यौन विचलनको आरोप खेपेका क्याम्पस प्रमुखलाई उन्मुक्ति

यौन विचलनको आरोप खेपेका एक जना क्याम्पस प्रमुखलाई संचालक समितिको बैठकले उन्मुक्ति दिएको खुल्न आएको छ।

उर्लाबारीका मेयर गंगाप्रसाद खरेलसहित क्याम्पस संचालन समितिका केही सदस्यको असहमतिका बीच उर्लाबारी बहुमुखी क्याम्पसका प्रमुख खेमराज कार्कीले ‘क्लिन चिट’ पाएका हुन्। क्याम्पस प्रमुख कार्कीले चलाएको मोटरसाइकलबाट लडेर एकजना महिलाको मृत्यु भएपछि थप विषय चर्चामा आएको थियो।

कार्कीले ती महिलासँग अनुचित सम्बन्ध राख्दै आएको र लापरबाही तरिकाले बाइक हाँकेकोले उनको मृत्यु हुन पुगेको भन्दै स्थानीयले आक्रोश व्यक्त गर्दै आएका छन्। यसै विषयलाई लिएर कार्कीलाई पदबाट हटाउने कि राख्ने भन्ने विषयमा शुक्रबार क्याम्पस संचालक समितिको बैठक बसेको थियो। बैठकमा संचालक समितिका अधिकांश सदस्यले क्याम्पस प्रमुख कार्कीको बचाउ गरेका थिए।

यद्यपि, क्याम्पसका पदेन सदस्यसमेत रहेका मेयर खरेलले क्याम्पसको गरिमालाई उँचो राख्न पनि कार्कीलाई पदमुक्त गर्नुपर्ने अडान प्रस्तुत गरेपछि शुक्रबारको बैठक अनिर्णित बनेको थियो। शनिबार विहानै पुनः संचालक समितिको बैठक राखी कार्कीलाई क्याम्पस प्रमुख पदमा निरन्तरता दिने निर्णय भएको संचालक समिति सदस्य मुक्तिप्रकाश न्यौपानेले बताए।

न्यौपानेकाअनुसार सवारी दुर्घटनाबाट सफाइ पाइसकेपछि चौक र चिया पसलमा भएका हल्लालाई आधार बनाउनुको अर्थ नहुने भन्दै क्याम्पस प्रमुखलाई हटाउनुपर्ने कुनै कारण नभएको जिकिर गरे।

समितिको बहुमत सदस्यले कार्कीलाई पदमा निरन्तरता दिने बुझेपछि मेयर खरेलसहित पाँच जना सदस्यले शनिबार बोलाइएको बैठक बहिस्कार गरेका थिए।

उर्लाबारी क्याम्पस संचालन समितिमा १९ जना सदस्य रहेका छन्। जसमा मेयर खरेलसहित समितिका उपाध्यक्ष विशाल आङदेम्बे, सदस्यहरु गजेन्द्र दंगाल, मिलन दाहल, दिलु लिङदेन लावती र रमेश श्रेष्ठ ‘गुडविल’ले बैठक बहिस्कार गरेको बुझिएको छ।

उर्लाबारी- ४ घर भएका कार्कीले स्थानीय एक एकल महिलालाई मोटरसाइकलमा राखी ‘घुमाउन’ लगेका थिए। घरतर्फ फर्किने क्रममा कार्कीले हाँकेको मोटरसाइकल मोरङको कानेपोखरीमा दुर्घटनामा हुँदा त्यसमा सवार महिला गम्भीर घाइते बनेकी थिइन्। घाइते महिलाको तीन दिनपछि गत साउन ३२ गते उपचारका क्रममा मृत्युको थियो। क्याम्पस प्रमुख कार्कीले महिलालाई ‘गलत नियत’राखी घुमाउन लगेको तथा घटनाको तीन दिनसम्म बेखबर बनाइएको खुलासा भएको थियो।

इटहरीबाट फर्किने क्रममा बाइकको पछाडि बसेकी महिला कानेपोखरीमा लडेकी थिइन्। उनलाई उपचारार्थ मंगलबारेस्थित मदन भण्डारी ट्रमा सेन्टर अस्पतालमा ल्याइएको थियो। मंगलबारेमा उपचार सम्भव नभएपछि अस्पतालले विराटनगरको न्युरो हस्पिटल लैजान सुझाएको थियो। तर, कार्कीले आफुखुसी विराट नसिंङ होम पुर्याएपछि उपचारमा भएकाे ‘ढिलासुस्ती’का कारण तीन दिनपछि महिलाको मृत्यु भएको पीडित पक्षको भनाइ छ।

सवारी दुर्घटनाको मुद्धाअन्तर्गत केही समय इलाका प्रहरी कार्यालय पथरीको थुनामा रहेका कार्कीले थुनामुक्त भएपछि क्याम्पस प्रमुख पदमा रहिरहन दौडधुप गरेका थिए। स्रोतकाअनुसार क्याम्पस संचालक समिति अध्यक्ष पुष्पलाल ढकालले उल्लेखित घटनालाई दुर्घटनाकै रुपमा लिनुपर्ने भन्दै कार्कीको बचाउ गर्दै आएका छन्। मेयर खरेलले शैक्षिक थलोको नेतृत्वमा रहने व्यक्ति उच्च नैतिक चरित्रवान हुनुपर्ने भन्दै खेमराज कार्कीलाई क्याम्पस प्रमुखको जिम्वेवारीबाट हटाउनुपर्नेमा अडिग रहेका छन्।

यसैबीच नेकपा (एमाले)का संगठित सदस्य रहेका खेमराज कार्कीलाई एमाले उर्लाबारीले पार्टी सदस्यताबाट हटाएको विज्ञप्तिमार्फत जनाएको छ।

प्रकाशित मिति: : 2024-09-21 10:58:00

प्रतिकृया दिनुहोस्