किन घोट्नु यहाँ कलम?

Break n Links
Break n Links

मुलुकका जल्दाबल्दा समस्याहरुका बारेमा लेख्दा मान्छेहरुले यो नठानून् कि म कुनै निबन्ध वा कविता प्रतियोगिताका लागि कनीकुथी कलम चलाइरहेको छु वा प्रमाणपत्र वा पुरस्कार हासिल गर्नका खातिर बासी कुराहरुलाई फ्रिजबाट झिकेर धमाधम तताइरहेको छु।

लेख्नु मेरो रहर होइन। बाध्यता हो। मलाई लेख्न मन लाग्दैन। तर अहिलेसम्म कलम नै मेरो मुख्य हतियार हो। नलेखेर के गर्नु? ट्वाँ परेर बजारका भ्यागुत्ताहरुले ३६० डिग्री घुमेर गरिरहेको दाइँ हेर्नु?

(अरु ‘घण्टा’ हेरिएको छ त यहाँ?)

मेरो वरिपरिको परिवेश अनि देश, काल र परिस्थितिले मलाई जब घोच्छ; लल्कार्छ, अत्याउँछ, उकुसमुकुस तुल्याउँछ- तब उम्लिन्छ मेरो रगत ! त्यसपछि आफसेआफ कलम उठ्छ र खोरिया फाँड्न थाल्छ। बाध्य हुन्छु म प्राय: आफ्नै कलमको दुईधारे तरवारले आफूलगायत कैयौँलाई दिनदहाडै वा रातबिरात क्रूर मुद्रामा रहेर गिँड्नका लागि ! यसप्रकार आफ्नै कलमका अगाडि शक्तिहीन छु, म।

किन?

किनकि मैले कुनै पनि राजनीतिक दल वा तिनका भगिनी संस्थाहरुको सदस्यता लिएको छैन। लिनु पनि नपरोस्। अन्य कुनै संघ, संस्था, एनजिओ, आइएनजिओसँग मेरो प्रत्यक्ष वा अप्रत्यक्षरुपमा कुनै पनि संलग्नता छैन। मेरो पासपोर्ट, नागरिकता छैन। बैंक खाता छैन। मसँग आफूले हासिल गरेका कुनै पनि प्रमाणपत्रहरु सुरक्षित छैनन्। आफूले अखबारमा लेखेका सामग्रीहरुको चिर्कटो-संग्रह पनि मैले गरिँन। तर इन्टरनेट आएपछि लेखिएका मुख्य-मुख्य सामग्रीहरु अर्काइभमा सुरक्षित छन्। कति हराए। तर हराएका लेखहरुको मलाई कुनै पिरलो छैन। जो हरायो, सो हरायो। अब त्यसै पिरलोले नयाँ केही फुराउँछ र मेरा ‘सामान’ तयार हुन्छन्।

अनेक वस्तु वा जिनिशहरुको संग्रह गर्नपट्टी नलागेर मैले केवल लेखेँ। कम लगानीमै यत्रतत्र घुमें। टाढा-टाढा महंगा पैदल यात्रा पनि गएँ। कहिले सकुशल त कहिले मरणासन्न फर्किएँ। अनि फेरि लेखें। लेखिरहें। तथापि मैले अन्य समकालिन लेखकहरुभन्दा पृथक लेखें। मैले परम्पराहरुका कैयौं ढाँचा र ढरराहरु तोडें। कसैले लेखक मानोस् वा नमानोस् मैले लगातार लेखिरहें। पारिश्रमिक मिलोस् कि नमिलोस् मैले अहिर्नीश कलम घोटेर सामग्री प्रकाशन गर्न छाडिँन।

बेलाबेला झोँक चलेर कलमको नीब मैले टेबुलमा नभाँचेको पनि होइन। तर बजारमा कलम निकै सस्तोमा पाइने हुँदा मेरो लेख्ने क्रम थामिए पो !

पढेकै यही छ। जानेकै यही छ। यथास्थितिमा गर्नुपर्ने अनिवार्य काम पनि यही भएको छ। मने, लेख्नु। निरन्तर लेखिरहनु।

किनभने मेरो ‘फिल्ड’मा मात्रै नभएर लगभग सबै ‘फिल्ड’मा अन्धकार पनि अत्यधिक बढेको छ। जताततै जेमा पनि झिंगाहरु भन्किएर हैरान ! वरपर चिजबिजमा स्याउँस्याउँ किराहरु परेका छन्। अनि त्यहाँ मसीको ‘टिंचर आयोडिन’ वा ‘एन्टिबायोटिक्स’ पोखिदिन मन लाग्छ। मान्छेका ‘मवाद’ वा ‘नासूर’हरुमा कलमको नीबको ‘इन्जेक्सन’ हानिदिन मन लाग्छ। एकातिर पागललाई सद्दे बनाइदिन मन लाग्छ। अनि कथित सद्देलाई चाहिँ पागल तुल्याइदिन मन लाग्छ। जताततै खोरिया फाँडिदिन मन लाग्छ। खेतमा अन्धाधुन्ध हलो र दाँदे चलाइदिन मन लाग्छ।

तर यता सप्तरीको बरमझियामा एकपछि अर्को गर्दै कैयौँ पेडा पसलहरु खुलेजस्तै भएको छ, नेपालमा हाम्रो जिन्दगी। नक्कली धन्दाले गाउँ, नगर, प्रदेश र पुरै मुलुक आक्रान्त हुन पुगेको छ। बिल्कूलै नयाँ ‘काम’ वा सृजना गर्नेहरु कालान्तरमा उनीहरुको नक्कल गर्ने जमातहरुले छोपिन्छन्। पुरिन्छन्। कोही ओझेल पर्छन् वा शेष हुन्छन्। अनि कोही चाहिँ फावडा बोकेर फाँड्न थाल्छन् खोरिया। तपाईं कुन?

यति भाव पोख्न पनि लेख्नै पर्यो।

खासमा मलाई हिमालयमा गएर त्यहाँको आभामण्डल र सुन्दरतालाई अक्षरांकन गर्न मन छ। म कहाँ हिलो ‘उछालाउछाल’ लेख्न बाध्य छु? तर पनि गम छैन, हिलोमा नै कमल पनि फूल्छ।

राजनीतिक रिपोर्टिङ गरेर पहिल्यै बोर भएकाले ‘अल्टर्नेटिभ राइटिङ’ अर्थात् वैकल्पिक लेखनतर्फ आकर्षित भएर काम गरिरहेको मान्छेलाई बारबार राजनीतिक आयाम र कूआयाम दुवैले अझै छोडेको छैन। जबर्जस्ती तान्छ। जसरी तपाईंलाई तान्छ। त्यसरी मलाई पनि तान्छ।

कुनै घातक र परपीडक नेता वा सामन्ती सोचका भुस्तिघ्रेहरुलाई तल ओर्लेरै आलोचना वा गाली गर्न बाध्य तुल्याउँछ। शासन पद्धति राम्रो र सन्तोषजनक नभइदिँदा म जस्तो लेखकलाई अनेक तत्वमीमांसा र जासूसी कथा अधुरै छाडेर पाखुरा सुर्किँदै दुषित राजनीतिका विरुद्धमा कलम घिस्न कर लाग्छ। लिलाराज त बेलाबेला प्रदूषित व्यवस्थाविरुद्ध आगोका कोइला ओकल्न पनि बाध्य भइदिन्छ। ‘मकोहुँ’जस्तो जागरण-उपन्यास लेखिसकेको एक लेखकलाई तल नर्कको ‘रिपोर्टिङ’ गर्न अझै किन र केको बाध्यता होला? कुनै अनुमान?

मैले जवाफ दिनु पर्दा भन्दछु,

के गर्नु समयको माग नै यस्तै छ। तर जताततै सिनो गनाएर खपिनसक्नु भएको छ। अत्तर छर्केर क्यार्नु? मुखाँ मास्क लगाएर क्यार्नु?

त्यसैले मुलुकका जल्दाबल्दा समस्याहरुका बारेमा लेख्दा मान्छेहरुले यो नठानून् कि म कुनै निबन्ध वा कविता प्रतियोगिताका लागि कनीकुथी कलम चलाइरहेको छु वा परीक्षामा घिसेपिटे ‘पेपर’ लेखिरहेको छु। अनि कापी काट्ने सरहरुबाट ‘ठिक’ वा ‘सतप्रतिशत ठिक’जस्ता तक्माहरु पाइरहेको छु? वा बढीजसो विभिन्न इमोजीहरुले सजिन्छन् मेरा ‘कमेन्ट बक्स’?

धन्न नेपालमा म डाक्टर, इञ्जिनियर, पाइलट, ब्यापारी, नेता वा अभिनेता भइँन। त्यस्ता क्षेत्रमा गएको भए म बरवाद हुनेरहेछु। त्यता कतै मेरो टिक्ने अवस्था थिएन र छैन पनि! पत्रकारिता पढेकोमा पहिले-पहिले मलाई निकै पश्चाताप हुने गर्दथ्यो। तर नबुझेर त्यसो भएको रहेछ। स्नातक सकेको ३० वर्षपछि अहिले लाग्छ, म लेख्नकै लागि जन्मिएको हुँ र लेख्दा मलाई प्रसस्तै आत्मसन्तुष्टि प्राप्त हुन्छ।

आजभन्दा १० वर्षअघि समकक्षीहरुले मलाई अनामनगर तिर भन्थे, तँ लेख्नकै लागि जन्मिएको होस्, लेखिराख!

मलाई भित्रभित्रै क्रोध जाग्थ्यो उनीहरुका कुरा सुनेर। किनभने, म सिनेमा, पेण्टिङजस्ता आफ्ना नैसर्गिक प्यासनमा करियर बनाउन चाहन्थें। तर त्यसो हुन सकेन। अनि लेख्नुको अर्को विकल्प थिएन। त्यसपछि असफलता, निरासा र अपमानहरुलाई म अक्षरमा पेल्न थालें। शुरुशुरुमा बालुवा आयो। तर मैले लेख्न छाडिनँ। अहिर्नीश लेखाइले आफ्नो सृजनाको इनारबाट पानी निकाल्न म सफल भएको हुँ। तर सफलताहरु त मेरा आफैँद्वारा पो नजरअन्दाज हुँदै गए।

तर, पछिल्ला १० वर्ष लगातार लेखेपछि मात्रै मेरो आत्मबिश्वास ह्वात्तै बढेको हो। त्यसअघि अखबारमा लेख्दा आत्मबिश्वास बढ्नुको सट्टा झन् पो घट्थ्यो। त्यसका अनेक कारण छन्। १२ वर्षको उमेरमा कुनै स्थानीय पत्रीकामा मेरो प्रथम कविता प्रकाशित भएको हुँदा, आजसम्म मैले लेख्न सिकेको ४० वर्ष भएछ। अब दश वर्ष लगातार लेखेपछि मात्रै म लेखाइको बेसक्याम्प पुग्ने छु। मने, म अझै लेख्न सिक्दैछु।

सत्य भन्नुपर्दा, सामाजिक सञ्जालका माध्यमबाट गम्भीर पाठकका प्रतिक्रिया र हौसलाले मलाई भयंकर ऊर्जा प्रदान गर्यो। अनि कलम घोट्न मलाई झन्झन् जाँगर चल्न थालेको हो। एउटा लेखकलाई त्यस किसिमको प्रत्यक्ष ऊर्जाले खूब काम गर्दोरहेछ।

हिजो-आज लेखिरहँदा मलाई लाग्छ कि म साँच्चिकै लेख्नका लागि नै जन्मेको हुँ। अरु पेशामा गएको भए मजस्तो मान्छे टिक्दैन थियो। बिद्रोह मेरो रगतमा छ। म एक ‘नो कम्प्रोमाइज बिस्ट’ हुँ। तसर्थ लेखिरहँदा म अथाह स्वतन्त्रता महसुस गर्छु। साथ साथै तत्ववोध पनि! त्यसैले लेखाइबाहेक अरु कुनै पनि पेशा मेरा लागि बनेका होइनन्!

सिनेमाको प्यास पनि अब सुक्दैछ। किनभने, भोक लागेको बेला भोजन नभेट्दा शरीरले केही शक्तिवर्दक रसायन निकाल्छ र भोक गायव हुन्छ। जसलाई चलनचल्तीको भाषामा भोक टर्यो भनिन्छ। भोक टरेपछि खाएको खाना यदाकदा शरीरलाई घातक पनि हुनसक्छ। तसर्थ, सिनेमा खेल्ने मेरो भोक पनि टरिसकेको छ। अब मेरो शरीरले पृथक रसायन उमाल्न थालिसकेको छ। पर्दाको अभिनय मेरा लागि होइन रहेछ। जो वास्तविक दुनियाँमा अभिनय गर्न व्यस्त छ, उसले पर्दामा किन गर्ने छम्मकछल्लो?

यद्यपि यो- अमिलो अङ्गुर कसले खान्छ? भनेजस्तो चाहिँ पक्कै होइन। सिनेमा एक उत्कृष्ट विधा हो। अमिलो होइन, अति गुलियो छ। तर मेरा लागि कहाँ?

अब त कुनै पछुतो पनि छैन।

लेख्नु मेरो भोक, लेख्नु मेरो तिर्खा। लेख्नु मेरो निद्रा, लेख्नु मेरो जागृति। लेख्नु मेरो प्रेम, लेख्नु मेरो अभिप्सा। लेख्नु मेरो सिद्धी, लेख्नु मेरो शक्ति। लेख्नु मेरो चिकित्सा, लेख्नु मेरो सादगी!

बस् लेखिरहूँ। अनि लेखिरहूँ। नदी झैँ बगिरहूँ। कतै नरोकिएर, अविश्रान्त। दाहिने हात थाके देब्रेले। बस्दाबस्दा कम्मर दुखे उभिएर। अनि सकेसम्म दुवै हातले।

बस् लेखिरहूँ। लेखिरहूँ।

तर, एउटा आश्चर्यले मलाई रातदिन सताउँछ।

त्यो के भने, ‘लिजेन्डरी’ गायक गुलाम अलीले एउटा गजलभित्र गाएजस्तै,

मैले यहाँ आफ्नो लागि एउटा झुपडी पनि बनाउँन सकिँन। हे ईश्वर, कसरी तैंले यति विराट ब्रह्माण्ड बनाइस्?

प्रकाशित मिति: : 2024-09-14 18:57:00

प्रतिकृया दिनुहोस्