म्यान्मारकाे उत्तरी काचिन प्रान्तका उर्जाशील २७ वर्षीय युवक सिट काे नाइंग हतुङ स्वतन्त्र पत्रकारका रूपमा काम गर्थें। उनी हपाकान्त क्षेत्रमा बसेर स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका लागि जिम्मेवारीपूर्वक रिपोर्टिङ गरिरहँदा २–फेब्रुअरीमा सेनाले सत्ता हालमा लियाे।
लगत्तै बर्मेलीहरू प्रजातन्त्रकाे पक्षमा सडकभर छरिए। शान्तिपूर्ण विरोधमा उत्रिएका विद्यार्थी र निर्दोष नागरिकहरूलाई सेनाका जवानहरूले हत्या गरेको पत्रकार हतुङले पटकपटक देखे। सागिङक्षेत्रको यीनमाबिन जिल्लामा हुर्केका उनी संकटकाे बेला स्वतन्त्र हुनै सकेनन्।
देशभर सेनाले आतंक मच्चाइरहेका बेला लेखिरहेकाे कलम त्यागेर खिया लागेकाे बन्दूक समात्न बाध्य भएकाे उनी बताउँछन्। प्रजातन्त्र पुनर्स्थापनाका लागि युद्धकाे मैदानमा उत्रिएका पत्रकार हतुङ शहर छाडेर जंगल छिरेका छन्।
०००
२१ वर्षीया हेराले सैन्य 'कू'पछि जुन्ताविरोधी प्रदर्शनमा होमिँदा भर्खरै मात्र उच्च माध्यमिक तहको पढाई पूरा गरेकी थिइन्। उनले मध्य म्यान्मारमा पीडीएफ 'प्लाटुन कमान्डर' बन्नकै लागि विश्वविद्यालय भर्ना हुने योजनालाई थाँती राखेकी छन्।
उनी फेब्रुअरी २०२१ को विरोध प्रदर्शनमा गोली हानिएकी विद्यार्थी म्या थ्वे थ्वे खाइङको मृत्युपछि पीडीएफमा सहभागी हुन उत्प्रेरित भएको बताउँछिन्।
उनका आमाबाबु सुरुमा आफ्नी छोरीले लडाइँको प्रशिक्षण सुरु गर्दा चिन्तित थिए। तर उनीहरूले छोरी यस विषयमा गम्भीर भएको महसुस गरेपछि चिन्ता त्यागिदिए।
सेनाले सत्ता कब्जा गर्नुअघि हेरा र सिट काे नाइंग हतुङजस्ता मानिसहरू प्रजातन्त्रको उपभोग गरेर हुर्किएका थिए। सशस्त्र जातीय विद्रोही समूहले सेनासँग लड्न वर्षाैंदेखि माेर्चा कसिरहेका छन्। म्यान्मारको विभिन्न क्षेत्रमा अनेकाैँ लडाकू दस्ताहरू दिनदिनै फैलिरहेकाे देख्न सकिन्छ।
उनीहरूले सैन्य कब्जाको घटनाप्रति गहिरो आक्रोश व्यक्त गरेका छन् र दशकौँदेखि सेनासँग लड्दै आएका सीमा क्षेत्रहरूमा जातीय भावनाले प्रेरित मिलिसियाहरूको समर्थन र प्रशिक्षण पाइरहेका छन्।
युवा शक्ति सैनिक शासन फाल्न सशस्त्र संघर्षमा होमिएको छ। शान्तिपूर्ण आन्दोलनमाथि ‘जुन्ता सरकार’को क्रूर दमनपछि पछिल्लो पुस्ता प्रजातन्त्र पुनःस्थापनाका लागि युद्ध मैदानमा उत्रिएको एक वर्ष पुग्याे।
सैन्य सरकारको विकल्प मानिने ‘राष्ट्रिय एकता सरकार’ले पीपुल्स् डिफेन्स फोर्स (पीडीएफ)को गठन–लगतै ठाउँ–ठाउँमा सैन्य प्रशिक्षण जारी छ। तानाशाही सैनिक सत्ताविरूद्ध लड्नका लागि युवाहरूको ठूलै जमात उत्साहपूर्वक आ–आफ्नो स्थानमा खडा भएकाे छ।
पीडीएफ स्रोतका अनुसार सीमाक्षेत्र हुँदै लडाकू अड्डासम्म हतियार ओसार–पसार गर्न अनेक समूह सक्रिय छन्। स्वतन्त्रता खोसिएका बर्मेलीहरू ज्यानै जोखिममा राखेर युद्धभूमिका खटिएका छन्।
म्यान्मारमा सैन्य ‘कू’ भएयता प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलगायत अन्य नेताहरू सैनिक हिरासतमै छन्। उनीहरूविरूद्ध जुन्ताले भिन्नभिन्नै झूटा आरोप लगाइएको छ। कतिपय आरोपहरूको अदालती बहस पनि शुरू भइसकेको छ।
राजनीतिक बन्दीहरूको रिहाई र नागरिक शासन फिर्ताको माग गर्दै देशभर दिनहुँ विरोध प्रदर्शन जारी नै छ। तरपनि सैनिक सत्ताले पटक्कै सुन्दैन। ‘जुन्ता’ आफ्नो सत्ता टिकाउन क्रूर र हिंसात्मक कार्यमा जुटेको छ। जसको उद्देश्य आन्दोलनकारीमाथि आतंकित पार्नु छ।
शहर तथा ग्रामीण भेगबाट हजारौँ नागरिकहरू लडाइँकै लागि सैन्य प्रभावित क्षेत्रमा उत्रेका छन्। उनीहरू एनयूजीको योजना र पीडीएफको निगरानीमा छन्। सशस्त्र समूहमा भर्ना भएपछि लडाकूहरू दुर्गम क्षेत्रमा सञ्चालित सैन्य प्रशिक्षणमा सहभागी हुन्छन्। तालिम प्राप्तपछि उनीहरू सैनिक प्रतिनिधिमाथि आक्रमण गर्न कार्यक्षेत्रतर्फ खट्छन्।
कतिपय प्रान्तमा वर्षौंदेखि संघर्ष गर्दै आएका सशस्त्र जातीय समूह नै सक्रिय छन्। उनीहरूसँग मिलेर पीडीएफ लडाकूहरू राज्यसत्तामाथि हमला गर्न लागिपरेका छन्। म्यान्मारको कचिन र श्यान् प्रान्तमा प्रायः युवाहरू कचिन स्वतन्त्र सेना (केआईए)मै सामेल भएका छन्। केआईए देशको सबैभन्दा ठूलो जातीय सशस्त्र समूह हो।