अनि माओवादी बैठक सकियो…

प्रश्न होइन, पीर-व्यथा पोखे र छुट्टिँदा सबैले भने, ‘प्रचण्ड कमरेड जिन्दावाद…’

ध्रुब बस्याल

काठमाडाैं

सुरक्षाकर्मीको घेरा पन्छाउँदै माइक ठड्याउँन भ्याएका पत्रकारहरूलाई प्रचण्डले फाटाफट भने, ‘वाद-विवाद अनि संवाद भयो।’

प्रज्ञा भवनको मूल ढोकामा कुरेर बसेका पत्रकारहरूले सोधेका थिए ‘बैठकमा के भयो?’ अनि हतार हतार प्रचण्डले भने ‘लोकतान्त्रिक भने पनि जनवाद भने पनि छलफल भयो।’

उनी निकै हतारिएका थिए। हतासिएका थिए। अनि आत्तिएका जस्ता लाग्थे।

चार दिनसम्म देशभरिबाट खेरिएका पार्टीका केन्द्रीय सदस्य अनि पदाधिकारीहरूलाई सुनेर बसेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँचौं दिनमा सबैले उठाएका प्रश्न अनि जिज्ञासाहरू संश्लेषित जवाफ दिए। अनि बैठकको समापन गरे।

खासमा पछिल्लो समय माओवादीभित्र देखिएको आन्तरिक लडाइँ अनि दोस्रो तहका नेताहरूको अघोषित गुटबन्दीलाई लिएर यो चौंथो पूर्ण बैठकमा निकै ‘घनिभूत’ छलफल हुने आंकलन गरिएको थियो।

२०७९ सालको संसदीय चुनाव सकेर सरकारको नेतृत्व गरेपछि पार्टीको पूर्ण बैठक पहिलोचोटी बसेको थियो। जहाँ प्रचण्ड र उनका ‘केन्द्रीय कार्यकर्ता’हरूले आमनेसामने गफिन पाए।

केही दिनअघि सकिएको नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकजस्तै माओवादीको यो बैठक पनि सामाजिक सञ्जालबाट ‘लाइभ’ गर्ने भनिएको थियो। तर, धेरै कार्यकर्ताहरूले ‘मनको कुरा खुलेर गर्न नपाइने’ भनेर गुनासो गरेपछि बैठक सुरु हुनुभन्दा केहीबेर अघिमात्रै त्यो ‘लाइभ’ नगर्ने निर्णय सुनाइयो।

धेरै अपेक्षा, घुमाउरा जवाफ

बैठकको अन्तिम दिन (आइतबार) प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डले चार दिनसम्म सुनेका कार्यकर्ताका प्रश्न र जिज्ञासाहरूको जवाफ दिने कार्यसूची थियो।

बैठकको सुरुवात गर्दै महासचिव देव गुरुङले ‘जिन्दावाद र मूर्दावाद’का केही नाराहरू गुञ्जाउन लगाए। त्योसँगै सबैले एकैस्वरमा ‘अध्यक्ष कमरेड प्रचण्ड जिन्दावाद’ भन्ने नारा घन्काउँदै मुठ्ठी उचाले।

त्यसपछि प्रचण्डले जवाफ दिन थाले।

बैठकको सुरुवातमा प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन सुनाए तर त्यो लिखित थिएन। उनले त्यो प्रतिवेदनलाई मौखिक भने।

र, अन्तिम दिन पनि उनले चार दिनसम्म टिपोट गरेका जिज्ञासा र प्रश्नहरूको जवाफ मौखिक नै दिए। सधैंजस्तै उही भाषणशैलीमा।

अपेक्षा गरिएजस्तो यो बैठकले खासै रणनीतिक निर्णयहरू गरेको छैन। यद्यपि, बैठकले गरेका निर्णयहरूलाई लिपिबद्ध गर्न स्थायी कमिटीको बैठक सोमबार बस्दैछ र त्यसपछि पत्रकार सम्मेलन गरेर निर्णयहरू सार्वजनिक गरिनेछन्।

बैठकभरि केन्द्रीय सदस्यहरूले ‘पार्टीको ओरालोयात्रा’का बारेमा कुरा उठाएका थिए। उनीहरूले पार्टी एउटै व्यक्ति केन्द्रित भएको र आफन्तवादमा फँस्दै गएको भन्दै प्रचण्डको आलोचना पनि गरेका थिए। त्यस्तै पार्टीमा देखिएका गुट-उपगुटहरू र सहरकेन्द्रित आदतका बारेमा पनि कुराहरू उठाए। सरकारका कामकारबाहीका कुरा उठाए। निर्वाचनमा खस्किँदै खस्किँदै आउनुका कारणहरूबारे जान्न खोजे।

भ्रष्टाचार र अरू प्रकरणमा नाम जोडिएका नेताहरूको बारेमा जिज्ञासा राखे।

‘माओवादी पार्टी अब ओरालो यात्रामा छ’ केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले बैठकमा भनेका थिए ‘विश्वको कुनै पनि क्रान्तिकारी आन्दोलन ओरालो लागेपछि कहिल्यै माथि उठेको इतिहास छैन।’

तर, बैठक सकिएपछि उपमहासचिव जनार्दन शर्माले भने, ‘अध्यक्षले नेतृत्व तोकिदिने होइन उहाँपछि को भन्ने कुरा त योग्य, जीवन्त, सक्रिय, इमान्दारिता, गतिशिलता विचारमा श्रेष्ठता जसले कायम गर्छ उसैले नेतृत्व लिन्छ। अहिले सर्वोच्चमा प्रचण्डबाहेक कोही छैनन्। लायक जुन दिन आउँछ त्यो दिन प्रतिस्पर्धामा रहन्छ।’

अनि केही पदाधिकारीहरूले पार्टीमा कोरिन थालेको ‘गुट’का रेखाहरूका बारेमा कुरा उठाए। माओवादीमा प्रचण्डपछि अब ‘को ?’ भन्ने प्रश्न उठाए।

पार्टीका एक जना उपमहासचिव शर्माले त निकै भावुक वक्तव्य पढेर प्रचण्डसामु मनपेट खोलिदिए।

प्रचण्डले अब यी ‘आफ्ना रहेनन्’ भन्ने भावमा व्यवहार गर्न थालेपछि चित्त दुखाएका शर्माले प्रस्ट भने- हामी तपाईंकै हो।

प्रचण्डका हरेक आदेश पलना गरेर पार्टीमा भूमिका निभाउँदा निभाउँदै पनि टाढाको व्यवहार गरिएकोप्रति उनको निकै चोटिलो गुनासो रह्यो।

‘मान्छे हुनुको नाताले सबैको आ–आफ्नै स्वत्व हुनु स्वभाविकै छ। अध्यक्ष कमरेडले बेला-बेला त्यसमै धार लाइदिनुहुन्छ। तलबाट पनि म फलनाको हुँ र होइन भन्ने चलन छ। अनि त्यसैलाई गुट भनेर ठुलो प्रचार गरिन्छ’ जनार्दनले भनेका थिए ‘हामी तपाईकै हौँ, २ जना (वर्षमान र जनार्दन)मध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ। सोही प्रस्तावलाई सहज रुपमा स्वीकार गर्दा पनि अनेकन प्रचारबाजी गरिन्छ। अनि गरौँ के?’

उत्तराधिकारीको खोजी गरिरहेका यी दुई उपमहासचिवले आफ्ना सबै गुनासाहरू राखिसकेर अन्तिममा भनेका थिए, ‘नेतृत्वको कुरा आइरहेको छ, अहिले नै प्रचण्डको विकल्प छैन। तर, उत्तराधिकारी को भन्ने कुरा चाहिन्छ।’

उनले पार्टी सुधारका लागि केही बुँदाहरूमा सुझावहरू पनि राखे र सबैभन्दा धेरै प्रचण्डले पराइ ठानेकामा मन दुखाए।

‘अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, वैचारिक राजनैतिक निर्णय लिँदा, गठबन्धन बनाउँदा, जतिखेर पनि खटनपटनमा लागेकै छु। स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन, पार्टीबाट बनाउनुपर्छ, सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउछ भनेर तैले बाहिर बोल र वातावरण बना भनी अध्यक्षले आदेश दिँदा आफ्नो मत थाँती राखेर भए पनि त्यसको पालना गरेकै छु’ वक्तव्य पढ्दापढ्दै भावुक भएका उनले भने ‘परिस्थिति अदल बदल गर्नुपर्दा वा अन्य कुनै संकट आइपर्दा सधैँ अध्यक्षको पक्षमा खडा भएकै छु। होला कहिलेकाँही आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि। तर त्यसैलाई असहयोग गर्‍यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ। अध्यक्ष कमरेडले  भन्नुपर्‍यो– कुन चाहिँ अप्ठेरो मोडमा तपाईले मेरो साथ र समर्थन पाउनु भएन ? तल तल कुन चाहिँ व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु?’

महासचिवको दौडमा रहेका दुई उपमहासचिवहरू प्रचण्डले अब प्रदेश इन्चार्ज र संगठन बनाउने जिम्मेवारी दिएर पठाएका छन्।

बैठकमा जति नेतृत्व परिवर्तन अनि ‘उत्तराधिकारी’को कुरा उठाएपनि बाहिर निस्किँदा सबैजसो नेता कार्यकर्ताहरू ‘प्रचण्डको विकल्प छैन’ भन्ने निश्कर्ष सुनाउँदै गए।

‘निर्विकल्प संसारमा केही पनि छैन तर, परिर्वतन मात्र स्थायी छ’ माओवादी केन्द्रका सचिव राम कार्की भन्छन्, ‘राजनीतिक उत्ताधिकार भनेको बाउले छोरा–छारीलाई दाइजो अथवा सम्पत्ति सुम्पिएको जस्तो होइन। जहिले पनि पुरानो विचारलाई नयाँ विचारले प्रतिस्थापन गर्नुपर्छ। नेतृत्व परिर्वतनका लागि हामीले युवालाई चुनौती दिइरहेका छौँ, आउनुस् हामीलाई प्रतिस्थापन गर्नुस्।’

औपचारिक रुपमा खुलेर बोल्न नमान्ने कैयौँ केन्द्रीय सदस्यहरू प्रस्तुत प्रतिवेदनसँग नै विश्वस्त छैनन्। त्यसको औचित्य के हो भन्ने विषयमा हलमा प्रश्न गर्न समयका कारण नसकेका केही नेताहरू त बाहिर आएर स्पष्टिकरण दिइरहेका थिए।

‘पार्टीको आवश्यकताअनुसार इतिहासलाई सम्झिँदै नेतृत्व हस्तान्तरण आवश्यक छ। हामीले अहिले नै यो वा त्यसलाई भनेर हुँदैन’ केन्द्रीय सदस्य मुक्सामहाङ्ग मेन्याङ्बो भन्छन् ‘कम्युनिष्ट पार्टी नेताको मिश्रण हो नेताहरू भए पनि अहिले मुख्य नेता प्रचण्डको उहाँको नेतृत्वमा गोलबन्द बनेर जानुको विकल्प छैन। तत्काल हिम्मत गर्ने कोही देख्दैन।’

बैठकमा प्रचण्डले अब जनतामा फर्किनुको विकल्प छैन भन्दै सबै केन्द्रीय सदस्यहरूलाई जनताका घर-घर जान भनेका छन्।

‘आफ्ना कार्यकर्ताको मात्रै होइन, सबै राजनीतिक दलका घरघरै पुग्नुपर्छ। देशभित्रका एउटा पनि घर हामीले छोड्नेछैनौँ’ प्रचण्डले भने ‘म पनि पुग्छु। तपाईंहरू पनि पुग्नुस्।’ उनी आफैले कम्तीमा सात गाउँका घरघरै पुग्ने घोषणा पनि गरेका छन्।

प्रचण्डले जनताका घरघर गएर आफ्नो नेतृत्वको सरकारले गरेका ‘राम्रा’का कामहरूको प्रचार गर्न पनि भने। उनकै भाषामा त्यो राम्रो काम भनेको अहिलेका भ्रस्टाचारविरुद्ध खुलेका फाइलहरू र ठूलो मात्राको सुन तस्करी प्रकरणहरू हुन्।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले बैठकमा समसामयिक विषयका २५ बुँदे प्रस्ताव पारित भएको जानकारी दिए।

यसलाई माओवादीले ‘जनतासँग माओवादी विशेष रुपान्तरणका लागि अभियान’ भनेको छ।

यो अभियान आगामी भदौ १६ गते उद्घाटन हुन्छ।

बैठकले केन्द्रीय समितिलाई विस्तार गरेर चार सय नौ सदस्यीय पुर्‍याएको छ।

यो बैठकमा करिब तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका सदस्य ४१ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारी सहभागी थिए।

माओवादीको केन्द्रीय समिति बैठक करिब एक वर्षपछि बस्यो। यसअघि २०७९ साल असार १९ देखि २५ सम्म केन्द्रीय समितिको तेस्रो बैठक बसेको थियो।

प्रकाशित मिति: : 2023-08-06 21:47:00

प्रतिकृया दिनुहोस्