भारतमा बलात्कार प्रयासपछि नेपाली बालिकाको हत्या, न्याय खोज्दै चँदारा परिवार

नयाँ दिल्ली- कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटना प्रकरण एक वर्ष नाघिसक्दा पनि चर्चामै छ। प्रहरीले विभिन्न अनुसन्धान समिति बनाए पनि दोषी अझै पत्ता लाग्न सकेको छैन। सामाजिक सञ्जाल तथा मुलधारका मिडियामा निर्मला प्रकरणले निकै 'स्पेस' पायो। 

यसैबीच भारतमा बलात्कार प्रयासपछि एक ९ वर्षीया नेपाली बालिकाको हत्या भयो। तर, निर्मला प्रकृतिकै उक्त घटनाबारे खासै कसैको ध्यान तानेन। कारण मिडियामा यस घटनाले जति स्थान पाउनुपर्ने हो, त्यो पाएन। 

कसरी भयो घटना?
कामको खोजीमा साढे ३ वर्षअघि बाजुराको बुढीगंगा १ कुँडीबाट भारत पसेका थिए, देव चँदारा। बाजुरामा गुजारा गर्न गाह्रो भएपछि उनी एक्लै होइन पत्नी शान्ति, २ छोरा र २ छोरीसहित भारत आउन बाध्य भएका थिए। र, त्यहीँबाट सुरु भयो उनका दुःखका शृंखलाहरु।

नेपालका होस्टेल जस्तै भारतमा पिजी (पेइङ गेस्ट) हरु सञ्चालित छन्। भारतीय नागरिक बसिम अहमदले ३ वटा पिजी सञ्चालन गर्दै आएका थिए। सनु भनेर चिनिने बसिम अहमद मुस्लिम हुन्। बसिमको पूर्वी दिल्लीको सक्कपुरस्थित डि ब्लक १ सय १३ ए नम्बरको घरमा ड्युटी गर्दै आएका थिए, बाजुराका देव चँदारा। ४३ वर्षका उनीसँगै पत्नी शान्ति पनि थिइन्। दुवैलाई खान र बस्नको सुविधा दिइएको थियो। छोरा लक्ष्मीनगरस्थित एक होस्टलमा मजदुरी गर्थे।   

देवले होस्टेलमा सरसफाइको काम गर्थे भने शान्तिले होस्टेलमा बस्नेहरुलाई खाना पकाउँथिन्। 

साउन ५ गते घडीमा साढे १२ बजेर १० मिनेट गएको थियो। शान्तिले होस्टेलमा खाना पकाइरहेकी थिइन्। ९ वर्षिया सानी छोरी लक्ष्मी उनी खाना पकाइरहेको कोठामा पसिन्। पानीको बोतल लिएर एकैछिनमा फेरि आफू बास बस्ने कोठामा फर्किइन्।

प्रकाशित मिति: : 2019-08-27 19:14:02

प्रतिकृया दिनुहोस्