै जातिवादिको बिल्ला भिराउँछ उनीहरुलाई छि:छि: र दुरदुरको दृष्टिले हेरिन्छ। तर, यो पृथ्वी सिँगार्ने जस उनीहरुलाई नै जान्छ। र, नै त हरेक आविष्कार र निर्माणमा विश्वकर्मा बाबालाई नै पुज्ने गरिन्छ। विश्वकर्मा बाबाले पनि ठुला जात हुँ भन्नेहरुले जसरी नै संघार बाहिर राख्यो भने यहाँको हालत के होला? हामीले यो पनि बुझ्न जरुरी छ धार्मिक होस् या विज्ञानसम्मत यो पृथ्वी हामी सबैको साझा हो र हामी सबैले नै निर्माण गरेका हौँ। रसायनिक हात हतियारले चौतर्फी आक्रान्त पारेको यो समयमा हामीले यसको संरक्षण र सम्वर्द्धन गर्नुपर्ने हो तर हामीलाई दम्भले बडाप्पनले त्यो हुन दिएन। हामीलाई स्वार्थ र दम्भले यति गाँजेको छ कि स्वयम आफ्नै धरातल नै डढाउन लागेका छौँ। यो कविता पर्यावरण लेखनसँग पनि धेरै नजिक छ। यो बेलाको टड्कारो आवाज पनि हो यो कविता। यो अर्थले पनि यो कविता खुब पठनीय लागेको हो।
प्रिय कवि मञ्जुल मितेरीको यो कविता कृतिको नौरानमै कैयौँ चोटी धन्यवाद दिएको छु। यो आँट चानेचुने हुँदै होइन। आज अरुको लहैलहैमा लागेर, आफू ठूलो हुने या त उनीहरु समान हुने नाममा हाम्रो जात नामेट गर्दैछौँ। त्यो कदापि राम्रो हैन। ‘कामी’ संग्रहको नाममात्र हाेइन, यो त कामीहरुको पीडा, उनीहरुले भोगेको वर्तमान, भविष्यको सम्भावना र यो देश र पृथ्वीको बारेमा लामो सोच र चिन्तन राख्नेहरुको प्रतिनिधि पनि हो। यो कृतिमा धेरै पठनीय कविताहरु छन्, पढ्ने जिम्मा यहाँहरुलाई। अन्त्यमा मञ्जुल मितेरीको अरु काव्यिक यात्राको शुभकामना।