दिनभरिका प्रमुख समाचार

रविकाे चतुर्‍याइँबाट देउवासमेत चकित, दुर्गा प्रसाईंलाई पक्रिने बाटाे खुला (भिडियाे)

आजबाट साेह्र श्राद्ध सुरु भयाे। आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदा दान र पिण्ड दान गरियाे। त्यस्तै आज निर्वाचन आयाेगले स्थानीय तहकाे उप-निर्वाचनकाे कार्यतालिका पनि सार्वजनिक गर्याे भने आज नै काेशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासकाे मत प्राप्त गरे।

त्यसैगरी आज काठमाडाैँमा भएका सत्ता गठबन्धनका दलका कार्यक्रममार्फत नेताहरुकाे रास्वपा सभापति रवि लामिछानेमाथि कटाक्ष गरे।

संविधान दिवसकाे पूर्वसन्ध्यामा काठमाडाैँलगायत देशभरि त्यससँग सम्बन्धित गतिविधिहरू पनि भइरहेका छन्। आज दिनभरि रविमाथि गरिएकाे कटाक्षदेखि मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जारी भएकाे पक्राउ पुर्जीसम्मका समाचार चर्चामा रहेका छन्। यीसँगै आजका मुख्य-मुख्य समाचारहरु यहाँ प्रस्तुत छ:


सोह्र श्राद्ध सुरु

आजदेखि सोह्र श्राद्ध सुरु भएको छ।स

अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदा दान र पिण्ड दान गरी सोह्र श्राद्ध सुरु भएको हाे।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदा दान र पिण्ड दान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो।

१६ दिनसम्म पितृप्रतिको सम्मान प्रकट गरिने भएकाले यस अवधिलाई पितृ पक्ष पनि भनिन्छ।

स्थानीय तहको उपनिर्वाचनको कार्यातालिका स्वीकृत

निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदको उपनिर्वाचन आगामी मंसिर १६ गते आइतबारका दिन हुने तय गरेको छ।

निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रुपले संचालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरुले सम्पादन गर्ने कार्यहरुलाई समयवद्ध रुपमा समावेश गरी कार्यतालिका स्वीकृत गरको हो।

कार्यतालिका बमोजिम निर्वाचन प्रयोजनका लागि राजनीतिक दलको दर्ताको सूचना यहि असोज ९ गते प्रकाशन गरी असोज १० देखि १६ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने, असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचन सम्बन्धि निर्देशिका, कार्यविधी, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम संचालन गर्ने, कार्तिक २६ गते मतदाताको अन्तिम नामावली  प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कार्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मङ्सिर २ गतेदेखी निर्वाचन कार्यक्रम संचालन गर्दै १६ गतेसम्म मतदान गर्ने लगायतका ६२ वटा क्रियाकलाप सहित निर्वाचन कार्यतालिका स्वीकृत भएको आयोगले जानकारी दिएको छ।

मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्। बुधबार कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएका हुन्।

एमाले-कांग्रेसको समर्थन पाएका मुख्यमन्त्री कार्कीको पक्षमा ६६ मत परेको थियो। भने, विपक्षमा १५ मत परेको थियो। मतविभाजन प्रक्रियामा २ जना सांसद सहभागी भएका थिएनन्। विश्वासको मत लिने प्रस्तावको मतदान प्रक्रिया मा ८३ सांसदले भाग लिएका थिए।

न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्रीकाे हातमा

नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको गठबन्धन सरकारले गठबन्धन गरेको कार्यदलले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रम बुझाएकाे छ।

सत्ता गठबन्धनको कार्यदलले न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री ओलीलाई बुझाएकाे हाे।

गठबन्धनले साझा न्यूनतम कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल बनाएको थियो।

संविधान दिवसमा कैदी नछुट्ने

संविधान दिवसको अवसरमा यो पटक कैदीहरु नछुट्ने भएका छन्।

कारागार व्यवस्थापन विभागले कैदी छुटेहरुको विवरण गृह मन्त्रालयमा पठाए पनि निर्णय हुन बाँकी रहेको भन्दै बिहीबार संविधान दिवसको अवसरमा कैदीबन्दी रिहा नहुने भएका हुन्।

गृह मन्त्रालयले गृहकार्य नपुगेको भन्दै निर्णय नगरेकाले भोलि कैदीबन्दी छुट्ने अवस्था नरहेको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामबहादुर सार्की बताए।

दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला अदालत काठमाडौँले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।

उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको थियो।

ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित बागलुङको बडीगाड गाउँपालिकाका जीवन पाण्डे र धादिङको सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

‘पाँचौँ मिस्टर काठमाडौँ’का विजेता प्रकाश राईको निधन

पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ।

गत शनिबार शारीरिक सुगठन प्रतियोगितामा उपाधि जितेका ४५ वर्षीय राईको हृदयघातका कारण बुधबार बिहान निधन भएको हो।

हृदयघात भएपछि तत्काल धापासीस्थित ग्रान्डी अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा उनको निधन भएको हाे।

निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न एमालेकाे एक वर्षे कार्ययोजना तयार

नेकपा (एमाले)ले केन्द्रले निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न एक बर्से कार्ययोजना बनाएको छ।

आगामी निर्वाचनबाट पार्टीलाई बहुमत प्राप्त पहिलो र बलियो शक्ति बनाउने उद्देश्यसहित एक वार्षिक कार्ययोजना तयार पारेको हाे।

जसमा पार्टी सदस्यता नवीकरण, विस्तार तथा अभिलेखीकरणदेखि नियमित अधिवेशन र व्यवस्थापन तथा पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कनसहित अन्तर्विरोधको व्यवस्थापन समेटिएको छ।

पार्टी सदस्य १ लाख ४० हजार रास्वपाकाे दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थापनाको २६ महिनामा आफ्नाे पार्टी सदस्य एक लाख ४० हजार पुगेको दाबी गरेकाे छ।

काठमाडाैँमा दुई दिनसम्म चलेकाे पहिलाे राष्ट्रिय भेलामा कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पेश गरेको सांगठनिक प्रतिवेदनमा पार्टी सदस्य एक लाख ४० हजार पुगेको उल्लेख छ।

रास्वपाको प्रतिवेदन अनुसार बागमतीमा ४१ हजार ३३४, कोशीमा २२ हजार ८५६, मधेसमा ११ हजार ४३३, गण्डकीमा १९ हजार २०३, लुम्बिनीमा २३ हजार ३०३, कर्णालीमा ५ हजार ३८६ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ६७७ सदस्य रहेकाे दाबी छ।

रवि लामिछानेले सहकारीकाे पैसा अपचलन गरेकाे पुष्टि भयाे: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै उनले सहकारी सम्बन्धी गठन भएको संसदीय छानबिन विशेष समितिले लामिछानेमाथि स‌ंसदमा उठेका प्रश्नहरू प्रमाणित गरेको बताए।

देउवाले लामिछानेमाथि लागेको ठगीको आरोपबारे विश्वास नलागेको भएपनि समितिले प्रमाणित गरेको र पार्टीका महामन्त्री गगनकुमार थापाले उठान गरेको विषय सही भएको बताएका थिए। यसका लागि उनले थापालाई धन्यवाद समेत दिएका थिए।

रास्वपामा सभापतिको पापको भारी कसले बढी बोक्ने भन्ने प्रतिस्पर्धा छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा कांग्रेसले भनेकै कुरा संसदीय छानबिन समितिले पुष्टि गरेको बताएका छन्।

बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले संसदीय छानबिन समिति गठनको माग गर्दा कांग्रेसले गरेको आशंका समितिले पुष्टि गरेको बताएका हुन्।

आफूहरुले गोर्खा मिडिया प्रालिले सहकारीको रकम अपचलन गरेको, गोर्खा मिडियाका तत्कालीन सञ्चालक रवि लामिछाने गृहमन्त्री हुँदा सरकारी निकायले छानबिन नगरेको र गोर्खा मिडियामा रकम लैजानेहरुलाई कारबाही गर्न माग गरेर संसदीय छानबिन समिति गठनको माग राखेको बताए।

आज नेपाल र ओमानबीच प्रतिस्पर्धा

आईसीसी विश्वकप क्रिकेट लिग- २को त्रिदेशीय श्रृंखलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ।

यसअघि नेपाल आइतबार आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको थियो।

क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल पाँच खेलमा एक जीत र चार हारका साथ २ अंकसहित तालिकाको सातौँ स्थानमा छ।

महिला टी- २० विश्वकपमा पुरुष सरह पुरस्कार रकम

आइसीसीले महिला टी- २० विश्वकपका लागि पुरुष विश्वकप सरहनै पुरस्कार रकम दिने घोषणा गरेको छ।

युएईमा आगामी अक्टोबर ३ देखि सुरु हुने महिला टी- २० विश्वकपमा आइसीसीले कुल ७९ लाख ५८ हजार ८० डलर पुरस्कार रकममा खर्च हुने बताएको छ। हालै सम्पन्न पुरुष टी- २० विश्वकपमा पनि शोही बराबर रकम पुरस्कारमा खर्च गरिएको थियो।

आइसीसीले यस विश्वकपमा विजेता टिमलाई २३ लाख ४० हजार डलर दिने बताएको छ भने उपविजेता देशले ११ लाख ७० हजार डलर पाउने छन्।

प्रकाशित मिति: : 2024-09-18 20:35:00

प्रतिकृया दिनुहोस्