बुबा अथवा ‘बा’ कति प्यारो शब्द छ यो। नेपाली समाजमा परापूर्वकालदेखि सुनिदै आएको ‘बा’ शब्द आजभोलि लोप हुँदै गइरहेको छ।
आफ्नो धर्म, संस्कृतिलाई पैसामा बेच्न चाहने अहिलेको नेपाली समाजले आफ्नो जन्म र कर्म दिने ‘बा’ शब्दलाई अमेरिकी डलरमा बेचेर बाबा र ड्याडीमा पुर्याइसकेको छ। आफ्नो मातृभूमिमाथि लात हान्ने हामी नेपाली ‘बा’ शब्दमाथि पनि लात हानिरहेका छौँ।
सानोमा हामीलाई हातमा समाई हिँड्न सिकाउने ‘बा’ लाई आज बुढो हुँदा हात समाई हिँडाउनुपर्नेमा वृद्धाश्रमको एउटा बन्द कोठामा राख्न थालेका छौँ। हिजो मेरा सन्तानलाई माया कम भयो भनी सन्तानको वरिपरी बस्ने ‘बा’ आज हामी तिनै ‘बा’ लाई गाउँमा छोडी आफ्ना छोराछोरी लिएर युरोप अमेरिकामा छौँ। हिजो सानो छँदा ‘बा’ ले ‘के खाने छोराछोरी’ भनी सोधेर जे खाना मन छ, त्यही ल्याइदिने ‘बा’ लाई आज बिरामी पर्दा तातो पानीसम्म दिन सकेको छैन।
कहिल्यै आफूले मन परेको लाउन र खान विचरा हाम्रा ‘बा’ले पाउनुभएको छैन। आज हाम्रो समाजले ती ‘बा’ का दुःख र संर्घष बिर्सेर ‘बा’ को खोकी अनि बुढो शरीरले आफूलाई दुःख दिएको मात्र सम्झिरहेको छ।
सन्तानको खुसीको लागि ‘बा’ ले के गर्नुभएन? आफू भोकै बसि सन्तानको पेट भर्नुभयो। आफूले पुरानो लुगा टालेर सन्तानलाई नयाँ लुगा हालिदिनुभयो। त्यही सन्तानलाई दुःख हुन्छ भनेर आफूले हलो जोतेर सन्तानलाई शिक्षा दिनुभयो तर अपसोच आज त्यही शिक्षाले सन्तानलाई ७ समुन्द्र पारी पुर्याएको छ। आज ७ समुन्द्रबाट छोराले भन्छ- ‘बा’ कति पैसा चाहियो? अनि ‘बा’ भन्नुहुन्छ बाबु पर्दैन, मलाई पुग्ने पैसा यहीँ छ, बरु तँलाई त्यहाँ दुःख होला। आहा! कति महान हाम्रा ‘बा’। आफू ७० वर्ष पुगिसक्दा पनि ‘छोरा तँलाई दुःख होला’ भन्न छोड्नुभको छैन।
अझै अनुहार मलिनो देख्दा के भयो, सन्चो छैन? भनेर सोध्ने हाम्रा ‘बा’ लाई हामीले कहिल्यै सोधेका छौँ, ‘बा’ तपाईंको आँखा आज चिसो चिसो छ, के भयो तपाईंलाई, केही समस्या पो पर्यो कि? भनेर!
विचरा हाम्रा ‘बा’ कति दुःख कष्ट र समस्याले पिरोलिँदै, कति रात आँशुले सिरानी भिजाउनुभयो होला तर एउटै घरमा बसेको हामी छोराछोरीले उहाँकाे आँशु कहिल्यै देख्नु परेन, किनकि ‘बा’ ले आफ्नो आँशु हामीसामु कहिल्यै देखाउनुभएन।
आज गाउँभरि धेरै ‘बा’हरु एक्लै हुनुहुन्छ। न त समाउने लौरी छ, न त दुःख बिसाउने चौतारी। छोराछोरीको अनुहार मोबाइलमा हेर्नु परेको छ। नातीनातिनीको झल्को मेट्न कुकुर र बिरालोसँग खेल्नु परेको छ। दरबारजस्तो घर आज भूत बंगला भएको छ। न त दुख पर्दा साथ दिने हातहरु छन्, न त कुनै काम गर्ने आँट र क्षमता छ।
सन्तानलाई दुःख पर्दा दुःख बिसाउने अनि खुसी हुँदा हाँसो मिसाउने चौतारी बन्दाबन्दै आफ्नो हाँसो अनि रोदन मिसाउने दौँतरी पनि ‘बा’ ले पाउनुभएको छैन। पैसाले ओड्ने-ओछ्याउने पुग्ने हुँदा पनि विचरा ‘बा’ ले वृद्धाभत्ता सन्तानको लागि संगालेर राखिराख्नुभएको छ। हाम्रा ‘बा’ लाई न त अमेरिकाको सुविधा सम्पन्न शहर चाहिएको छ, न त युरोपको एसीवाला गाडी नै। बस, बाँचुञ्जेल सन्तानको माया अनि मरेपछि सन्तानको काँध भए हाम्रा ‘बा’हरुलाई पुग्नेछ।
‘बा’ हजुर महान हुनुहन्छ। जब म बाबु भएँ, तब थाहा भयो ‘बा’ हुनुको महत्व। आज बच्चा ‘च्याँ’ गर्दा छाती चसक्क हुन्छ। हिजो हजुरले हामीलाई गरेको माया आज सम्झिँदै छु। हजुरको त्याग, बलिदान र तपस्याले यो स्थानमा पुगे पनि मन हजुरतिर नै लागिरहोस् यही मेरो कामना छ।
जन्मभूमिभन्दा ठुलो हुन्छ आमाबुबाको काख, आमाको माया र बुबा को हौसला अनि प्रेरणाले जीवन जिउने गोरेटोमा अघि बढ्दै आज यो स्थितिमा पुर्याउने मेरो बुबालगायत सम्पूर्ण बुबाहरुलाई हार्दिक नमन गर्दै बुबाको मुख हेर्ने दिनको शुभकामना।